मेलम्चीमा बेलिब्रिज निर्माण गर्न सर्भे सम्पन्न
सिन्धुपाल्चोक । मेलम्चीमा बेलिब्रिज निर्माण गर्न सर्भे गरिएको छ । सडक डिभिजन कार्यालय चरिकोटबाट आएको टोलीले पुलको सर्भे गरेको हो । मेलम्ची तथा इन्द्रावती जोड्नका लागि ६५ मिटर लम्बाइ र पाँच दशमलव ६० मिटर चौडाइ पुलको आज सर्भे गरिएको डिभिजन प्रमुख अर्जुन सुवालले जानकारी दिए । त्यस्तै फट्टेमा ८७ मिटर लम्बाइ र सात मिटर चौडाइ पुलको पनि सर्भे गरिएको छ । विसं २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा आमनागरिक समक्ष गरेको वाचा पूरा गर्नका लागि काम सुरु गरिएको बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ समिरले बताए । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सङ्घीय सांसद मोहनबहादुर बस्नेतको पहलमा काम सुरु भएको तामाङले जानकारी दिए । बस्नेतले जेठ मसान्तसम्ममा सो स्थानमा बेलिब्रिज निर्माण गरिसक्ने बताए । पक्की पुल बाढीले बगाएपछि मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका नागरिकले सास्ती भोग्दै आइरहेका थिए । सो पुल बन्दा मेलम्ची, इन्द्रावती र पाँचपोखरी गाउँपालिकाका नागरिक लाभान्वित हुनेछन् । तत्कालका लागि बेलिब्रिजको लागि काम सुरु गर्ने र क्रमिकरूपमा पक्की पुलको काम पनि अगाडि बढ्ने नगरप्रमुख आइतमान तामाङले बताए । फट्टे हुँदै दुवाचौर र तालामाराङबाट भटार दुवाचौर जोड्ने पुलका लागि आज सर्भे गरिएको छ ।
बर्दिया पुल नहुँदा स्थानीयलाई सास्तीमा
बर्दिया । बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जब्दिघाट पुल बाढीले बगाएपछि आवतजावतका लागि दुई पालिकाका स्थानीयवासीलाई सास्ती भएको छ । बाढीले क्षतिग्रस्त बनाएको पाँच वर्ष बित्दा पनि पुल पुनःनिर्माण नहुँदा वर्षौदेखि सास्ती बेहोर्दै आएको बारबर्दिया नगरपालिका– ११ का रामगोपाल थारुले बताए । तरकारी फल्ने र बिक्री हुने यो मुख्य मौसम हो । मुख्य बजारनजिकै हुँदा पनि बजारसम्म तरकारी पुर्याउने पुल नहुँदा तरकारी खेतबारीमै कुहिन थालेको छ । अधिकांश गाउँमा हरियो तरकारी बारीमा लटरम्म फलेका छन् । तरकारी बिक्री हुने मुख्य गुलरीयाहाट बजार हो । त्यहाँ जाने बाटो छैन । भनेको बेला डुङ्गा पाइदैन । काँक्रो, फर्सी, बन्दा, काउली लगायतको तरकारी टिपेर खेतमै थुपार्नु परेको बारबर्दिया–४ का किसान फक्लबहादुर सत्गौलाले बताए । १६ करोड ६८ लाख चार हजार रुपैयाँमा बनेको पुल विसं २०७४ साउनको अन्तिम साता बबई नदीमा आएको बाढीले क्षतिग्रस्त जब्दिघाट पुल हस्तान्तरण नहुँदै भासिएको थियो । पछिल्लो समय उक्त पुल निर्माण गर्ने कम्पनीसँग क्षतिपूर्ति असूल गरी जब्दिघाटमा नयाँ पुल निर्माण गर्न मङ्सिरभित्रै बोलपत्र खोलिने बर्दिया क्षेत्र नं १ का नवनिर्वाचित सांसद सञ्जयकुमार गौतमले बताए । रासस
भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने
भरतपुर । भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल भवन निर्माण गर्न लागेको हो । यात्रुको चाप हुने यो विमानस्थल विस्तारका लागिसमेत प्रक्रिया अघि बढाइएको छ । प्राधिकरणले टर्मिनल भवनका लागि बोलपत्र आह्वान गरी प्राविधिक मूल्याङ्कनको क्रममा छ । प्राधिकरणका इञ्जिनीयर नलविक्रम थापाका अनुसार ६ वटा कम्पनीको बोलपत्र पेस भएको छ । ती प्रस्तावको प्राविधिक मूल्याङ्कनपछि आर्थिक प्रस्तावबाट अन्तिम टुङ्गो लगाएर सम्झौता गरिने छ । उनको भनाइमा पुस महिनाका अन्तिम सातासम्ममा सम्झौता भइसक्छ । बोलपत्रको रकम दुई अर्ब रुपैयाँँको हाराहारी रहेको भन्दै उनले एकिन रकम आर्थिक प्रस्तावपछि थाहा हुने बताए । तीन वर्षभित्रमा सम्पन्न गर्ने गरी सम्झौता गरिने छ । अत्याधुनिक किसिमको ७ हजार सात सय ४९ वर्गमिटर क्षेत्रफलमा भवन निर्माण गरिने छ । यससँगै टावर हुनेछ । विमानस्थलको धावन मार्ग विस्तार हुँदासमेत काम गर्ने गरी टर्मिनल भवन बनाउन लागिएको हो । नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्रलाई स्थानान्तरण गरी विमानस्थलको धावन मार्ग विस्तार गर्ने योजना रहेको छ । नेपाली सेनासँग प्राधिकरण छलफलमा रहेको थापाले जानकारी दिए । उनले भने ‘विमानस्थलको धावनमार्ग विस्तार हुँदासमेत काम गर्ने गरी टर्मिनल भवन बनाउन लागिएको हो ।’ हाल धावनमार्गको उडान र अवतरण हुने क्षेत्रमा अग्ला घर भएका कारण जहाजले कम यात्रु मात्रै बोक्ने गरेका छन् । धावनमार्ग विस्तारसँगै ठूला जहाज उडान गर्न सकिने र रात्रिकालीन उडानसमेत हुनेछन् । भरतपुर महानगरपालिकाले यो विमानस्थललाई विस्तार गर्न पटक–पटक महानगरपालिकामै छलफल गरिसकेको छ । महानगर प्रमुख रेनु दाहालले प्राधिकरण र नेपाली सेना सकारात्मक रहेकाले विमानस्थल विस्तारको काम हुनेमा आफू ढुक्क रहेको बताइन् । नेपाली सेनालाई वैकल्पिक ठाउँको व्यवस्था महानगरले गर्नका लागि विभिन्न ठाउँ प्रस्तावसमेत गरिसकेको छ । छोटो धावन मार्ग र वरिपरि घर भएकाले दुर्घटना हुन नपाओस् भन्नका लागि धावनमार्ग विस्तार गर्न सरोकारवालाले निरन्तर दबाब दिँदै आएका छन् । यहाँबाट काठमाडौँ, पोखरा र भैरहवा उडान हुँदै आएको छ । हाल बुद्ध र गुण एयरले दैनिक १० हाराहारी उडान गर्दै आएका छन् । सन् २०२१ मा यहाँबाट आवतजावत गर्नेको सङ्ख्या ११ लाख ७६ हजार थियो । रासस