म्याग्दीकाे घारखोलामा तीन करोड ४८ लाख लागतमा मोटर चल्ने पुल निर्माण सुरु

सांकेतिक तस्विर म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ५ र ६ को सिमानास्थित घारखोलामा मोटर चल्ने पुल निर्माण सुरु भएको छ । पोखरेबगरदेखि नेपाने हुँदै पाउद्वार जोड्ने सडकअन्तर्गत घारखोलामा निर्माण हुन लागेको पुलको शनिबार विघटित प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले शिलान्यास गरे । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ, म्याग्दीले ठेक्का लगाएको एक वर्षपछि पुल निर्माण सुरु भएको हो । तीन करोड ४८ लाख ९४ हजार ७० लागत अनुमान गरिएको पुल निर्माण गर्न फेवा–बिएम जेभी पोखरालेरु दुई करोड ८१ लाख ७८ हजार ६४६ मा ठेक्का लिएको छ । विसं २०७६ माघ १७ गते ठेक्का सम्झौता भएको पुल २०७८ साउन २४ गते सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । परामर्शदाताले गरेको गलत डिजाइनका कारण सम्झौता गरेको करिब एक वर्षपछि पुल निर्माण शुरु भएको हो । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र पुल निर्माण गर्ने ठाउँको भूगोल तथा दूरी नमिलेपछि पुल निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीका प्रतिनिधि विमलेश आचार्यले बताए । “सम्झौता लगत्तै पुल निर्माण गर्ने ठाउँमा लगेका मेसिन दुई महिनासम्म खोला किनारमै राखेर फिर्ता गर्नुपर्यो”, उनले भने, “प्राधिकरणले गत भदौमा नयाँ डिजाइन स्वीकृत गरेर कार्यादेश दिएपछि अहिले काम शुरु गरेका छौँ ।” पुलको पाउद्वारतर्फको पिलर निर्माण शुरु गरेको निर्माण कम्पनीले पोखरेबगर तर्फको पिलरको जग खन्ने तयारी गरेको छ । पच्चीस मिटर लामो पुल बनाउनुपर्नेमा काठमाडौंको परामर्शदाता कम्पनी ग्रिड कन्सल्टेन्सीले २० मिटर लामो पुलको डिपिआर बनाएको थियो । सोही डिपिआरको आधारमा ठेक्का लगाइएकाले पुल निर्माण प्रभावित भएको अन्नपूर्ण–५ का कार्यवाहक वडाध्यक्ष राजेश तिलिजाले बताए । घारखोलामा पुल नहुँदा २०० घरधुरीको बसोबास भएको चार वर्षअघि सडक पुगेको पाउद्वार गाउँ बर्खामा यातायात सम्पर्क विच्छेद हुने गरेको छ । “घारखोलामा पुल बन्यो भने बाह्रै महिना गाडी चल्छ”, वडाध्यक्ष तिलिजाले भने, “सडक भए पनि पुल नहुँदा पैदलयात्रा गर्न र घोडा खच्चरबाट ढुवानी गर्नुपर्ने बाध्यता छ ।” भूकम्प प्रभावित सडकअन्तर्गत प्राधिकरणले पोखरेबगर–चित्रे सडक र घारखोला मोटरेबल पुल योजना छनोट गरेको थियो । बेनीमा कार्यालय स्थापना हुनुअघि नै तयार भएको डिपिआरमा ठेक्का लगाइसकेपछि प्राविधिक त्रुटि भेटिएपछि पुनःडिजाइन गरेर काम अघि बढाएको एकाइका प्रमुख नारायण ढकालले बताए । “डिजाइन संशोधन गरेर २५ मिटरकै पुल बनाउन लागिएको छ”, उनले भने, “ठेकेदारले पनि कामलाई तीव्रता दिएका छन् ।” परामर्शदाताले एउटा ठाउँको योजनाको डिपिआरलाई अर्को ठाउँको भनेर दिएकाले पुल निर्माण कार्य प्रभावित भएको हो । शिलान्यास कार्यक्रममा निवर्तमान सांसद थापाले रद्द हुने अवस्थामा पुगेको पुललाई धेरै मेहनत गरेर कार्यान्वयनको अवस्थामा ल्याइएको बताए । घारखोलामा मोटर चल्ने पक्की पुल निर्माण भएपछि नेपाने, पाउद्वार, किन्दु, स्वाँताका बासिन्दालाई सुविधा पुग्ने जनाइएको छ । शिलान्यास कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, नेकपाको ओली समूहका जिल्ला सचिव हरिकृष्ण श्रेष्ठलगायतको उपस्थिति थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत पोखरेबगरदेखि घार खिवाङ शिख हुँदै चित्रे जोड्ने १८ किलोमिटर सडक कालोपत्रे गर्न २०७५ मङ्सिरदेखि काम भइरहेको छ । ठेकेदारले पर्याप्त मात्रामा मजदुर र उपकरण परिचालन गर्न नसकेका कारण सम्झौताको म्याद सकिए पनि करिब आधा मात्र भौतिक प्रगति भएको छ । रासस

गौतमबुद्ध रङ्गशालालाई ललितपुर महानगरपालिद्वारा २० लाख सहयाेग

काठमाडाैं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ललितपुर महानगरपालिकाले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शुक्रबार धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेललाई २० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् । फाउण्डेसनका अध्यक्ष धुर्मुसले महानगरपालिकाको सहयोगबाट रङ्गशाला निर्माणका लाथि उर्जा थपिएको बताए । रङ्गशाला निर्माणका लागि देशभरका विभिन्न स्थानीय सरकारहरुबाट सहयोग प्राप्त हुने क्रम बढ्दै गएको पनि फाउण्डेसनका अध्यक्ष उनले बताए । उनले यसै आर्थिक वर्ष भित्र ३ हजार क्षमताको प्याराफिट सहितको रङ्गशाला निर्माण भइसक्ने र सकेसम्म छिटो सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने योजनाका साथ काम भइराखेको जानकारी दिए ।

अपि पावरकाे ४ मेगावट क्षमताको सोलार निर्माण अन्तिम चरणमा

काठमाडाैं । अपि पावर कम्पनीले निर्माण गरिरहेको ४ मेगावटकाे चन्द्रनिगापूर सोलार आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पूगेको छ । कम्पनीले यो आयोजना ६ महिनाभित्र निर्माण गरी नेपालको सबैभन्दा छिटो सोलार आयोजना सम्पन्न गर्ने अर्काे किर्तिमान राख्न लागेको छ । कम्पनीले १२ बिघा जमिनमा ४५० वाट पिकका ११११२ प्यानल राखि आयोजना संचालनमा ल्याउने भएको छ । कम्पनीद्वारा उत्पादित विद्युत शक्ति ३ किलोमिटर लामो ३३ के.भि ट्रान्समिसन लाईनबाट चन्द्रनिगापूर सवस्टेशनमा लागि जडान गरिनेछ । यो आयोजनाबाट २ नं प्रदेशलाई थप उर्जा प्राप्त भई सो क्षेत्रको उद्योग एवं कलकारखानाहरुलाई थप सहयोग मिल्ने कम्पनीले जनाएकाे छ । कम्पनीले आगामी वैशाख महिन भित्रै आयोजनाको व्यापारिक उत्पादन गर्ने जनाएको छ । यस्तै कम्पनीले दोस्रो चरणको सोलार आयोजनाहरुमा १ मेगावट ढल्केवर र १ मेगावाट सिमराको निर्माण कार्य समेत २०७८ साल वैशाख १ गतेबाट नै शूरु गर्ने जनाएको छ ।