दाङको तुल्सिपुरमा ‘गार्डेन मार्ट’ सञ्चालनमा, ५० भन्दा बढीले पाए राेजगारी

दाङ । दाङको तुल्सिपुरमा सोमबारदेखि ‘गार्डेन मार्ट’ सञ्चालनमा आएको छ । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्य र स्थानीय उपभोक्तालाई सर्वसुलभ रुपमा दैनिक उपभोग्य बस्तु उपलब्ध गराउन यो मार्ट सञ्चालनमा ल्याएको हो । मोफसलका ग्राहकलाई समेत आधुनिक किनमेलको अनुभव दिलाउने उदेश्यले मार्ट सञ्चालनमा ल्याइएको संस्थाका मुख्य प्रवन्धक लिलानाथ गौतमले बताए । यो मार्टमा उपकार ब्रान्ड लगायतका अन्य विभिन्न ब्राण्डका चामल, दाल, चिनी, चियापत्ति, चकलेट, ध्यू, मह, जुस लगायतका दैनिक उपभोग्य सामग्री, आधुनिक कृषि उपकरण, मर्मत सम्भारका लागि आवश्यक सम्पूर्ण पार्टपूर्जाहरू, गार्मेन्ट्सका प्रोडक्टहरु, भाँडा वर्तन, श्रृङ्गारका सामग्री, स्टेशनरी, जुत्ता, ब्याग लगायतका सामग्री विक्रिका लागि राखिएको छ । शुभारम्भको अवसरमा मार्टले सम्पुर्ण सामाग्रीहरुमा विशेष छुट समेत दिएको छ । बहुउद्देश्यीय सहकारी भएकाले यसले बचत तथा ऋण संकलनका अतिरिक्त सेयर सदस्यलाई प्रत्यक्ष फाइदा पुर्याउने उदेश्यले अन्य विभिन्न क्षेत्रमा समेत लगानी विस्तार गरिरहेको छ । मुख्य प्रबन्धक गौतमले बहुउद्देश्यीय प्रकृति अनुसार नै ‘गार्डेन मार्ट’ सञ्चालन गरिएको बताउँदै मुलुकका विभिन्न क्षेत्रमा करिब २ सयको हाराहारीमा मार्ट सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए । उभोक्ताहरूले एउटै छानामुनि सुलभ मूल्यमा सबै किसिमका दैनिक उपभोग्य सामान किनमेल गर्न सकुन् भन्ने उदेश्यले मार्ट सञ्चालनमा ल्याएको मुख्य प्रवन्धक गौतमले बताए । गौतमका अनुसार मार्टमा स्थानीय ५० भन्दा बढीले प्रत्यक्ष रुपमा रोजगारी समेत पाएका छन् । दाङमा खुलेको यो संस्थाको तेश्रो मार्ट हो । सहकारीले यस अगाडी डडेलधुरा र भक्तपुरमा मार्ट सञ्चालनमा ल्याइसकेको छ ।

म्याक्स हस्पिटलमा ५० बेडको कोभिड अस्पताल सञ्चालन

मोरङ । विराटनगर महानगरपालिकाको पहलमा म्याक्स इन्टरनेशनल हस्पिटल एवम् ट्रमा सेन्टर विराटनगर-१५ महेन्द्र चोकमा आज(कार्तिक ४ गते) देखि ५० बेडको कोभिड अस्पताल सञ्चालनमा आएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली तथा सेन्टरका प्रवन्धक निर्देशक हेमनारायण मेहताबीच आज(कार्तिक ४ गते) एक सहमती गरी अस्पताल सञ्चालन गरिएको छ । सेन्टरले आफ्ना अन्य सेवा स्थगित गरी पाँच भेन्टिलेटर र १२ बेडको सघन उपचार कक्ष (आईसियु) सहित ५० बेडको सेवा शुरु गरेको हो । सेन्टरले १२/१२ घण्टाको पालोमा चार चिकित्सक सहित ३८ जना स्वास्थ्यकर्मी कोभिडका सङकक्रमितका उपचारका लागि सेवा प्रवाह गर्ने निर्देशक मेहताले बताए । महानगरपालिकाको तीन र सेन्टरको अक्सिजन सहित एक एम्वुलेन्सले कोभिड सङक्रमितलाई आवश्यक सेवा प्रदान गर्ने भएको छ । सेन्टरको निरीक्षण पछि महानगरपालिकाका प्रमुख पराजुलीले नागरिकको स्वास्थ्य प्रमुख दायित्व भएकोले सङक्रमितको उपचारका लागि कुनै कमी हुन नदिन आवश्यक पर्ने सहयोग महानगरपालिकाले उपलव्ध गराउने बताए । उनले निजी क्षेत्रको सहयोगमा महानगरले न्यूरो अस्पतालमा १५० र अर्को एक स्थानमा अक्सिजन सहितको १०० बेडको कोभिड आइसोलेशन सञ्चालनमा ल्याउन लागि रहेको जानकारी दिए । महानगरपालिकाले कोभिड सङक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थान गर्नुका साथै विराटनगर-१९, बैजनाथपुर, मारवाडी सेवा सदन, जैन भवन, काली सेवा सदन लगायतमा आइसोलसन सञ्चालन गर्दै आइरहेको छ । रासस

रानीपोखरीकाे उद्घाटन ५ गते राष्ट्रपति भण्डारीले गर्ने

काठमाडौं । पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन कात्तिक ५ गते बुधबारको दिन दिउसो १२ बजे हुने भएको छ । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुननिर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन गर्न लागिएको सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गर्ने मन्त्री श्रेष्ठले बताए । २०७२ साल माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्टपति भण्डारीले नै रानीपोखरी पुननिर्माणको शिलान्यास गरेकी थिइन् । त्यसैले मन्दिरको उद्घाटन पनि राष्ट्रपति भण्डारीबाट नै गर्न लागिएको मन्त्री श्रेष्ठले बताए । समग्रतामा रानीपोखरीलाई जस्ताको तस्तै पुननिर्माण भई उद्घाटन गर्ने अवस्थामा आइपुग्नुले वर्तमान सरकार पुननिर्माण प्रति कत्तिको चिन्तित छ भन्ने पुष्टि हुनेपनि मन्त्री श्रेष्ठले बताए । यसअघि गम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदन अनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुननिर्माण गरिएको छ । १८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुननिर्माण गरिएको थियो । तर फेरी रानीपोखरीलाई आधुनिक शैलिबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलिबाट निर्माण गरिएको हो । त्यसैले शिलान्यास भएको करिब ५ वर्षपछि मात्र्र रानीपोखरी पुननिर्माणको काम सम्पन्न भएको छ ।