ठेकेदार सम्पर्कविहीन हुँदा लोकमार्गको काम अलपत्र

ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ अक्षते–घोडाबाँधे खण्ड कालोपत्रे जिम्मा लिएको ठेकेदार सम्पर्कविहीन हुँदा लोकमार्गको काम ठप्प भएको छ । निर्माण जिम्मा लिएको श्रेष्ठ निर्माण तथा ढुवानी सेवाका प्रमुख रामकाजी श्रेष्ठ करिब एक महिनादेखि सम्पर्कविहीन हुँदा करिब १२ किलोमिटर सडकको काम अलपत्र परेको हो । आर्थिक वर्ष २०७२/०७३ मा यस सडक कालोपत्रेका लागि सूर्य कन्ट्रक्सनले जिम्मा लिएको थियो । तर पछि त्यस कम्पनीबाट श्रेष्ठ निर्माण कम्पनीका श्रेष्ठले कालोपत्रे गर्ने जिम्मा लिनुभयो तर उहाँले अहिलेसम्म आधा काम पनि पूरा गर्न सकेका छैनन् । सडक कालोपत्र नहुँदा हिउँदमा धुलो र बर्खामा हिलोले स्थानीय आजित भएका छन् । बागलुङवासीको लाइफलाइनका रुपमा रहेको लोकमार्गको ट्रयाक खुलेको २५ वर्ष भयो । सडक कालोपत्रेका लागि निर्माण कम्पनीसँग सम्झौता भएको पनि एक दशक पुग्नै लाग्यो । अहिले सडकको अवस्था बेहाल छ । सडकको धुलो र हिलोले गर्दा स्थानीय बसाइँसराइ गर्न बाध्य भएको स्थानीय हरिलाल कँडेलले बताए । उनले सडक छेउका घर हिउँदमा धुलो र बर्खामा हिलोले पुरिने गरेको बताए । धुलोका कारण स्थानीयको उठीबास लागेको उनको भनाइ छ । उनी भन्छन्, ‘बिहुँ सुन्तला पकेट क्षेत्र हो, यो सडकका कारण सुन्तला राम्रोसँग उत्पादन हुन पाएका छैनन्, अहिले पनि बोटमा फलेका फल सबै धुलोले ढाकिएका छन्, यस्तो सुन्तला बजार लगेर पनि बिक्री हुँदैनन्, यहाँका किसान धेरै मर्कामा परेका छन्, सडकका छेउमा भएका घाँसपात पनि धुलैधुलो र हिलैहिलो हुँदे गर्दा पशु चौपायले पनि खाँदैनन्, यहाँका सयौँ स्थानीय घरबारी छोडेर अन्तै जान बाध्य भएका छन् ।’ मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–घोडाबाँधे सडक कालोपत्रे गर्ने आयोजना सुरु भएपछि धेरै पटक निर्माण कम्पनीले म्याद थप्यो तर काम भने गरेन । अहिले ठेकेदार भागे पछि लोकमार्गको काम ठप्प भएको छ । लोकमार्गको बागलुङ–अक्षते खण्डमा काम भए पनि अक्षते–घोडाबाँधे खण्डमा भने काम हुन सकेको छैन । उहाँले ठेकेरादलाई राज्यले कारबाही नगर्दा अहिलेसम्म सडक कालोपत्रे हुन नसकेको बताए । कँडेल अटेरी गर्ने ठेकेदारलाई कारबाही गरेर नयाँ सम्झौता गरी काम गरेको भए दुई वर्ष अगाडिनै कालोपत्रे भइसक्ने बताउँछन् । सरोकारवाला निकाय यसतर्फ गम्भीर भएर नलागेसम्म यस सडकको अवस्था यस्तै रही रहने र स्थानीय वर्षौं हिलो धुलोमै बस्नुपर्ने बताए । काठेखोला गाउँपालिका–५ का पूर्वअध्यक्ष शिवप्रसाद कँडेलले एक महिनादेखि ठेकेदार हराउँदा लोकमार्गको काम ठप्प भएको जानकारी दिए । उनले आफूहरुले पटक–पटक सडकको काम सक्न आग्रह गरे पनि बेलाबेलामा सम्पर्कविहीन हुने गरेको बताए। स्थानीयले धेरै पटक सडकमै धर्ना दिए पनि ठेकेदारले बेवास्ता गरेको उनको भनाइ छ । ‘हामीहरुले सडक कालोपत्रेका लागि पटक–पटक प्रशासन र लोकमार्ग कार्यालय र ठेकेदारलाई आग्रह ग-यौँ, सडकको कारण सिङ्गो समुदायनै विस्थापित हुने अवस्था आयो, तर कतैबाट पनि यसको सुनुवाइ हुन सकेन’, सथानीय कँडेलले भने ‘ठेकेदार बेलाबेलामा आएर स्थानीयको आँखामा छारो हाल्ने काम गर्छ, अहिले १५/२० दिन भयो सम्पर्कविहीन बनेको छ, यसको अवस्था यस्तो विजोग छ ।’ काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले लोकमार्ग वर्षौंदेखि स्थानीयको समस्या बनिरहेको बताए । उनी आफूहरु जनप्रतिनिधि भएर पालिकामा आएपछि ठेकेदार र प्रशासनलाई झकझकाउने काम गरिरहेको बताए । अध्यक्ष थापाले तल्लोभन्दा माथिल्लो खण्डमा काम निकै सुस्त गतिमा भएको भन्दै कामलाई चुस्त बनाउन दबब दिइराखेको बताउँछन् । अध्यक्ष थापा भन्छन्, ‘यो सडकको जिम्मा लिएको रामकाजी श्रेष्ठ रहेछन्, मैले उनलाई र लोकमार्ग कार्यालयका प्रमुख नारायण भण्डारीलाई पटक–पटक कालोपत्रेका लागि भेटेरै कुरा गरेको छु, उनीहरुले गर्छौं भनेर आश्वासन दिनुहुन्छ तर काम गर्दैनन्, तल्लो खण्ड त यो वर्ष सकिन्छजस्तो देखिन्छ तर माथिल्लो खण्ड गाह्रो देखिन्छ, अहिले ठेकेदारनै भागेको भन्ने हल्ला आएको छ ।’ मध्य पहाडी लोकमार्ग कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारीले बागलुङमा पर्ने सबै खण्ड आगामी असार मसान्तसम्म सक्ने दाबी गर्छन । उनले अब बागलुङमा १२ किलोमिटर सडक कालोपत्रे गर्न र केही स्थानमा मर्मतसम्भार गर्ने काम बाँकी रहेको भन्दै निर्माण कम्पनीलाई दबाब दिएको बताउँछन् । प्रमुख भण्डारीले ठेकेदार कम्पनीलाई कारबाहीका लागि तयार भएको बेला सरकारले असार मसान्तसम्म म्याद थप गरी दिएको हुँदा प्रक्रिया अगाडि सार्न नसकेको बताए । ‘अब बागलुङ लोकमार्ग कालोपत्र हुन करिब करिब अन्तिम चरणमा छ, असार मसान्तसम्म सबै खण्ड कालोपत्रे हुन्छन्, अहिले बिहुँखण्डमा काम भएको छैन, त्यसलाई पनि दबाब दिने काम भएको छ, यतिका वर्षसम्म काम पूरा नगर्दा कारबाही गर्ने भनेका थियो, सरकारले म्याद थप गरेको हुँदा गर्न सकिएन’, उनले भने, ‘जहाँसम्म हामीलाई लाग्छ, असार मसान्तसम्म काम सक्दा यदि सकेन भने कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ ।’ लोकमार्गको कूल एक हजार सात सय ७६ किलोमिटरमध्ये बागलुङ खण्डमा मात्रै एक सय ४२ किलोमिटर पर्छ । जसमध्ये अब १२ किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ । बाँकी १२ किलोमिटर सडक पनि आगामी असार मसान्तसम्म जसरी पनि सक्ने लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । रासस

कालीगण्डकी करिडोरसँगको पहुँचमार्ग कलोपत्र गरिने

बलेवा । जैमिनी नगरपालिकाको केन्द्र कुश्मीसेरा बजारलाई कालीगण्डकी करिडोरसँग जोड्ने पहुँचमार्ग कालोपत्र गर्ने कार्य पुनः अघि बढाइएको छ । यसअघि उक्त सडक कालोपत्र गर्ने काम सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा थालिए पनि बीचमै रोकिएको थियो । यसबीचमा एक किलोमिटर सडक मात्रै कालोपत्र गरिएको थियो । जैमिनी नगर कार्यपालिकाको बैठकले कुश्मीसेरादेखि जैमिनीधाम कालीगण्डकी करिडोर सडक कालोपत्रका लागि दुई करोड रुपैयाँ विनियोजन गरेको उपप्रमुख हरिहर शर्माले जानकारी दिए । कुश्मीसेरादेखि जैमिनीधामसम्मको तीन किलोमिटर सडकमध्ये दुई किलोमिटर सडक कालोपत्रका लागि रकम विनियोजन गरिएको हो । तीन वर्षसम्म समपूरक कोषबाट काम गर्दासमेत सडक अधुरै रहेपछि नगरपालिकाले आन्तरिक स्रोतबाट थप सडक कालोपत्र गर्न लागेको हो । सडकको स्तरोन्नति र एक किलोमिटर सडक कालोपत्रका लागि यसअघि आठ करोड रुपैयाँको लागत अनुमान गरिएको थियो । पहिला दुई वर्षमा एक करोड रुपैयाँभन्दा कम बजेट खर्च भएको उक्त सडकमा पछिल्लो वर्ष दुई करोड ७० लाख रुपैयाँ खर्च भएको थियो । कोरोना महामारी, बाढीपहिरोलगायत समस्याका कारण समपूरक कोषमार्फत विनियोजन भएको बजेट खर्च नहुँदा सडक कालोपत्रको काम बीचमै रोकिएको थियो । सङ्घीय सरकारले एउटै योजनामा तीन वर्षभन्दा धेरै साझेदारी नगर्ने भएकाले समपूरक कोषको साझेदारी सकिएपछि नगरपालिकाले बजेट विनियोजन गरेको शर्माले बताए । ‘करिडोर कालोपत्र हुने चरणमा छ, करिडोरसँग जोडिने यो सडक हामीले तत्काल कालोपत्र गर्दा जैमिनीको लाइफलाइन बन्छ’, शर्माले भने, ‘हामीले सङ्घ र प्रदेशसँगसमेत बजेट माग गरेका छौँ, अब पुरानो होइन् नयाँ डिपिआर गरेर बाँकी खण्डको काम कालोपत्र गर्छौं ।’ सात मिटर चौडाइ सडक, नाली र दुई किलोमिटर लम्बाइ रहेको सडक कालोपत्रका लागि पाँच करोड रुपैयाँ लागत अनुमान भए पनि अपुग हुने रकम प्रदेश र सङ्घीय सरकारसँग माग गरिने उपप्रमुख शर्माले बताए । यो सडक कालोपत्र हुँदा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरसँग पाँचदेखि सात मिनेटको दुरीमा पालिकामा मुकाम जोडिनेछ । जैमिनी नगरपालिकाभित्रका सबै आर्थिक क्रियाकलाप सञ्चालन गर्न र पर्यटन प्रवद्र्धनमा समेत सहयोग गर्ने शर्माले बताए । रासस  

३ वर्षमा सक्नुपर्ने कालोपत्रे ४ वर्ष बित्दा आधा मात्रै

कैलाली। कैलालीको सहजपुर–विपीनगर–बोगटान सडकको २९ किलोमिटर कालोपत्रको काम पूरा भएको छ । पचास किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको चार वर्षमा २९ किलोमिटर मात्र कालोपत्रको काम पूरा भएको हो । विसं २०७५ फागुनमा ५० किलोमिटर सडक कालोपत्रका लागि ३६ महिनामा सडक निर्माणको काम पूरा गर्न ठेक्का सम्झौता भएकामा २९ किलोमिटरको काम मात्र पूरा भएको हो । सडक निर्माणको समयावधि सकिँदा पनि कालोपत्रको काम पूरा नभएको सहजपुर–बोगटान सडक योजना कार्यालयले जनाएको छ । सो सडकको बाँकी कालोपत्रको काम चालू आर्थिक वर्षभित्रै सम्पन्न हुने सहजपुर–बोगटान सडक योजना कार्यालयका सूचना अधिकारी अशोक मल्लले बताए । कालोपत्र गर्ने काम जारी रहेकाले यो आर्थिक वर्षमा बाँकी सबै काम सम्पन्न हुने उनले बताए । सहजपुर–विपीनगर–बोगटान सडकको २९ देखि ३६ किलोमिटर सडक क्षेत्रमा कालोपत्रको काम बाँकी छ । यस्तै ३६ देखि ४५ किलोमिटरसम्म सडक चौडा पार्ने, पर्खाल निर्माण, वेस तथा सव–वेसको काम जारी रहेको मल्लले जानकारी दिए । विसं २०४४ देखि सहजपुर–विपीनगर–बोगटान सडकको ट्याक खोल्ने काम सुरु गरिएको थियो । कैलालीको सहजपुरदेखि डोटीको बडीकेदार गाडेबाँजसम्म ५० किलोमिटर सडक कालोपत्रका लागि ५ डिसेम्बर २०१८ मा पिएलआर–कुमार जेवीसँग सम्झौता गरिएको थियो । सम्झौताअनुसार १७ जुन सन् २०२१ मा सात मिटर चौडा कालोपत्र र कालोपत्रको दाँया–बाँया एक/एक मिटर सोल्जर (ग्रावेल) सडक निर्माण गरिसक्नु पर्नेछ । एक्जिम बैंक अफ इन्डियाको ऋण सहयोगमा निर्माण हुन लागेको सो आयोजनाको सम्झौता रकम एक करोड ९६ लाख ९३ हजार तीन सय १२ अमेरिकी डलर रहेको छ । रासस