हालसम्मकै ठूलो सौर्य उर्जा बन्दै, २५० मेगावाट क्षमता रहेकाे लागत करिब १९ करोड अमेरिकी डलर

काठमाडौं । नेपालमा हालसम्मकै ठूलो क्षमताको सोर्य उर्जा निर्माण हुने भएको छ । ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट सहितको २५० मेगावाट क्षमताको ग्रीडमा जोडिने सौर्य ऊर्जा परियोजना बन्ने भएकाे हाे । यसका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न नेपाल सरकार, लगानी बोर्डको कार्यालय र राइजेनइनर्जी सिंगापुर जेभीबीच समझदारी पत्रमा मंगलबार हस्ताक्षर भएको हो । समझदारी पत्रका अनुसार बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगंगामा क्रमशः१२५ मेगावाटका दरले जम्मा २५० मेगावाट सौर्यऊर्जा परियोजना र २० मेगावाटका दरले जम्मा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट स्थापनाका लागि अध्ययन गरिने छ । उक्त परियोजनाको कुल अनुमानित लागत १८ करोड ९५ लाख अमेरिकी डलर रहेकोछ । लगानी बोर्ड कार्यालयमा सम्पन्न सम्झैतामा बोर्डका कार्यालयकातर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीको तर्फबाट उक्त कम्पनीका दक्षिण एशियाका लागि विकास प्रबन्धक वाङ्ले हस्ताक्षर गरे । समझदारी पत्रका अनुसार कम्पनीले सर्वेक्षण अनुमति पाएको १२ महिना भित्र डीएफएसआर तयार गरी लगानी बोर्डको कार्यालयमा बुझाउनु पर्नेछ । २०७७ असार ५ मा बसेको लगानी बोर्डको ४४औं बैठकले उक्त कम्पनीलाई डीएफएसआर तयार गर्न अनुमति दिने र यसका लागि सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो। उक्त परियोजना नेपालको हालसम्मकै ठूलो सौर्य ऊर्जा परियोजना हो।

सडक सञ्जालमा जोडिए दैलेख र कालीकोट

सांकेतिक तस्विर मान्म । दैलेखको भैरवी गाउँपालिका र कालीकोटको शुभकालिका गाउँपालिका सडक सञ्जालमा जोडिएका छन् । दैलेखको माथिल्लो डङ्गेश्वर, दुल्लु, डाँडमाडी, ब्याउली हुँदै कालीकोटको सेरी पान्तडी सडकअन्तर्गत यी दुई जिल्ला सडक सञ्जालले जोडिएको हो । सुर्खेतको वीरेन्द्रनगर, दैलेखको माथिल्लो डुङ्गेश्वर, बैंकमालिका, दुल्लु कुसापानी ब्याउली हुँदै कालीकोटको शुभकालिका–६ को मेहेले लेक, सेरी पान्तडीकाट जुम्ला, मुगु हुँदै नेपालको उत्तरी नाका चीनसम्म यो सडक निर्माण गर्ने लक्ष्य राखिएको छ । सो सडकखण्डको पहिलो चरणअन्तर्गत कालीकोट सीमासम्म सडक निर्माण भएको दैलेख भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बताए । “दैलेखको तल्लो डुङ्गेश्वरबाट कालीकोटको सेरी पान्तडीको कर्णाली राजमार्गमा गएर यो सडक जोडिने छ”, उनले भने, “५६ किलोमिटर लम्वाइ रहेको यो सडक निर्माण भए नेपालको उत्तरी सीमा चीन जोडिनका लागि छोटो सडक सञ्जाल हुनेछ ।” दैलेख सडकखण्डको काम पूरा भएर कालीकोटको सीमासम्म सडक सञ्जाल छोइसकेको कालीकोट शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईले बताए । “कालीकोट सडकख ण्डको निर्माणका लागि ठेक्का भइसकेको छ”, उनले भने, “वैशाखसम्म यो सडकखण्डको पूर्ण ट्र्याक खुल्नेछ ।” सडक निर्माणले सुर्खेत वीरेन्द्रनगरबाट मुगुको रारा ताल, जुम्ला पुग्नका लागि उत्तरी छिमेकी चीन जोड्ने छोटो मार्ग हुने दैलेख भैरवी गाउँपालिकाका अध्यक्ष बुढाले जानकारी दिए । “यो पुरानो बाटो हिँड्ने मार्ग पनि हो”, उनले भने, “यही बाटो भएर दैलेख, कालीकोट, जुम्ला, मुगु र हुम्लाका बासिन्दाले सुर्खेत वीरेन्द्रनगर र बाँकेको नेपालगञ्जसम्म जाने गरेका थिए ।” रासस

नागढुङ्गा-नौबिसे सुरुङमार्गको काम फाष्ट ट्रयाकमा, दैनिक ३ सय कामदार परिचालित, ३४ मिटर सुरुङ खनियो

काठमाडौं । पछिल्लो समय काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्गको निर्माण काम तीव्र गतिमा भइरहेको छ । केही हप्ता अगाडि स्थानीयहरुको अवरोधका कारण केही समस्या भएको सुरुङमार्गको काम पछिल्लो समय भने तीव्र गतिमा अगाडि बढेको हो । सुरुङमार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यका अनुसार अहिले कामले तीव्रता पाएको छ । उनका अनुसार अहिले सुरुङमार्गको पूर्व–पश्चिमबाट खन्ने, विभिन्न ठाउँमा पूल निर्माण गर्ने, ओभरपास निर्माण गर्ने, पहुँच रोड बनाउने लगायतका कामहरु भइहरका छन् । केही दिन अघि सुरुङमार्गको काम सुरु भएको दुई हप्तामै विवादमा आएको थियो । स्थानीयले सुरुङमार्गले स्थानीय स्तरमा विभिन्न समस्याहरु सिर्जना गर्ने भन्दै ती समस्याको समाधानका लागि विभिन्न मागहरु राखेका थिए । त्यसपछि आयोजनाका मानिसहरु र स्थानीय तहका जनप्रतिनिधीहरु मिलेर काम नियमित रुपमा अगाडि बढाउने सहमति भएसँगै अहिले कामले तीव्रता पाएको हो । आयोजना प्रमुख शाक्यका अनुसार अहिले साइटमा ३ सय जना कामदारले काम गरिहरेका छन् । ‘गत शुक्रबारबाट हामीले पूर्वीतर्फको टोटीपाखाको मेन टनेलको काम सुरु गरिसकेका छौं, दैनिक ३ सय कामदार खटिएका छन्, ३४ मिटर सुरुङ खनिसकेका छौं,’ उनले भने । छैन निर्माण सामग्रीको अभाव शाक्यका अनुसार आयोजनाका लागि अहिले प्रयाप्त मात्रामा निर्माण सामग्री छन् । ‘अहिले निर्माण सामग्रीको मूूल्य बढेपनि त्यसको असर आयोजनालाई नपरेको उनको भनाई छ । निर्माण सामग्री पनि आइसकेको छ । इलेक्ट्रोमेकानिकल सामान आयात गर्न बाकी छ, अन्य धेरै निर्माण सामग्रीहरु आइसकेका छन्,’ उनले भने । उनका अनुसार अहिले बढेको निर्माण सामग्रीले आयोजनालाई केही असर परेको छैन । उनले ९० प्रतिशत इक्विपमेन्ट साइटमा आइसकेको बताए । उनले सुरुङमार्गका लागि आवश्यक पर्ने जम्बो ड्रिलर लगायतका मेसिनहरु जापानबाट ल्याइएको बताएका छन् भने त्यसबाहेकका सामान तथा मेसिन जापान र इटालीबाट ल्याएको बताए । यस्तै, २० प्रतिशत निर्माण सामग्रीहरु पनि साइटमा ल्याइसकेको छ । सुरुङमार्ग खन्न थाल्नेदेखि यसको फिनिसिङ गरेर पूर्णरूपमा सम्पन्न गर्नेसम्म सबै गरेर ४४ महिनामा यो आयोजना पूरा गर्ने योजना छ। सन २०२२ को अन्तिम सम्ममा निर्माण सम्पन्न गर्नुपर्ने यो सुरुङमार्ग कोभिडका कारण प्रभावित भएपछि सुरुङ खन्ने काम ढिलो गरी शुरु भएको थियो । २ दशमलव ७ किलोमिटर लम्बाई रहेको यो सुरुङमार्गमा लागत २२ अर्ब हुने अनुमान गरिएको छ । गत वर्षको कात्तिक ४ गते प्रधानमन्त्री ओलीले शिलान्यास गरेपनि मुआब्जा विवाद, विष्फोटक पदार्थको आयातमा भएको ढिलाई र कोभिडका कारण निर्माण उपकरण आयातमा भएको ढिलाईका कारण १४ महिना ढिलो गरी निर्माण कार्य शुरु भएको हो । आयोजना स्थलमा सुरुङ खन्नका लागि निर्माणस्थलसम्म पहुँचमार्ग, खोलामा कल्भर्ट बनाउने कार्य पुरा भइसकेको छ । जापानको हाज्मा एन्दो कर्पोरेसनले निर्माण कार्यको जिम्मा लिएको छ ।