दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन तयार

म्याग्दी । कालीगण्डकी कोरीडोर प्रशारण लाइन आयोजना अन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रशारण लाइन र सबस्टेशन तयार भएको छ । सबस्टेशनमा जडान भएका उपकरण र प्रशारण लाइनको परीक्षण सफल भएपछि सञ्चालनका लागि तयार भएको हो । आयोजना प्रमुख चन्दनकुमार घोषले दुवै ठाउँमा निर्माण भएका सवस्टेशन र प्रशारण लाइन विद्युत् जोड्नका लागि तयार भएको जानकारी दिए । “सबस्टेशन चार्ज र प्रशारण लाइनको परीक्षण गरेर सकिएको छ,” उनले भने “सिभिल र सामाजिक उत्तरदायित्व अन्तर्गतका केही आयोजना बाहेकको निर्माण सकिएको छ । विद्युत् जोड्न तयार भएको छ ।” नेपाल विद्युत् प्राधिकरणले एशियाली विकास बैंकको सहयोगमा सन् २०१६ को ३० मेमा दाना–खुर्कोट प्रशारण लाइन आयोजना निर्माण शुरु गरेकोे थियो । सबस्टेशनसहित ३९.६ किलोमिटर दूरीको दाना–खुर्कोट प्रशारण लाइन र निर्माण गर्न टाटा–चिन्ट इलेक्ट्रिक जेभीले रु दुई अर्ब ९० करोडमा ठेक्का लिएको थियो । करीब ११० वटा टावर बनाएर डबल सर्किटको तार तानिएको आयोजनाका सहायक प्रबन्धक लक्ष्मण फुयाँलले बताए । “यो सबस्टेशनमा सबैभन्दा पछिल्लो पटक विकास भएको अत्याधुनिक प्रविधियुक्त उपकरण जडान भएको छ,” उनले भने, “ट्रान्सफर्मर चार्ज सफल भएपछि घलेम्दी जलविद्युत् आयोजनाको विद्युत् सबस्टेशनमा जडान भइसकेको छ ।” स्थानीय आयोजनाबाट उत्पादित विद्युत् कम क्षमताको भएकाले मोदी–चुवा हुँदै १३२ केभी क्षमताको लाइन ल्याएर खुर्कोट र दाना सबस्टेशन चार्ज गरिएको थियो । दाना सबस्टेशन अन्तर्गत पाँच मेगावाट क्षमताको घलेम्दीखोला र १३.४ मेगावाट क्षमताको थापाखोला जलद्यिुत् आयोजना चालू छन् । जग्गा अधिग्रहण, मुआब्जा वितरण, वन क्षेत्रको जग्गा प्राप्ति, जग्गाधनीसँगको विवाद, बाढी र पहिरोका कारण लक्ष्यभन्दा दुई वर्ष ढिला गरी आयोजना निर्माण सकिएको हो । सन् २०१८ को नोभेम्बरमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा जग्गाधनीसँगको विवादका कारण करीब तीन वर्षसम्म त्यहाँ प्रशारण लाइनको टावर निर्माण हुनसकेको थिएन् । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जनप्रतिनिधिको रोहबरमा लामो प्रयासपछि पोखरेबगरका जग्गाधनीसँग सहमति कायम गरेर आयोजनालाई पूर्णता दिइएको बताए । दाना र खुर्कोटमा चार/चार वटा पल्टमा स्वीचार्ड बनाइएको छ । पावर प्लान्ट र प्रशासनिक भवनको रङगरोगन भइरहेको छ । कर्मचारी आवास र अतिथि गृहको भवन पनि निर्माणको अन्तिम चरणमा छन् । करीब १५६ रोपनी क्षेत्रफलमा फैलिएको सबस्टेशनको वरपर पक्की पर्खाल लगाएर घेराउ गरिएको छ । खुर्कोटदेखि पर्वतको कुश्मा नगरपालिका–८ चुवामा निर्माण भएको १३२ केभी क्षमताको सबस्टेशन जोड्ने छ किलोमिटर लामो प्रशारण लाइनको परीक्षण सफल भइसकेको छ । म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय ग्रिडमा जोड्न सबस्टेशन र प्रशारण लाइन निर्माण भएको हो । नवलपरासीको बर्दघाटदेखि म्याग्दीको दानासम्म १४२ किलोमिटर प्रशारण लाइन निर्माण गर्ने लक्ष्यअनुसार खुर्कोटदेखि बर्दघाटतर्फ पनि प्रशारण लाइन निर्माण भइरहेको छ । कालीगण्डकी कोरीडोर प्रशारण लाइन आयोजनाले कालीगण्डकी र सहायक नदीहरुमा विद्युत् विकासमा महत्वपूर्ण सहयोग पुग्ने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी “ऊर्जा नदीमा” रुपान्तरण हुदैछ । प्रस्तावित जलविद्युत् आयोजना निर्माण भएमा म्याग्दीको अधिकांश भूगोलमा कालीगण्डकी नदी सुरुङबाट बग्नेछ । मुस्ताङदेखि पर्वतको सिमानासम्मको म्याग्दी खण्डमा कालीगण्डकी नदीबाट पाँचवटा जलविद्युत् आयोजना निर्माणको तयारी भएको हो । जलविद्युत् आयोजना निर्माणको तयारीसँगै कालीगण्डकी ऊर्जा नदीमा रुपान्तरण हुन लागेको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी बताउँछन् । “घाँसादेखि मिलनचोकसम्म कालीगण्डकीमा तीन सय मेगावाट भन्दा बढी क्षमत्ताका जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा छन्” केसीले भने, “म्याग्दीको विकास र सम्वृद्धिका लागि यो खुशीको विषय हो ।” चिनियाँ लगानीमा निर्माण हुन लागेको १६४ मेगावाट क्षमताको नेपाल कालीगण्डकी गर्ज जलविद्युत् आयोजना जिल्लामा हालसम्मकै सबैभन्दा ठूलो आयोजना हो । कालीगण्डकी गर्जको विद्युतगृहबाट निस्किएको पानी करीब ५०० मिटरभित्रै हाईड्रो सपोर्ट प्रालीले निर्माण गर्न लागेको ५३ मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको बाँधबाट सुरुङमा छिराइने छ । अन्नपूर्ण गाउँपालिका–२ ठूलोबगर र –६ पोखरेबगरको सिमानामा बाँध र सात हिस्तानको तिप्ल्याङमा विद्युत्गृह रहने गरी तिप्ल्याङ कालीगण्डकी हाईड्रोपावर प्रालिले ५८ मेगावाट क्षमताको तिप्ल्याङ कालीगण्डकी जलविद्युत् आयोजना निर्माणको तयारी गरेको छ । “प्रशारण लाइन, सबस्टेशन र सडक सुविधा भएकाले कालीगण्डकी र आसपासका क्षेत्रमा जलविद्युत् आयोजना निर्माणमा प्रवद्र्धकहरुको आकर्षण बढ्न थालेको छ” तिप्ल्याङ कालीगण्डकी आयोजनाका प्रतिनिधि उपेन्द्र गौतमले भने,“सरकारले पूर्वाधार तयार पार्न थालेपछि लगानीकर्ता सक्रिय बनेका छन् ।” ट्रेड लिङ्क ग्लोबल प्रालिले रघुगङ्गा गाउँपालिका–१ र अन्नपूर्ण गाउँपालिका–७ को सिमाना बेगखोलामा बाँध र रघुगङ्गा गाउँपालिका–३ घुमाउनेतालमा विद्युत्गृह रहने ६५ मेगावाट क्षमताको अपर कालीगण्डकी जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढाएको छ । घुमाउने तालभन्दा केही तल रघुगङ्गा नदी कालीगण्डकीमा मिसिने दोभानभन्दा केही तल बाँध र जलजला गाउँपालिका–४ मिलनचोकमा विद्युत्गृह रहने गरी ५० मेगावाट क्षमताको बेनी कालीगण्डकी जलविद्युत् आयोजनाको सर्वेक्षण भइरहेको छ । दाना सबस्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादनको तयारी गरेको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवद्र्धक रहेको मिस्ट्रीखोलामा निर्माण भएका संरचना तथा जडान गरिएका उपकरणको परीक्षण अन्तिम चरणमा पुगेको छ । आयोजनाको परामर्शदाता इञ्जिनीयर दिवाकर खड्काले सुरुङ, पेनस्टक पाइपलाइन र विद्युत्गृहमा एकै साथ परीक्षण भइरहेको जानकारी दिए । ‘‘बाँध र क्यानल (पानी थिग्राउने पोखरी) को यसअघि नै परीक्षण सफल भइसकेको छ,’’ उनले भने,‘‘परीक्षणका लागि सुरुङ र पेनस्टक पाइपमा हालिएको छ ।’’ विद्युत्गृहमा जडान भएको जेनेरेटर, टर्वाइन र ट्रान्सफर्मरको पनि परीक्षण भइरहेको छ । आयोजनाका प्रतिनिधि चुडामणि निरौलाले करीब दश दिनभित्र संरचना र उपकरणको परीक्षण सकेर विद्युत् उत्पादन शुरु गर्ने कार्यतालिका बनाएको बताए । सन् २०१६ को जुन १३ मा शुरु भएको आयोजनाले निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएर दुई हजार २७०.५ मिटर सुरुङ र २५० मिटर उचाइबाट पानी खसालेर विद्युत् उत्पादन गर्न एक हजार ५०० मिटर पेनस्टक पाइप जडान गरेको छ । बेँशीगाउँस्थित कालीगण्डकी नदीको बायाँ किनारमा बनाएको विद्युत्गृह नजिकै स्विचार्ड निर्माण गरेको छ । बाँध क्षेत्रमा ११५ मिटर लम्बाइ, ८.५ मिटर चौडाइ र १३ मिटर गहिराई भएको दुई वटा भूमिगत बालुवा थिग्राउने पोखरी (क्यानल) बनाएको छ । बेँशीगाउँदेखि दानास्थित २२० केभी क्षमताको सबस्टेशनसम्म १३२ केभी क्षमताको ४ किलोमिटर प्रशारण लाइन निर्माण गरेको छ । एघार वटामध्ये गत वर्षामा आएको बाढीले एक वटा टावर ढलाएको र अर्को कटानको जोखिममा परेको थियो । जोखिममा परेको टावर स्थानान्तरण र ढलेको पुनःनिर्माण सकिएको छ । मिस्ट्रिखोलाको अनुमानित लागत पाँच अर्ब ६४ करोड हो । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन १०९ मेगावाट क्षमताको निलगिरि १ र २ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोड्न प्रशारण लाइन निर्माणको तयारी भएको छ । निलगिरिखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेका ३८ मेगावाटको निलगिरिखोला–१ र ७१ मेगावाट क्षमताको निलगिरिखोला–२ जलविद्युत् आयोजनाको विद्युत्गृहदेखि अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको सबस्टेशन जोड्ने प्रशारण लाइन निर्माण हुन लागेको हो । करीब २२० केभी क्षमताको ७.४ किलोमिटर दूरीको प्रशारणलाइन निर्माण गर्न रु १२ करोड ७८ लाख ९२ हजार ७२३ लागत अनुमान गरिएको परामर्शदाता इनर्जी रिसोर्सेस एण्ड सोलुसन प्रालिका शङ्कर बस्यालले बताए । रासस

एक अर्ब ६० करोड लगानीमा बेगनास तालसम्म अन्तर्राष्ट्रिस्तरको सडक बन्ने

कास्की । विश्व बैंकको आर्थिक सहयोगमा पोखरा महानगरपालिकामा अन्तर्राष्ट्रियस्तरको नमूना सडक निर्माण गरिने भएको छ । पोखरा महानगरपालिका–२७ तालचोकदेखि पर्यटकीय गन्तव्य बेगनास तालसम्मको तीन किमी २८० मिटर सडक एक अर्ब ६० करोड ५० लाख लागतमा स्तरोन्नति गरी विश्व बैंकको मापदण्डअनुसारको नमूना बनाउन लागिएको हो । हालको सडक स्तरोन्नति गरी मेडियनसहित ३० मिटर फराकिलो बनाउने योजना छ । शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको शहरी सुशासन तथा पूर्वाधार परियोजनाले बुधबार पोखरामा एक कार्यक्रम आयोजना गरी सो सडकको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)का बारेमा छलफल आयोजना गरेर डिपिआर तयार भएकाले अब निर्माणका प्रक्रियामा अघि बढ्ने जनाएको छ । सो सडकको दायाँबायाँ साइकल ट्रयाक, पैदलमार्ग, व्यवस्थित नाली, हरियाली, व्यवस्थित पार्किङ र सडक सौर्य बत्ती राखिने सो सडक परियोजनाका इञ्जिनीयर नवराज बोहोराले जानकारी दिए । उहाँका अनुसार सडकमा आधुनिक प्रविधिको उच्चतम प्रयोग गरेर अन्तर्राष्ट्रियस्तरको बनाइने छ । महानगरका वरिष्ठ इञ्जिनीयर शारदामोहन काफ्लेले प्रति किमी लागतका हिसाबले सो सडक यहाँ बनेका सडकमध्येमा सबैभन्दा महँगोे रहेको बताए । आगामी दुई महिनाभित्रमा बोलपत्र आह्वानलगायतका सबै प्रक्रिया शुरु गरेर यसै आर्थिक वर्षभित्र निर्माण शुरु गर्ने योजना रहेको इञ्जिीनियर काफ्लेले जानकारी दिए । आगामी दुई वर्षभित्रमा सडक निर्माण गरिसक्ने योजना छ । विश्व बैंकको मापदण्डअनुसार रहेकाले लागत बढी भएको बताइन्छ । पोखरा महानगर प्रमुख मानबहादुर जिसीले वर्षौंदेखिको सपना पूरा हुन लागेको र सडक महानगरको नमूना र गौरवको सडक बन्ने बताए । सडक निर्माणपछि बेगनासताल क्षेत्रको पर्यटकीय सम्भावनासमेत बढेर बताउँदै उनले लामो समयको प्रयासपछि विश्व बैंकको सहयोगमा पोखरामा पहिलो काम हुन लागेको उल्लेख गरे । सडक विस्तार गर्ने क्रममा खानेपानी, विद्युत् र टेलिफोन स्थान्तरणको कार्यमा सम्बन्धित कार्यालयले महानगरको सरसल्लाहमा मात्र गर्नुपर्ने प्रमुख जिसीले बताए । प्र्रमुख प्रशासकीय अधिकृत महेश बरालले आयोजनाको लागत नबढ्ने गरी काम गर्न आग्रह गर्र्नुभयो । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङ, शहरी शासकीय तथा पूर्वाधार आयोजनाका परियोजना निर्देशक परिक्षित कडरिया, महानगरका शहरी योजना आयोगका सदस्य आर्किटेक्ट बाबुराम भण्डारी लगायतले महानगरको नमूना सडकलाई छिटो सम्पन्न गर्न सबैबाट सहयोगको आवश्यकता रहेकामा जोड दिएका थिए । महानगरपालिकाले सडक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । महानगर, प्रदेश सरकार तथा डिभिजन सडक कार्यालयको संयुक्त लगानीमा अहिले पोखराको २५ किमी शहरी सडक ‘अस्फाल्ट’ कोलोपत्रको काम भइरहेको छ । रासस

दमाैलीकाे ऋषिङपाटनमा वैशाखसम्म कालोपत्र सडक

दमाैली । तनहुँको भीमाद नगरपालिका–५ र ६ जोड्ने ऋषिङपाटनमा आगामी वैशाखसम्म कालोपत्र सम्पन्न हुने भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा भीमाद ऋषिङपाटनमा कालोपत्रको काम अगाडि बढेको हो । गत वर्षको मङ्सिर पहिलो सातादेखि काम शुरु गरिए पनि कोभिडका कारण बीचमा काम प्रभावित भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । वैशाखसम्म सडक कालोपत्र सम्पन्न गर्ने गरी काम अगाडि बढेको कार्यालयका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिए । सडक कालोपत्र गर्ने म्याद विसं २०७७ पुस २२ गतेसम्म रहे पनि २५ प्रतिशत समयअवधि थप भएको छ । “बेस हाल्न शुरु भइसकेको छ, वैशाखसम्म काम सम्पन्न गर्ने निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन”, ढुङ्गानाले भने । ट्रयाक खुलेको २४ वर्षपछि उक्त मार्ग कालोपत्र हुन लागेको हो । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत १२ करोड ७८ लाख ९८ हजार ५७३ को लागतमा सडक कालोपत्रको ठेक्का लागेको छ । उक्त सडकको ट्रयाक विसं २०५२ मा खुलेको थियो । सडक कालोपत्रका लागि काठमाडौँस्थित महालक्ष्मी कन्स्ट्रक्शन कन्सर्नसँग गत असोज २३ गते सम्झौता भएको थियो । छ किमी सडकको १० मिटर दायाँबायाँमध्ये नौ मिटरमा कालोपत्र गरिनेछ । सडकको एक/एक मिटरमा नाला निर्माण हुनेछ । धुँवा र धुलोबाट आक्रान्त भएका यहाँका स्थानीयवासीलाई मोटरमार्ग कालोपत्र भएपछि सहज हुनेछ । उक्त सडक एक निर्वाचन क्षेत्र एक सडकअन्तर्गतको योजना हो । ट्रयाक खुलेको लामो समयपछि मोटरमार्गमा कालोपत्रको काम शुरु भएपछि स्थानीयवासी खुशी भएको मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष गञ्जसिंह गुरुङले बताए । सडक कच्ची हुँदा घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने समस्याले यहाँका स्थानीयवासी आक्रान्त हुँदै आएको गुरुङले बताए । “सडक कालोपत्र सम्पन्न भएसँगै धुलोको समस्याबाट मुक्ति पाइने भएको छ”, गुरुङले भने । रासस