सम्बन्धित निकायले चासो नदिँदा मेलम्ची खानेपानी आयोजना अन्योलमा

सिन्धुपाल्चोक । गत बर्खामा आएको गेग्रानसहितको बाढीले पुरिएका संरचना पुनःनिर्माणमा सम्बन्धित निकायले ध्यान नदिँदा मेलम्ची खानेपानी आयोजनामाथिको अन्योल कायमै छ । सरकारले आगामी वैशाखभित्र मेलम्चीको पानी पुनः काठमाडौं उपत्यकावासीका धारामा खसाल्ने बताए पनि पुरिएका संरचनाको पुनःनिर्माणमा भने सम्बन्धित निकायको चासो गएको छैन । गत असार १ गतेको बाढीका कारण फेरि अनिश्चित बनेको मेलम्ची खानेपानी आयोजना सञ्चालनमा सरकारको ध्यान गएको पाइन्न । दैनिक १७ करोड लिटर पानी काठमाडौं लैजाने गरी सुरु भएको काम पूर्णरूपमा सम्पन्न नहुँदै गेग्रानभित्र पुरिएको थियो । हेलम्बु गाउँपालिकाले आयोजनाको बाँधस्थलसम्म अस्थायी बाटो निर्माण गरी सञ्चालनमा ल्याए पनि अन्य कुनै काम सुरु हुनसकेको छैन, जसले वैशाखभित्र काठमाडौंका धारामा पुनः पानी खसाल्ने सरकारी योजना पूरा नहुने देखिएको गाउँपालिकाका अध्यक्ष निमाग्यालजेन शेर्पा बताउँछन् । आयोजनाको बाँधस्थलमा १५ मिटर अग्लो गेग्रान थुप्रिएको छ भने पानी नियन्त्रणका लागि बनाइएका संरचना बगरभित्र हराएका छन् । आयोजनाबाट प्रभावित स्थानीय तहसँग अहिलेसम्म समन्वय नभएको र आयोजनास्थलमा कुनै कामको सुरुआत नहुनुले पनि सरकारले तोकेको समयमै पानी काठमाडौं जान्छ भन्ने विश्वास गर्न सकिने आधार नभएको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालको भनाइ छ । असार १ गतेकै बाढीका कारण मेलम्ची आयोजनाको दोस्रो चरणको याङरी, लार्केको कामसमेत अलपत्र अवस्थामा छ । याङरीखोला थुनिएर आएको बाढीले निर्माणाधीन पक्की पुल, सडकलगायत आयोजनाको मुहानस्थलसम्मको पहुँचमार्ग बगाएको छ भने निर्माण सामग्री बेवारिसे अवस्थामा छन् । याङरीखोलाको बाढीले तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको याङरी, लार्के खानेपानी स्थानीय सरोकार समितिका अध्यक्ष गोपाल स्याङवो बताउँछन् । ३५ अर्बभन्दा बढी लगानीमा आयोजना सुरु भएको २२ वर्षपछि मेलम्चीको पानी काठमाडौंका धारामा झरे पनि बाढीले क्षति पुर्याएपछि आयोजनाको भविष्य अझै अन्योलमा छ । पाँच वर्षभित्र दोस्रो चरणको याङरी र लार्केखोलाको पानीसमेत सरकारले काठमाडां लैजाने बताए पनि कामको शैली हेर्दा विश्वास गर्ने आधार नरहेको बताइन्छ ।

बन्दीपुर केबलकारमा लगानी दुई अर्ब ६० करोड पुग्यो

दमाैली । तनहुँको बन्दीपुरमा निर्माणाधीन पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ । होटल र केबलकारको स्तरोन्नति गरिएपछि लगानी बढेको हो । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर दुई अर्ब ६० करोड पुगेको जानकारी दिए । यस अगाडि केबलकारको क्षमता प्रतिघण्टा तीन सय रहेकामा त्यसलाई बढाएर पाँच सय पु¥याइएको छ । होटलको कोठा सङ्ख्या ६६ रहेकामा त्यसलाई बढाएर ८७ पुर्याइएको छ । शर्माका अनुसार केबलकारको संरचनाको काम ९५ प्रतिशत सकिएको छ । कोरोना कहरका कारण संरचना निर्माणमा ढिलाइ भएको उनले बताए । ‘दुई वर्षदेखि कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमले धेरै काम प्रभावित भयो’, उनले भने, ‘कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमकै बीचमा पनि स्वास्थ्यमापदण्ड अपनाएर काम सुचारु गर्दै आएका छौं ।’ विसं २०७५ साउन पहिलो साता शिलान्यास भई विसं २०७७ फागुन १ गते केबलकार सञ्चालन गर्ने लक्ष्य लिइएको थियो । तर कोभिड–१९ को प्रभावका कारण उक्त लक्ष्य प्रभावित भएको छ । अब विसं २०७९ फागुन १ गते बटम स्टेशनको सम्पूर्ण काम र केबलकारको सम्पूर्ण काम सकेर व्यावसायिक सञ्चालन गरिने शर्माले जानकारी दिए । कम्पनीले विसं २०७९ वैशाख १ गतेदेखि होटललगायत सम्पूर्ण पूर्वाधार प्याकेजसहित फुलफेजमा पर्यटन पूर्वाधारयुक्त केबलकार परियोजना सञ्चालनमा ल्याउने रणनीति बनाएको थियो । माथिल्लो स्टेशनको बहुआयामिक चारतारे होटलसहितको निर्माण सम्पन्न गरी विसं २०८० असोज १ गते परियोजना मूलयोजना सञ्चालनमा ल्याउने तयारी गरिएको छ । तर कम्पनीले त्यस भन्दा अगावै विसं २०७८ फागुन १ गते रेष्ट्रो जोन जोन सञ्चालनमा ल्याउने भएको छ । ‘केबलकारभित्र रेष्ट्रोको सुविधा प्रत्येक आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको अफ आवर साँझ ५ बजेदेखि ९ बजेसम्म यो सेवा दिने तयारीमा छौ,’ शर्माले भने । उनका अनुसार तल्लो र माथिल्लो स्टेशनमा रेष्टुरेण्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा सेवा दिनसक्नेछ । यहाँ ल्याण्डस्क्यापिङ र कृत्रिम झरना पनि बनाइनेछ । बन्दिपुरको ऐतिहासिकता झल्कने गरी बन्दिपुर घडी, बन्दिपुर गार्डेन बनाउने लक्ष्य लिइएको छ । यस गार्डेनभित्र बटम स्टेशनको पाँच तलामाथिबाट पानीको आकर्षक झरना बनाइनेछ । यसले पर्यटकलाई लोभाउने विश्वास गरिएको शर्माले बताउनुभयो । यसैगरी वाटर पार्क, म्युजिकल वाटर शो बनाउने लक्ष्य छ । बन्दिपुर गाउँपालिका–४ ठूलाढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबलकारबाट एसियाकै ठूलो दाबी गरिएको बिमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ । ठूलाढुङ्गास्वाँराबाट सुरू हुने केबुलकार सिद्धगुफाको छेउहुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केवलकारले एक किलोमिटर ६०० मिटर यात्रा गर्नेछ । आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एण्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केवलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको हो । लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीको कम्पनी हो, जहाँ एक हजार एक सय भन्दा बढी लगानीकर्ता रहेका छन् । रासस

कोहलपुर–सुर्खेत १३२ केभीप्रसारण लाइनमा स्थानीयवासीको अवरोध

कर्णाली । बाँकेको कोहलपुर र सुर्खेतको भेरीगङ्गा क्षेत्रका स्थानीयवासीले मुआब्जाको विषयलाई लिएर कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइन निर्माण कार्यमा अवरोध पुर्याएका छन् । स्थानीयवासीले उचित मुआब्जाको ग्यारन्टी नभएसम्म जग्गा प्रयोग गर्न नदिने चेतावनी दिएपछि आयोजनाको निर्माण कार्य प्रभावित हुन पुगेको हो । आयोजनाले सुर्खेतको भेरीगङ्गा नगरपालिका–१० का नौ घरधुरीको मात्र जग्गा अधिग्रहण गर्ने तयारी गरेपछि स्थानीयवासीले आपत्ति जनाएका छन् । आयोजनाले खम्बा निर्माण हुने जग्गाधनीलाई मात्रै मुआब्जा उपलब्ध गराउने भनेपछि त्यहाँका १२० घरधुरीले विरोधमा उत्रिएका हुन । विरोधका कारण उक्त क्षेत्रमा प्रशारण लाइन अन्तर्गत टावरको जग खन्ने कार्य सुरु हुन सकेको छैन् । स्थानीयवासीले उचित मुआब्जा निर्धारण नभएसम्म आयोजना अघि बढ्न नदिने भन्दै पूर्ण ढकालको संयोजकत्वमा सङ्घर्ष समिति गठन गरेका छन् । विद्युत् तार पर्ने जग्गाधनीलाई पनि क्षतिपूर्ति दिनुपर्ने, ऐलानी जग्गालाई पनि मुआब्जा दिनुपर्ने, सरकारी दररेट नभइ चलनचल्तीको मूल्य दिनुपर्ने माग अघि सारेका छन् । कोहलपुर नगरपालिका–१ र ४ मा पनि स्थानीयवासीले अवरोध जारी राखेका छन् । आयोजनाका प्रमुख रविकुमार चौधरीले दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले विवाद समाधानको पहल गरिरहेको जानकारी दिए । ‘प्रमुख जिल्ला अधिकारी र स्थानीयवासी जनप्रतिनिधिले आयोजनामा देखिएका अवरोध हटाउन पहल गरिरहनुभएको छ’, उनले भने, ‘मुआब्जा निर्धारण उपसमिति बनेर अध्ययनको काम गरिरहेको छ, सरकारी दररेट अनुसार मूल्याङ्कन भएर अधिग्रहण हुन्छ, ऐलानी जग्गालाई क्षतिपूर्ति दिने विषय मन्त्रिपरिषद्कै निर्णयमा भरपर्छ ।’ आयोजना प्रमुख चौधरीले विवाद नभएका स्थानमा प्रसारण लाइनको काम अघि बढिरहेको बताए । जङ्गल क्षेत्र र विवाद सिर्जना भएको ठाउँमा टावर निर्माण रोकिएको उनको भनाइ छ । सरकारले आयोजनाका लागि रुख कटानसम्बन्धी प्रस्ताव अझ स्वीकृत गरेको छैन् । जसले गर्दा जङ्गल क्षेत्रमा निर्माणकार्य प्रभावित हुनपुगेको छ । आयोजना निर्माणका लागि बाँके, बर्दिया र सुर्खेतको वन क्षेत्रमा गरी १३ हजार ११९ रुख कटान गर्नुपर्नेछ । ५२ किमी दूरी रहेको यस प्रशारण लाइनमा डबल सर्किटका १६१ वटा टावर निर्माण गर्नुपर्नेछ । करिब ७० करोड लागतमा भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टले प्रशारण लाइन निर्माणको काम गर्दैछ । विसं २०७७ असारमा ठेक्का सम्झौता भए पनि कम्पनीले भदौ तेस्रो सातादेखि निर्माण कार्य थालेको हो । रुख कटान स्वीकृतिमा ढिलाइ, स्थानीयवासीको अवरोधलगायतका कारण आयोजना तोकिएको समयमा सम्पन्न हुनेमा आशङ्का व्यक्त गर्न थालिएको छ । हाल वातावरणीय व्यवस्थापन योजना स्वीकृतिका लागि ऊर्जा मन्त्रालयले वनतथावातावरण मन्त्रालयमा पठाइएको छ । आयोजनाका अनुसार प्रशारणलाइनको अधिकांश क्षेत्र बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्ज तथा यसका मध्यवर्ती क्षेत्र पर्दछन् । प्रसारण लाइनको ७०.५४५ भागवन क्षेत्र, १५.१३५ खेतीयोग्य, २.२६५ बाँझो जमिन तथा ११.०६५ अन्य भागले ओगटेको छ । प्रसारण लाइनका लागि जग्गाको क्षेत्रफल २२५ वर्गमिटर क्षेत्रफल तोकिएको छ । आयोजनाबाट बाँकेका कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका, बर्दियाको बाँसगढी नगरपालिका तथा सुर्खेतका भेरीगङ्गा, लेकवेँशी तथा वीरेन्द्रनगर नगरपालिका प्रभावित हुनेछन् । आयोजना बाँकेको कोहलपुर सब–स्टेशनबाट प्रारम्भ भई वीरेन्द्रनगरस्थित सुर्खेत सब–स्टेशनमा पुगेर टुङ्गिनेछ । रासस