निर्माणको सिजनमै सामग्रीमा कालोबजारी भएको भन्दै व्यवसायी आक्रोशित, आयोजनाको म्याद एक वर्ष थप्न माग

काठमाडौं ।   निर्माणको सिजनमै निर्माण सामग्रीको मूल्य बढाएकोप्रति निर्माण व्यवसायीहरु आक्रोशित भएका छन् । कोरोना भायरसको प्रभाव कायमै रहेको समयमा निर्माण सामग्रीहरुको मूल्य एक्कासी बढाउनु कालोबजारी भएको भन्दै उनीहरु आक्रोशित भएका हुन् । उनीहरुले सरकारलाई कालोबजारी रोक्न र अनुगमन गर्न आग्रह पनि गरेका छन् । १३ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा महासंघका अध्यक्ष रवि सिंहले यस्ताे बताएका हुन् । पछिल्लो समय धेरै निर्माण सामग्रीहरुको मूलय बढेको छ । निर्माणमा चाहिँने सामान फलामजन्य डण्डी, पाता, पत्ती, जीआई तार, ग्याव्लिन तार र नदीजन्य निर्माण सामग्री ढुंगा, बालुवा गिट्टको मूल्य अप्रत्यासित रुपमा बढाइएको हो । अहिले महामारी कायमै रहेको समयमा पनि व्यवसायीले सिजनको गलत फाइदा उठाउँदै निर्माण सामाग्रीमा अप्रत्यासित वृद्धि गरेका हुन् । केही महिना अगाडिको मूल्य र हालको मूल्यमा डण्डी प्रतिकेजीमा र १५ देखि देखि २० रुपैयासम्म मूल्यवृद्धि भएको र ढुंगा, गिट्टी, बालुवाको स्रोतदरको मूल्यमा दोब्बर मूल्यवृद्धि भएको छ । वालुवा, सिमेन्ट र छडको मूल्य बढेसँगै व्यक्तिगत र सार्वजनिक संरचना निर्माणको लागत बढ्ने भएको छ । कात्तिकसम्ममा क्रसर उद्योगमै प्रतिटिप २५ सयदेखि ३ हजारमा पाउने बालुवा अहिले ८ हजारसम्म पुगेको छ भने केही महिना अगाडि प्रतिकेजी २० सस्तोमा पाइने डण्डीको मूल्य अहिले २० देखि २५ रुपैयाँ महँग्गो भएको छ । जीआई तारको मूल्य पनि अत्याधिक रूपमा बढेको छ । असोजमा ग्याबिन तारको मूल्य १ सय ८५ रुपैयाँ थियो । अहिले त्यसको मूल्य २ सय २५, २ सय ३० रुपैयाँ पुगेको छ । अहिले ढुंगा, गिट्टी, बालुवाको स्रोतदरको मूल्यमा दोब्बर मूल्यवृद्धि भएको बताइएको छ । विगतको दिनमा २५ सयमा क्रसरमा प्रतिटिप दिइए पनि काठमाडौंमा आइपुग्दा २२ हजारसम्ममा मूल्य पथ्र्यो, तर अहिले उक्त मूल्य बढेर ३० हजार पुगेको छ । निर्माण सामगीको मूल्यमा अप्रत्यासित वृद्धि भएपछि निर्माण व्यवसायीहरुले पनि आपत्ति जनाएका छन् । यस्तै, सिहँले कोरोना भाइरसको कारण प्रभावित भएका निर्माणाधीन आयोजनाहरुका लागि एक वर्ष म्याद थप गर्न माग गरेका छन् । निर्माण व्यवसायी महासंघले कोरोना भाइरसको कारण धेरै आयोजनाहरु प्रभावित भएकोले आयोजना निर्माण र बोलपत्रको माग थप गर्नु पर्ने माग गरेका हुन् । कोभिडका कारण करिब ६ हजार आयोजनाहरु प्रभावित भएको बताउँदै उनले सरकारले सबै आयोजनाको म्याद एक वर्ष थप गरिदिनुपर्ने बताएका हुन् । यस्तै, २ हजार ७ सय ७० वटा रुग्ण आयोजनाहरुको म्याद गत फागुन १४ गते एक वर्षका लागि थप गर्ने निर्णय भएकोमा ती आयोजनाहरु पनि कोभिडबाट प्रभावित भएकाले थप एक वर्ष म्याद थपिनुपर्ने माग गरे । गत असारमा म्याद थप गरिएका आयोजनाहरुमा पनि मन्त्रालयबाट टिप्पणी उठाउँदा त्रुटि भई रोकिएकाले त्यसलाई छिटो कार्यान्वयन गर्न समेत माग गरे । यस्तै कोभिडका कारण विदेशबाट आउनुपर्ने कन्सल्ट्यान्ट आउन नसेको र निर्माण सामग्री आयातमा अझैपनि प्रभाव परिरहेकाले त्यसलाई खुलाउन समेत माग गरे । यस्तै, निर्माणको सिजनमा निर्माण सामग्रीहरुमा कलोबजारी भएको निर्माण व्यवसायीको ठहर छ । निर्माण क्षेत्रलाई चलायमान बनाउन आफुहरु आतुर रहेको तर सरकारबाट सहयोग प्राप्त नभएको पनि अध्यक्ष सिंहको भनाई छ । निर्माण भइरहेका आयोजनाहरुमा छिटो भुक्तानी हुने व्यवस्था गर्नुपर्ने, प्रदेश र स्थानीय तहका आयोजनामा समेत भुक्तानीका लागि समन्वय गर्नुपर्ने काममा सरकारले ध्यान दिन नसकेको पनि उनको गुनासो छ ।

अर्घाखाँची सिमेन्टले एक करोडकाे लागतमा स्वास्थ्य केन्द्र बनाउँदै, मन्त्री भुसालद्वारा शिलान्यास

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो मध्येको एक सिमेन्ट उत्पादक अर्घाखाँची सिमेण्ट कम्पनीले रुपन्देहीको सियारी गाउँपालिका वार्ड नं.२ मा स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ । कम्पनीले करिब एक करोड रुपैयाँ बराबरको लागतमा उक्त स्वास्थ्य केन्द्र बनाउन लागेकाे हाे । मैनहियामा बन्न लागेको सो स्वास्थ्य केन्द्र भवनको शिलान्यास कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले सोमबार गरेका हुन् । निर्माणपश्चात् उक्त भवनमा सियारी गाउँपालिकाले ५ शैंयाको अस्पताल सञ्चालन गर्नेछ । कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय क्षेत्रमा स्वास्थ्य केन्द्र स्थापना गर्न लागेको उद्योगका निर्देशक राजेशकुमार अग्रवालले जानकारी दिए । ‘यस क्षेत्रमा उद्योग सञ्चालन गरिरहँदा रोजगारीसँगै यहाँका स्थानीयको समस्या तथा दुःखमा पनि साथ र सहयोग गर्ने हाम्रो उद्देश्य रहेको छ’, अग्रवालले बताए, ‘तसर्थ, यस क्षेत्रमा स्वास्थ्य सेवाको अभाव खड्किएकाले सोलाई परिपूर्ती गर्नका लागि स्वास्थ्य केन्द्र स्थापना गर्न लागेका हौं ।” अबको एक वर्षभित्र भवन निर्माण सम्पन्न गरेर सम्बन्धित गाउँपालिकालाई हस्तान्तरण गर्ने कम्पनीको उदेश्य रहेको छ । सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले अर्घखाँची सिमेन्टले स्थानीयस्तरमा विभिन्न सहयोग गर्दै आएको बताउँदै स्वास्थ्य केन्द्रको अवधारणा नमुना भएको जानकारी दिए । उनले भने ‘यस स्वास्थ्य केन्द्रलाई ५ शैंयाको अस्पताल बनाउँदै यसै क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने छौं ।’ सियारी गाउँपालिकामा सिमेन्ट उत्पादन केन्द्र रहेको यस कम्पनीले बिगतमा पनि यस गाउँपालिका तथा आसपासका क्षेत्रहरुको शिक्षा, सरसफाइ, खाद्यान्न तथा बाटोघाटो विविध किसिमका पूर्वाधारको विकासमा सघाउ पुर्याउँदै आइरहेको छ । यसै वर्षको बैशाख महिनामा पनि कम्पनीले प्रदेश ५ सरकारद्धारा स्थापित कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषका लागि ५१ लाख रुपैँया तथा सियारी गाउँपालिकाका लागि दुई लाख रुपैयाँ बराबरको नगद सहयोग प्रदान गर्नुका साथसाथै कम्पनीको चुनढुंगा खानी रहेको पाल्पास्थित दुई गाउँपालीका-तिनाउँ गाउँपालीका र मचागढी गाउँपालीका-का विपन्न बर्गका घरपरिवारका लागि करिब २० लाख रुपैँया बराबरको राहत सामाग्री बितरण गर्ने जनाएको छ । ।

दुई वर्षमा सप्तरी-झापा हुलाकी राजमार्ग सञ्चालनमा आउने

विराटनगर । सप्तरीदेखि झापाको भद्रपुरसम्म निर्माण भइरहेको हुलाकी राजमार्ग आगामी दुई वर्षभित्रमा सञ्चालनमा आउने भएको छ । तीन सय ४३ किलोमिटर लामो हुलाकी राजमार्गको करिब ४८ प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग आयोजनाले जनाएको छ । हुलाकी सडकको कामबारे आइतबार प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आयोजना प्रमुख दीपेन्द्र पाण्डेसँग जानकारी लिएका छन् । प्रमुख पाण्डेले करिब ४८ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । चालु आर्थिक वर्षमा पुलको काम सम्पन्न गर्ने र दुई वर्षभित्रमा सडकको काम सम्पन्न गरिने प्रमुख पाण्डले जानकारी गराए । उनले मन्त्री घिमिरेलाई झापाका आठ वटा पुल र मोरङको रतुवामाईमा रहेको पुलका लागि बोलपत्र आह्वानको काम भइसकेको बताए । उनले भने, “रङ्गेली र विराटनगरमा सडकमा केही समस्या छ ।” रङ्गेलीको केही स्थानमा निर्माणको डिजाइनअनुसार नभएको र विराटनगरमा कोशी राजमार्ग पूर्वपश्चिम जोड्नका लागि समस्या भएको प्रमुख पाण्डेको भनाइ छ । हुलाकी राजमार्गमा कुन सडकबाट जोड्नेबारे समस्या भएको उनले बताए । उनका अनुसार विराटनगरमा छ किलोमिटर सडकमा समस्या भएकाले बोलपत्रको काम हुन सकेको छैन । सामाजिक विकासमन्त्री घिमिरेले आगामी दुई वर्षभित्रमा राजमार्ग सञ्चालन गर्ने गरी काम गर्न आयोजना प्रमुखलाई निर्देशन दिए । उनले सडक निर्माणमा भएका समस्याबारे प्रदेश सरकारले पनि पहल गर्ने भन्दै हुलाकी सडकको चर्चा धेरै भए पनि काम नदेखिएको मन्त्री घिमिरेले चिन्ता व्यक्त गरे । मन्त्री घिमिरेले डिभिजन सडक कार्यालयका प्रमुख पशुपति ज्ञवालीसँग पनि मोरङ र सुनसरीका पुलको अवस्थाका बारेमा पनि जानकारी लिएका छन् । प्रमुख ज्ञवालीले चालु आर्थिक वर्षभित्रमा करिब १० वटा पुल निर्माण सम्पन्नको चरणमा रहेको बताए । पुल निर्माणका लागि आवश्यक बजेट विनियोजन नहुँदा निर्धारित समयमा काम पूरा हुन नसकेको उनले बताए । सडक निर्माण भए पनि पुल निर्माण सम्पन्न नहुँदा समस्या भएका पुलको निर्माण भइरहेको मन्त्री घिमिरेसमक्ष जानकारी गराएका थिए । महेन्द्र राजमार्गपछिको दोस्रो महत्वपूर्ण मानिएको हुलाकी राजमार्ग निर्माणका लागि दक्षिणी क्षेत्रका जनताले वर्षौंदेखि आवाज उठाइरहेका छन् । यो मार्ग निर्माण भएपछि महेन्द्र राजमार्गको भारमा कमी आउने र दक्षिणी क्षेत्रका जनताको जीवनस्तरमा पनि परिवर्तन आउने सुनसरी हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताए । उनले यो मार्ग तराईको दक्षिणी क्षेत्रको जनताको उन्नतिको लागि महत्वपूर्ण मानिएको र यसको निर्माणसँगै बसाइँसराइमा पनि कमी आउने धारणा राखे । रासस