कामपाले तीन विद्युतीय शवदाह निर्माण गर्दै, लागत एक करोड २० लाख रूपैयाँ
काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा पशुपति क्षेत्रमा थप तीन विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आज वडा नम्बर-१४ को कुलेश्वर महादेव मन्दिर परिसरमा ‘कुलेश्वर उद्यान’ शिलान्यास गर्दै अब छिट्टै कामपाकोे करीब १५ करोड रुपैयाँ अनुदानमा पाशुपत क्षेत्रमा शवदागृह निर्माण अघि बढाउने जानकारी दिए । उनका अनुसार केही दिनमै पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरी निर्माण थालनी हुने छ । कोषका सदस्य सचिव डा प्रदीप ढकालले कामपाले पनि विद्युतीय शवदाह यन्त्र र गृह निर्माणका लागि गरेको पहल सकारात्मक भएको प्रतिक्रिया दिए । कामपा शहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापाले कोभिड–१९ का कारण सम्झौतामा केही ढिलाइ भएको र अब केही दिनभित्रै सम्झौता गरी प्रक्रिया अघि बढाइने जानकारी दिए । उनका अनुसार कोषसँग पटकपटक छलफल गरी सम्झौताको अन्तिम चरणमा पुगिएको छ । ९ रोपनी क्षेत्रफलमा उद्यान कुलेश्वर उद्यान नौ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको हो । करीब एक करोड २० लाख रूपैयाँको लगानीमा निर्माण हुन लागेको वडा नं १४ का वडाध्यक्ष शोभा सापकोटाले जानकारी दिए । कामपाले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा आफ्नो क्षेत्रभित्रका सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्न २० लाख रुपैयाँदेखि ६ करोड रुपैयाँसम्मका तीसभन्दा बढी उद्यान निर्माणको योजना अघि सारेको छ । प्रमुख शाक्य अहिले काठमाडौं उपत्यकामा कोभिड-१९ को सङ्क्रमण नियन्त्रण बाहिर जान सक्ने खतरा बढेकाले तीनै तहका सरकार र जनता मिलेर नियन्त्रण प्रयासमा लाग्न जरुरी रहेकामा जोड दिए । रासस
भौतिक पूर्वाधार विकास मन्त्रालयमा कर्मचारी अभाव, कार्य सम्पादनमा समस्या
काठमाडौं । वाग्मती प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयमा दरबन्दीअनुसार कर्मचारी नहुँदा कार्य सम्पादनमा समस्या देखिएको छ । मन्त्रालयका अनुसार विभिन्न पदमा विभिन्न सेवा, समूह र उपसमूह तर्फका गरी कूल ५५ कर्मचारीको दरबन्दी रहे पनि हाल ३४ जनामात्र कर्मचारी कार्यरत छन् । दरबन्दीअनुसार कर्मचारी नहुँदा थोरै कर्मचारीले कार्यालयको सबै काम सम्पादन गनुपर्दा समस्या भएको मन्त्रालयका सूचना अधिकारी राजन पोखरेलले जानकारी दिए । मन्त्रालयका अनुसार हाल इन्जिनीयरतर्फ विभिन्न सेवा, समूह र उपसमूहमा गरी १६, शाखा अधिकृत तीन, सिनियर डिभिजन इन्जिनीयर (सिभिल) एक र उपसचिव (सामान्य प्रशासन) तर्फ एक गरी कूल २१ कर्मचारी रिक्त छन् । प्रदेश लोक सेवा आयोगसँग थप कर्मचारीको व्यवस्थापनका लागि माग गरिएको मन्त्रालयले जनाएको छ । यद्यपि तत्कालका लागि करारमा भए पनि केही कर्मचारी माग गर्ने प्रक्रिया अघि बढाइएको मन्त्रालयका सूचना अधिकारी पोखरेलले जानकारी दिए । रासस
सडक निर्माणको क्षेत्रमा काम गर्ने नेपालीको सङ्ख्या बढ्यो
काठमाडौं । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले सडक निर्माणको क्षेत्रमा काम गर्ने नेपाली जनशक्तिको उल्येख्य वृद्धि भएको बताएका छन् । सडक कालोपत्र गर्ने काममा भारतीय तथा तेस्रो देशका मजदूरले मात्रै काम गर्ने गरेको बताउँदै मन्त्री फुयाँलले पछिल्ला दिनमा नेपाली सडकमा नेपाली मजदूर अझ महिलाको समेत सङ्ख्या बढ्दै गएको उल्लेख गरे। मन्त्री फुयाँलले अन्यत्र गएर विभिन्न प्रकारका मजदुरी गर्ने नेपाली कोरोना कहरका कारण थन्किएको अवस्थामा पूर्वाधार निर्माणका क्षेत्रमा थुप्रै जनशक्ति खपत गरिएको जानकारी दिए । मन्त्री फुयाँलले केही दिन पहिले मात्रै शिलान्यास गरिएको काभ्रेका सडकमा महिला मजदूरले काम गरिरहेका देखिएको हेटौंडा-काठमाडौंका सडकमा समेत महिला-पुरुषले संयुक्त रूपमा काम गरिरहेका बताए । नेपालमा हुने विभिन्न काममा नेपाली जनशक्ति प्रयोग गर्न सकियो भने पनि बेरोजगारी समस्या समाधान हुने तथा विदेशिएका जनशक्तिलाई स्वदेशमै स्थापित गराउन सकिने उनको भनाइ थियो । उनले अटोमोबाइलको क्षेत्रमा भने अझै पनि नेपाली मिस्त्री तथा मजदूरको अभाव रहेकाले सरकारले त्यो पूर्ति गर्नका लागि विशेष योजना बनाएको बताए । मन्त्रालयले अटोभिलेजको निर्माण गर्ने र इच्छुक महिला-पुरुषलाई संयुक्त रुपमा अटो मेकानिक्सको तालीम दिने तयारी थालेको जानकारी दिए । तालीममा दम्पतीलाई सहभागी गराइने उनको भनाइ थियो । मन्त्री फुयाँलले प्रदेश सरकार स्वदेशी श्रमिकलाई स्वदेशमै रोजगार उपलब्ध गराउन प्रयासरत रहेको बताए । “हामीले गर्ने हरेक निर्माणमा बेरोजगारहरुलाई बढीभन्दा बढी रोजगारी उपलब्ध गराउन के गर्न सकिन्छ भन्ने हाम्रो ध्याउन्न हुन्छ, प्रदेशका हरेक मन्त्रालयका गतिविधि कहीँ कतै बेरोजगारी समस्या समाधानका लागि हुने गर्छन्”, उनले भने । रासस