नारायणगढ–मुग्लिन सडकका पुल निर्माणले गति लियो

सांकेतिक तस्विर चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माणको कामले गति लिएको छ । कोरोना सङ्क्रमणका कारण केही महिना काम हुन नसकेको भए पनि पछिल्लो समय कामले तीव्रता पाएको हो । सो सडकखण्डमा रहेका १९ पुलमध्ये यसअघि तीनवटा निर्माण भइसकेको छ । एउटा पुल अन्तिम चरणमा पुगेको छ । बाँकी १५ पुलका लागि गएको चैतमा ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । सम्झौताको ३३ महिनामा काम सम्पन्न गर्ने गरी अनक कन्स्ट्रक्शनले ठेक्का स्वीकार गरेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनीयर सविना रानाभाटका अनुसार ती पुललाई दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको छ । प्याकेज–१ मा मुग्लिनबाट यताका खहरे, चिम्पान्जी, तुइन, काली, टोपे, न्याम्सी र रिद्धीखोला गरी सात पुल छन् । प्याकेज–२ मा जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान खोल गरी आठ पुल छन् । प्याकेज–१ को कूल ठेक्का रकम ६७ करोड ९९ लाख छ । पुल र नक्साङ्कनका लागि मात्र ५८ करोड ४० लाख छ भने अन्य रकम पोल सार्ने, बाटो फराकिलो बनाउने, नदी नियन्त्रणलगायतमा खर्च हुने उनले जानकारी दिए । दोस्रो प्याकेजको कूल ठेक्का रकम ५९ करोड पाँच लाखमध्ये नक्साङ्कन र पुलका लागि ४९ करोड ६० लाख हो भने बाँकी रकम अन्य काम गर्ने गरी ठेक्का लगाइएको हो । दुवै ठेक्का एउटै कम्पनीले पारेको हो । रानाभाटका अनुसार प्याकेज–१ का सात पुल ४४२ मिटर लामो छ भने प्याकेज–२ का आठ पुल ३८१ मिटर लामा छन् । ठेक्का लगाइएका पुलमध्ये कालीखोलाको पुल ७५ मिटर लामो छ । खहरे र भोर्लेको ७२ मिटर लामो हुनसक्ने आकलन गरिएको छ । अन्य पुल छोटा छन् । प्याकेज–१ मा पर्ने मुग्लिनबाट यताका पुल निर्माण गर्न कठिन रहेको छ । पुलको चौडाइ ११ मिटर हुने भनिए पनि डिजाइनका क्रममा रहेकाले मुग्लिनतर्फका केही पुल साँघुरो हुनसक्ने रानाभाट बताउँछन् । पुलको गाडी हिँड्ने ठाउँ सात दशमलव पाँच मिटर फराकिलो हुनेछ । दुवैपट्टि एक दशमलव पाँच मिटर फराकिला फुटपाथ र २५ सेन्टिमिटर रेलिङका लागि छुट्याइएको छ । ठेकेदार कम्पनीलाई नक्साङ्कनसहित ठेक्का दिइएकाले कूल खर्चमा १० प्रतिशत तलमाथि हुनसक्ने आयोजनाले जनाएको छ । हालसम्म तीन पुल सेतीदोभान, जुगेडी र खहरेखोलाको नक्साङ्कन पुल महाशाखाले सदर गरी निर्माणसमेत थालिएको छ । रानाभाटले भने, “अन्य पुलको नक्सा बन्दै गरेको र सदरको चरणमा छन् ।” भदौयता काम तीव्ररूपमा भएको उनले जानकारी दिए। सो सडक विस्तार गरिए पनि पुल साँघुरो हुँदा समस्या हुँदै आएको छ । ती पुल विश्व बैंकबाट पछि ऋण प्रवाह हुने गरी नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण थालिएको हो । रासस

धरहराको २०औं तला पुननिर्माणको काम सम्पन्न, सबै काम चालु आव भित्रै सकिने

काठमाडौं । २०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको २० औं तलाको पुननिर्माणको काम सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको २० औं तलाको पुननिर्माण गर्ने काम सम्पन्न भएको बताएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशिल ज्ञवालीले २०औं तलामा बन्ने बारदली बनाउने काम भइराखेको बताए । यही बारदलीबाट सर्वसाधारणले उपत्यका अवलोकन गर्न पाउनेछन् । धरहरा कुल २३ तला रहने पनि ज्ञवालीले बताए । यस्तै धरहरा परिसर भित्र एक हजार भन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्ने तीन तलाको पार्किङ स्थल निर्माणको काम पनि द्रुत गतिमा भइरहेको सीईओ ज्ञवालीले बताए । त्यसबाहेक टक्सार संग्राहलय, भूकम्प संग्राहलय लगायतको संग्राहलय रहने भवनको निर्माण कार्यपनि तिब्र गतिमा भइराखेको छ । जमिन मुनीको दुईतलाबाट लिफ्ट प्रयोग गरी २० औं तलासम्म जान मिल्ने गरी तयार पारिएको ढाँचामा धरहराको पूनर्निर्माण भइरहेको छ । प्राधिकरणका सीईओ ज्ञवालीले यसै आर्थिक वर्ष भित्रैमा काम सम्पन्न गर्ने गरी निर्माण कार्य अगाडि बढेको बताए । आगामी असार मसान्त सम्म मुलभुत कामहरु सम्पन्न गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरिने ज्ञवालीले बताए । प्राधिकरणको समयावधि आगामी वर्षको पुष १० गतेसम्म भएकाले आगामी असार मसान्तसम्म सबै क्षेत्रको पुनर्निर्माणको आधारभूत काम सम्पन्न गर्ने र बाँकी काम सम्बन्धित निकायलाई जिम्मा लगाउने बताए । असार मसान्त पछिको समय भने अहिलेसम्म प्राधिकरणले गरेका कामहरुको अडिट गर्न लाग्ने पनि सीईओ ज्ञवालीले बताए । धरहराको कुल लागत भ्याट सहित ३ अर्ब ४५ करोड रुपैयाँ छ । धरहराको कूल क्षेत्रफल ४२.२ रोपनी रहेको छ ।

फुकोट जलविद्युत् आयोजनाको सुरुङ निर्माण शुरु

मान्म । फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको परीक्षणका लागि सुरुङ खन्न शुरुआत गरिएको छ । आयोजनास्थल कालिकोटका रास्कोट नगरपालिका–९ फुकोटको फुगाडखोलामा सुरुङ खन्न थालिएको हो । छ वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाको क्षमता ४२६ मेगावाट रहेको छ । माटोको अवस्था र चट्टानलगायतका भौगर्भिक अध्ययनका लागि छसय मिटर सुरुङ खन्न थालिएको आयोजनाले जनाएको छ । भौगर्भिक अध्ययनका लागि सुरुङ खनेर परीक्षण गर्न थालिएको आयोजना प्रमुख हिरामान वाइवाले जानकारी दिए । “माटो र चट्टानलगायतका भौगर्भिक अध्ययनका लागि सुरुङ खन्न थालिएको छ ।” उनले भने, “पहिलो चरणमा अध्ययन सकिएपछि भौगर्भिक अध्ययनका लागि सुरुङ खनिएको हो ।” आयोजना निर्माणका लागि अहिले परीक्षण सुरुङ खन्ने र आवासका लागि घर निर्माणका काम थालनी भएको आयोजना उनको भनाइ छ । “चाँडै आवास निर्माणको काम शुरु हुँदैछ”, उनले भने, “यही गतिमा काम अगाडि बढे लक्ष्यमा पूरा हुन्छ ।” आगामी छ वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको आयोजनाले जग्गा अधिग्रहण गर्न नेपाल सरकारले स्वीकृति प्रदान गरेपछि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीको जग्गा अधिग्रहणको प्रक्रिया सकिएको आयोजनाले जनाएको छ । जलविद्युत् आयोजनाको बाँध निर्माणबाट डुबानमा पर्ने कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाको साविक रकु, स्युँना, मेहलमुढी, फुकोट, बदालकोट, नानीकोट र राम्नाकोट गाविसमा रहेका प्रभावितको जग्गा अधिग्रहणको प्रक्रिया सकिएको जिल्ला प्रशासन कार्यालय जनाएको छ । आयोजना निर्माणका लागि एक हजार १४९ परिवार प्रभावित भएको र आयोजनास्थलमा पूरै जग्गा परेका जग्गाधनीले ७५ प्रतिशत र आंशिक जग्गा परेकाले ६६ प्रतिशत मुआब्जा पाउने आयोजना प्रमुख वाइवाले बताए । करिब एक खर्ब बजेट आवश्यक पर्ने आयोजनाले जनाएको छ ।