विद्युत प्राधिकरणले तीन महिनामै कमायो साढे आठ अर्ब रुपैयाँ, विद्युत बेचेरै ६ अर्ब बढी आम्दानी
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तीन महिनामै साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो तीन महिना (साउन असोज) सम्ममा ८ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको हो । गत असोजसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार प्राधिकरणले विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्ब ९८ करोड रुपैयाँ आम्दानी गरेको छ । आवको पहिलो तीन महिनामा प्राधिकरणले २४ अर्ब ४८ करोड खर्च गरेको छ । सूचनाको हक सम्बन्धी कानुनमा भएको व्यवस्था बमोजिम सार्वजनिक गरिएको चालु आवको तीन महिनामा सम्पादित प्रमुख क्रियाकलापहरु समेटिएको विवरण अनुसार, प्राधिकरणले यस अवधिमा निजी क्षेत्रबाट १४ अर्ब १५ करोड रुपैयाँको विद्युत खरिद गरेको छ । आफ्नो स्वामित्वमा रहेका विद्युत गृहहरुबाट उत्पादित र निजी क्षेत्रबाट खरिद गरिएको विद्युत देशभित्र बिक्री गरी खुद २२ अर्ब २० करोड रुपैयाँ आम्दानी भएको छ । देशभित्र खपत गरी बढी भएको विद्युत भारतीय प्रतिस्पर्धी बजारमा बिक्री गरी आवको पहिलो तीन महिनामा ६ अर्ब १७ करोड रुपैयाँ आम्दानी भएको छ । आव २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ । आव २०७६/७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ पुगेको प्राधिकरणको नाफा आव २०७७/७८मा घटेर ६ अर्ब ९ करोडमा सीमित भएको थियो । गत आव २०७८/७९मा प्राधिकरणले नाफालाई बढाएर १६ अर्ब १६ करोड रुपैयाँ पुर्याएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रण, आन्तरिक रुपमा तथा भारतर्फको विद्युत निर्यात बढ्दा आम्दानीमा भएको बृद्धि, खर्च नियन्त्रणलगायतले गर्दा चालु आवको पहिलो तीन महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताए । कार्यकारी निर्देशक घिसिङले नाफाबाट प्राप्त रकमलाई विद्युत खपत बढाउन, उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत उपलब्ध गराउन प्रसारण र वितरणतर्फको पूर्वाधार विस्तार तथा सुदृढीकरणमा खर्च गरिएको उल्लेख गरे । उनले भने ‘आगामी दिनमा विद्युत खपत बढाउन, उपभोक्तालाई परपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि ४/५ वर्षभित्रमा ३/४ खर्ब रुपैयाँ लगानी गर्नु पर्ने छ, नेपाल सरकारसँग स्रोतको सीमितताका कारण पर्याप्त बजेट पाउन सक्ने अवस्था छैन, त्यसैले हरेक वर्षको नाफाबाट उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरणमा खर्च गरिरहेका छौं ।’
१३ करोड ८१ लाख लगानीमा सुनथराली विमानस्थल कालोपत्र गर्न सुरु
कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्ग कालोपत्र गर्न सुरुआत गरिएको छ । कालोपत्रको काम आगामी माघ मसान्तमा सक्ने लक्ष्य राखिएको छ । सो विमानस्थल विसं २०४२ बाट निर्माण गर्न थालिएको थियो । आगामी माघ मसान्तभित्र धावनमार्ग कालोपत्रको काम सक्ने लक्ष्य राखिएको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले बताए । ‘३७ वर्ष पुरानो विमानस्थलको टावर, भवन निर्माण भएपछि अब विमानस्थलको धावनमार्ग कालोपत्र गर्ने काम सुरु भइरहेको निर्माण छ’, उनले भने, ‘लामो समयदेखि काम नहुँदा अन्योलमा रहेको विमानस्थलले पछिल्लो समय गति लिन थालेको छ ।’ विगतको सशस्त्र द्वन्द्व, कोभिडलगायतका कारणले विमानस्थलको काम ढिलाइ भएको नरहरिनाथ –१ कोटवाडाका स्थानीय बलिराज विष्टले बताए । ‘कालोपत्रको काम सुरु भएपछि अब विमान चढ्न पाउने धोका पूरा होला जस्तो भएको छ’, उनले भने, ‘विमानस्थलको लामो सयमदेखि निर्माणमा ढिलाइ भइरहेको छ ।’ धावनमार्ग छ सय ९० मिटर लम्बाइ र ६० मिटर चौडाइ रहने चालु आर्थिक वर्षमा विमानस्थल पूर्ण रुपमा निर्माण काम सक्ने गरी काम भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर रत्नबहादुर श्रेष्ठले जानकारी दिए । ‘यो विमानस्थलको धावनमार्ग कालोपत्र, नाला निर्माणको काम भइरहेको छ’, उनले भने, ‘रिपिटर टावर निर्माण भइसकेको र उपकरण जडानको काम बाँकी रहेको छ । चालु आर्थिक वर्षमा नै पूर्ण रुपमा विमानस्थल सञ्चालनमा आउने छ ।’ विमानस्थलको धावनमार्ग कालोपत्र गर्ने काम गौरी पार्वती/श्याम एन्ड शङ्कर जेभीले ठेक्का लिएको र गौरी पार्वती श्याम एन्ड शङ्कर जेभीले नाला, माटो काट्ने कामको ठेक्का लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थलको धावनमार्ग निर्माण, नाला काट्ने, माटो सम्याउनका लागि १३ करोड ८१ लाख रुपैयाँ निर्माण कम्पनीले ठेक्का लिएको प्राधिकरणले जनाएको छ ।
कैलालीमा चार वर्षमा पनि सडक नबन्ने चिन्ता
टीकापुर । कैलालीको टीकापुर बजारलाई सुन्दर बनाउने परिकल्पनाअनुसार बजार क्षेत्रमा पक्की सडक निर्माण थालिए पनि समयमै नबन्दा नागरिकमा चिन्तित हुन थालेका छन् । एकातिर सडक नबन्ने चिन्ता अर्कोतर्फ सडकको धुलोले स्वास्थ्यमा असर पार्न थालेपछि स्थानीय बासिन्दा के गरौँ भन्न थालेका छन् । साढे तीन वर्षअघि निर्माण थालिएको बजार क्षेत्रको काममा ढिलाइ हुँदा नागरिकलाई हिँडडुलमा र धुलाले स्वास्थ्यमा गम्भीर असर पर्न थालेको छ । धुलोले बजार क्षेत्रका घर धुलाम्मे भएका छन् । बजारमा राखिएका कपडादेखि अन्य दैनिक प्रयोजनका सामग्रीमा असर परेको छ । धुलोकै कारण सर्वसाधारण बजार क्षेत्रमा आउन मान्दैनन् । सडक निर्माणको धुलोले नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको डाक्टर लालसिंह टमट्टाको भनाइ छ । ‘बजार क्षेत्रमा बिना मास्क हिँड्न सकिँदैन’, डाक्टर टमट्टाले भने, ‘धुलोका कारण खोकीका बिरामी बढेका छन् । यसले पछिसम्म स्वास्थ्यमा असर पार्छ ।’ सघन सहरी विकास कार्यक्रमबाट टीकापुरमा निर्माणाधीन ब्लक ‘ए’का सडक कालोपत्र गर्ने काम समयमै नहुँदा नागरिकले सरकार र स्थानीय नेताप्रति आक्रोश व्यक्त गर्न थालेका छन् । दुई वर्षमा निर्माण गरिसक्नुपर्ने सडक आउँदो माघमा चार वर्ष पुग्दैछ । सडकमा ढुङ्गा, बालुवाका कारण यात्रा गर्न कठिन छ । ‘हिँड्ने मानिस धेरै लड्ने गरेका छन् । सवारी साधन साइकल, मोटरसाइकल र स्कुटी चलाउनेलाई पनि समस्या हुने गरेको छ’, स्थानीय लक्की शाहले भने, ‘म स्कुटीमा हिँड्छु, सडकमा बिच्छ्याइएको ढुङ्गाका कारण कठिन छ ।’ टीकापुरका कपडा व्यापारी खडकलाल पाण्डे धुलोधुवाँले पसलका अधिकांश सामान बिग्रिएका बताउँछन् । ‘कपडाहरु धेरै धुलोले बिग्रिएका छन् । बाहिर झुन्ड्याएर राखेका लुगा सबै फाल्नुपर्ने अवस्था आउन थालेको छ’, पाण्डेले भने । ‘सडक खनेर अलपत्र छाड्दा व्यापारीको लाखौँ नोक्सान भएको छ ।’ स्थानीय निर्मला कडायतले अलपत्र सडक र नालीले गर्दा घर धुलाम्मे भएको बताए । ‘बिहान सफा गरेको घर साँझ धुलाम्मे हुन्छ, घरभित्रका सामान पनि धुलाले बिग्रन थालेका छन्’, कडायतले भने, ‘गिट्टीको धुलो भएकाले अझ खतरा छ, यस्तो विषयमा स्थानीय जनप्रतिनिधि गम्भीर नभएको देख्दा दुःख लाग्छ’, कडायतले भने । टीकापुरको मुख्य बजार ब्लक ‘ए’ भित्रका सबै सडकहरु खनेर छोडिएको छ । निर्माण कम्पनीका सबइन्जिनियर जयराम थापा अबको केही दिनमा निर्माण कार्य सञ्चालन गर्ने बताउँछन् । ‘अझै ६ महिना जति निर्माण सक्न समय लाग्छ । तेस्रो पटक म्याद थप हुँदैछ । सडकको डिजाइन फेरबदल गर्नुपरेको थियो’, थापाले भने, ‘त्यसले निर्माणमा ढिलाइ भयो । डिजाइन फेर्दा नौ प्रतिशत बजेटसमेत थप भएको छ । ढल निर्माण अन्तिम चरणमा पुगेको छ । अब कालोपत्र कार्य धमाधम गर्ने तयारी हो ।’ विसं २०७७ माघ मसान्तभित्र सडक निर्माणको काम सक्ने गरी महालक्ष्मी एम के जेभी धनगढीले आठ करोड ४४ लाख २१ हजारमा ठेक्का पाएको थियो । एउटा मुख्य र ११ शाखा सडक रहेको आयोजनाअन्र्तगत काम सक्ने मिति सकिएको दुई वर्ष पुग्दैछ । त्यसपछि बीचमा थपिएको समय पनि सकिएर निर्माण कम्पनीले पुनः म्याद थपका लागि पक्रिया सुरु गरेको छ । निर्माण व्यवसायी चक्र शाहले प्राविधिक समस्याले ढिलाइ भएको बताए । ‘सडकको सतह तयार भइसकेको छ । अब धमाधम कालोपत्र गर्ने हो’, शाहले भने, ‘सुरुमा १८ महिनाको सम्झौता थियो । खानेपानी, नेपाल टेलिकमका तार बदल्नुपर्ने, बिजुलीका पोल सार्नुपर्ने कारणले ढिला भयो, त्यसपछि कोभिड, निर्वाचनको असर पर्यो । अब काम छिटो गर्छौं ।’ कार्यक्रमअन्तर्गत नगरपालिका–१ को ब्लक ‘ए’ भित्र पर्ने खक्रौलारोडदेखि अस्पताल हुँदै सामुदायिक रेडियो, पुरानो पानी ट्याङ्की नयाँ बिहानी पुनस्र्थापना केन्द्र इलाका प्रहरी कार्यालयसम्म एक किलोमिटर मुख्य सडक चार लेनको बन्नेछ । यसको वरपर शाखा सडक कालोपत्र हुनेछन् । शाखा सडकको लम्बाइ दुई हजार एक सय मिटर हुने र यससँगै सडकको पानी निकासलाई नाली निर्माण हुनेछ ।