म्याग्दीमा दुई सय जना क्षमताको आधुनिक सभाहल निर्माण
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा दुई सय क्षमताको बहुउद्देश्यीय सभाहल निर्माण भएको छ । अन्नपूर्ण–६ घारका वडाध्यक्ष रामबहादुर खड्काले सभाहलको पूर्वाधार निर्माण, रङ्गरोगन, झ्याल, ढोका, विद्युत् जडानको काम सकिएको बताए । ‘गत वर्ष सुरुआत भएको सभाहल निर्माण योजनालाई यसपालि पनि बजेट विनियोजन गरेर पूर्णता दिएका छौँ’, उनले भने, ‘कुर्ची, टेबुललगायत फर्निचर व्यवस्थापन गरेर व्यवस्थित किसिमले सभाहल सञ्चालन गर्छौँ ।’ आर्थिक वर्ष २०७८/७९ मा दुई चरणमा २५ लाख विनियोजन भएको सभाहल निर्माणका लागि गाउँपालिकाले चालु आव २०७९/८० मा छ लाख ५० हजार विनियोजन गरेको छ । उपभोक्ता समितिमार्फत सभाहल निर्माण गरिएको वडाध्यक्ष खड्काले बताए । सभाहलभित्र स्टेज पनि बनाइएको छ । सभाहल निर्माण भएपछि तालिम, गोष्ठी, भेला, बैठक, सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सहज हुने भएको छ । यसअघि संरक्षण क्षेत्र व्यवस्थापन समितिको भवन रहेको ठाउँमा सभाहल निर्माण गरिएको हो । पुरानो भवनमा रहेको प्रहरी चौकीलाई स्थानान्तरण गरिएको थियो । सभाहल नजिकै यसअघि नै वडा कार्यालय भवन निर्माण भएको छ ।
घर-घरमा खानेपानीका धारा आउँदा मरिणका स्थानीय दंग
सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका–३ चनौटेका स्थानीयवासीको घर–घरमा खानेपानीको धारा विस्तार भएको छ । दरबार लिफ्ट खानेपानी तथा सरसफाइ आयोजना निर्माण सम्पन्न भएसँगै यहाँका एक सय तीन घरमा खानेपानीको सुविधा भएको हो । वर्षौँदेखि खानेपानीको निकै सास्ती खेप्दै आएका चनौटेवासी घर–घरमा धारा विस्तार भई यसै सातादेखि खानेपानीको सेवा प्रवाह भएपछि खुसीले दङ्ग छन् । स्थानीय विमला तामाङले अहिले निकै सहज भएको बताए । । ‘हामीले खानेपानी समस्याबाट ठूलो मुक्ति पाएका छौँ । नत्र खानेपानी खोज्दै सधैँको बिहान बित्थ्यो’, उनले भने, ‘अहिले वर्षौँदेखिको खानेपानीको प्यास मेटिएको छ ।’ आफैँलाई पिउन, गाईवस्तुलाई खुवाउन र बढी भएको पानीले करेसाबारीमा सागसब्जी रोप्नसमेत सहज भएको उनले सुनाउए। मरिण गाउँपालिका र नेपाल स्वास्थका लागि पानी (नेवा) को साझेदारीमा खानेपानी घर–घरमा पुगेको हो । विसं २०७८ भदौमा सम्झौता भई निर्माण सुरू भएको खानेपानी आयोजनाको निर्माणकार्य विभिन्न समस्याका कारण सम्झौता अवधिभन्दा चार महिना ढिलो सम्पन्न भएको थियो । ६२ लाख १८ हजार आठ सय ६८ लागतमा निर्माण सम्पन्न भएर सञ्चालनमा रहेका खानेपानी आयोजनाबाट एक सय तीन घरधुरीका नागरिकलाई बाह्रै महिना स्वच्छ खानेपानी सुविधा उपलब्ध भएको गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले जानकारी दिए । उनका अनुसार मरिणखोला नजिकै रहेको इनारबाट पाँच सय मिटरमाथि डाँडामा चारवटा पानी ट्याङकी बनाइएको छ । त्यहीँबाट ल्याइएको पानी वितरण भइरहेको छ । खोलाको किनारमा रहेको इनारबाट डाँडामा रहेको ट्याङ्कीमा पानी लिफ्ट गर्दा मिटरमा उठ्ने शुल्क सबै गाउँपालिकाले तिरिदिने उनले बताए । ‘निःशुल्क खानेपानी हाम्रो अभियान हो’, उनले भने, ‘त्यही अनुरुप गाउँपालिकाले काम गरिरहेको छ ।’ उक्त खानेपानीको आयोजना धेरै मेहेनत र लागतमा निर्माण भएको उनले स्मरणसमेत गरे । त्यसको संरक्षण र रेखदेखमा स्थानीय उपभोक्ता आफैँ सचेत रहनुपर्नेमा उनको जोड छ । वडाध्यक्ष जितबहादुर श्रेष्ठले चनौटेमा भर्खरै निर्माण सम्पन्न खानेपानी योजनाबाट गाउँका बासिन्दामात्रै नभई गाउँमा रहेको सरकारी स्कुलमा पढ्ने अढाइ सय विद्यार्थीसमेत लाभान्वित भएका सुनाए । गरिबी निवारण कार्यक्रम र वडाले यसअघि पनि पटक–पटक खानेपानीको सेवा प्रवाह गर्ने प्रयास गरेको थियो । त्यसबेला विभिन्न कारणले असफल भएपनि हाल आएर घर–घरमा खानेपानीको धारा पुर्याउन सफल भएको उनको भनाइ छ । उनका अनुसार पहिले यहाँका स्थानीयवासीलाई खानेपानीको जोहो गर्न दुःख थियो । पानी सङ्कलन गर्न दुई घण्टा खर्चिनुपर्दथ्यो । अहिले घर–घरमा खानेपानीको सेवा प्रवाह भएपछि विशेषगरी गृहिणी महिलालाई सहज र सुख भएको उनले बताए ।
३० करोड ४३ लाखको ठेक्कामा बागलुङको रणनीतिक सडक निर्माण सुरु
बागलुङ । गलकोट नगरपालिका–५ हरिचौरबाट बडिगाड, निसीखोला गाउँपालिका हुँदै प्यूठान जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनाको काम सुरुआत भएको छ । शनिबार गलकोट–७ मल्ममा सडक स्तरोन्नतिको वडाध्यक्ष राजबहादुर थापाले शुभारम्भ गरे । सो अवसरमा उनले गलकोटमात्रै नभएर सिङ्गै पश्चिम बागलुङको विकासमा उक्त सडक मेरुदण्डका रूपमा रहने बताए । सडक विभागले ३० करोड ४३ लाख रुपैयाको ठेक्कामार्फत आयोजनाको काम अगाडि बढाएको हो । निर्माण कम्पनी लोपूर्ण कन्स्ट्रक्शन प्रालिका प्रबन्धक अमिन लामाले उक्त बजेटबाट आठ किमी सडक कालोपत्र गरिने बताए । सुरुको चरणमा मल्म र हरिचौरबाट गरी दुई खण्डमा कालोपत्रका लागि पूर्वाधार तयारीको काम गरिने उनको भनाइ छ । ‘कुनै अवरोध नभएमा ३० महिनाभित्रैमा काम सक्ने हाम्रो लक्ष्य छ’, प्रबन्धक लामाले भने, ‘एघार किमीमा सडक कटिङ हुन्छ, आठ किमी जति कालोपत्र हुन्छ ।’