कोशी करिडोर २२० केभी प्रसारण लाइनको निर्माण सकियो
काठमाडाैं । पूर्वाञ्चल क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको कोशी करिडोर प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न गरिएको छ । कूल २२० केभी प्रसारण लाइन आयोजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सुनसरीको इनरुवाबाट सङ्खुवासभाको तुम्लिङटारसम्मको कूल १०६ किलोमिटर २२० केभी डबल सर्किट क्षमताको प्रसारण लाइनको निर्माण सम्पन्न भएपछि कोशी बेसिनमा निर्माण भएका जलविद्युत् आयोजनाले उत्पादन गर्ने बिजुली राष्ट्रिय प्रणालीमा जोड्न सकिने भएको हो । सो प्रसारण लाइनमा कूल ३२६ टावर निर्माण सम्पन्न भएको छ । प्रसारण लाइनको निर्माण सम्पन्न भएपछि अरुण र तमोर नदी जलाधार क्षेत्रमा निर्माण भएका आयोजनालाई राहत मिलेको छ । सो जलाधार क्षेत्रका झण्डै दुई हजार मेगावाट क्षमताका जलविद्युत् आयोजनाको बिजुली सहजरुपमा प्रवाहका लागिसमेत पूर्वाधार तयार भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । सो प्रसारण लाइन मङ्गलदेखि ३३ केभीमा सञ्चालन गरिनेछ । इनरुवामा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेशको निर्माण पूरा भएको छैन । निर्माण व्यवसायीले तोकेअनुसार काम गर्न नसक्दा सबस्टेशनको काम पूरा हुन सकेको छैन । सो सबस्टेशन निर्माण सम्पन्न नभएकाले तत्कालका लागि अस्थायीरुपमा प्रसारण लाइन ३३ केभीमा चार्ज गरिएको हो । त्यसबाट भोजपुर, सङ्खुवासभा र तेह्रथुममा निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गरिने कार्यकारी निर्देशक घिसिङको भनाइ छ । यसबाट बर्खाको समयमा त्यस क्षेत्रका आयोजनाले बेहोर्दै आएको प्रसारण लाइनको समस्या समाधान भएको प्राधिकरणको बुझाइ छ । सङ्खुवासभाको तिरतिरेमा अहिले रहेको ३३ केभी लाइनलाई कोशी करिडोर प्रसारण लाइनमा जोडी सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित चतरा–धरान ३३ केभी लाइनमा जोडिनेछ । तिरतिरे–वसन्तपुर–धनकुटा–धरान ३३ केभी प्रसारण लाइनको क्षमताले नपुग्दा भोेजपुर, सङ्खुवासभा र तेह्रथुममा सञ्चालित आयोजना बर्खाका समयमा समेत पूर्ण क्षमतामा चल्न सकिरहेका थिएनन् । आयोजनाको जडित क्षमता करिब ३३ मेगावाट छ । सङ्खुवाभाको तुम्लिङटार तथा बानेश्वर र तेह्रथुमको वसन्तपुरमा गरी तीन सबस्टेसनको निर्माण गरिएको आयोजना प्रमुख राजन ढकालले जानकारी दिए । ‘निर्माण चरणमा विभिन्न अवरोध छिचोल्दै निरन्तरको प्रयासबाट सबैको साथ र सहयोगमा काम सक्न सफल भएका छौँ’, उनले भने, ‘निर्माणाधीन अन्य प्रसारण लाइन आयोजनाको तुलनामा ठूलो र लामो लाइन छिटो निर्माण सम्पन्न भएर रेकर्ड पनि कायम भएको छ ।’ आयोजना प्रमुख कार्यक्षेत्रमा नै बसेर समस्या समाधानका लागि पहल गरेका कारण पनि ठूलामध्येको एक कोशी करिडोर प्रसारण लाइन सम्पन्न भएकाले ऊर्जा उद्यमीले पनि खुसी व्यक्त गरेका छन् । सर्वसाधारणलाई साधारण शेयर बिक्री गर्न लागेको खोरुङ्गा खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी तेह्रथुम पावरका प्रमुख मोहन डाँगीले प्रसारण लाइन सम्पन्न भएका कारण आफूहरुलाई राहत भएको प्रतिक्रिया दिए । नेपाल सरकार, प्राधिकरण र भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा प्रदेश नं १ का भोजपुर, सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोशी करिडोरको निर्माण गरिएको हो । प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत् यही प्रसारण लाइनमा जोड्ने गरी खरिद सम्झौता (पिपिए) गरिसकेको छ । ती आयोजना निर्माणको विभिन्न चरणमा छन् । करिडोरको पहिलो प्याकेजमा इनरुवा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो । यसको अनुमानित लागत तीन करोड ७५ लाख अमेरिकी डलर छ । दोस्रो प्याकेजमा इनरुवा, वसन्तपुर, वानेश्वर र तुम्लिङटारमा २२० केभीको सबस्टेसन निर्माण गरिएको छ । यो प्याकेजको अनुमानीत लागत दुई करोड ५३ लाख डलर छ । तेस्रो प्याकेजमा वसन्तपुर–ढुंगेसाँघु (ताप्लेजुङ) ३५ किलोमिटर प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भई काम भइरहेको छ । एक सय ३२ टावर निर्माण गर्नुपर्ने यस खण्डको काम आगामी माघभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना प्रमुख ढकालले जानकारी दिए । रासस
मेलम्ची क्षेत्र अझै जोखिममा : जुनसुकै समयमा फेरी बाढी आउन सक्छ
काठमाडौं । मेलम्ची नदीमा आएको बाढीले पु¥याएको क्षतीको पूर्ण विवरण नआउँदै विज्ञहरुले उक्त क्षेत्रमा फेरी पनि वाढी पहिरो जानसक्ने औल्याएका छन् । भेमाथाङमा जम्मा भएको डेब्रीज र त्यसभन्दा माथिल्लो क्षेत्रमा पहिरोको जोखिम रहेको भन्दै उनीहरुले यस्तो बताएका हुन् । मेलम्चीमा बाढी आएपछि खानी तथा भूगर्भ विभागले पछिल्लो समयमा गरेको अध्ययनले अझै जोखिम रहेकाले पूर्ववत स्थानमा बस्न नसकिने निष्कर्ष निकालेको हो । विभागले गत साउन २२ गतेबाट अध्ययन शुरु गरी वाढी आउनुको कारण र त्यस क्षेत्रको भौगर्भिक अध्ययन पछि यस्तो निष्कर्ष निकालेको विभागका वरिष्ठ डिभिजनल जीयोलोजिष्ट शिव बास्कोटाले बताए । नेपाल वातावरण पत्रकार समूहले आइतबार आयोजना गरेको ‘हाकाहाकी बहस’ मा उनले भेमाथाङभन्दा माथिबाट आएको गेग्रानहरु भेमाथाङ चौरमा जम्मा भएर बसेकाले त्यो जुनसुकै समयमा बग्ने अवस्थामा रहेको बताए । ‘भेमाथाङभन्दा माथि मेलम्ची र पेम्दाङ दुई नदी जोडिएको स्थामा बाढीले पुरिएर चौर नै भरिएको थियो जहाँ १० मिटरसम्म पुरिएको देखिन्छ,’ भूगर्भविद् बास्कोटाले भने, ‘मेलम्ची नदीबाट कुनै पनि गेग्रान आएको देखिँदैन । तर भेमाथाङमा जम्मा भएको गेग्रान पेम्दाङबाट आएको देखिन्छ । पेम्दाङ नदीको आसापासको क्षेत्रमा पहिरोहरु धेरै गएको देखिन्छ ।’ उनले त्यसभन्दा माथि अझै पहिरोहरु बगीरहेकाले जोखिम उत्तिकै रहेको बताए । उनले मेलम्ची नदीमाथि पनि पहिरोको सम्भावनाहरु बढीरहेकोले जोखिम बढी रहेको बताए । उनले भने, ‘मनसुन अवधीभर जुनसुकै समयमा फेरी वाढी आउन सक्छ ।’ भेमाथाङसंगै त्यसभन्दा तलको मेलम्ची खानेपानी आयोजनाको इन्टेक रहेको अम्बाथानमा १५ मिटर पुरिएको बाँस्कोटाले बताए । उनका अनुसार भेमाथाङ चौरमा जम्मा भएको गेग्रान मात्रै १५ लाख ट्रकभन्दा बढी रहेको छ । त्यसलाई व्यवस्थापन गर्न कुनै उपाय नभएकाले त्यो जुनसुकै समयमा बगेर आउने उनले बताए । त्यसबाहेक पेम्दाङमा पहिरोहरु जाने क्रममा रोकिने अवस्थामा नरहेकाले जोखिम बढी नै रहेको उनले बताए । भेमाथाङमा जम्मा भएको गेग्रान र त्यभन्दा माथिको पहिरोहरु अस्थिर रहकाले तल्लो तटीय क्षेत्रमा अझै बाढी पहिरोको जोखिम भएकाले सुरक्षित हुन आवश्यक रहेको हिमतालहरुको अध्ययन गरिरहेका अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का इन्जिनियर अरुणभक्त श्रेष्ठले पनि जोखिम बढी नै रहेको बताए । ‘ताउते र यास सामूद्रीक आँधीका कारण मेलम्ची जलाधार क्षेत्रमा हिउँ पारेको थियो । त्यो सबै पग्लिएपछि वाढि पहिरो गएको देखिन्छ,’ उनले भने, ‘८ हजार ८ ७० क्यूविक मिटरको ताल रहेकोमा अहिले त्यो ताल देखिँदैन । ७० हजार वर्ग मिटर क्षेत्रमा परेको हिँउँ उष्णीकरणका कारण पग्लिएको पाइएको छ । यसलाई जलवायु परिवर्तनको असरको रुपमा पनि लिन सकिन्छ ।’ यसैगरी मेलम्ची गाउँमा भूकम्पका कारण ठूलो पहिरो बनाएको देखिन्छ । त्यो पहिरो बगेर मेलम्ची नदी थुनिएको र त्यही पहिरोले ड्याम बनाउँदा ठूलो मात्रामा नदीमा बाढी गएको देखिन्छ । चार सय मिटरको पहिरो बग्दा नदीमा ठूलो प्रवाह भई मेलम्ची बजार क्षेत्रमा ठूलो क्षती पुगेको देखिन्छ । जोखिम उत्तिकै भएकाले त्यस आसपासका मानिस बढी जोखिममा रहेका छन् । काठमाडौं विश्वविद्यालयका वातावरण विज्ञान तथा इन्जिनियरिङ विभागका प्रमुख डा रिजनभक्त कायस्थले जोखिमयुक्त क्षेत्र भएकाले त्यसतर्फ सबैले विशेष सतर्कता अपनाउनु पर्ने बताए । उनले मेलम्ची जलाधार क्षेत्रमा रहेको सानाठूला सबै नदीहरुमा जुनसुकै समयमा बाढी आउन सक्ने भएकाले पूर्वसतर्कता अपनाउनु आवश्यक भएको बताए । यसैगरी काठमाडौं विश्वविद्यालयकी एशेसियट प्रोफेसर डा रेश्मा श्रेष्ठले जोखिम न्यूनीकरणका उपायहरु अपनाउनु पर्ने बताइन् । उनले जोखिम न्यूनीकरणका लागि सबै निकायले विशेष ध्यान दिनुपर्ने बताइन् । यस्तै सिनियर भूगर्भविद् विशाल नाथ उप्रेतीले जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणालीको विकासलाई प्राथमिकता दिनुपर्ने बताए । ‘हरेक ४–५ वर्गकिलोमिटरमा पूर्वसूचना प्रणाली जडान गरेमा क्षती न्यूनीकरण गर्न सकिन्छ,’ उनले भने, ‘हाइड्रो पावरहरुले आफ्नो आयोजना क्षेत्रमा अनिवार्य पूर्वसूचना प्रणाली जडान गर्नुपर्ने व्यवस्था गर्न सके राम्रो हुनेछ ।’ विशेषज्ञहरुले गरेका अध्ययनहरुलाई आम मानिसमा सूचना प्रभाह गर्नका लागि सञ्चारकर्मीहरुले विशेष ध्यान दिनुपर्नेमा नेवापसका अध्यक्ष कसमस विश्वकर्माले जोड दिए । ‘नेपालको भौगर्भिक अध्ययन गरेका वैज्ञानिक अध्ययन प्रतिवेदनहरुलाई सरलीकृत गरी जनतसम्म सूचना प्रवाहमा पत्रकारमा भूमीका निर्वाह गर्नेछन,’ उनले भने, ‘त्यसका लागि वैज्ञानिक अध्ययनहरु पनि व्यापक रुपमा हुनुपर्ने छ ।’ नेफेजले वैज्ञानिक अध्ययनहरुलाई जनतासमक्ष प्रवाह गर्ने काममा सधैँ सहकार्य गरेर अघि बढ्ने उनले बताए ।
खानी तथा भूगर्भ विभागको निष्कर्ष: अत्यधिक वर्षा, पहिरो र कटानले मेलम्चीमा क्षति
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची बजार र त्यस आसपासका क्षेत्रमा अत्यधिक वर्षा तथा पहिराका कारण नदी कटान हुँदा क्षति पुगेको छ । गत असार १ र यही साउन १६ गते मेलम्ची नदीमा आएको बाढीले ठूलो क्षति पुगेपछि त्यस क्षेत्रको अध्ययन गर्न गएको खानी तथा भूगर्भ विभागको टोलीले अत्यधिक वर्षा र वर्षापछि पहिरो जाँदा उक्त क्षति पुगेको निष्कर्ष निकालेको हो । विभागका सिनियर डिभिजनल जियोलोजिस्ट एवं उपसचिव शिवकुमार बाँस्कोटा र जियोलोजिस्ट गौतमप्रसाद खनालको टोलीले यही साउन २२ देखि २५ गतेसम्म मेलम्ची र हेलम्बुलगायतका क्षेत्रमा गएर गरेको भौगर्भिक अध्ययनले उक्त निष्कर्ष निकालेको हो । असार १ गतेको अत्यधिक वर्षापछि हेलम्बु गाउँपालिकाको पेमदाङ खोला र मेलम्ची खोलाको दोभानबाट शुरु भएको बाढी मेलम्ची खोलामा जम्मा भई पहिराको लेदो र पानी मिसिँदा किनारा थप कटान भएको तथा खोलाले थप विकसित रूप लिँदै जाँदा मेलम्ची र त्यस आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको विभागका सिनियर डिभिजनल जियोलोजिस्ट बाँस्कोटाले जानकारी दिए । मेलम्ची बजार हुँदै वहने इन्द्रावती, मेलम्चीखोला, पेमदाङखोला, लार्केखोला र याङ्रीखोला सबै हिमालबाट वहने खोला तथा नदी हुन् । उक्त खोलामा बाढी आउँदा मेलम्ची बजारसँगै चनौटे बजार, हेलम्बु गाउँपालिकाको केन्द्र किउल बजार, अम्बाथान, तिम्बु, ग्याल्थुममा बढी क्षति पुगेको जियोलोजिस्ट बाँस्कोटाको भनाइ छ । असार १ गतेकै वर्षाका कारण पेमदाङखोलामा आएको बाढीले हेलम्बुको भेमाथाङ चौरमा १० मिटर अग्लो ग्रेगान भरिएको थियो । उक्त गेग्रान एक करोड घनमिटर रहेको खानी तथा भूगर्भ विभागले जनाएको छ । उक्त भेमाथाङ चौर एक हजार ५०० मिटर लम्बाइ र ७०० मिटर चौडाइको रहेको छ । “उक्त चौरमा १० मिटर अग्लो ग्रेगान भरिँदा त्यस क्षेत्रमा कति ठूलो वर्षा र बाढी आएको रहेछ भन्ने स्पष्ट हुन्छ”,उनले भने । असार १ गते गेग्रानले भरिएको भेमाथाङ चौर साउन १६ गतेको वर्षाले कटान भएको छ । भेमाथाङ चौरको १०० मिटर क्षेत्रफल कटान हुँदा मेलम्चीमा साउन १६ गते पुनः ठूलो बाढी आएको बाँस्कोटाको भनाइ छ । मेलम्ची बजारमा क्षति हुनाको अर्को कारण इन्द्रावती नदीसमेत हो । इन्द्रावतीमा याङ्रीखोला र लार्केखोलाको पानी थपिएपछि इन्द्रावती नदी बढेर बाढी आउँदा थप क्षति पुगेको खानी तथा भूगर्भ विभागले गरेको अध्ययनले देखाएको छ । विभागका महानिर्देशक रामप्रसाद घिमिरे मेलम्ची र हेलम्बुमा गरिएको भौगर्भिक अध्ययनबाट आएको निष्कर्षलाई गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा बुझाउने बताउँछन् । “मेलम्ची र हेलम्बु क्षेत्रको भौगर्भिक अध्ययन मात्र नभएर सबै क्षेत्रको अध्ययन गर्नु जरुरी छ, जुन अध्ययनले आगामी दिनमा यस्ता घटना नघटुन्”, उनले भने । असार १ र साउन १६ मा आएको बाढीले हेलम्बु र मेलम्चीमा एक दर्जनभन्दा बढी व्यक्तिले ज्यान गुमाए भने अर्बौ रकम बराबरको भौतिक संरचनामा क्षति पुग्यो । उक्त बाढीले मेलम्ची र हेलम्बु जोड्ने तथा अन्य ठाउँको झण्डै एक दर्जन पक्की तथा कच्ची पुलमा क्षति पु¥यायो । उक्त बाढीसँगै मेलम्ची खोला वरपरका सयौँ घर जोखिममा रहेका छन् । सरकारले मेलम्चीको भौगर्भिक अध्ययनका लागि खानी तथा भूगर्भ विभागबाट दुई जनाको टोली खटाए पनि त्यस क्षेत्रको विपद् जोखिम अध्ययनका लागि गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट तीन जना कर्मचारी खटाइएको थियो । रासस