९ करोडमा पाेखराकाे पावरहाउस फुस्रेखोलामा खेलमैदान निर्माण गरिने

पाेखरा ।  पोखरा महानगरपालिका– १७ फुस्रेखोला किनारामा नौ करोड लागतमा खेलमैदान निर्माण गरिने भएको छ । पोखरा महानगरपालिका– १ वडा एक खेलमैदान नीतिअनुसार ५०० रोपनी क्षेत्रफलमा जिल्लास्तरीय ‘पावरहाउस फुस्रेखोला’ खेलमैदान निर्माण गरिने भएको हो । “स्वास्थ्य अनुशासन, खेलकूद पर्यटन विकास समृद्धिको आधार” भन्ने मूल नारासहित निर्माण गरिने खेलमैदानसम्म पुग्ने बाटोको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आज शिलान्यास गरे। सो अवसरमा उनले कुनै पनि विकास निर्माण गर्नुभन्दा पनि सञ्चालनमा चुनौती रहेको उल्लेख गर्दै त्यसका लागि स्थानीय बासिन्दाको साथ सहयोग अपरिहार्य भएको बताए । स्वास्थ्यको लागि खेलकूदको महत्वपूर्ण भूमिका रहेको बताउँदै प्रमुख जिसीले महानगरले एक वडा एक खेलमैदाको अवधारणालाई अघि बढाएको जानकारी दिए । खेलमैदान निर्माणमा महानगरले सक्दो सहयोग गर्ने उनको भनाइ थियो । पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले खेलकूद मैदान निर्माणसँगै यस क्षेत्रको करिब चार हजार रोपनी सार्वजनिक जग्गाको संरक्षण तथा उपयोग गरिने तयारी भइरहेको जानकारी दिए । फुस्रेखोलाको किनारास्थित पानीका झरना, हरियालीसँगै निर्माण गरिने खेलमैदानको माध्यमबाट यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उहाँले यसका लागि तीनै तहका सरकारको सहयोग रहने विश्वास व्यक्त गरे । महानगर कार्यपालिका सदस्य एवं पोखरा १७ खेलकूद संयोजक राधिका शाही योगीले बाटो निर्माणमा वडास्तरीय बजेटबाट १३ लाख व्यवस्थापन गरिएको बताउँदै डिपिआरका अनुसार प्याराफिट निर्माणका लागि मात्र तीन करोड ६५ करोड लाग्ने बताए । पावरहाउस फुुस्रेखोला जिल्लास्तरीय खेलमैदान उपभोक्ता समितिका संयोजक दीपक गोदारले यस क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउनु भएका अग्रज खेलाडीको सुझाव एवं सल्लाहका आधारमा यस क्षेत्रलाई खेलकूदको केन्द्रका रुपमा विकास गरिने सोच रहेको बताए । रासस

अझै शुरु भएन धुलिखेल–सूर्यविनायक सडक विस्तार

काठमाडाैं । काठमाडौं उपत्यका बाहिरका धेरै जिल्लाबाट उपत्यका भित्रिने नाकाका रूपमा रहेको सूर्यविनायक–धुलिखेल सडक विस्तार शुरु हुनसकेको छैन । एक दशक पहिले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले तीनकुने–सूर्यविनायक सडक छ लेनमा विस्तार गरेको थियो । जाइकालले नै सूर्यविनायक–धुलिखेल सडकसमेत विस्तार गर्ने भनिए पनि त्यसमा निर्णय भएर काम हुन नसकेको हो । सडक विभागको अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेल सडक र विपी राजमार्गको धुलिखेलबाट सिन्धुली हुँदै बर्दिवास सडक गरी सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजना रहेको छ । सो आयोजनाले सूर्यविनायकदेखि धुलिखेल सडकमा निर्माण वा विस्तारको काम नगरेको आयोजना प्रमुख सूर्यबहादुर भाटले बताए । अहिले डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गका विभिन्न खण्डमा मर्मतको काम गरिरहेको छ । उनले भने, “विस्तारका लागि योजना बनेपछि मात्रै हामीले काम गर्नैछौँ ।” झण्डै एक दशक पहिलेदेखि नै यो सडक विस्तारका लागि छलफल भइरहे पनि निर्णय हुन नसकेको हो । जाइकाले यो सडकमा पूर्व अध्ययनसमेत गरिसकेको छ । अध्ययनको लामो समय बितिसक्दा पनि निर्माणका लागि सम्झौता नभएकाले विस्तृत अध्ययन हुनसकेको छैन । गत वर्ष जाइकाले कोटेश्वर–जडीबुटी सडकमा ‘अण्डरपास’ निर्माण गर्ने गरी छलफल हुँदा विभागले त्यससँगै यो सडकको विस्तारका लागि समेत प्रस्ताव गरेको थियो । वाग्मती प्रदेश र प्रदेश नं २ का जिल्लाबाट समेत काठमाडौँ भित्रिने नाकाका रूपमा यो सडक रहेको छ । अरनिको, विपी राजमार्गसँगै मध्यपहाडीलगायतका राजमार्गसमेत सञ्चालनमा आएसँगै काभ्रेपलाञ्चोकको बनेपाबाट भक्तपुरसम्म सवारी चाप बढिरहेको छ । यस सडकमा साँझको समयमा सवारी साधनले उपत्यका भित्रिन घण्टौँ जाममा बस्नुपर्ने अवस्था छ ।

बजेट अभावले जाजरकाेटकाे नयाँ शहर कार्यक्रम प्रभावित

जाजरकाेट । चौरजहारीलाई नयाँ शहर बनाउने योजना आठ वर्ष पूरा भए पनि अझै प्रभावकारी हुन सकेको छैन । रुकुम पश्चिम चौरजहारी नगरपालिकामा रहेको यहाँ काम नहुँदा समस्या भएको हो । मध्यपहाडी लोकमार्गमा पर्ने १० ठाउँलाई नयाँ शहर बनाउने सरकारको लक्ष्यअनुसार काम भए पनि सो परिणाममुखी हुन नसकेको हो । बजेट अभावका कारण भने जति काम हुन नसकेको हो । चालु आर्थिक वर्षमा चौरजहारीका लागि ११ करोड बजेट मात्रै आएको आयोजना कार्यालय प्रमुख धीर फडेराले जानकारी दिए । यहाँ एउटै योजना निर्माण गर्नका लागि १९ करोड आवश्यकता पर्ने गरेको छ । चौरजहारी उपत्यकाको महत्वपूर्ण मानिएको सडक कालोपत्रे गर्ने काम लामो समयदेखि हुन सकेको छैन । आयोजना कार्यालयका अनुसार बाँसखोला–एयरपोर्ट–बसपार्क–त्रिवेणी–खौचेनी–विजयश्वरीडाँडा सडक झण्डै आठ किलोमिटर लामो छ । सडक कालोपत्रेका लागि रु ४० करोड ३५ लाखमा ठेक्का लागेको छ । ठेकेदार कम्पनीले झण्डै ७० प्रतिशत काम सके पनि २१ करोड रुपैयाँ मात्र भुक्तानी भएको फडेराले बताए । अहिलेसम्म स–साना योजना मात्र सम्पन्न भएका छन् । सम्पन्न भइसक्नुपर्ने योजना पनि अर्को वर्षसम्म लैजानुपर्ने बाध्यता रहेको उनको गुनासो छ । चालु आर्थिक वर्षमा ३८ योजना प्रस्ताव गरिएको भए पनि अहिले नौ वटा योजनामा काम भइरहेको छ । यी योजनामा पनि बजेट अपुग भएको छ । सडक कालोपत्रेमा आयोजनाले गति लिए पनि अन्य कामहरु अलपत्र परेको चौजहारी नगरपालिका प्रमुख विशाल शर्माले बताए । आठ वर्षदेखि चौरजहारी–जाजरकोट कुदु जोड्ने मध्यपहाडी लोकमार्गको पुल निर्माणसमेत अलपत्र पर्दै आएको छ । रासस