झापामा ७९ करोड लगानीमा ठूलो सौर्य विद्युत् परियोजना
झापा । झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा अघि बढेको छ । दश मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने महत्वाकाङ्क्षी योजनासहित दुई वर्षअघि स्थापना भएको झापा इनर्जी लिमिटेडले सोलार प्यानल राख्नका लागि २२ बिघा जग्गा खरिद गरेको छ । शिवसताक्षी नगरपालिका वडा नं ३ र ४ मा सोलार प्यानल राख्नका लागि प्रतिबिघा रु २० लाखका दरले जग्गा खरिद गरिएको कम्पनीका अध्यक्ष एवं निवर्तमान सङ्घीय सांसद लालबहादुर सावाले बताए । आयोजनाको कूल लागत रु ७९ करोड रहेकामा ६० करोड बैंक कर्जामार्फत स्रोत व्यवस्थापन गरिने उनले जानकारी दिए । कम्पनीले एक लाखदेखि माथि जतिसुकै रकम लगानी गर्न इच्छुक लगानीकर्तालाई आह्वान गरेको छ । ‘झापालीका लागि झापालीद्वारा’ भन्ने उद्घोषका साथ स्थापना भएको झापा इनर्जीको सौर्य विद्युत् उत्पादन परियोजनामा मुलुकभित्र रहेका झापाली उद्योगी व्यवसायी र विदेशमा रहेर विभिन्न उद्यम गरिरहेका झापालीहरुको उत्साहजनक लगानी रहेको कम्पनीका प्रबन्ध सञ्चालक सुभाष भट्टराईले बताए । उनका अनुसार आगामी वर्षको पुस १५ सम्ममा परीक्षण उत्पादन गर्ने लक्ष्य लिइएको छ । व्यावसायिक उत्पादन भने २०७८ पुस मसान्तसम्ममा गर्ने लक्ष्य लिइएको सञ्चालक भट्टराईले जानकारी दिए । यहाँबाट उत्पादित विद्युत् नेपाल विद्युत प्राधिकरणलाई प्रतियुनिट ७.३० का दरले बिक्री गर्ने कम्पनीको योजना छ । यसले वर्षमा एक करोड ७६ लाख १० हजार युनिट विद्युत् उत्पादन गर्ने कम्पनीको दाबी छ । कम्पनीले यही वर्षको माघ मसान्तसम्ममा विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता (पिपीए) गरिसक्ने र चैतको पहिलो सातातिर परियोजनाको इपिसी ठेक्का दिने जनाएको छ । झापामा सौर्य ऊर्जा उत्पादनको राम्रो सम्भावना भएको र विदेशमा यसको ठूला परियोजना सफलतापूर्वक सञ्चालन भइरहेको देखेपछि झापा इनर्जी कम्पनी स्थापना गरिएको सञ्चालक एवं सहकारी अभियानकर्मी रामचन्द्र उप्रेतीले बताए । कम्पनीले शनिबार दोस्रो वार्षिक साधारणसभा सम्पन्न गर्दै २०७८ मङ्सिर मसान्तमा आयोजना सम्पन्न गर्ने अठोट गरेको छ । रासस
चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने
चितवन । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टको सफलतापछि सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन जडान तीव्ररुपमा अघि बढाएको छ । सङ्घीय सरकारको प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पाइप लाइन विस्तार गरी लोथरसम्म पु¥याउने लक्ष्यसहित काम शुरु भएको नेपाल आयल निगम(एनओसी)ले जनाएको छ । “अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६९ किलोमिटरमा निर्माण हुने सो पेट्रोलियम पाइप लाइनलाई अगाडि बढाउनेबारे अध्ययन भइरहेको छ”, नेपाल–भारत पाइप लाइन ज्वाइन्ट अध्ययन ग्रुप नेपालतर्फका संयोजक वीरेन्द्र गोइतले भने, “लोथरसम्म सो पाइप लाइन विस्तार कसरी गर्ने, त्यसमा कति खर्च लाग्नेबारे अध्ययन तथा छलफल भइरहेको छ ।” मोतिहारीबाट अमलेखगञ्जसम्म सञ्चालनमा रहेका पेट्रोलियम पाइप लाइनमै पाइप जोडेर लोथरसम्म विस्तार गरिनेछ र यसका लागि नेपाल तथा भारत सरकारबीच आपसी समझदारीपश्चात सर्भे सकिएपछि संयुक्त कार्यदलले डिपिआर कार्ययोजना मोडालिटीसम्बन्धी काम गरिरहेको छ । लोथरमा एक लाख किलोलिटर पेट्रोलियम भण्डारण हुने बताइएको छ । यसअघि २०७६ भदौदेखि भारतको मोतिहारीबाट सो पाइप लाइनमार्फत अमलेखगञ्जस्थित निगमको डिपोमा डिजेल ल्याउने गरेकामा अब एक वर्षभित्र सोही पाइप लाइनमार्फत पेट्रोल ल्याउने गृहकार्य शुरु भएको एनओसी प्रदेश–२ प्रादेशिक कार्यालयका प्रमुख भरत रेग्मीले बताए । “निगमको सञ्चालक समितिले मोतिहारीबाट पेट्रोल पनि ल्याउने स्वीकृति दिएपछि सो काम अगाडि बढाउन भारतीय आयल निगम (आइओसी) सँग सो सम्बन्धमा काम अगाडि बढाउन अनुरोध गरिएको छ”, प्रादेशिक प्रबन्धक रेग्मीले भने, “४२–४२ लाख लिटर पेट्रोल भण्डारण गर्ने क्षमताको दुईवटा पेट्रोल ट्याङ्की अमलेखगञ्ज डिपोमा तयार भइरहेको छ ।” नेपाल सरकारको १२० करोड भारतीय रुपैयाँको लागतमा निर्माण भइरहेको सो पाइप लाइनमा अन्तर्राष्ट्रिय गुणस्तरको पाइप जडान गरिएको छ भने निर्माण भइरहेको पेट्रोल ट्याङ्कमा स्वचालित मेसिनबाट जाँच गर्ने खालको हुनेछ । आइओसीले भारतको मोतिहारीमा भर्टिकल ट्याङ्क निर्माण गर्ने काम शुरु गरेको छ । यता अमलेखगञ्जस्थित एनओसीलेको कार्यालयमा पेट्रोल आपूर्ति गर्नका लागि आवश्यक पर्ने पूर्वाधारको काम अगाडि बढाइएको छ । सो कार्यालय हाताभित्र पश्चिमतर्फ रहेको छ बिघा क्षेत्रफलमा रहेको खाली जग्गामा आवश्यक काम हुनेछ भने सो जग्गाको नक्सापास, लागत अनुमान तथा माटो परीक्षणसमेत भइसकेको छ । आयोजना निर्माणको कागजी प्रक्रिया अन्तिम चरणमा पुगेको छ । त्यसपछि बोलपत्र आह्वान गरी निर्माण शुरु गरिने बताइएको छ । हाल सो पाइपबाट भारत विहारको राजधानी पटनामा पम्पिङ गरेर अमलेखगञ्ज डिपोमा डिजेल आउने गरेको छ । मोतिहारीमा पेट्रोल ल्याउने काम सम्पन्न भएपछि त्यहीबाट पम्पिङ गरेर पेट्रोल पनि ल्याइनेछ । प्रतिघण्टा तीन लाखदेखि चार लाख लिटरसम्म पेट्रोल आपूर्ति गर्न सकिनेछन् । पाइप लाइनबाट पेट्रोल आपूर्ति हुन थालेपछि टयाङ्करबाट गर्ने ढुवानीमा खर्चको बचत हुने, प्राविधिक नोक्सानीको अन्त्य हुने, शुद्धता कायम हुने, चुहावट र मिसावट अन्त्य हुने, प्रदूषण तथा वातावरणमा हुने क्षतिको अन्त्य हुने, भन्सार नाकामा हुने टयाङ्करको चापसमेत अन्त्य हुने तथा पेट्रोलको अभाव पनि अन्त्य हुने विश्वास प्रादेशिक प्रमुख रेग्मीले लिएका छन् । भारतको मोतिहारीबाट रक्सौल अमलेखगञ्जसम्म नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइप लाइनबाट अहिले डिजेल आउने गरेको छ । नेपालको लाइफलाइनको रूपमा रहेको भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म ७०.२ किलोमिटर लम्बाइको सो पाइप लाइनबाट पेट्रोल ल्याउने सम्पूर्ण काम पूरा भएपछि प्राविधिक जाँच गरी एक वर्षभित्रै सञ्चालनमा आउने एनओसी अमलेखगञ्ज कार्यालयले जनाएको छ । अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार भई सञ्चालनमा आएपछि पश्चिमी तथा उत्तरी नेपालमा पेट्रोलियम पदार्थको अभाव समाप्त भएर जाने विश्वास लिइएको छ । रासस
पोखरा अन्तरराष्ट्रिय विमानस्थलकाे छ महिनाभित्र निर्माण सकिने
पाेखरा । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल अबको छ महिनाभित्र निर्माण सकिने भएको छ । हाल ६८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको पोखरा विमानस्थलको निर्माण कार्य छ महिनाभित्र सकिने विमानस्थल आयोजनाले जनाएको छ । हालको निर्माण प्रगतिलाई हेर्दा पोखरा अन्तरराष्ट्रिय विमानस्थल कोभिड महामारी भए पनि तोकिएकै समयमा सम्पन्न हुने देखिन्छ । यो विमानस्थल भैरहवामा निर्माणाधीन अन्तरराष्ट्रिय विमानस्थलभन्दा पहिले नै सञ्चालनमा आउने आँकलन गरिएको छ । भैरहवा विमानस्थलको ९३ प्रतिशत भौतिक प्रगति छ । यो विमानस्थलमा पनि प्राविधिक जनशक्ति अभावमा उपकरण जडानको कार्य ढिला भइरहेको छ । अहिलेसम्मको कामको समग्र प्रगति हेर्दा भैरहवाभन्दा पोखरा नै चाँडै सञ्चालनमा आउने देखिएको हो । पोखरा विमानस्थलको ६८ प्रतिशत भौतिक प्रगति र करीब ५१ प्रतिशत वित्तीय प्रगति भएको छ । तोकिएको काम सम्पन्न भएपछि मात्रै ठेकेदारलाई पूरा भुक्तानी दिइने भएकाले वित्तीय प्रगति कम देखिए पनि त्यो भुक्तानी गर्दा स्वतःवित्तीय प्रगति माथि पुग्ने विमानस्थल आयोजनाले जनाएको छ । विमानस्थल निर्माण हालको प्रगति र उपकरण जडानसहित अबको छ महिनाभित्र विमानस्थल निर्माण सम्पन्न हुने विमानस्थल आयोजना प्रमुख इञ्जिनीयर विनेश मुनकर्मीले जानकारी दिए । “अहिलेसम्म निर्माण व्यवसायीले म्याद थप्नुपर्ने भनेका छैनन् । उपकरण जडानको काम चारदेखि छ महिना लाग्छ । पचास प्रतिशतभन्दा बढी उपकरण बाँकी पनि केही समयभित्रै आउने भएकाले छ महिनाभित्रै जडानको काम सकिनेछ”, उनले भने । कोभिड–१९ को समस्या नभएको भए यो आयोजना समयावधिभन्दा छ महिनाअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । सन् २०२१ जुनमा सम्पन्न गर्ने लक्ष्य रहेको यो आयोजनाको काम बन्दाबन्दीको अवधिमासमेत निरन्तर सञ्चालन भएको थियो । अहिले १६० चिनियाँ र ६० नेपाली गरी २२० कामदार खटिएका छन् । विमानस्थलको हाल दुई हजार ५०० मिटरको धावनमार्ग, एटिसी टावर, सात वटा भवन, एउटा ह्याङ्गरलगायत निर्माण कार्य सम्पन्न भएका छन् । यी पूर्वाधार सम्पन्न हुँदै छ । विमानस्थलमा लाइटिङलगायत उपकरण जडानको काम मात्र बाँकी छ । प्रविधि जडानका लागि आवश्यक विदेशी कामदार ल्याउन प्रक्रिया पूरा भएको र उनीहरु आउनासाथ उपकरण जडानको काम शुरु हुनेछ । प्रविधि जडानका लागि चीनसहित युरोप, अस्ट्रेलिया र अमेरिकाबाट पनि प्राविधिक ल्याउनुपर्ने आयोजनाले जनाएको छ । पूर्वनिर्धारित समयअघि नै विमानस्थलको निर्माण कार्य सकिने आयोजना प्रमुख मुनकर्मीले बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले पोखरा विमानस्थलको निर्माण तीव्रताका साथ भइरहेकाले निर्धारित समयअघि नै काम सम्पन्न हुने जनाए । करीब तीन हजार ९०० रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थलको लगानी करीब २२ अर्ब हुने प्राधिकरणले जनाइएको छ । चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सिएएमसिइले विसं २०७३ साउन १८ देखि विमानस्थल निर्माण गरिरहेको छ । अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्डअनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भए पनि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाजको उडान अवतरण हुने जनाइएको छ । विमानस्थलले वार्षिक आठ लाख यात्रुलाई सेवा दिने क्षमताको हुनेछ । विमानस्थलमा तीन न्यारोबडी, चार एटिआर जहाज र चार ट्वीनअटर जहाज गरी ११ वटा जहाज पार्किङ गर्न सकिने क्षमता छ । रिट्ठेपानी डाँडा काटिँदै ठूला जहाजको उडान एवं अवतरणमा अवरोध गर्ने भनिएको विमानस्थल नजिकै रिट्ठेपानी डाँडा काट्ने तयारी भएको आयोजनाले जनाएको छ । धावनमार्गको ‘अप्रोच’ पर्ने भएकाले करीब ४० मिटर डाँडा काटेर समतल बनाइनेछ । एक महिनाभित्रै ठेक्का प्रक्रिया अगाडि बढाएर करीब छ महिनामा डाँडा काटेर सम्याइनेछ । आयोजना प्रमुख मुनकर्मीका अनुसार आइकाओ मापदण्डअनुरुप जहाज उडान एवं अवतरण गर्ने मार्गमा अवरोध हुन हुँदैन । रिट्ठे डाँडा धावनमार्गको ‘अप्रोच’मा परेको छ । त्यसले उडान तथा अवतरणमा अवरोध पु¥याउने भएकाले काट्नुपर्छ । हाम्रो मार्गमा ‘४० मिटर ‘अप्स्ट्रयाकल’ परेकाले रिट्ठेपानी डाँडा काटेर समतल बनाइने उनको भनाइ छ । अन्तरराष्ट्रिय उडान ‘सिंगल अप्रोच’ बाट र आन्तरिकतर्फ धावनमार्गको दुवै एप्रोचबाट उडान तथा अवतरण हुनेछ । डाँडो काट्दा दुवै खाले उडानलाई सहज हुनेछ । रासस