छिन्चु बसपार्क निर्माणको लागि शुरु भयो टेन्डरको प्रकृया, साढे १८ करोड लागतमा दुई वर्षभित्रै सक्ने

<p>काठमाडौं । सुर्खेतको भेरीगंगा नगरपालिकाको छिन्चु बसपार्क निर्माणको कार्य छिट्टै सुरु हुने भएको छ । करिव साढे १८ करोड रुपैयाँको लगानीमा उक्त बसपार्कको निर्माण हुन लागेको हो । कर्णाली प्रदेशको प्रमुख व्यापारिक नाका छिन्चु बजारमा अव्यवस्थित पार्किङ बढ्न थालेपछि बसपार्क निर्माण गर्न लागिएको भेरीगंगा नगरपालिकाले जनाएको छ । नगरपालिकाकी उप-प्रमुख रेणु आचार्यका अनुसार बसपार्क निर्माणका लागि [&hellip;]</p>

काठमाडौं । सुर्खेतको भेरीगंगा नगरपालिकाको छिन्चु बसपार्क निर्माणको कार्य छिट्टै सुरु हुने भएको छ । करिव साढे १८ करोड रुपैयाँको लगानीमा उक्त बसपार्कको निर्माण हुन लागेको हो ।

कर्णाली प्रदेशको प्रमुख व्यापारिक नाका छिन्चु बजारमा अव्यवस्थित पार्किङ बढ्न थालेपछि बसपार्क निर्माण गर्न लागिएको भेरीगंगा नगरपालिकाले जनाएको छ । नगरपालिकाकी उप-प्रमुख रेणु आचार्यका अनुसार बसपार्क निर्माणका लागि यहि हप्ताबाट निर्माणका लागि टेन्डर आव्हान गरिने तयारी भएको छ ।

‘बसपार्क निर्माणको योजना ३ वर्ष अगाडि नै तयार गरिएको थियो, बजेट र जग्गाको अभावको कारण बसपार्क निर्माणको योजना अगाडि बढ्न सकेको थिएन, यो सबै प्रकृया मिलाएर बसपार्क निर्माणको कार्य अगाडि बढाइएको हो,’ उनले भनिन् ।

उक्त आयोजना निर्माणका लागि २०७८ माघ ६ गते नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता भएको थियो ।

आयोजना निर्माणको कुल अनुमानित रकम १८ करोड ५८ लाख २० हजार रुपैयाँमध्ये ७० प्रतिशत कोष र ३० प्रतिशत रकम नगरपालिकाले व्यहोरिने आचार्यले जनाइन् । उनका अनुसार १३ करोड ७४ हजार रुपयाँ नगर विकास कोषले र ५ करोड ५७ हजार ४६ लाख रुपैयाँ पालिकाले व्यहोर्ने छ ।

३० प्रतिशत रकम नगरपालिकाले व्यहोर्ने भनेको छ, तर यो रकम समेत नगरपालिकासँग छैन, उक्त रकमका लागि प्रदेश र संघ सरकारसँग कुरा गरिहेका छौं,’ उनले भनिन् ।

बसपार्क निर्माणका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा १४ लाख रुपैयाँमात्र बजेट विनियोजन गरेको छ । तर, उक्त रकमले पार्क निर्माण गर्न पुग्दै, त्यसैले रकम जुटाउनको लागि संघ र प्रदेश सरकारलाई सहयोगको अपिल गरिएको नगरपालिकाले जनाएको छ ।

निर्माण सुरु भएको २ वर्षभित्रमा आयोजनाको निर्माण सम्पन्न गर्ने योजना नगरपालिकाको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निर्माण हुने बसपार्कको यो आयोजना प्रदेशकै एक महत्वपूर्ण र नमूना आयोजनाको रुपमा हेरिएको पनि आर्चायले बताइन् ।

करिव ३३ रोपनी क्षेत्रफलमा उक्त बसपार्कको निर्माण हुन लागेको हो । भेरीगंगा नगरपालिका वडा नं. १२ छिन्चु बसपार्कको निर्माण गर्न लागेको पनि आर्चायले बताइन् ।

सो आयोजनाबाट हाल बजारमा अव्यवस्थितरुपमा संचालित लामा तथा छोटा दुरीका सवारी साधनहरुलाई व्यवस्थित गर्न तथा आधुनिक पूर्वाधारयुक्त बसपार्क सेवा सुविधा प्रवाह गर्न महत्वपूर्ण योगदान दिनेछ उनको भनाइ छ । पार्क निर्माण भएपछि निश्चित शुल्क लाग्नेछ ।

२० वर्षभित्र कोषलाई भुक्तानी गर्नुपर्ने

नगरपालिकाले बसपार्क निर्माण गर्न लिएको रकम नगर विकास कोषलाई २० वर्ष भित्रमा साँवा र व्याज सहित भुक्तानी गरिसक्नु पर्नेछ । उक्त व्याज प्रत्येक आर्थिक वर्ष असार वा पुस मसान्तमा गरी ६/६ महिनामा बुझाउनु पर्ने नगर विकास कोष आयोजना विकास महाशाखाका प्रमुख राजेशकुमार भोछिभोयाले बताए ।

मासिक रुपमा नगरपालिकाले आयोजना निर्माणको प्रगति प्रतिवेदन बुझाउनु पर्नेछ । कोषका अनुसार निर्माण सुरु भएको २ वर्षसम्म नगरपालिकाले लिएको ऋणको सावा व्याज बुझाउनु पर्दैन ।

Share News