सर्लाही जिल्लाकाे हुलाकी सडक निर्माण शुरु गर्न माग, नगरे आन्दोलनमा उत्रने
सर्लाही । जिल्लाको पूर्व–पश्चिम हुलाकी सडकको निर्माण कार्य एक हप्ताभित्र अघि नबढे आन्दोलनमा उत्रने स्थानीयवासीले चेतावनी दिएका छन् । ठेकेदारले लापर्वाही गरेका कारण लामो समयसम्म पनि अलपत्र अवस्थामा रहेको पूर्व–पश्चिम हुलाकी सडकको निर्माण कार्य यथाशीघ्र पुनः सञ्चालन नगरे जिल्लाका राजनीतिक दल र स्थानीयवासी आन्दोलनमा उत्रने भएका हुन् । शनिबार सर्लाही सदरमुकाम मलङ्गवामा बसेको सर्वदलीय बैठकले मङ्सिर २१ गतेसम्म सडक निर्माणको काम अघि नबढे सङ्घर्षमा उत्रने निर्णय गरेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले बताए । सङ्घीय सरकारबाट एक हप्तासम्म सडकको निर्माण कार्य अघि बढाउन पहल नभए मङ्सिर २१ गतेदेखि आन्दोलनमा उत्रने बैठकले निर्णय गरेको सभापति चौधरीको भनाइ छ । बैठकले अहिलेका ठेकेदारमार्फत सडक निर्माणको काम पूरा हुन नसक्ने भन्दै नयाँ ठेकेदारमार्फत काम अघि बढाउन पनि माग गरे । मलङ्वादेखि पूर्वतर्फ सङ्ग्रामपुरसम्म, मलङ्वादेखि पश्चिम रोहुवासम्म र त्यहाँदेखि बलरासम्म तीन खण्डमा गरी सडकको ठेक्का लागे पनि ठेकेदारले केही समय अघि माटो भर्नेलगायत सामान्य काम गरे पनि अन्य काम अघि बढाएको छैन । ‘क’ वर्गको ठेकदार भए पनि आफूसँग आवश्यक मेसिनरी साधन, अन्य आवश्यक सामग्री नरहेको कारण पनि निर्माण कार्य ढिलो भएको भन्दै उनै ठेकदारबाट यो सडक निर्माणको काम सम्भव नरहेको सभापति चौधरीले बताए । हुलाकी सडक छेउछाउको बसाइँ र यात्रा अत्यन्त कष्टकर बनिरहेको स्थानीय बासिन्दाले गुनासो गरिरहेका छन् । सडक नबन्दा धुलोले जनजीवन निकै आक्रान्त भएको भन्दै बैठकमा सहभागी सांसद, स्थानीय निकायका प्रमुख र नागरिक समाजका अगुवा नियमनकारी निकायका प्रतिनिधि, सडक कार्यालय र ठेकेदारका प्रतिनिधिसँग आक्रोशित भएका थिए । छलफलमा नेपाल–भारत सीमा नाका खुलाउन निरन्तर पहल र सङ्घर्ष गरिरहने निर्णयसमेत भएको छ । बैठकमा सङ्घीय सांसद महेन्द्र राय यादव र डा अमरेशकुमार सिंह, प्रदेशसभा सदस्य अशोककुमार यादव, उपेन्द्र महतो, गौरीनारायण साह, हुलाकी सडकमा पर्ने विभिन्न पालिकाका प्रमुख, प्रमुख राजनीतिक दलका नेता, सुरक्षा अधिकारी, हुलाकी सडक हेर्ने चन्द्रनिगाहपुर र जनकपुरका प्रमुख, ठेकेदारका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि सहभागी थिए । रासस
‘एशिया सेल्टर फोरम’को कार्यशाला काठमाडौंमा
काठमाडाैं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र शहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा एशिया सेल्टर फोरमको चौथो कार्यशाला गोष्ठी काठमाडौँमा हुँदैछ । एशिया प्रशान्त क्षेत्रमा आएका विपद्पछि आवास प्रतिकार्यमा हासिल गरिएका बृहत् अनुभव आदानप्रदान गर्ने मूल अभिप्रायले गोष्ठीको आयोजना गर्न लागिएको हो । गत वर्ष इन्डोनेशियामा आयोजित तेस्रो कार्यशाला गोष्ठीको सर्वसम्मत निर्णयबाट चौथो कार्यशाला नेपालमा गर्ने निर्णय भएको थियो । कोभिड–१९ को महामारीका कारण यसपटक यो कार्यशाला अनलाइन विधिबाट गर्न लागिएको हो । अवस्था सामान्य भए २०७७ चैतमा भौतिक उपस्थितिमा सप्ताहव्यापी कार्यक्रम काठमाडौँमै आयोजना गरिने बताइएको छ । गोष्ठीमा राम्रा अभ्यासको सिकाइबाट समुदायको संलग्नतामा समुदायबाट नेतृत्व गरिएका सुरक्षित र प्रतिष्ठित आवास कार्यक्रमका प्रयासलाई उजागर गर्दैै विपद् प्रतिकार्यमा सहकार्यका लागि सम्भावनाको खोजी गरिनेछ । फोरमले एशिया प्रशान्त क्षेत्रका आवास तथा आवासीय क्षेत्रमा काम गरिरहेका अभ्यासकर्तालाई एउटै मञ्चमा ल्याएर ज्ञान, सीप र अनुभव आदानप्रदान गर्नुका साथै आवास अभ्यासकर्ताको क्षमता अभिवृद्धिका लागि प्रयास गर्नेछ । विपद् प्रतिकार्यमा सहकार्य एवं सहयोग गर्ने समुदायका लागि परीक्षण गरिएका उपयुक्त समाधानका विधिको जानकारी दिने र प्राविधिक सहयोग उपलब्ध गराउने लक्ष्यका साथ फोरमले यो क्षेत्रमा आफ्नो सञ्जाल विस्तार गर्दै आएको छ । कार्यशाला गोष्ठीलाई हाउजिङ रिकोभरी एण्ड रिकन्स्ट्रसन प्लेटफर्म (एचआरआरपी), क्याथोलिक रिलिफ सर्भिसेस९सिआरएस०, इन्टरनेशनल फेडरेशन अफ रेडक्रस एण्ड रेड क्रिसेन्ट सोसाइटिज (आइएफआरसी), युरोपियन युनियन(इयु), अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन(आइओएम), ह्याविट्याट फर ह्युम्यानिटी र गैरसरकारी संस्था महासङ्घले समन्वय गर्ने प्राधिकरणले जनाएको छ । कार्यशालाको उद्घाटन आज प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गर्नुहुनेछ भने अध्यक्षता मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहले गर्नेछन् ।
नौ मेगावाट क्षमताको दूधपोखरी चेपे जलविद्युत् आयोजना निर्माण हुने
काठमाडाैं । लमजुङ र गोरखा जिल्लाको सीमा भएर बग्ने चेपे खोलामा झण्डै नौ मेगावाट क्षमताको दूधपोखरी चेपे जलविद्युत् आयोजना निर्माण हुने भएको छ । दूधपोखरी चेपे हाइड्रोपावर प्रालिले निर्माण गर्ने सो आयोजनाको वातावरणीय प्रभावका बारेमा परीक्षण गर्ने प्रयोजनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभाग र प्रवद्र्धक कम्पनीका तर्फबाट आज एक सार्वजनिक सूचना जारी गरिएको छ । चेपे खोलाको पानी प्रयोग गरी गोरखा जिल्लाको अजिरकोट गाउँपालिकामा आयोजनाको विद्युत्गृह स्थापना हुनेछ । नदी प्रवाही प्रकृतिको आयोजनाबाट कूल ८.८३ मेगावाट विद्युत् उत्पादन हुनेछ । आयोजनाको मुख्य संरचना चेपे खोलाको बायाँ किनारमा पर्दछ । आयोजनाको विद्युत्गृह चेपे खोलाको तालबगरमा रहेको छ । विद्युत् उत्पादनका लागि १.५ मिटर लम्बाइ र १.५४ मिटर उचाइको बाँध निर्माण हुनेछ । खोलाको पानीलाई तीन हजार ११९ मिटर लामो पेनस्टक पाइपबाट विद्युत्गृहमा पठाइनेछ । विद्युत्गृहमा ४.७ मेगावाट क्षमताका दुई वटा टर्वाइन जडान गरिनेछ । उत्पादित विद्युत् २८ किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारणलाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको प्रस्तावित स्थानीय कीर्तिपुर सवस्टेशनमा जोडिनेछ । आयोजनाबाट विसं २०८० जेठ २९ गते विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजनाबाट वार्षिक ५६.४१ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ । आयोजनाले स्थानीयस्तरमा पार्ने वातावरणीय प्रभावका बारेमा जानकारी दिन विभाग र प्रवद्र्धक कम्पनीले सार्वजनिक सूचनामार्फत आग्रह गरेका छन् ।