पोखरा–सेतीवेणी–रिडी साइकल लेनसहितको वैकल्पिक राजमार्गको कालोपत्रे सुरु
पर्वत । पर्यटकीय राजधानी पोखराबाट डाँडैडाँडा पर्वतको सेतीवेणी हुँदै अर्को पर्यटकीय गन्तव्य गुल्मीको रिडीसम्म पुग्ने पोखरा–सेतीवेणी–रिडी वैकल्पिक राजमार्गको कालोपत्रेको काम सुरु भएको छ । वैकिल्पक राष्ट्रिय सडकका रूपमा निर्माण शुरु गरिएको नमूना सडकको पर्वतको महाशिला गाउँपालिका–५ मिलनचोकदेखि भोक्सिङ हुँदै सुभद्रीखर्क खण्डमा कालोपत्रे सुरु भएको हो । सडक कालोपत्रे गर्ने कामको यसका परिकल्पनाकार तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिलान्यास गरे । यो सडकको एक भागमा साइकल लेन हुनेछ भने अर्को भागमा फुटपाथ बनाउने गरी डिपिआर तयार गरिएको छ । पोखराबाट उत्कृष्ट पर्यटकीय गन्तव्यमा परेका पर्वतका पञ्चासे, महाशिला, सेतीवेणी हुँदै गुल्मीको पर्यटकीय क्षेत्र रिडीसम्मको ८० किलोमिटर लामो सडक निर्माण शुरु गरिएको हो । सडकको अधिकांश भागमा ट्र्याक ओपनसमेत भइसकेका कारण यसको स्तरोन्नति र कालोपत्रे गर्ने काम शुरु भएपछि डाँडैडाँडा सेतीवेणीदेखि पोखरासम्म पक्की सडकमा पुग्ने पर्वतवासीको चाहनाले मूर्तरूप लिने भएको छ । सङ्घीय सरकारले यस वर्ष उक्त सडकका लागि तीन करोड विनियोजन गरेको छ । यसमा पर्वतका महाशिला गाउँपालिकाले रु दुई करोड ७२ लाख थप गरेको छ । यस वर्ष सडकखण्डअन्तर्गत महाशिलाको मिलनचोक र कास्कीको पामेबाट स्तरोन्नति र कालोपत्रेको काम शुरु गरिने राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले बताए । यो साइकल लेनसहितको नमूना सडक हो । यो सडक पोखराको लेकसाइडबाट शुरु भई–पामे–भदौरे हुँदै पर्वतको राम्जा–आर्थर–कार्किनेटा–लुङ्खु–त्रिवेणी–सेतीवेणीबाट गुल्मीको रिडीसम्म पुग्नेछ । सडकमा पुलसमेत बनाउन नपर्ने र झण्डै दुई दर्जन खोल्सामा कल्भर्ट बनाए पुग्ने देखिएको सडक विभागले जनाएको छ । यो सडकमा पोखरादेखि सेतीवेणीसम्मै सडकसहित साइकल लेनसमेत बनाउने तयारी भएकाले सरर साइकलमै पोखराबाट सेतीवेणी पुग्न सकिने भएको छ । पर्यटकीय गन्तव्य जोड्ने सडकमा साइकल लेनसमेत निर्माण हुने भएकाले मुलुककै नमूना सडक बन्ने राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले बताए । अध्यक्ष तिमिल्सिनाले रिडीदेखि पोखरासम्म दुई प्रदेश जोड्ने राष्ट्रिय राजमार्ग निर्माणको काम गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै आएका थिए । विसं २०७० को संविधानसभा निर्वाचनमा समेत अध्यक्ष तिमिल्सिना पर्वतबाट उम्मेदवार हुँदा उक्त सडक पहिलो प्राथमिकतामा राखेर प्रतिबद्धतापत्र प्रकाशित गरेका थियो भने राष्ट्रियसभा अध्यक्ष भएपछि गृहजिल्ला आउँदा यो सडक राष्ट्रिय राजमार्गका रूपमा विकास गर्ने बताउँदै आएका थिए । “डाँडैडाँडा सेतीवेणीदेखि पोखरा जोड्ने सडक निर्माण गर्ने मेरो २० वर्ष पुरानो योजना भएकाले कालोपत्रे सडकमा सरर सेतीवेणी पोखरा पुर्याउने योजनाले मूर्तरूप लिँदा जिल्लावासीसँगै म पनि खुशी छु”, उनले भने, “समयमा नै निर्माणको काम सक्नु अबको चुनौती हो ।” सेतीवेणीदेखि पोखरासम्म डाँडैडाँडा सडक बनाउँदा पुल बनाउन नपर्ने र रिडी, शालीग्राम, महाशिला, डहरे, पञ्चासे र पोखराजस्ता धार्मिक र पर्यटकीय क्षेत्रसमेत पक्की सडक सञ्जालमा जोडिने भएकाले यसलाई पर्यटकीय सडकका रूपमा समेत विकास गर्न सकिने छ । पर्वतको सुदूरदक्षिणबाट मध्यभाग हुँदै उत्तरपूर्वी क्षेत्र जोड्ने सडक पर्वतको मेरुदण्डसमेत बन्ने छ । रासस
कञ्चनपुरमा विकास निर्माण: कतै प्रक्रियाले प्रभावित, कतै ठेकेदारको लापरवाही
महेन्द्रनगर । कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरसम्म सहज पहुँच हुने यहाँको दक्षिण क्षेत्रमा पर्ने डोकेबजार–बेलौरी, बेलौरी–दैजी हुलाकी सडकखण्ड चार वर्षअघि कालोपत्र गर्न ठेक्का भयो । बैसठ्ठी किलोमिटर लम्बाइको उक्त सडक तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री रमेश लेखकले कञ्चनपुरको डोकेबजारमा धुमधामका साथ निर्माणको शिलान्यास गरे । निर्माण व्यवसायीले समयमै सक्ने प्रतिबद्धतासमेत व्यक्त गरे तर ३० महिनाभित्र सक्ने गरी तीनवटा प्याकेजमा निर्माण गर्न दिइएको हुलाकी सडकको चार वर्षमा भौतिक प्रगति ७० प्रतिशत देखिए पनि सडक कालोपत्र १७ किलोमिटर मात्रै सकिएको छ । हुलाकी राजमार्ग योजना कार्यालय कैलालीका सूचना अधिकृत इञ्जिनीयर पदमबहादुरले मडै समयमा काम नसकिनुको मुख्य दोष निर्माणको जिम्मा पाएका ठेकेदारको भएको बताए । “बीचमा केही समय कोरोनाका कारण काम प्रभावित भए पनि सरकारले छ महिना कामको म्याद थपेको थियो”, इञ्जिनीयर मडैले भने, “काममा अरु बाधा नहुँदा पनि ठेकेदारले काममा ध्यान दिएनन् ।” डोकेबजारबाट बलौरीसम्मको २० किलोमिटर र बेल्डाँडीबाट दैजीसम्मको २२ किलोमिटर हुलाकी सडक निर्माणको जिम्मा शर्मा–राजेन्द्र जेभीले पाएको थियो । अन्तिम प्याकेज (बेल्डाँडीबाट दैजीसम्म)को भाग शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्ने भएकाले रुख कटान प्रक्रियामा केही ढिलाइ भएको हो । त्यसैगरी बीचमा पर्ने बेलौरीबाट बेल्डाँडीसम्मको २० किलोमिटर निर्माणको जिम्मा बाबा–हंश सिद्धीसाइ जेभीले पाएको भए पनि निर्माणको गति त्यहाँ पनि सन्तोषजनक छैन । एक अर्ब नौ करोडभन्दा बढी लागतको उक्त आयोजना समयमा सम्पन्न नहुँदा दक्षिण क्षेत्रका नागरिकले भने सास्ती खेप्नुपरेको छ । “पहिलो र तेस्रो प्याकेजमा छ महिना थप भएर पनि समय सकिएको छ भने बीचको प्याकेजको समय बाँकी छ” उनले भने, “अब ठेकेदार पक्षलाई समयमा काम सम्पन्न गर्न लगाएर १० प्रतिशत जरिवाना हुनसक्छ ।” त्यसैगरी पक्की पुलतर्फ नेपालकै ठूलो लगानी भएको महाकाली नदीमा निर्माणाधीन चार लेनको पुलको काम ठूला ढुङ्गा नपाएर प्रभावित छ । पुलसँगै गड्डाचौकीसम्म बन्ने छ लेनको पहुँचमार्ग कालोपत्र शुरु हुन थाले पनि पुलको चौतर्फी बन्ने बाँध निर्माणको काम भने ढुङ्गा नहुँदा रोकिएको लामो समय बितिसक्यो । यहाँको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माणाधीन पुलको तटबन्ध बनाउने काम ढुङ्गाकै कारण रोकिएको हो । पुलको दुवैतर्फ पाँच हजार ४०० मिटर बाँध निर्माण गर्नुपर्ने योजनामा रहेको छ । नदीको पारिवारि गरी दुवैतर्फ दुई हजार ७०० लम्बाइ भएको बाँध निर्माण गर्नुपर्ने ठेक्कामा उल्लेख छ । आउँदो बर्सातअघि ढुङ्गा नपाउने हो भने द्रुतगतिमा बनेको पुल बाढीको उच्च जोखिममा पर्नसक्ने पुल निर्माण गरिरहेको कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्स्ट्रक्शन कम्पनीको भनाइ छ । कम्पनीका इञ्जिनीयर किशोरराज पाण्डेयले बाँधका लागि एक लाख ४१ हजार घनमिटर ढुङ्गा आवश्यक पर्ने बताए । “हामीलाई ७० प्रतिशत ढुङ्गा २६० किलोग्रामभन्दा बढी तौलका चाहिन्छ”, उनले भने, “ढुङ्गा उपलब्ध हुने कुनै सुरसार सरकार पक्षबाट देखिँदैन ।” उहाँले निर्माणाधीन पुलसम्म पुग्ने ६०० मिटर पहुँचमार्ग सुरक्षित राख्न पनि बाँध बर्सातअघि बनाउनुपर्ने चुनौती रहेको बताए । विसं २०७४ भदौदेखि शुरु भएको निर्माणको अवधि आगामी २०७८ फागुन १२ गतेसम्म तोकिएको छ । तीन अर्ब ६७ करोडको लागतमा बन्ने पुलअन्तर्गत ७.८ किलोमिटर लम्बाइको छ लेनको पहुँचमार्ग कालोपत्र भइरहेको छ । पुलको दुवैतर्फ १.२ वर्गकिलोमिटर क्षेत्रफलका दुई पोखरीसमेत निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । केही समयअघि महाकाली पुल योजना कार्यालयले स्थानीय तह र प्रशासनसित समन्वय गरी महेन्द्रनगरको उत्तरमा रहेको चुरेको फेदबाट ठूला ढुङ्गा ल्याउन थाले पनि स्थानीय उपभोक्ताको विरोधपछि त्यो रोकिएको छ । यद्यपि महाकाली पुल योजना कार्यालय भने ढुङ्गा उपलब्ध गराउन मन्त्रिपरिषद्को निर्णयका लागि केन्द्रमा पहल गरिरहेको छ । कञ्चनपुरमा प्रदेश सरकार र स्थानीय सरकारको बजेटमा निर्माण भइरहेका साना तथा मझौला विकास निर्माणका काम भइरहेका बेला पनि ठूला काम भने विविध कारणले ढिलासुस्ती हुँदै आएको छ । केही समयअघि मात्रै राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिएको यहाँको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कामको गति पनि सुस्त नै छ । कञ्चनपुर र कैलालीको ३३ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्याउने लक्ष्यका साथ शुरु गरिएको सिँचाइ तेस्रो चरणको मूल नहरको काम ऐलानी जग्गा क्षतिपूर्ति र सामुदायिक वनको रुख कटानले प्रभावित छ । तीन वर्षअघि तीनवटा प्याकेजमा १५ किलोमिटर मूल नहर निर्माणका लागि ठेक्का दिइएको भए पनि वन मन्त्रालय र मन्त्रिपरिषद्बाट निर्णय हुन नसक्दा दुवै विषय टुङ्गोमा पुग्न नसकेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक रणबहादुर बमको भनाइ छ । “जग्गा र रुखको विषय टुङ्गो नलाग्दा अहिलेसम्म अन्य संरचनाबाहेक नहरको काम शुरु नै भएन”, निर्देशक बमले भने, “माथिबाट आएको बजेट पनि सकिएर झन् समस्या भएको छ ।” एक दशकभन्दा अघि शुरु भएको आयोजनाअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव क्षेत्रबाट १३ किलोमिटर मात्रै मूल नहर बनेको छ । रासस
चार वर्ष बित्दा पनि सम्पन्न भएन ढोलाहिटी–लेले सडक
काठमाडाैं । विस्तार शुरु भएको चार वर्ष बित्दासमेत ढोलाहिटी–लेले सडक अझै सम्पन्न भइसकेको छैन । पुस मसान्तसम्ममा सडकको औसत भौतिक प्रगति ५५ प्रतिशत रहेको छ । सवारी साधनको चाप उच्च भए पनि साँघुरो रहेको सडकलाई २० मिटर चौडाइ कायम गर्ने गरी चार वर्ष पहिले ठेक्का सम्झौता भएको थियो । लामो समयसम्म चौडाइ विवादकै कारण काम अघि बढ्न नसकेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सो सडक खण्डमा वन क्षेत्रमा बाहेक अन्यत्र बस्ती क्षेत्रमा चौडाइ बढाउन नसकिएको आयोजनामा सूचना अधिकारी लक्ष्मण देवकोटाले बताए । उनका अनुसार बस्ती क्षेत्रमा चार/पाँच मिटर चौडाइमा नै कालोपत्र भइरहेको छ । उनले भने, “जतिमा गर्न सकिन्छ त्यतिमा कालोपत्र गरेर पनि चाँडो टुङ्ग्याउन लागिएको छ ।” सरकारले गत वर्ष विस्तारका क्रममा रहेका सडकमा जति चौडाइ उपलब्ध हुन्छ त्यतिमा नै कालोपत्र गर्ने निर्णय गरेको थियो । ठेक्का सम्झौता भएको लामो समय बित्दासमेत सडक विभागले निर्माण व्यवसायीलाई निर्माणस्थल उपलब्ध गराउन सकेको थिएन । सडक छेउका घरहरुले घर भत्काउन नमानेपछि सडक खाल्डैखाल्डा भएको थियो । सडकको प्रयोग गर्ने धेरै सवारी चालकले समेत कठिन यात्रा गर्नुपरेको थियो । सडक चाँडो कालोपत्र गर्नुपर्ने माग गर्दै स्थानीयवासीले पटक–पटक सडक अवरुद्धसमेत गरेका थिए । सङ्गठितरूपमा घर भत्काउन नमानेका स्थानीयवासीले नै उपलब्ध चौडाइमा चाँडो कालोपत्र हुनुपर्ने माग गर्दै आएका थिए । विस्तारका क्रममा रहेका अरु सडकजस्तै यो सडक पनि सकेसम्म चाँडो सम्पन्न गर्ने लक्ष्य लिइएको सूचना अधिकारी देवकोटाले बताए । उनका अनुसार अघिल्ला वर्षहरुमा सडक चौडाइ बढाउन खोज्दा सडक निर्माण हुनसकेको थिएन भने गत आवमा कोभिड–१९ का कारण निर्माण अवरुद्ध बन्न पुगेको थियो । चालु आवमा काम गर्ने वातावरण भए पनि केही समय पहिलेसम्म गृह मन्त्रालयले खानीजन्य उद्योग बन्द गर्दा निर्माण सामग्रीको अभाव भएको थियो । सबै किसिमका समस्या हट्दै गएकाले अहिले अधिकांश स्थानमा निर्माण भइरहेको छ । उनले भने, “अबको केही महिनाभित्रै सबै सडक सकाउनुपर्छ भनेर काम भइरहेको छ ।” ठेचोबाट टाखेलसम्मको सडक गत आवमा नै सम्पन्न भइसकेको थियो । ढोलाहिटीबाट सुनाकोठी हुँदै ठेचोसम्मको सडक अहिले निर्माण भइरहेको छ । ढोलाहिटीबाट सुनाकोठीसम्म दुईवटा प्याकेजमध्ये एउटा प्याकेज सकिन लागेको र अर्काे प्याकेजमा बाँकी रहेकामा छिट्टै सकाउने लक्ष्य लिइएको देवकोटाले बताए । सोही सडकको चापागाउँबाट–लेलेसम्मको सडक पनि सम्पन्न नभएको आयोजनाले जनाएको छ । अन्यत्र उपलब्ध चौडाइमा निर्माण भइरहेकामा टाखेलबाट टीकाभैरवसम्म वन क्षेत्रमा १४ मिटर चौडाइमा निर्माण भइरहेको छ । वन क्षेत्रमा माटो खन्ने काम भइसकेको र त्यहाँ सडक कालोपत्र बाँकी रहेको सूचना अधिकारी देवकोटाले बताए । त्यो खण्डमा अहिलेसम्म भौतिक प्रगति ७० प्रतिशत छ । निर्माण शुरु भएको चार वर्षपछि सो सडक मापदण्डको आधाभन्दा कम चौडाइमा कालोपत्र भइरहेको छ । बीस मिटर सडक कालोपत्र गर्ने विसं २०७३ र २०७४ मा ठेक्का सम्झौता भएकामा अहिले छ/सात मिटर चौडाइमा कालोपत्र भइरहेको हो । सडकलाई यथास्थितिमै कालोपत्र गर्न सडकसँगै घर भएका स्थानीयवासीले माग गरेकाले चौडाइ नबढाई कालोपत्र गरिएको आयोजनाले जनाएको छ । सो सडकमा रहेका स्थानीय तहले पनि सडक विस्तार गर्नुभन्दा भएकै सडकमा कालोपत्र चाहेका थिए । ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकामा सडक रहेको छ । गोदावरीका पदाधिकारी घर भत्काएर सडक विस्तार गर्न नहुने पक्षमा रहेका र ललितपुरका पदाधिकारीले चासो देखाएका थिएनन् । सडक नजिक रहेका विभिन्न मठमन्दिर र पाटी भत्काउन नहुने भन्दै स्थानीयवासीले आवाज उठाउँदै आएका थिए । सडक विस्तारकै क्रममा हुँदा पनि सडक नजिकै रहेका पुरानो पाटी मर्मत र नयाँ पाटी निर्माण भएको थियो । सडक निर्माणका लागि ठेक्का सम्झौता हुँदा सडकमा पैदलयात्रु मार्ग, पानी बग्ने पाइपलगायतका संरचना निर्माण गर्ने उल्लेख थियो । सडकको चौडाइ बढाउन नसकिएकाले ती संरचनाको निर्माण भएको छैन । केही वर्ष पहिले सातदोबाटो–खुमलटार सडक पनि संरचना भत्काएर मापदण्डानुसार निर्माण भएको थियो । खुमलटारबाट ढोलाहिटीसम्म सडक केही फराकिलो बनाइए पनि अन्यत्र सडक एक लेनको मात्रै छ । चापागाउँ, ठेचो, सुनाकोठीलगायतका स्थानमा सडक साँघुरा छन् । टाखेलबाट लेलेसम्मको वन क्षेत्रमा मात्रै सडक एक लेनभन्दा बढीको बनेको छ । झण्डै नौ किमी लम्बाइको सडक निर्माणका लागि तीन प्याकेजमा ठेक्का सम्झौता भएको थियो । एउटा प्याकेजमा आव २०७३ मा र अरु दुई प्याकेजमा आव २०७४/७५ मा ठेक्का सम्झौता भएको थियो । ठेक्काको अवधि पछिल्लोपटक माघमा सकिँदैछ । र