कोशी करिडोरमा सात पुल निर्माण सम्पन्न हुँदै
काठमाडाैं । निर्माणाधीन कोशी करिडोरमा चालु आर्थिक वर्षभित्र थप सात पुल निर्माण सम्पन्न हुने भएको छ । हाल नौ पुल निर्माणाधीन रहेकामा सात सम्पन्न हुने देखिएको हो । राष्ट्रिय गौरवको आयोजना उत्तर–दक्षिण करिडोरमा अहिलेसम्म जम्मा २२ पुल चाहिने देखिएको कोशी करिडोर, खाँदबारी–किमाथाङ्का सडक योजनाका प्रमुख गौतमकुमार श्रेष्ठले बताए । अहिलेसम्म एउटा पुल मात्रै सम्पन्न भएर सञ्चालनमा छ । खाँदबारीबाट ५० किमी अगाडि अरुणखोलामा झण्डै तीन वर्ष पहिले पुल बनेको थियो । उनका अनुसार मौसम र समयानुकूल भए चालु आवभित्रै सात पुल सम्पन्न गर्न सकिन्छ । फाकसिन्दाबाट अगाडि रहेको पुल निर्माणको अन्तिम चरणमा पुगेको र अबको दुई साताभित्रै सकिने देखिएको उनको भनाइ छ । उनले भने, “करिडोरको अरुणखोलामा एउटा पुल सम्पन्न भइसकेको छ भने अरु ससाना खोलामा पुल निर्माणाधीन छन् ।” करिडोरअन्तर्गत नै पाँच पुल डिजाइनको स्वीकृत क्रममा रहेको प्रमुख श्रेष्ठले जानकारी दिए । डिजाइन स्वीकृत भएमा चालु आवभित्रै ठेक्का निकाल्न सकिने उनको भनाइ छ । त्यो ठाउँमा सामग्री नभएकाले डिपिआर गरेर पछि निर्माण गर्ने भन्ने पनि छलफल भइरहेको छ । उनले भने, “निर्माण सामग्री नै नपाउने र पाउँदा पनि गुणस्तरीय पाउन गाह्रो छ ।” जम्मा १६२ किमी लम्बाइको सडकमा १४८ किमीमा ट्र्याक खुलिसकेको छ । सो करिडोरअन्तर्गतको १४ किमी सडकको ट्र्याक खोल्न नेपाली सेनालाई जिम्मेवारी दिइएको छ । गत वर्ष फागुनमा सरकारले सेनालाई जिम्मेवारी दिएको थियो । सेनाले निर्माणको काम माघ महिनादेखि शुरु गर्ने गरी अघि बढाएको जनाएको छ । अहिले राजमार्गको १० किमी सडक स्तरोन्नति भइरहेको छ भने ३९ किमी सडक कालोपत्र गर्न लागिएको योजनाले जनाएको छ । अर्थ मन्त्रालयले कालोपत्रका लागि दुई अर्ब ६० करोड स्वीकृत गरिसकेकाले ठेक्कामा जान लागिएको हो । रासस
कोरोनाका कारण धकेलियो इलामकाे सदरमुकाम झार्ने खानेपानी
इलाम । कोरोनाका कारण श्रमिक र निर्माणका सामग्री उपलब्ध नहुँदा इलाममा सञ्चालित ‘इलाम बजार तेस्रो साना शहरी खानेपानी आयोजना’ छ महिनापछि धकेलिएको छ । इलाम नगरवासीमा खानेपानीको सहज पहुँचमा पुर्याउन नगरले दुई वर्षअघि साझेदारी कार्यक्रमअन्तर्गत खानेपानीको आयोजना शुरु गरेको थियो । यही चैतभित्र खानेपानी झार्ने योजना बनाएपछि सम्भव नहुने देखिएको छ । हालसम्म खानेपानीको ७० प्रतिशत काम मात्र भएको छ । पाइप लाइन विस्तार गर्ने काम सकिएको छ भने ट्याङ्की बनाउने काम भइरहेको छ तर निर्धारित मितिमा सक्न योजनाबद्धरूपमा काम भइरहेको आयोजना समितिका अध्यक्ष केदार थापाले जानकारी दिए । आयोजनामा कार्यरत अधिकांश श्रमिक तराई मूलका छन् । कोरोनाले बन्दाबन्दीका समयमा घर फर्काएको तर समयमा आउन नसक्दा निर्धारित समयमा काम नसकिने भएको हो । दुई वर्षभित्र काम सकिने गरी सम्झौता गरिएको थियो । बयालिस किमी टाढा सन्दकपुर गाउँपालिकाबाट पानी ल्याउन लागिएको हो । हालसम्म पाइप बिछ्याउने काम भने ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । निर्माणका लागि इलाम नगरपालिकाको स्वामित्वमा सञ्चालन हुने आयोजनाको रमण कन्स्ट्रक्सन कम्पनीले ५७ करोड ९५ लाख सात हजारमा ठेक्का लिएको छ । खानेपानी आयोजना सञ्चालनका लागि २५ प्रतिशत नगर विकास कोषबाट १४ करोड ४८ लाख ७६ हजार ७५० ऋण लिएको छ । बीस वर्षमा साँवा र ब्याज भुक्तानी गर्नेगरी पाँच प्रतिशत ब्याजदरमा कोषबाट ऋण लिइएको हो । त्यस्तै उपभोक्ताबाट लागत सहभागिताको पाँच प्रतिशत दुई करोड ८९ लाख ७५ हजार ३५० मार्फत आयोजना सञ्चालन गर्न लागिएको हो । आर्थिक वर्ष ०७७/७८ सम्ममा सम्पन्न गरिसक्नुपर्ने आयोजनाका लागि एशियाली विकास बैंक (एडिबी) ले ७० प्रतिशत अनुदान उपलब्ध गराउने जनाएको थियो । गत ३१ मार्च २०१९ मा ठेक्का सम्झौता भएको आयोजना ३१ मार्च २०१९ मा सम्पन्न गर्ने सम्झौता गरिएको थियो । सम्पन्न भएको एक वर्ष आयोजनाले नै मर्मतसम्भार गर्ने जनाएको छ । एडिबीको आर्थिक सहयोगमा इलाममा अहिलेसम्मकै ठूलो खानेपानी आयोजना सञ्चालन हुन लागेको हो । खानेपानी आयोजनाका लागि सन्दकपुर गाउँपालिकामा रहेका चारवटा खोलाको मुहानबाट पानी ल्याउने तयारी छ । आयोजनाबाट सदरमुकाममा प्रतिसेकेण्ड ४१ लिटर पानी आउने छ । साना शहरी आयोजनाले हेरेको र अहिले पानी आपूर्ति भइरहेको खानेपानी आयोजनाको मुहान एउटै हो । साना शहरीले सदरमुकामबाट करिब ३२ किलोमिटरको सन्दकपुर गाउँपालिकाको गिताङ खोलाबाट प्रतिसेकेन्ड १६ लिटर, राते र मेवाखोलाबाट १०–१० तथा सुम्बेकको भाँडीखोलाबाट पाँच लिटर मिसाएर सदरमुकाममा पानी आपूर्ति डिजाइन तयार भएको छ । नगरमा अहिले आइरहेको खानेपानीकै दुईवटा मूल प्रयोग गरिने छ भने थप तीन वटा नयाँ प्रयोग गरिने छ । पुरानो आयोजनाबाट पानी पर्याप्त नभएपछि नगरले नयाँ आयोजना शुरु गरेको हो । नगरभित्र २४ घण्टै खानेपानी झार्न यो आयोजना निर्माण थालिएको हो । हाल नगरमा प्रतिदिन एकदेखि दुई घण्टा मात्रै पानी आउने गरेको छ । आयोजनाको शुरुको वर्ष दुई हजार ७९८ घरधुरीका २१ हजार ४३३ उपभोक्तालाई दिनको १०० लिटरको दरले खानेपानी पुग्ने अनुमान आयोजनाको छ । बीस वर्षपछि यही आयोजनाको खानेपानी उपभोग गर्ने उपभोक्ताको सङ्ख्या ३० हजार ३२५ पुग्ने अनुमान छ । नगरवासीलाई खानेपानीको सहज पहुँज पुर्याउन यो आयोजना ल्याइएको हो । नगरमा केही वर्ष पहिले पनि सन्दकपुरबाटै खानेपानी ल्याइएको छ तर त्यो पानीले पर्याप्त नभएपछि नयाँ आयोजना थप गरिएको हो । आयोजनाका अनुसार पानी नगरमा पाँच वितरण केन्द्रमार्फत वितरण गरिने छ । अध्यक्ष थापाका अनुसार इलाम सदरमुकामस्थित गुम्बा डाँडा, भ्युटावर, गोलाखर्क, महेन्द्र रत्न बहुमुखी क्याम्पस र पुरानो आदर्श खसी बजारबाट वितरण गरिने छ । वितरणका लागि गुम्बा डाँडा र महेन्द्र रत्न क्याम्पसमा ५०/५० हजार लिटर र अन्य तीनवटा ट्याङ्की एक लाख ५० हजार लिटरका रहने जनाइएको छ । आयोजनाको लागि पानी परीक्षणस्थलको काम पनि तीव्ररूपमा भइरहेको छ । पाइप बिछ्याउने र ट्याङ्की निर्माण सकिएपछि निर्माण सम्पन्न हुने जनाइएको छ । यता नगरले नै खानेपानीको सहज पहुँच पुर्याउन वडा नं ११ स्थित सोयाकमा ‘डिप बोरिङ’मार्फत जमिन खनेर पानी ल्याउन थालेको छ । जमिनमुनि करिब १२३ मिटर खनेर खानेपानी आपूर्ति गर्न थालिएको हो । नगर क्षेत्रमा खानेपानीको अभाव भएकाले विभिन्न माध्यमबाट पानी ल्याउनु पर्ने बाध्यता छ । नगरले खानेपानीकै लागि मोटो रकम खर्चेको छ । अन्य क्षेत्रबाट पानी ल्याउन नसकिने अवस्थामा नगरले यो माध्यमबाट ल्याएको हो । यसका लागि नगरले दुई करोड ४७ लाख ८० हजार खर्च गरेको छ । रासस
जुम्लाको पातरासी गाउँपालिकामा विद्युत्मा आत्मनिर्भर
खलङ्गा । जुम्लाको पातारासी गाउँपालिकामा १५ वटा लघुजलविद्युत् आयोजना निर्माण भएपछि विद्युत्मा आत्मनिर्भर बनेको छ । स्थानीय सरकार आएपछि १५ देखि १०० किलोवाटसम्मका ती आयोजना निर्माण भएको गाउँपालिकाले जनाएको छ । वषौंदेखि अन्धकारमा बस्न बाध्य स्थानीय वासिन्दाले ती आयोजनाहरुको निर्माणपछि विद्युत् सुविधा प्राप्त भएको गाउँपालिका अध्यक्ष लछिमान बोहोराले बताए । उनका अनुसार पातारासीमा ५८ किलोवाटको विउरेनी विद्युत् आयोजना, २५ किलोवाटको लुम विद्युत् आयोजना, २५ किलोवाटको तल्फी जलविद्युत् आयोजना, ४५ किलोवाटको त्रिवेणी जलविद्युत् आयोजना, २५ किलोवाटको माथि लोर्पा विद्युत् आयोजना, रिनीमा नौ किलोवाट, पटमारामा १२ किलोवाट, तलि लोर्पामा पाँच किलोवाट, लाम्रीमा नौ किलोवाट र महरीमा छ किलोवाटको लघुजलविद्युत्को निर्माण सम्पन्न भएको छ । जिल्लाकै पहिलो उज्यालो पालिका घोषणा गर्ने तयारीमा पातारासी जुटेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए । पन्ध्र आयोजनामध्ये ११ वटाबाट साढे दुई सय किलोवाट विद्युत् उत्पादन भइरहेको छ । घरघरमा बत्ती पुगेसँगै टुक्कीकै भरमा दिन गुजारी रहेका पातारासीका १७ हजार बढी नागरिकले विद्युत् सुविधा प्राप्त गरेका छन् । अहिले विद्युत्को पहुँच पुगेपछि झरो बाल्ने बाध्यता पनि हटेको छ भने बालबालिकाले सहजरुपमा पढ्न पनि पाएका छन् । विद्युतीकरणपछि फर्निचर उद्योग तथा साना जडीबुटी उद्योग पनि सञ्चालन भएका छन् । विद्युत् क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेर पालिकाले साढे तीन वर्षमै घरघरमा विद्युतीय पहुँच विस्तार गर्न सफल भएको गाउँपालिका अध्यक्ष बोहोराले बताए । साढे तीन वर्षमा पालिकाका करीब २७ बस्तीका तीन हजार ४०० घरधुरीलाई विद्युत्को पहुँचमा पु¥याउन सफल भएको पातारासी गाउँपालिकाले जनाएको छ । विद्युत् गृहका कर्मचारीको तलब र मेसिन मर्मत खर्च सबै पालिकाले नै व्यहोर्ने गरी यहाँका तीन हजार ४०० घरधुरीलाई नै निःशुल्क बत्ती दिने व्यवस्था गरिएको गाउँपालिका उपाध्यक्ष पुन्नकली महतराले बताइन् । एक मेगावाट क्षमताको चुकेनी जलविद्युत् आयोजना निर्माणका लागि गाउँपालिकाले दुई करोड शेयर लगानी समेत गरेको छ ।