दार्चुलामा महाकालीमाथि पुल बनाउन भारतसँग सम्झौता
काठमाडाैं । महाकाली नदीमा पुल निर्माणका लागि नेपाल र भारत सरकारबीच सम्झौता भएको छ । मंगलबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच दार्चुला (नेपाल) र धार्चुला (भारत) जोड्ने महाकाली नदीमा पुल बनाउने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री यादवले नेपालको विकासका हरेक क्षेत्रमा भारत सरकारको सहयोग रहेको भन्दै महाकाली नदीमा बन्ने पुलले नेपाल र भारतबीचको आवागमन सहज हुने बताइन् । त्यस अवसरमा उनले पुल बनिसकेपछि त्यहाँका जनताको जनजीवन तथा दुई देशबीचको सम्बन्धलाई अझै उचाईमा पुर्याउने विश्वास समेत व्यक्त गरिन् । मन्त्री यादवले निर्धारित समयमै पुलको निर्माण कार्य सम्पन्न गरी दुवै देशका जनताको सहज आवागमनको चाहनालाई छिटो पूरा गर्नेतर्फ लाग्न पनि दुवै देशका सम्बन्धित अधिकारीहरुसँग आग्रह गरिन् । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाल र भारतको सीमा जोड्ने महाकाली नदीमा पुल बनाउने कुरामा भएको सम्झौता खुशीजनक रहेको बताए । उनले भारत सरकार र नेपाल सरकारको सहकार्यमा धेरै कामहरु भइरहेको उल्लेख गर्दै उक्त क्षेत्रमा बन्ने पुलले नेपाल र भारतका लागि आवागमनमा सहजता ल्याउने विश्वास व्यक्त गरे । राजदूत क्वात्राल भने, ‘नेपाल र भारतको सीमा जोड्ने महाकाली नदीमा पुल बनाउने कुरामा भएको सम्झौता खुशीजनक छ । भारत सरकार र नेपाल सरकारको सहकार्यमा धेरै कामहरु भइरहेका छन् । उक्त क्षेत्रमा बन्ने पुलले नेपाल र भारतका लागि आवागमनको सहजता मात्रै हुँदैन यसले नेपाल र भारतको संस्कृति, संस्कारलाई पनि जोड्नेछ ।’ राजदूत क्वात्राले नेपाल र भारत सरकारको तर्फबाट महाकाली नदीमा बनाइने पुलको काम दुवै देशको सहकार्यमा समयमा नै सम्पन्न हुने विश्वास लिएको पनि बताए ।
मेलम्ची खानेपानी आयोजनामा गेग्य्रान हटाउन सुरु
फाइल फाेटाे काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका विभिन्न संरचनामा रहेका गेग्य्रान हटाएर पुरिएका संरचना निकाल्न थालिएको छ । आयोजनामा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो प्रालिले गएको वर्षामा पुरिएका संरचना खुलाउन लागेको हो । वर्षामा बाढी र पहिराका कारण पुरिएर रहेका संरचना खुलाएर मर्मत गरेर पुनः काठमाडौं उपत्यकामा खानेपानी ल्याउन तयारीको काम भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । गत शुक्रबारदेखि कम्पनीले दुई चरणमा काम भइरहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । केही दिनमा नै तीन सिफ्टमा हुने र सकेसम्म चाँडो सक्ने गरी तीन ठाउँमा काम गरिने उनले बताए । उनले भने, ‘तीनतीनवटा डोजर राखेर काम भइरहेको जानकारी आएको छ ।’ संरचनामा रहेको लेदो सफा गरेर पहिले अम्बाथान अडिट खोलिने सूचना अधिकारी पन्तले बताए । त्यो खोल्नासाथ सुरुङको ‘डिवाटरिङ’ गर्न सकिन्छ । सुरुङ खाली भएपछि त्यसको निरीक्षण गर्ने र भित्र केही साधरण सुधार गर्नुपर्ने भए गर्न सकिने उनले बताए । त्यसपछि हेडवर्क र डाइभर्सन टनेल सफा गर्न सकिन्छ । उनले भने, ‘यी कामसँगसँगै गर्नुपर्ने भएकाले तीन ठाउँबाट काम गर्नुपर्छ ।’ अम्बाथान अडिटको लम्बाइ २९८ मिटर रहेको छ । मेलम्ची खोलाको भित्रतिर रहेको छ भने खोलाको धेरै गिट्टी–बालुवाभित्र नपसेको होला भन्ने आयोजनाको अनुमान छ । अडिटभित्र झन्डै पाँच हजार ४०० घनमिटर लेदो थुप्रिएको हुनसक्ने अनुमान गरिएको छ । उनका अनुसार त्यो परिमाण लेदो खाँदिएको अवस्थामा हुनसक्छ भने खाँदिएको नभएमा त्यो परिमाण कम हुनसक्ने अनुमान छ । मुख्य सुरुङमा भने भित्र लेदो नपसेकाले सञ्चालनमा समस्या नभएको आयोजनाले जनाएको छ । यसको मर्मत र सुधारका लागि धेरै समय नलाग्ने अनुमान छ । सुरुङको मुख खोल्नासाथ केही दिनमा नै सफा गरिहाल्न सकिने उनले बताए । मुख्य सुरुङलाई अडिट सुरुङले जोड्ने गर्छ । अहिले अडिट सुरुङ नै सुरुमा नै पूरै नभरिएको हुनसक्ने अनुमान गरिएको छ । सो सुरुङभित्र गएको छ÷छैन भनेर मुख खोलेर हेरेर नै थाहा हुने उनले बताए । बाढीपहिराले थुपारेको लेदोका कारण सबैभन्दा बढी ‘हेडवर्क’ पुरिएको हुनसक्ने र संरचनामा नै असर गरेको हुनसक्ने अनुमान गरिएको छ । यहाँ झन्डै तीनचार लाख घनमिटर लेदो रहेको, त्यो हटाउनु नै सबैभन्दा महत्वपूर्ण काम भएको सूचना अधिकारी पन्तले बताए । अहिले त्यो पूरै हटाउनेभन्दा पनि पानीसम्म जानसक्ने बनाउन लागिएको छ । अहिले नदी बगिरहेकाले त्यसैलाई सहयोग हुने गरी दायाँबायाँबाट गिट्टी बालुवा झिकेर हटाइने सूचना अधिकारी पन्तले बताए । अहिले हेडवर्कमा रहेका सबै लेदो हटाउनेभन्दा पनि पानीसम्म बगाउने गरी सफा गरिनेछ । हेडवर्कको गेट नं ९, गेट नं १ र अम्बाथान अडिट नजिकै गरी तीन ठाउँमा अहिले काम गनुपर्नेछ । नौ नं गेट र एक नं गेटमा समस्या भए पनि अस्थायी रुपमा चलाउन सकिन्छ भन्नेछ । चैतसम्ममा पानी चलाउन सकिएमा जेठसम्म चल्यो भने सुरुङमा केही भएको छैन भन्ने बुझिने सूचना अधिकारी पन्तले बताए । ‘हेडवर्क’ मा क्षति कम भएमा मर्मत हुनेछ भने धेरै क्षति भएको पाइएमा पुनः डिजाइन गरेर नयाँ ठाउँमा बन्नसक्छ । मुख्य सुरुङमा पहिले पानी भर्दा २६० लिटर प्रतिसेकेन्डका दरले भरिएको थियो र अहिले पनि त्यही प्रक्रिया अपनाइने आयोजनाले जनाएको छ । अहिले पनि सुन्दरीजल, सिन्धु र ग्यालथुमबाट पानी निकालिरहेको छ । अम्बाथान र ग्यालथुम बीचको खण्डमा पानी भरिएको र त्यो खण्डमा अम्बाथान अडिट टालिएकाले निकाल्न नसकिएको सूचना अधिकारी पन्तले बताए । त्यो खण्डमा पानी रहेको छ भने अम्बाथान अडिट दुई हप्ताभित्र खोल्न सकेमा पानीबाहिर निकाल्न सकिन्छ । त्यसपछि सुरुङ निरीक्षण गरिने उनले बताए । माघभरमा सुरुङ खोल्न सकेमा फागुनमा निरीक्षण हुने उनले बताए । तीन खण्डमा निरीक्षण गर्दा एक हप्तामा सकिने गरी योजना बनाइएको छ । उनले भने, ‘निरीक्षणका लागि तीन टोली खटाउन सकिन्छ ।’ फागुन पहिलो साता निरीक्षण सकियो र सुरुङभित्र कुनै समस्या छैन भन्ने भएमा फागुन अन्तिमसम्ममा पानी ल्याउन अरू काम गर्न सकिने सूचना अधिकारी पन्तले बताए । अब गर्नुपर्ने काममा ‘कफर ड्याम’ बनाउने, हेडवर्क गेट नं ९ खोल्नेलगायतका छन् । उनका अनुसार चैतको एकदुई साता काम गर्नुपरे पनि अन्तिमसम्ममा ल्याउन सकिन्छ । काठमाडौं उपत्यकावासीको धारामा चैतभित्रमा आउनसक्ने गरी योजना बनाइएको आयोजनाले बताउँदै आएको छ । अहिले गर्नुपर्ने तीन ठाउँमा सफा गर्न कति समय लाग्छ पानी पथान्तरण गर्ने कुरा त्यसमा निर्भर रहन्छ । उनका अनुसार ती संरचनामा कति क्षति पुगेको छ भनी खोलेर हेरेपछि मात्रै थाहा हुन्छ । उनले भने, ‘कम्पनीले काम सुरु गरिसकेकाले अबको दुईतीन दिनमा भित्रको अवस्था के छ भनी थाहा हुन्छ ।’ अस्थायी किन ? अहिले तत्काल स्थायी रुपमा ल्याउनका लागि हेडवर्क पूरा नभएकाले अस्थायी बाँधबाट नै पानी पथान्तरण हुने आयोजनाले जनाएको छ । गत वर्ष वैशाख जेठमा पानी चलाउँदा पनि अस्थायी बाँधबाट नै पठाइएको थियो । निर्माणाधीन ‘हेडवर्क’ को संरचना अहिले पूरै पुरिएको छ र यो क्षतिग्रस्त हुनसक्ने अनुमान छ । पानी पठाउने काम स्थायी वा अस्थायी रुपमा गर्ने भनी निर्णय गर्नका लागि अध्ययनको प्रतिवेदन आउनुपर्छ । अध्ययनका क्रममा कम क्षति पाइएकामा र मर्मत मात्रै गरेर चलाउन सक्ने भएमा स्थायी रुपमा नै गर्न सकिने हुनसक्छ । तर संरचना सुरक्षित छैन र अर्को बनाउनुपर्छ भने त्यसका लागि यही ठेक्का वा नयाँ ठेक्कामार्फत निर्माण अघि बढाउनुपर्ने हुनसक्ने सूचना अधिकारी पन्तले बताए । त्यसका लागि अर्को एकदुई वर्ष पनि लाग्नसक्छ । अहिले अस्थायी रुपमा पुनःनिर्माण गरेर चलाउन सकिन्छ । गत वर्ष जस्तै दोहोरिन नदिन गत आवमा जस्तै विपत्ति दोहोरिने सम्भावना भए पनि आयोजना स्थलभन्दा माथिल्लो भागमा संरक्षणको काम सुरु भएको छैन । गत असार १ गते माथिबाट बाढी आउनसक्ने अनुमान नभएकाले सुरक्षाको काम हुन नसकेको र अहिले अगाडिदेखि सुरक्षाका काम गर्न सकिने उनले बताए । अहिलेदेखि नै त्यहाँको सुरक्षाका लागि काम गर्न सकिनेछ । अम्बाथान अडिट नपुरियोस् भनेर माथिबाट संरचना बनाउन सकिन्छ भने एक नं माथि अस्थायी संरचना बनाएमा त्यो पुरिन पाउँदैन । सरकारले वा दातृ निकायबाट त्यहाँको अध्ययन भए पनि अहिलेसम्म समाधानको काम हुन सकेको छैन । अध्ययन प्रतिवेदन आएपछि मेलम्ची वा सम्बन्धित निकायले नै सुरक्षाको काम गर्नसक्ने उनले बताए । रासस
कालोपत्रमै अल्झियो बलेवा विमानस्थल
फाइल फाेटाे बागलुङ । बागलुङको बलेवा विमानस्थलको धावनमार्ग अझै कालोपत्र हुन नसकेको छैन । २०७७ फागुनमै हुनुपर्ने विमानस्थनको धावनमार्ग कालोपत्रको काम पटक–पटक प्रभावित बन्दै आएको छ । गत असारमै कालोपत्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य रहेको विमानस्थलको धावनमार्ग कालोपत्रको काम दुई पटक म्याद थप्दा समेत अझै सम्पन्न भएको छैन । विसं २०७७ फागुन महिनाभित्र विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र गरिसक्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले काष्ठमण्डप उमा एण्ड कम्पनी जेभी, बल्खुसँग सात करोडमा ठेक्का सम्झौता गरेको थियो । विमानस्थलको काम २०७८ माघ १५ सम्म अन्य पूर्वाधार निर्माण भए पनि धावनमार्ग कालोपत्र भने हुननसकेको हो । निर्माणको जिम्मा पाएको सो कम्पनीका प्रतिनिधि वासु थापाले कोरोना महामारी र वर्षाका कारण कालोपत्रको काम पटक–पटक प्रभावित बनेको भन्दै आगमी फागुनभित्रै काम सम्पन्न गरी हस्तान्तरण गरिने दाबी गरे । ‘कोरोना मुख्य कारण हो, कोरोना कम हुनासाथ काम थाल्छौँ, पानी परेर सडक बन्द हुन्छ,’ थापाले भने, ‘कालोपत्र गर्ने कच्चा सामग्रीको प्लान्ट खोज्नै एकवर्ष लाग्यो, अहिले प्लान्ट तयारी छ, सडक समेत सञ्चालनमा छ तर मौसम खुलेको छैन, विमानस्थलको कालोपत्र बाहेक अन्य काम एकवर्ष पहिलै सकिएको हो, अबको दुई हप्तामा काम सुरु हुन्छ, सरासर भए १० दिनमै कालोपत्र सक्छौँ ।’ धावनमार्ग कटिङ, नाली तथा तारबार एक वर्ष पहिल्यै सकिएर धानवनमार्गको ग्राभेल समेत सम्पन्न भइसकेको छ । कोरोना महामारी र मौसमका कारण धावनमार्गको कालोपत्र गर्न समस्या भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिक मीनराज ओझाले जानकारी दिए । ओझाका अनुसार ठेकदारका कारण नभएर कोरोना महामारी र मौसमका कारण कालोपत्र गर्न नसकिएको तर अब फागुनभित्रै कालोपत्र गर्ने तयारीमा निर्माण व्यवसायी रहेको छ । करिब २६ वर्षदेखि बन्द अवस्थामा रहेको सो विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेबाट पुनः सञ्चालनमा आएको थियो । नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना उडानसमेत भरेका थिए तर अहिले विमानस्थल बन्द छ । बागलुङ नगरपालिका–१४ नारायणस्थानमा सो विमानस्थल छ । हवाई सेवा नियमित भएमा बागलुङ जिल्लाका साथै पर्वत र म्याग्दीका जनतालाई समेत सुविधा पुग्ने बताइएको छ । कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारदेखि जम्मा १२ किलोमिटर सडक कच्ची छ । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर कालोपत्र हुनसकेमा विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुने बताइन्छ । रासस