काठमाडौंका आकाशे पुल मर्मत गर्दै महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका पुराना आकाशे पुल मर्मतको काम प्राविधिकले जाँच गरेपछि अघि बढ्ने भएको छ । हाल महानगरभित्र नयाँ र पुराना गरी १० वटा पुल सञ्चालनमा छन् । जसमा चार पुल आवश्यकता अनुसार स्थानान्तरण गर्न सकिने छन् भने अन्य ६ वटा पुराना पुल मर्मत गर्नुपर्ने अवस्थामा छन् । कामपाले नयाँ पुल आफ्नै लगानीमा केही वर्षअघि मात्र निर्माण गरेको हो भने पुराना पुल सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत निर्माण भएका हुन् । पुराना पुलको अवस्था बुझ्न प्राविधिकलाई निर्देशन दिइएको र प्राविधिकको स्थलगत निरीक्षणपछि मर्मतको काम अघि बढ्ने कामपाले जानकारी दिएको छ । कामपाको लगानीमा निर्माण भएका बाहेक पुल निजी क्षेत्रले बनाएकाले मर्मत पनि निजी क्षेत्रले नै गर्नुपर्ने कामपाको सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख नुरनिधि न्यौपानेको भनाइ छ । दुई दिनअघि कामपाको उपप्रमुख सुनिता डङ्गोलले पुरानो पुल असुरक्षित रहेको यात्रुबाट गुनासो आएकाले त्यस्ता पुलको समस्या यकिन गरी मर्मत गर्नका लागि सम्बन्धित निर्माण कम्पनीलाई पत्राचार गर्न निर्देशन दिएका थिए । महानगरले २०७६ सालमा पैदलयात्रुको अत्यधिक चाप भएका आठ स्थानमा नयाँ आकाशे पुल निर्माण गर्ने निर्णय गरेको थियो । तर हालसम्म चार वटा मात्र निर्माण भएको छ । महानगरले टेकु भन्सार, त्रिपुरेश्वर, बबरमहल, पुतलीसडकमा आकाशे पुल निर्माण गर्ने भने पनि लामो समय बितिसक्दा काम अघि बढ्न सकेको छैन । हाल कामपाभित्र सुन्धारा, वीर अस्पताल, रत्नपार्क(भोटाहिटी, जमल, रत्नपार्क(बागबजार, भद्रकालीमा पुराना आकाशे पुल सञ्चालनमा छन् भने रत्नपार्कमा एउटा सव–वे सञ्चालनमा छ । त्यसैगरी स्थानान्तरण गर्न सकिने गरी कामपाले चावहिल चोक, कोटेश्वर, रामशाह पथ र नेपाल विद्युत् प्राधिकरण केन्द्रीय भवन अगाडिका स्थानमा पुल सञ्चालनमा ल्याएको छ । रासस

कञ्चनपुरमा जग्गाको स्वामित्व नपाउँदा विमानस्थल निमार्णको काम रोकियो

कञ्चनपुर । कञ्चनपुरको मझगाउँमा निर्माण गर्ने भनिएको विमानस्थल जग्गाको स्वामित्व प्राप्त हुन नसक्दा अलपत्र परेको छ । विमानस्थलको दक्षिणतर्फ रत्न वाटिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहत रहेको जग्गा विमानस्थलले नपाउँदा निर्माणको काम स्थगित भएको हो । विमानस्थलको लम्बाइ करिब एक हजार मिटर छ । उक्त क्षेत्रमा धावनमार्ग निर्माण अधुरै छ । रत्न वाटिका र सेनाले भोगचलन गरिरहेको जग्गासहित विमानस्थलको धावनमार्गको लम्बाइ एक हजार पाँच सय २५ मिटर पुग्छ । तर अहिले धावनमार्गको लम्बाइ एक हजार मिटर मात्रै छ । तर जमिनको भोगाधिकार विमानस्थलका नाममा नहुँदा धावनमार्ग निर्माणको काम रोकिएको विमानस्थल आयोजना प्रमुख मीनराज ओझाले बताए । ‘सेनाले भोगचलन गरिरहेको जग्गामा काम गर्न खोज्दा कामदार नियन्त्रणमा लिएपछि निमार्णकार्य प्रभावित भएको हो’, उनले भने । उनले सेनाले भोगचलन गरिरहेको जमिनको भोगाधिकारका लागि मन्त्रालयमा प्रक्रिया अघि बढेको जानकारी दिए । जग्गा प्राप्तिकालागि तीन वटा मन्त्रालयसँग समन्वय गरेर निर्णय गर्नुपर्नेमा ढिलाइ भइरहेको उनको भनाइ छ । ‘पछिल्लो समय दसैँ, तिहार जस्ता पर्व र निर्वाचनका कारणले काम हुन सकेन, अहिले पनि जग्गाको स्वामित्वको काम प्रक्रियामै छ’, उनले भने । उनले यसका लागि मन्त्रिपरिषद्बाट निर्णय हुन बाँकी रहेको बताए । यसअघि सेनाका मातहतमा रहेको जग्गा विमानस्थललाई दिने सहमति भएको थियो । उनका अनुसार राजपत्रमा उक्त जग्गा विमानस्थलका लागि छोडिएको उल्लेख भए पनि सेनाका नाममा लालपुर्जा छ । कञ्चनपुर क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रमेश लेखकले विमानस्थल निमार्णको काम अघि बढाउन पहल भइरहेको बताए । ‘जग्गा प्राप्तिका विषयमा केही अलमल भएको हो त्यो विषय छिट्टै टुङ्ग्याएर काम अघि बढ्छ’, उनले भने ‘त्यसका लागि म आफै पनि मन्त्रालयमा पुगेको छु प्रक्रियागत कुराले ढिलाइ भएको हो ।’ विमानस्थल पुनर्निर्माण संघर्ष समितिका व्यवस्थापन संयोजक करन पालले विमानस्थललाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । ‘यहाँ विमानस्थलको आवश्यकता छ यसले यहाँको पर्यटन विकासमा सहयोग पुग्दछ’, उनले भने, ‘हामीले पटक(पटक सरकारसँग विमानस्थल सञ्चालनका लागि दबाब दिइरहेका छौ ।’ उनले निर्वाचनको बेला उम्मेदवारहरुले विमानस्थल सञ्चालनको आश्वासन दिएको बताए । भीमदत्त नगरपालिकाको १५, दोधारा चाँदनी नगरपालिकाको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ र नागरिक उड्ययन प्राधिकरणको ५० प्रतिशत गरी तीनै तहको साझेदारीमा विमानस्थल निर्माण भइरहेको हो । तीन वर्षभित्र निर्माण सक्ने गरी कान्छाराम (केएस(उमा एन्ड कम्पनीसँग ४५ करोड ६६ लाख रुपैयाँमा सम्झौता भएको छ । पहिलो चरणमा धावनमार्गसँगै ट्याक्सी वे र एप्रोनलगायतको काम हुनेछ । दोस्रो चरणमा टर्मिनल भवनदेखि पहुँचमार्ग निर्माण गरिने आयोजनाले जनाएको छ । विसं २०३४ देखि ०५७ सम्म सञ्चालनमा रहेको उक्त विमानस्थल संकटकालका बेला सुरक्षाको कारण देखाउँदै बन्द गरिएको थियो । रासस

राष्ट्रिय लोकमार्गमा ‘हाइड्रोपावर’ निर्माण

  बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत गलकोटको मनेवापाटामा सडक अतिक्रमण गरेर स्थानीयवासीले हाइड्रोपावर निर्माण गरिरहेका छन् । लोकमार्गको गलकोट नगरपालिका–११ मा पर्ने मनेवापाटामा करिब डेढ किलोमिटर सडकमा दरमखोला हाइड्रोपावर प्रालिले सडक अतिक्रमण गरी पाइप बिच्छ्याइएको छ । सडकको कुनापट्टि पाइप बिछयाउँदा सडक साँघुरो बनेर दुर्घटनाको जोखिम बढेको जनाइएको छ  । हाइड्रोपावर निर्माण कम्पनीले सवारी आवतजावत नै ठप्प बनाएर सडकमा पाइप बिछ्याउने गरेको गाडी चालकहरूको भनाइ छ । लोकमार्ग कार्यालयसँग मापदण्ड बनाएर हाइड्रोपावर निर्माण गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले मापदण्डविपरीत काम गरेको पाइएको छ । मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारी भन्छन्, ‘सम्झौताअनुसार काम गर्न चार पटकसम्म पत्रचार गर्यौँ, तर उनीहरूले हाम्रो पत्रको कुनै जवाफ दिएका छैनन्, हामीहरूले सम्झौताविपरीतको काम रोकेर मापदण्डअनुसार काम गर्न पटक–पटक भन्यौँ, जिल्ला प्रशासनलाई पनि यो रोक्न पत्र पठाएका छौँ, कतिपय ठाउँमा मापदण्डअनुसार भएको छ भने भेरै ठाउँमा विपरीत छ ।’ हाइड्रोपावर प्रालिले लोकमार्गको पत्रचारलाई बेवास्ता गरी मापदण्डविपरीत काम धमाधम गरिरहेको छ । भण्डारीले हाइड्रोपावरको काम गर्नका लागि एउटा नक्सासमेत तयार पारेको भन्दै त्यसअनुसार नभए निर्माण भएका संरचना भत्काउन आफूहरू बाध्य हुने बताउँछन् । उनले भनिन्, ‘म फिल्डमै गएर किन यस्तो भयो भनेर बुझ्न खोजेँ, बुझ्न बोलाए तर उनीहरू आएनन्, यदि निर्माण कम्पनीले सम्झौताविपरीत काम गरिरह्यो भने, त्यो भत्काउनेसम्म हाम्रो अधिकार रहन्छ, उहाँहरूलाई सम्झौताअनुसार गर्ने स्थितिमै ल्याउँछौँ, एउटा नक्सासमेत तयार भएको छ, त्यो नक्साअनुसार पनि भएन भने हामी भत्काउँछौँ ।’ सात मिटर चौडाइ रहेको दुई लेनको सडकमा कुना भागबाट पाइप बिछ्याउँदा पाँच मिटर पनि पुग्दैन । हाइड्रोपावरको पाइपले कुनापट्टिको नालीसमेत पुरेको छ । हाइड्रोपावर प्रालिले पाइप बिछ्याएपछि सडक निकै साँघुरो भएको भण्डारी बताउछन् । मध्यपहाडी लोकमार्ग मिचेर हाइड्रोपावर बनाउँदा सडक दुर्घटनाको जोखिमसमेत बढेको उनको भनाइ छ । दरमखोला हाइड्रोपावर प्रालिका प्रमुख नीरज पुनले सडक विभागको अनुमति लिएर काम अगाडि बढाएको बताए । उनी आफूहरूले सम्झौताविपरीत काम नगरेको दाबी गर्छन् । उनले लोकमार्गको कार्यालय प्रमुख नयाँ आएका र उनले धेरै कुरा नबुझेको हुनसक्ने बताए । प्रमुख पुन भन्छन्, ‘सुरुमा जे सम्झौता भएको थियो सोहीअनुसार काम गरेका छौँ, सम्झौताविपरीत भएको जस्तो लाग्दैन, पहिलेका हाकिमसँग छलफल गरेर, एउटा सम्झौता गरेका थियौँ, सोहीअनुसारका काम गरेका हौँ, अहिले नयाँ हाकिम आएका होलान्, उनलाई सबै थाहा नभएको हुनसक्छ ।’ जिल्ला समन्वय समिति बागलुुङका प्रमुख अमर थापाले लोकमार्गका छेउछाउमा हाइड्रोपावरका संरचना बनाउँदा सडक नै जोखिममा पर्ने बताए । उनले भने, ‘लोकमार्ग छेउमा जुन हाइड्रोपावरको पाइप बिछ्याइएको छ, यो गलत भएको छ, भोलि जतिबेला पनि यो पाइप फुट्न सक्छ, त्यो अवस्थामा सडकको हालत के हुन्छ ?, त्यसले गर्दा यस्ता संरचना बनाउँदा सबै पक्षले ध्यान पुर्याउनुपर्छ ।’ उनले राज्यको सम्पत्ति जोखिममा पारेर संरचना बनाइन नहुने बताए । राष्ट्रिय गौरवको आयोजना अतिक्रमण गरी हाइड्रोपावरका लागि पाइप बिछ्याउने कार्य दुर्भाग्यपूर्ण भएको भन्दै यसमा संयमता अपनाउनुपर्ने बताए । पछि गएर ठूलो दुर्घटना हुनुभन्दा अहिले नै ठोस निर्ण गर्नुपर्ने प्रमुख थापा बताउछन् । दरमखोला हाइड्रो इनर्जीले आगामी असार मसान्तभित्र सक्ने गरी हाइड्रोपावरको कामलाई तीव्रता दिएको छ । यहाँबाट ९।६ मेगावाट विद्युत् निकालिने कम्पनीले जनाएको छ । यस ठाउँलगायत अन्य स्थानमा पनि विभिन्न व्यक्ति तथा निर्माण व्यवसायीले लोकमार्ग क्षतविक्षत बनाएका जनाइएको छ । रासस