एसियाली विकास बैंकको सहुलियत ऋणमा स्तरोन्नति हुँदै महेन्द्रनगर बजार क्षेत्रका सडक
कञ्चनपुर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आसपासका सडक स्तरोन्नतिको काम भइरहेको छ । एसियाली विकास बैंकको सहुलियत ऋणमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत महेन्द्रनगरमा स्तरीय सडक निर्माणको काम भइरहेको हो । आयोजनाअन्तर्गत पहिलो चरणमा करिब एक अर्बको ठेक्का भएको छ । महेन्द्रनगर र आसपास क्षेत्रको १४ किलोमिटर सडक स्तरोन्नतिको कामले तीव्रता पाएको भीमदत्त नगरपालिकाका इन्जिनियर गोरखबहादुर सिंहले बताए । ‘सडक १५/१६ मिटर चौडाइमा विस्तार गरिँदैछ, बजार र आसपासको क्षेत्रमा काम चलिरहेको छ,’ उनले भने । महेन्द्रनगरदेखि एयरपोर्ट रोड, महेन्द्रनगर बजार क्षेत्रलगायत सडक स्तरोन्नतिको कामले तीव्र पाएको छ । सरकारी निकाय र निर्माण कम्पनीबीच समन्वय नहुँदा बजार क्षेत्र निर्माणको कामले अस्तव्यस्त भएको छ । ‘सडक हिलाम्य छन्, बजारका सबै सडक एकै पटक भत्काइएको छ, विद्युत् र टेलिफोनका पोल सडकमै छन्,’ स्थानीय करवीर धामीले भने, ‘दैनिक आवातजावत हुने बजार क्षेत्रमा अस्तव्यस्त तरिकाले सडक निर्माण गर्दा आवातजावतमा समस्या भएको छ ।’ बजार क्षेत्रमा व्यवस्थित तरिकाले विकास निर्माणको काम गर्दा सास्ती भइरहेको कर्णप्रसाद भट्टले बताए । ‘विकास निर्माणको काम हुनु राम्रो हो, तर एकै पटक सबै सडक भत्काउँदा हिँड्डुलमा समस्या भइरहेको छ,’ उनले भने, ‘एउटा गल्लीको काम सकेर अर्कोमा पालैपालो काम गर्नुपर्थ्यो, तर अस्तव्यस्त तरिकाले काम भइरहेको छ ।’ सडक स्तरोन्नतिको काम हुँदा खानेपानीका पाइप, विद्युत् र टेलिफोनका पोल भित्री गल्लीमा सर्नुपर्ने भए पनि केही समस्या आएको इन्जिनियर सिंहले बताए ।
शिलान्यास भएको दुई दशकपछि धनकुटाको सहिदभूमिको खाल्सामा कालोपत्र हुने
धनकुटा । शिलान्यास भएको २१ वर्षपछि धनकुटाको सहिदभूमिको खाल्सा क्षेत्रमा सडक कालोपत्र हुने भएको छ । उक्त स्थानमा विसं २०५८ मा कच्ची सडक पुगेको थियो । खाल्सा क्षेत्रका तात्कालीन गाविस हाल सहिदभूमि गाउँपालिकाको आँखीसल्ला, खोकु र छिन्ताङसम्मको सडक तात्कालीन धनकुटाका प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले शुभारम्भ गर्नुभएको थियो । प्रदेश नं १ सरकारको प्रादेशिक विशेष सडक आयोजनाअन्तर्गत २९ करोड ७२ लाख ९८ हजारको लागतमा उक्त सडक कालोपत्र हुन लागेको हो । मध्यपहाडी लोकमार्गमा अवस्थित धनकुटा नगरपालिका–१ को व्यापारिक केन्द्र हिले बजारबाट सहिदभूमि गाउँपालिकाको थलथले बजारसम्म १० किमी सडक बन्न लागेको हो । सन् २०२१ सेप्टेम्बर २२ बाट सुरु भई सन् २०२३ मार्च २२ मा सम्पन्न हुने गरी ठेक्का पाएको रायमाझी आजद जेभी प्रालि काठमाडौंका प्रमुख प्रेम मगरले ७० प्रतिशत सडकको काम पूरा भएको जानकारी दिए । यस सडकले सहिदभूमि गाउँपालिकालाई अरुण, तमोर र दूधकोसी नदीको सङ्गममा रहेको त्रिवेणीमा अवस्थित भोजपुर, खोटाङ, उदयपुर र सुनसरी जिल्लासँग जोड्ने छ । यस सडकको निर्माण पूरा भएपछि गाउँपालिकाको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने गाउँपालिकाका अध्यक्ष मनोज राईले जानकारी दिए । सुनसरी र भोजपुर जिल्लासँग प्रत्यक्ष पहुँच राख्न सहयोग राख्ने यस सडकले गाउँपालिका क्षेत्रमा उत्पादित कृषि उपज बजारसम्म लान विशेष सहयोग पुग्ने उनले बताए ।
कालीगण्डकी करिडोर : मालढुङ्गा-हर्मिचौर खण्ड कालोपत्रको काम सुरु
बलेवा । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर मालढुङ्गा–बलेवा र बलेवा–हर्मिचौर खण्ड कालोपत्रको काम सुरु भएको छ । कालीगण्डकी कोरिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) सडक आयोजना कार्यालय पाल्पाले बागलुङको मालढुङ्गाबाट गुल्मीको हर्मिचौरसम्मको ५४ किलोमिटर सडक एकैपटक कालोपत्रको काम थालेको हो । बागलुङ नगरपालिका–१ मालढुङ्गाबाट बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडक एक खण्ड र बलेवा विमानस्थलबाट हर्मिचौरसम्मको ४४ किलोमिटर सडक अर्को खण्डमा स्तरोन्नति तथा कालोपत्रको काम सुरु भएको आयोजना कार्यालय पाल्पाका प्रमुख शंकर पौडेलले बताए । मालढुङ्गा-बलेवा खण्डको कामको जिम्मेवारी पाएको खड्का-कृष्ण बिएन जेभीले काम सुरु गरेको छ । मालढुङ्गाबाट सडक फराकिलो बनाउने र संरचना निर्माण गर्ने काम सुरु भएको हो । दश किलोमिटर दूरी रहेको यो खण्डका लागि ५५ करोडमा निर्माण कम्पनीले ठेक्का लिएको छ । दुई वर्षमा मालढुङ्गा-बलेवा खण्ड कालोपत्र भइसक्ने उनले जानकारी दिए । त्यस्तै बलेवा विमानस्थलबाट हर्मिचौरसम्मको सडकखण्ड कालोपत्रका लागि कालिका कन्स्ट्रक्सनले जिम्मेवारी पाएको छ । तीन अर्ब ३० करोडमा तीन वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको पौडेलले जानकारी दिए । कालीगण्डकी करिडोरअन्तर्गत कालोपत्र हुन लागेका दुई खण्ड हुँदै गुल्मी र बागलुङ जिल्लाका विभिन्न स्थानबाट बुटवल, बागलुङ, पोखरासम्म नियमित यातायात सञ्चालन गर्न सहज हुनेछ । करिडोर अन्तर्गत देवघाटधाम, केलादीधाम, राम्दीघाट, रुद्रवेणी, सेतीवेणी, पुर्तिघाट, बागलुङ कालिका, गलेश्वरधाम, कागबेनी, मुक्तिनाथ, दामोदर कुण्डजस्ता महत्वपूर्ण तीर्थस्थल पर्छन् । उक्त करिडोरमा विभिन्न स्थानमा गरी एक सय ४८ वटा घाट छन् । कालीगण्डकीमा मात्र पाइने शालिग्राम दर्शनका लागि समेत धार्मिक पर्यटक आउनसक्ने सम्भावना उत्तिकै छ । करिडोर निर्माणपछि छिमेकी राष्ट्र चीन र भारतबीचमा आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । नेपालको दक्षिणी सीमा भारतको सुनौलीबाट र उत्तरी सीमा चीनको कोरलालाई जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा कालीगण्डकी करिडोरलाई लिइएको छ । करिडोर नेपालको आर्थिक, सामाजिक विकासको मेरुदण्ड हुने ठानिएको छ । करिडोर कुल चार सय ३५ किलोमिटर लम्बाइ रहेको छ । रासस