हरित जलवायु कोषद्वारा ६ अर्ब बराबरको परियोजना प्रस्ताव स्वीकृत
काठमाडाैं । हरित जलवायु कोषले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आधुनिक, दक्षतायुक्त तथा जलवायुमैत्री स्वच्छ खाना पकाउने ऊर्जाको प्रवद्र्धनबाट हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणमा सघाउ पुर्याउने प्रस्ताव स्वीकृत गरेको छ । केन्द्रको उक्त प्रस्ताव कोषको ३० औं बोर्ड बैठकबाट हालै स्वीकृत भएको केन्द्रले जनाएको छ । कूल ४९.१५ मिलियन युएस डलर (करिब पाँच अर्ब ८९ करोड ८६ लाख बराबर रकम) को उक्त परियोजनाअन्तर्गत पाँच वर्षभित्र नेपालको तराई क्षेत्रको २२ जिल्लाका १५० स्थानीय तहमा १० लाख खाना पकाउने स्वच्छ ऊर्जा प्रविधि प्रवद्र्धन गरिने लक्ष्य रहेको केन्द्रका कार्यकारी निर्देशक डा मधुसुदन अधिकारीले बताए । उनका अनुसार कूल लक्ष्यमध्ये पाँच लाख विद्युतीय चुलो, चार लाख ९० हजार तह–३ स्तरको सुधारिएको चुलो तथा १० हजार बायोग्यास प्रवद्र्धन गर्ने लक्ष्य रहेको छ । कूल रकममध्ये कोषको अनुदान २१.१२ मिलियन युएस डलर (दुई अरब ५३ करोड) रहने छ भने बाँकी २८ मिलियन अमेरिकी डलरमा केन्द्र र स्थानीय तहबीच लागत साझेदारी रहने छ । केन्द्रको अनुदान २१ मिलियन डलर तथा स्थानीय तहबाट सात मिलियन डलर खर्च गरिनेछ । केन्द्रले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा कोषसँगको आवद्धतापछि कोषको तर्फबाट स्वीकृत गरेकोे पहिलो प्रस्ताव हो । परियोजनाबाट ६५ लाख १३ हजार ६२९ टन बराबर कार्बन उत्सर्जन न्यूनीकरण गरी १० लाख घरधुरीमा स्वच्छ ऊर्जाको सेवा पुग्ने अपेक्षा रहेको डा अधिकारीले बताए । केन्द्रमा आफूले सुरु गरेको दाउरा/गुइँठा प्रतिस्थापन गर्ने तराई स्वच्छ ऊर्जा विशेष कार्यक्रमको सफलरुपमा कार्यान्वयनको लागि यो परियोजना कोसेढुङ्गा सावित हुने डा अधिकारीको भनाइ छ । केन्द्रले नेपाल सरकार, अर्थ मन्त्रालयको नेशनल डेजिग्नेटेड अथोरिटी (एनडिए) को रुपमा कार्य गरिरहेको र कोषको रेडिनेस कार्यक्रम सञ्चालन गर्ने साझेदार पनि भएकाले केन्द्रको यो अनुभवले हरित जलवायु कोषमा नेपालका अन्य संस्था पनि आबद्ध गर्ने र बढीभन्दा बढी कोषले आर्थिक सहयोग गर्ने अन्य परियोजना ल्याउने केन्द्रको लक्ष्य रहेको उनले बताए । कोष जलवायु परिवर्तनबाट पर्ने असरलाई न्यूनीकरण गर्नेसम्बन्धी क्रियाकलापको लागि लगानी गर्ने एक स्वतन्त्र निकाय हो र यसको विभिन्न फण्डिङ देशबाट प्रतिनिधित्व हुने गरी २४ सदस्यीय बोर्ड रहेको छ । दक्षिण कोरियामा प्रधान कार्यालय रहेको यस कोष जलवायु परिवर्तनबाट विश्व तापमानमा पर्ने असरलाई न्यूनीकरण गर्न जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताको लक्ष्य कार्यान्वयनको लागि स्थापना भएको हो । रासस
कोरोनाले बन्दीपुर केबलकार परियोजना दुई वर्षपछि धकेलियो, लागत २ सय १० करोड
दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार परियोजना दुई वर्ष पछाडि धकेलिएको छ । विसं २०७५ साउन पहिलो साता शिलान्यास भई विसं २०७७ फागुन १ गते केबलकार सञ्चालन गर्ने लक्ष्य लिइए पनि कोभिड–१९ को प्रभावका कारण उक्त परियोजना दुई वर्ष पछाडि धकेलिएको हो । विसं २०७६ चैत दोस्रो सातादेखि कोभिड–१९ का कारण लकडाउन भएपछि परियोजनाको काम प्रभावित भएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए । अब विसं २०७९ फागुन १ गते बटम स्टेशनको सम्पूर्ण काम र केबलकारको सम्पूर्ण काम सकेर व्यावसायिक सञ्चालन गरिने शर्माले जानकारी दिए । ‘कोरोना कहरका कारण तोकिएको मितिमा काम सम्पन्न हुन सकेन’, उनले भने, ‘अब आगामी वर्षको फागुन १ गतेदेखि केबलकार सञ्चालन गर्ने गरी कामलाई तीव्रता दिएका छौँ ।’ कम्पनीले विसं २०७९ वैशाख १ गतेदेखि होटललगायत सम्पूर्ण पूर्वाधार प्याकेजसहित फुलफेजमा पर्यटन पूर्वाधारयुक्त केबलकार परियोजना सञ्चालनमा ल्याउने रणनीति बनाएको थियो । माथिल्लो स्टेशनको बहुआयामिक चारतारे होटलसहितको निर्माण सम्पन्न गरी विसं २०८० असोज १ गते परियोजना मूल योजना सञ्चालनमा ल्याउने तयारी गरिएको छ । कम्पनीले त्यसभन्दा अगावै विसं २०७८ फागुन १ गते रेष्ट्रो जोन सञ्चालनमा ल्याउने भएको छ । ‘केबलकारभित्र रेष्ट्रोको सुविधा प्रत्येक आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको अफआवर साँझ ५ देखि ९ बजेसम्म यो सेवा दिने तयारीमा छौँ’, शर्माले भने उनका अनुसार तल्लो र माथिल्लो स्टेशनमा रेष्टुरेण्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा सेवा दिन सकिनेछ । परियोजनाको कूल लागत दुई अर्ब १० करोड रुपैयाँ पुगेको छ । मोनोकेवल डिटाचवेल रोटेटिङ गोण्डोला प्रविधिमा आधारित १९ गोण्डालामार्फत प्रतिघण्टा ३०० यात्री बोक्न सक्ने क्षमता रहे पनि त्यसलाई विस्तार गरिएको छ । बजारको माग र चापका कारण यसलाई विस्तारित गर्दै २५ गोण्डोला मेटेरियल क्याविनसहित प्रतिघण्टा ५०० यात्रु बोक्ने र दैनिक १६ घण्टामाथि सेवा दिन सक्ने गरी अत्याधुनिक प्रविधि जडान गरी पूर्वाधार थप गरिने कम्पनीले जनाएको छ । यहाँ ल्याण्डस्क्यापिङ र कृत्रिम झरना पनि बनाइनेछ । बन्दीपुरको ऐतिहासिकता झल्कने गरी बन्दीपुर घडीः बन्दीपुर गार्डेन बनाउने लक्ष्य लिइएको छ । यस गार्डेनभित्र बटम स्टेशनको पाँच तला माथिबाट पानीको आकर्षक झरना बनाइनेछ । यसले पर्यटकलाई लोभ्याउने विश्वास गरिएको शर्माले जानकारी दिए । यसैगरी वाटरपार्क, म्युजिकल वाटर शो बनाउने लक्ष्य छ । माथिल्लो स्टेशनमा नौतले चारतारे होटल बन्नेछ । यसअगाडि ६६ कोठा रहे पनि अब त्यसलाई बढाएर ८४ देखि १०० सम्ममा स्तरोन्नति गरिनेछ । होटललाई निश्चित समय र व्यवस्थापन पार गरेर चारतारेबाट पाँचतारे होटलमा रुपान्तरण गर्ने गरी रणनीतिक तयारी थालिएको कम्पनीका सञ्चालक तारानाथ उपाध्यायले जानकारी दिए । एक अर्ब अधिकृत पूँजी रहेको कम्पनीको जारी पूँजी ७५ करोड र चुक्ता पूँजी २० करोड रहेकामा त्यसलाई बढाएर ९० करोड रुपैयाँ पु¥याउने लक्ष्य लिइएको छ । आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्शन प्रालि, पन्चासे केबुलकार एण्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केवलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको हो । लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीको कम्पनी हो, जहाँ एक हजार १०० भन्दा बढी लगानीकर्ता छन् । ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केवलकारबाट एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ । ठूल्ढुङ्गास्वाँराबाट सुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केवलकारले एक किलोमिटर ६०० मिटर यात्रा गर्नेछ । स्थानीयवासीलाई टिकटमा सहुलियत कम्पनीले स्थानीयवासीलाई केबलकारको टिकटमा सहुलियत दिने भएको छ । स्थानीयवासीका लागि केबलकारमा सवार गरेवापत जीवनभरका लागि सुरुवातमा १० वर्षको अवधि रहने गरी लाइफटाइम फेयर घोषणा गरिएको छ । सो टिकटको मूल्य १० हजार तोकिएकामा परिवारका सबै सदस्यले टिकट बाहकका रूपमा पालैपालो प्रयोग गर्न सक्नेछन् । ‘यस्तो टिकट बिक्री गर्नका लागि कम्पनीले आगामी कात्तिक ५ गतेदेखि पुस मसान्तसम्म खुला गर्ने निर्णय गरेको छ’, उपाध्यायले भने, ‘प्रत्येक वडालाई १५÷१५ दिनको समयसीमा दिएर टिकट किन्ने सुविधा दिएको छ ।’ यसैगरी वन समूहका सदस्यलाई २५ प्रतिशत, जग्गादातालाई ५० प्रतिशत र दृष्टिविहीन तथा ह्विलचियर प्रयोगकर्तालाई साधारण टिकटमा ५० प्रतिशत छुट दिइनेछ । अन्य अपाङ्गता भएका व्यक्तिलाई २५ प्रतिशत छुट दिने घोषणा गरिएको छ । रासस
कोसी करिडोर २२० केभी प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न
हिले । कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पहिलो प्याकेजको प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । पहिलो प्याकेज अन्तर्गत सुनसरीको इनरुवावाट संखुवासभाको बसन्तपुर हुँदै तुम्लिङटार सम्मको २२० केभी डबल सर्किट टावर निर्माण गर्ने र टावरको एक तर्फ मात्रतार तान्ने कार्य सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरण र भारतीय एक्जिम बैकले धनकुटाको हिलेमा सोमबार संयुक्त कार्यक्रम आयोजना गरी पहिलो प्याकेज अन्तर्गतको प्रसारण लाइन निर्माण सम्पन्न भएको घोषणा गरेकाे हाे । अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारण लाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैक दिएका सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि ९ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋण प्रवाह भएको छ । कोसी करिडोर प्रसारण लाइन आयोजना मार्फत तुम्लिङटारदेखि वसन्तपुरसम्म करिब १ हजार मेगावाट, ढुंगेसाँघु (ताप्लेजुङ) देखि वसन्तपुरसम्म करिब १ हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब २ हजार मेगावाटविद्युत प्रसारण गर्न सकिन्छ । साथै एक नंम्बर प्रदेशका जिल्लाहरुमा विद्युत् विश्वसनीय विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरण सञ्जाल बन्ने छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन निर्माणपछि प्रदेश नं १मा विद्युत प्रसारण तथा वितरणका लागि मेरुदण्ड तयार भएको बताए । उनले कोसी करिडोर र कावेली करिडोर प्रसारण लाइनलाई लिंक गर्न लागिएको जानकारी दिँदै आयोजनाअन्तर्गतका सबस्टेसनहरुको निर्माण सम्पन्न भएपछि यस क्षेत्रको विद्युत आपूर्ति गुणस्तरीय र विश्वसनीय हुने बताए । ऊर्जा मन्त्रालयका सहसचिव भेटुवालले प्रसारण लाइनको निर्माणबाट अरुण र तमोर जलाधार क्षेत्रका जलविद्युत आयोजनाको विद्युत ग्राहककोसम्म पुर्याउन पूर्वाधार तयार भएको बताए । प्रसारण लाइन निर्माणपछि यस क्षेत्रका खोलानालामा जलविद्युत आयोजना निर्माणका लागि निजी क्षेत्रको लगानीलाई थप सुनिश्चित बनाएको बताए । नेपाल र भारतबीचको सहकार्यका लागि ऊर्जा प्रमुख क्षेत्र रहेको बताउँदै भारतीय दूतावासकी उपप्रमुख खाम्पाले भारतले जारी गरेको क्रस बोर्डर विद्युत व्यापार निर्देशिकाका बमोजिम नेपालले भारतबाट विद्युत खरिद गर्न मात्र नभएर बिक्री गर्न समेत पाउने बताए । प्रधिकरणले कोसी कोरिडोरमा नीजि तथा सरकारी तवरमा निर्माण हुने जलविद्युत आयोजनाहरुको वर्तमान कार्य प्रगति तथा भावी योजनालाई मध्यनजर आयोजनाहरुबाट उत्पादन हुने विद्युत प्रसारणको लागि सो लाईनको दोस्रो सर्किटको तार तान्ने कार्य र सम्बन्धित सवस्टेशनहरुमा २२० के.भी. लाईन बे तथा पावर ट्रान्सफरमरहरुको क्षमता विस्तार गर्ने योजना बनाएको छ । आयोजनाको प्रथम चरणको कार्यको लागि जस्तै दोस्रो चरणको निर्माण कार्य अर्थात दोस्रो सर्किट तार तान्ने र सम्वन्धित सवस्टेशनहरुको क्षमता विस्तारको लागि आवश्यक अनुमानित लागत ४० मिलियन अमेरिकी डलर नेपाल सरकार मार्फत नेपाल विद्युत प्राधिकरणलाई लगानी जुलाईदिने सम्बन्धमा भारतीय एक्जिम बैंकलाई पत्राचार गरिसकेको छ । विश्वव्यापी फैलिएको कोरोना महामारी र त्यस पछी सिर्जित बन्दाबन्दीले यस आयोजना प्रभावित भएको थियो । यस प्रसारण लाइनमा जडान हुने विभिन्न उपकरणहरु र प्राविधिकहरु कोरोना महामारीको कारणले पूर्व निर्धारित समयमा नै आयोजना स्थलसम्म आइनपुग्दा निर्माण प्रभावित भएको हो । प्रसारण आयोजना तीन वटा प्याकेजमा विभाजन गरी निर्माण गरिएको छ । पहिलो प्याकेजमा इनरुवा–तुम्लिङटार प्रसारण लाइन, दोस्रो प्याकेजमा तीन वटा सबस्टेसन र तेस्रो प्याकेजमा तेह्रथुमको वसन्तपुरको ताप्लेजुङको ढुंगेसाँघुसम्म प्रसारण लाइन तथा सबस्टेसनको निर्माण गर्ने रहेको छ । अरुण र तमोर नदी र तिनीहरुका सहायक नदीहरुबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण ग्रिडमा आवद्ध गर्न निर्माणधीन कोसी करिडोर नेपालको हालसम्मको सबभन्दा लामो दूरीको २२० केभी प्रसारण लाइन हो । एक नम्बर प्रदेशका भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोशी करिडोरको निर्माण गरिएको हो । प्याकेज १को निर्माण भएको छ भने २ र ३ को क्रमश: ८० ७० प्रतिशत निर्माण सकिएको छ । प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत खरिद सम्झौता (पीपीए) गरिसकेको छ । ती आयोजना निर्माणको विभिन्न चरणमा छन् ।आयोजनाको दोस्रो प्याकेज अन्तर्गतका संखुभासभाको बानेश्वर तथा तुम्लिङटार र वसन्तपुरमा २२०/१३२/३३ केभीका तीन वटा सबस्टेसनहरु र इनरुवा सबस्टेसनमा ‘बे एक्सटेन्सन’को काम अन्तिम चरणमा छन् । आयोजनाको सम्पूर्ण कार्य मार्च २०२२ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । इनरुवामा अहिले २२० केभीको सबस्टेसन निर्माणाधीन छ । उक्त सबस्टेसन निर्माण पूरा नहुन्जेलसम्मका लागि इनरुवा–वसन्तपुर–तुम्लिङटार प्रसारण लाइनलाई अस्थायी रुपमा ३३ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ । संखुवासभाको किटिंगीडाँडादेखि सुनसरीको धरानसम्म ६६ किमि प्रसारण लाई २ भदौ २०७८ मा ३३ केभीमा चार्च गरिएको हो । प्याकेज २ अन्तर्गत सबस्टेसनहरुको निर्माण र नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार आयोजनाबाट निर्माणाधीन २२०÷१३२÷३३ के.भी. इनरुवा सबस्टेसन सम्पन्न गरी इनरुवा–वसन्तपुर–वानेश्वर –तुम्लिङ्गटार प्रसारण लाइनलाई डिसेम्बर, २०२१ सम्ममा २२० के.भी. मा चार्ज गर्ने लक्ष्यका साथ काम भइरहेको छ । हाल ३३ केभीमा चार्च गरिएको प्रसारण लाइनमार्फत भोजपुर, संखुवासभा र तेह्रथुममा निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत प्रवाह गरिएको छ । यसबाट वर्खाको समयमा त्यस क्षेत्रका आयोजनले बेहोर्दै आएको प्रसारण लाइनको समस्या समाधान भएको छ । तिरतिरे–बसन्तपुर–धनकुटा–धरान ३३ केभी प्रसारण लाइनको क्षमताले नपुग्दा भोेजपुर, संखुवासभा र तेह्रथुममा सञ्चालित आयोजनाहरु वर्खाको समयमा पूर्ण क्षमतामा चल्न सकिरहेका थिएनन् । आयोजनाहरुको जडित क्षमता करिब ३३ मेगावाट छ । संखुवासभाको तिरतिरेमा अहिले रहेको ३३ केभी लाइनलाई कोशी करिडोर प्रसारण लाइनमा जोडी सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित चतरा–धरान ३३ केभी लाइनमा ल्याइएको छ । करिडोरको पहिलो प्याकेजको इनरुवा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार २२० केभी प्रसारण लाइन निर्माण गर्न भारतीय कम्पनी कलपत्रु पावर ट्रान्समिसन लि २५ फेब्रुअरी २०१६मा ठेक्का सम्झौता गरिएको थियो । ठेक्का सम्झौता १४ जुन २०१६मा कार्यान्वयमा आएको थियो । पहिलो प्याकेजको अनुमानित लागत ३ करोड ७३ लाख डलर (करिब ४ अर्ब) छ । दोस्रो प्याकेजअन्तर्गत इनरुवा, वसन्तपुर, वानेश्वर र तुम्लिङटारमा २२०/१३२/३३ केभीको सबस्टेसन निर्माणका लागि भारतीय कम्पनी एल एण्ड टीसँग ११ जुलाइ २०१८मा ठेक्का सम्झौता भएको थियो । सबस्टेसको निर्माण मार्च २०२२ भित्र सक्ने लक्ष्य राखिएको छ । यो प्याकेजको अनुमानित लागत २ करोड ५३ लाख डलर (करिब २ अर्ब ९१ करोड) छ । तेस्रो प्याकेजमा वसन्तपुर–ढुंगेसाँघु ३५ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । १ सय ३२ वटा टावर निर्माण गर्नु पर्ने यस खण्डको काम आगामी माघभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यो प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरिने छ ।