२० वर्ष पुग्दा पनि ९६ प्रतिशत मात्रै सकियो धोबिखोला करिडोर निर्माण
काठमाडौं । धोबिखोला करिडोरको काम ९६ प्रतिशत सकिएको छ । काठमाडौं उपत्यकाको भित्री चक्रपथ विकास गरी सवारी व्यवस्थापन तथा सहरी विकासका लागि धोबिखोला करिडोरको निर्माण कार्य अगाडि बढाएको थियो । काठमाडौं उपत्यकाका मुख्य सडकमा रहेका सवारी चाप कम गराउने उद्देश्यले पनि उक्त सडक निर्माण भएको हो । करिडोर निर्माणमा हालसम्म मुआब्जासमेत गरी ३ अर्ब २६ करोड खर्च भइसकेको उपत्यका विकास प्राधिकरण इन्जिनियर सज्जन कुँवरले जानकारी दिए । उनका अनुसार अहिले पनि केही ठाउँमा करिडोर निर्माणको काम भइरहेको छ । करिडोर निर्माण कार्य थालेको २० वर्ष पूरा भइसकेको छ । तर, अझै पनि आयोजना काम सकिएको छैन । बजेटको अभाव, स्थानीयको अवरोध, अन्तर निकाय समन्वयको अभाव, अधिकार सम्पन्न बागमती एकीकृत समाजले ढल निर्माणमा देखाएको सुस्तता लगायतका कारण करिडोर निर्माणमा ढिलाइ भएको कुँवरको भनाई छ । सरकारले आर्थिक वर्ष २०५६/५७ देखि नै बाग्मती-धोबिखोला दोभानदेखि चाबहिलको ओम अस्पतालसम्म ६ किमी लामो धोबीखोला करिडोर निर्माण गर्ने योजना अगाडि सारेको थियो । सुरुमा करिडोर निर्माणको जिम्मा काठमाडौं महानगरपालिकाले पाएको थियो । तर, काम अघि बढाउन नसकेको भन्दै बेग्लै बजेट छुटाएर आर्थिक वर्ष २०६६/६७ मा उक्त निर्माणको जिम्मा काठमाडौं उपत्यका विकास प्राधिकरणलाई दिइयो । सुरुका वर्षमा कामले गति लिन नसके पनि आर्थिक वर्ष २०६७/६८ देखि भने कामले केही गति लिन थालेको थियो । हालसम्म कामको प्रगति करिब ९६ प्रतिशत भएको प्रधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार धेरैजसो सडकको ट्«याक खुलेको छ । ट्रयाक नखुलेको केही सडकको काम गर्न बाँकी रहेको कुँवरले बताए । उपत्यका विकास प्राधिकरणले आगामी आर्थिक वर्षभित्र उक्त करिडोरको निर्माण कार्य सम्पन्न गर्ने योजना बनाएको छ । मुआब्जा वितरणमा निलोपुलका केही ठाउँमा समस्या रहेको प्राधिकरणले जनाएको छ । करिडोरका विभिन्न स्थानहरुमा कालोपत्रे भने भइसकेको छ । ‘बुढानीलकण्ठ नगरपालिकाको वडा नं. २ मा पहिरोका कारण एक किलोमिटर ट्रयाक खोल्न सकेको छैन, निलो पुलमा घरको मुआब्जा विवादको कारण एक सय मिटर ट्र्याक खोल्ने काम बाँकी छ हामीले अन्य काम गरी सकेका छौं,’ उनले भने । मुआब्जा लिन नमानेका ६/७ घरधुरी छन् । उनीहरूले सरकारले तोकेको भन्दा रकम माग गरेका छन् । जग्गाधनीले मागेजति रकम प्राधिकरणले दिन नसकेका कारण विवाद कायम छ । चालु आर्थिक वर्षमा करिडोर निर्माण गर्नको लागि १८ करोड रुपैयाँ बजेट बिनियोजन भएको छ । प्राधिकरणले ४ किलोमिटर ढल पनि बिछ्याएको छ । खोलाको दुवैतर्फ १२/१२ किमी गरी जम्मा २४ किमी लम्बाइको सडक सम्पन्न गर्ने लक्ष्य लिइएको उपत्यका विकास प्राधिकरण जनाएको छ । तर, पछिल्लो समयमा कालोपत्रे भएका करिडोरको सडकमा सवारी पार्किङ गर्ने क्रम बढेको छ । जसले अपेक्षित सवारी व्यवस्थापन हुन सकेको छैन भने करिडोरमा दैनिक जसो दुर्घटनाहरू बढेको छ । करिडोर निर्माण सम्पन्न भएपछि धेरै ठाउँका स्थानीयवासी मुख्य सडक नपुगेर नै गन्तव्यसम्म पुग्न सफल भएका छन् । यसले गर्दा मुख्य सडकमा सवारीको चाप रट्राफिकसमस्या पनि धेरै हदसम्म पुरा भएको छ ।
२० वर्षपछि पुनः निर्माण हुँदै मझगाँउ विमानस्थल, ४८ कराेड विनियाेजन
कञ्चनपुर । दुई दशकदेखि बन्द कञ्चनपुरको मझगाँउ विमानस्थल निर्माण कार्य अगाडि बढने भएको छ । विमानस्थल निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले केएस कान्छाराम कन्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको छ । विमानस्थलका भौतिक संरचना र धावनमार्ग बनाउन प्राधिकरणले दुई करोड ५१ लाख बजेट विनियोजन गरेको मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका संयोजक रमेशचन्द ठकुरीले बताए । विमानस्थल निर्माणमा पर्यटन मन्त्रालयको ५०, प्रदेश सरकारको २५, भीमदत्त नगरपालिकाको १५ र दोधाराचाँदनी नगरपालिकाको १० प्रतिशत गरी ४५ करोड ६६ लाख ७१५ रकम व्यहोर्ने सहमति यस अघिनै भएको छ । ‘विमानस्थल पुनः निर्माणको शिलान्यास कार्यक्रमको सबै प्रक्रिया पूरा भइसकेको छ’, समितिका सदस्य ज्ञानेन्द्रबहादुर महताले भने, ‘विमानस्थल पुनःनिर्माणको शिलान्यास कार्यक्रम सुरु भएसँगै निर्माण कार्यले गति लिन्छ ।’ विमानस्थलको लम्वाइ एक हजार ६६२ मिटरको रहने छ भने ६६ बिघा जमिनमा विमानस्थल रहने छ ।
लमजुङको सुपरदोर्दी ‘ख’ आयोजनाको मुख्य सुरुङ छेडियाे
फाइल फाेटाे लमजुङ । पहाडी जिल्ला लमजुङमा निर्माणाधीन सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाको मुख्य सुरुङ (ब्रेक थ्रु) छेडिएको छ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षेमताको यस आयोजनाले पाँच दशमलव एक किलोमिटरको मुख्य सुरुङको ब्रेक थ्रु गरेको हो । पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गर्दै आएको यस आयोजनाको मुख्य सुरुङ भूकम्प, नाकाबन्दी, लकडाउनलगायत प्रभावका बाबजुद ब्रेक थ्रु गर्न सफल भएको हो । केही दिनअघि आयोजनाको मुख्य सुरुङको सफलतापूर्वक ब्रेक थ्रु गरेसँगै यतिबेला त्यहाँ ढलानकार्य भइरहेको कम्पनीका प्रबन्ध निर्देशक केशवबहादुर रायमाझीले बताए । उनले भने, ‘हामीले सुरुङ छेड्ने काम पूरा गरेका छौँ, यो ठूलो उपलब्धि हो, अब ढलानकार्य अघि बढिसकेकाले आगामी चार महिनाभित्रमा ढलानसमेत सम्पन्न गर्ने लक्ष्य छ ।’ यस आयोजनाले आगामी सात–आठ महिनाभित्रै बिजुली उत्पादन गर्ने आयोजनाका प्रबन्ध निर्देशक रायमाझीको भनाइ छ । उनका अनुसार यस आयोजनाको निर्माण हालसम्म ८५ प्रतिशत सम्पन्न भएको छ । आयोजनाको विद्युत्गृहको सिभिल संरचनाको निर्माण भई उपकरण जडान भइरहेको आयोजनाले जनाएको छ । त्यस्तै गत असारमा दोर्दीखोलामा आएको बाढीपहिराले क्षति पुर्याएको आयोजनाको बाँधस्थल क्षेत्रको पुनःनिर्माण भइरहेको छ । एक हजार १०० मिटर पेनस्टक पाइप जडान भइरहेको छ । आयोजनाका प्रबन्ध निर्देशक रायमाझीले भने, ‘हामीले सबै निर्माण सम्पन्न गर्दै यही पुसभित्रमा बिजुली उत्पादन गर्ने भने पनि विविध कारणले आगामी असारभित्रमा बिजुली उत्पादन गर्ने कार्यतालिका छ ।’ कूल आठ अर्ब ८० करोडको लगानी रहेको आयोजनाको २२७ मिटर ठाडो पाइप (भर्टिकल साफ्ट) खन्ने काम सकिएको छ । इलेक्ट्रोमेकानिकल, टनेल र पावरहाउसभित्र भवन बनाउने काम भइरहेको छ । आयोजनाको विसं २०७५ भित्रै व्यावसायिक उत्पादन मिति रहेकामा विसं २०७१ मा विद्युत् खरिद सम्झौता (पिपिए) गरी विसं २०७२ असोज महिनाबाट निर्माण थालनी भएको थियो । आयोजनामा सबै गरेर ५०० कर्मचारी छन् । विसं २०७५ मा निर्माण सम्पन्न नभएपछि निर्माणअवधि थप गर्दै विसं २०७७ असारसम्मको सम्झौता गरेको थियो । सो अवधिमा समेत निर्माणमा ढिलाइ भएपछि गत विसं २०७८ असारसम्म निर्माण सक्ने सम्झौता रहेको थियो । सो समयमा पनि निर्माण नसकिएपछि यही पुस महिनाभित्र बिजुली उत्पादन गर्ने आयोजनाले जनाएको थियो । उनका अनुसार आयोजनामा सानिमा बैंकको अगुवाइमा नौ बैंकले ऋण लगानी गरेका छन् । ७० प्रतिशत ऋण लगानी र बाँकी प्रवद्र्धन लगानीमा निर्माण हुँदै आएको छ । आयोजनामा प्रभावित क्षेत्रका जिल्लावासीको मात्र २७ करोड लगानी छ । आयोजनाले सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र बर्खायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने (पिपिए) सम्झौता भएको छ । पानीको बहावमा आधारित यो आयोजनाको कुल ग्रसहेड ६४० मिटर रहने छ भने वार्षिक करिब ३१ करोड ५० लाख युनिट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । रासस