ठेक्का अवधिभन्दा ७ महिना अगावै पुल निर्माण सम्पन्न

धनुषा । ठेक्का सम्झौता अवधिमा काम सम्पन्न नगर्ने परिपाटी बढिरहेका बेला धनुषाको महेन्द्रनगरस्थित औरही खोलामा रसुवा कन्स्ट्रक्सनले  सात महिना अगाडि नै तीन वटा पुल निर्माण गरेर देखाएको छ । ढल्केवर जनकपुर जटही सडक खण्डमा रसुवा निर्माण कम्पनीले सम्झौता अबधि सकिन सात महिना बाँकी रहदै  तीन वटा पुल निर्माण सम्पन्न गरि सरकारलाई हस्तान्तरण गरेको हो । ढल्केवर जनकपुर जटही सडकलाई ६ लेनको सडकमा स्तरोन्नति गरेपछि धनुषाको महेन्द्रनगरस्थित औरही खोलामा सरकारले ६ लेनको सडकलाई मिल्नेगरी तीन वटा पुल निर्माण गरेको हो । सडक विस्तार भएदेखि सवारी साधनको चााप बढेको र भएको पुरोनो पुलबाट आउजाउ गर्न समस्या भइरहेका बेला एकै चोटी तीन तीन वटा पुल बनेपछि सवारी साधनलाई आउजाउ गर्न सहज भएको स्थानीयवासी बताउँछन्। सरकारसंग भएको सम्झौता अनुसार २०७८ चैत्र मसान्तमा तीन वटै पुल हस्तान्तरण गर्नुपर्ने थियो । तर, काम सम्पन्न हुनुपर्ने मिति भन्दा सात महिना अगाडि नै  ७७ करोड २७ लाखको लागतमा पुल निर्माणको काम सम्पन्न भएको हो । नेपाल सरकार र रसुवा कन्स्ट्रक्सन बीच २०७६ असोज ३० गते सम्झौता भइ  मंसिरदेखि  काम सुरु भएका तीन वटै पुल सवारी साधनका लागि खुला गरिएको छ । औरही खोलामा ठेकेदारले सात महिना अगाडि तीनवटा पुल निर्माण गरेर हस्तान्तरण गरेपनि ढल्केवर जटहीमा ६ लेनकै सडकको सपही र नक्टाझिज स्थित खहरे खोलामा एकैदिन सम्झौता भएको अर्को निर्माण कम्पनीले जग निर्माण गरेर पुलको बााकी काम अधुरै  छाडेको छ  । औरही खोलामा निर्माण सम्पन्न  तीन वटा पुलमध्ये दुई वटा पुल ६ लेन सडकका लागि हुन् भने एउटा पुललाई सर्विस लेनको रुपमा राखिएको छ । पुलको लम्बाई १ सय ४३ दशमलब ५ मिटर र चौडाई ११ दशमलब ६ मिटर छ । यस अधि पनि दर्जनौ  स्थानमा रसुवा कन्स्ट्रक्सनले ठेक्का सम्झौता अवधि भन्दा अगाबै निर्माण सम्पन्न गरि सकारलाई आयोजना हस्तारण गरिसकेको छ।जस वापत स्थानिय सरकार र संघ संस्थाहरुबाट रसुवा कन्स्ट्रक्सनलाई अभिन्नदन समेत गरेका समाचारहरु आईरहेका छन्। व्यवसायिक दक्षता र जिम्मरेवारी बोधका कारण आफ्नो कंम्पनीले सबै ठाँउमा ठेक्का सम्झौता अवधि भन्दा अगाबै निर्माण सम्पन्न गर्ने गरेको भनाई रसुवा कन्स्ट्रक्सन कंम्पनीका अघ्यक्ष राजेन्द्रराज आचार्य बताउँछन्।

विश्व बैंकको लगानी रहेका परियोजना समयमै सम्पन्न हुन्छ: मन्त्री भुसाल

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग विश्व बैंकको दक्षिण एशिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरसहितको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच विश्व बैंकको लगानी रहेका विविध आयोजनाका विषयमा छलफल भएको छ । सो अवसरमा मन्त्री भुसालले नेपालका विकासमा बैंकले पुर्याउँदै आएको योगदानको कदर गर्दै आगामी दिनमा लगानी थप विस्तार हुने र समयमै परियोजना सम्पन्न भई जनताले उपभोग गर्ने अवस्थामा पुग्ने विश्वास व्यक्त गरिन । उनले भनिन्, ‘हामी छिटो विकास गर्न चाहन्छौँ, हामीलाई समयको अधिक महत्व छ ।’ मन्त्री भुसालले जनताको अधिकारका लागि आफूले निरन्तर सङ्घर्ष गरेको उल्लेख गर्दै वातावरण र जनताको अधिकार एवं पहिचानाका विषयमा सधैँ सचेत रहने विश्वास दिलाइन् । भेटमा विश्व बैंकका उपाध्यक्ष सेफरले नेपालको आर्थिक विकासमा विश्व बैंकले पुर्याउँदै आएको सहयोगका विषयमा जिज्ञासा राखेका थिए । नेपालको सडक पूर्वाधार, कृषि विकास, शैक्षिक उन्नति गरिबी निवारणलगायत क्षेत्रमा विश्व बैंकले लगानी गर्दै आएको उल्लेख गर्दै उनले आफूहरू ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्न इच्छुक रहेको बताए । छलफलका क्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रशारण लाइन समयमै सम्पन्न नहुँदा ऊर्जा खेरजाने अवस्था आएको उल्लेख गर्दै ऊर्जा विकासका लागि आफूहरूलाई समयको चाप रहेको बताए । छलफलमा मन्त्रालयका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्की, सहसचिवद्वय मधुकरप्रसाद राजभण्डारी र बाबुराम भण्डारीको सहभागिता थियो । त्यसैगरी विश्व बैंकको तर्फबाट उपाध्यक्ष सेफरसहित यातायात तथा दक्षिण एशियाको पूर्वाधार हेर्ने निर्देशक गुअङझे चेन तथा नेपाल, माल्दिभ्स र श्रीलङ्का लागि विश्व बैंकका देशीय निर्देशक फारिस हादाद–जेर्भाेसको सहभागिता थियो । विश्व बैंकले नेपालको ऊर्जा क्षेत्रमा नेपाल–भारत विद्युत् प्रशारण तथा व्यापार आयोजनाअन्तर्गत नेपालभित्रको विद्युत् प्रशारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापार सहजीकरण गर्दै आएको छ । सोहीअन्तर्गत ४०० केभीको हेटौँडा–ढल्केबर–इनरुवा प्रशारण लाइन र हेटौँडा–भरतपुर–बर्दाघाट २२० केभीको प्रशारण लाइन विश्व बैंकको सहुलियत पूर्ण ऋणमा निर्माण भइरहेको छ । विश्व बैंकको सहुलियत ऋणमा एक हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको विस्तृत अध्ययन भइरहेको छ । यही बुधबार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री भुसालसहितको सरकारी टोली र विश्व बैंकका उपाध्यक्ष सेफरको टोलीले माथिल्लो अरुणको स्थलगत अवलोकन गरेको थियो । रासस

तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन तीन सातादेखि ठप्प, ७ करोड बढी नोक्सानी

फाइल फाेटाे पर्वत । यहाँ सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी–१ को उत्पादन विगत तीन सातादेखि ठप्प बनेको छ । गत भदौ १७ गते राति आएको बाढीले आयोजना क्षतविक्षत बनाएपछि उत्पादन ठप्प बनेको हो । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित यो आयोजना तत्काल मर्मत गर्न नसकिने गरी क्षतविक्षत बनाएकाले उत्पादन सञ्चालन हुन नसकेको आयोजनाले जनाएको छ । बाढीले आयोजनाको नहर, बाँधस्थल, सेयर वाल, स्ल्याबलगायतका संरचनामा क्षति पुगेको छ । विद्युत् उत्पादनगृहमा कुनै क्षति नपुगे पनि नहरबाट पानी पास गराउन समय लागेको हो । उक्त आयोजनाको विद्युत्गृहदेखि मोदी सबस्टेशन जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइनको चार नम्बर टावरसमेत पहिराले ढालेको छ । टावर ढलेसँगै तल्लो मोदी–१ को विद्युत्गृहमा पठाउने पानीको नहरको ५०० मिटर भागमा लेदोसहितको माटो थुप्रिनाका साथै करिब एक किमी क्षेत्र क्षतविक्षत बनाएको थियो । त्यसबाहेक युनाइटेड मोदी आयोजनाले नै निर्माण गरेको विद्युत् प्रसारण टावरसमेत पहिराले ढालेको छ । ढालेको टावर निर्माणमा मात्रै करिब डेढ करोड खर्च लाग्ने आयोजना कार्यालयले जनाएको छ । आयोजनाको विद्युत् उत्पादन रोकिँदा दैनिक १० देखि ११ लाखको नोक्सान भइरहेको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बाढी र पहिराका कारण नोक्सान मात्रै पाँच करोडभन्दा बढी भइसकेको छ । अहिले मर्मतको काम चलिरहेको र अझै केही समय लाग्ने उनको भनाइ छ । आयोजनाको संरचना र हालसम्म उत्पादन हुने विद्युत्को नोक्सान मात्रै गरी करिब सात करोड भइसकेको उनले जानकारी दिए । सोही दिनको पहिराले युनाइटेड मोदी कम्पनीले नै निर्माण गरेको प्रसारण लाइनको टावर ढाल्दा करिब दुई साता धवलागिरिको विद्युत् प्रसारण रोकिएको थियो । टावर पुरानै अवस्थामा पुनःनिर्माण गर्न अझै केही महिना लाग्ने कम्पनीले जनाएको छ । टावर निर्माणमा ढिलाइ हुने भएपछि विद्युत् प्राधिकरणले प्रसारण लाइनको अस्थायी व्यवस्था गरेर म्याग्दी र मुस्ताङमा उत्पादित विद्युत् प्रसारण लाइनमा पठाएको छ । “अहिलेका लागि अस्थायी टावर बनाएर म्याग्दी र मुस्ताङको उत्पादन राष्ट्रिय प्रसारण लाइनमा पठाइएको छ”, कालीगण्डकी प्रसारण करिडोर आयोजनाका प्रमुख चन्दनकुमार घोषले भने,“मोदीको टावर बनेपछि सोही टावरमा जोडिन्छ ।” सोही टावर हुँदै १० मेगावाटको तल्लो मोदी–१ सहित म्याग्दीको अन्नपूर्ण–४ नारच्याङस्थित ४२ मेगावाटको मिस्त्रीखोला, पाँच मेगावाटको घलेम्दीखोला र मुस्ताङको थासाङ–१ टुकुचेको १३।६ मेगावाटको थापाखोला जलविद्युत् आयोजनाको उत्पादन प्रसारण भइरहेको थियो । युनाइटेड मोदीको तल्लोमोदी–१ बाहेक म्याग्दी र मुस्ताङको विद्युत् भने भदौ ३१ देखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो । गत माघमा सम्पन्न भएको खुर्कोट–दाना प्रसारण लाइन सम्पन्न भएपछि मुस्ताङ र म्याग्दीमा उत्पादित विद्युत् पनि यही बाटो हुँदै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो । रासस