कमलादीमा तयार भयो स्काई वाक टावर, व्यापार गर्न बुकिङ खुल्ला, कति लाग्छ टिकट ?

काठमाडौं । कमलादीमा निर्माणाधीन स्काईवाक टावरमा व्यापार व्यवसाय गर्न चाहनेहरूको लागि बुकिङ खुल्ला भएको छ । टावरको ३ वटा तलालाई भाडामा लगाउने योजनाका साथ निर्माण कम्पनीले बुकिङ खुल्ला गरेको हो । टावर निर्माणको काम अन्तिम चरणमा पुगेसँगै बुकिङ खुल्ला गरेको वन्डर्स नेपाल प्रालिका टावर सुपरभाइजर निखिल दाहालले बताए । टावरको २४ र २५ तलामा व्यापार गर्न चाहनेहरूको लागि बुकिङ खुल्ला भएको छ । ‘अहिले टावरमा व्यापार गर्ने चाहनेहरुसँग सहकार्य गरी भाडामा दिने सोच बनाएका छौं, बुकिङ खुल्ला गरेसँगै बुकिङका लागि ग्राहकको अत्याधिक अर्डर आएको पनि छ,’ उनले भने । भुईँ तलामा पनि व्यवसायिक प्रयोजनका लागि ४९ वटा सटरहरूको निर्माण हुँदैछ । सो सटर पनि निर्माण कम्पनीले भाडामा दिने योजना बनाएको छ । अहिले पूर्ण रूपमा तयार भइनसके पनि अग्रिम बुकिङ भने खुल्ला रहेको दाहालले बताए । सो सटरमा एकै किसिमको पसल भने राख्न पाइने छैन । ‘हामीले अहिले नै भाडाको निर्धारण गरेका छैनौं, सटर पनि भाडामा लिन आए भने सटरको साइज हेरेर भाडामा दिने हो, अनुमानित एउटा सटरको भाडा मासिक ४० देखि ५० हजार रुपैयाँसम्म हुन सक्छ,’ उनले भने । १ अर्ब ८० करोड खर्च निर्माणकर्ता वन्डर्स नेपाल प्रालिले यो टावरको निर्माण पूर्ण रुपमा सम्पन्न गर्दा २ अर्ब रुपैयाँ लगानी हुने जनाएको छ । यसमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ५० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । दाहालका अनुसार करिब एक अर्ब ८० करोड रुपैयाँ हालसम्म खर्च भइसकेको छ । स्काईवाक अर्थात् ‘आकाशमा पदयात्रा’ बाट काठमाडौंको दृश्यलाई निहाल्न सकिन्छ । भुईँबाट धेरै माथि चढ्ने र पूर्ण पारदर्शी शीशाको संरचनामा पदयात्रा गर्ने ठाउँ हो । उक्त टावरमा हिँड्दा आकाशमा हिँडेको अनुभूति हुन्छ । माथि अविराम आकाश देखिन्छ । उक्त टावरमा लिफ्ट अथवा हिँडेर पनि चढेर सिधै माथि पुगिन्छ । टपको सिसामा हिँड्दा ७८ मिटर तलको बगैँचा, पार्किङ, बजार देखिन्छ । नजिकका सडकमा शान्तसँग सवारी बगिरहेको देखिन्छ । साहसिक पर्यटकको लागि नयाँ गन्तव्य, मनोरञ्जनको नयाँ क्षेत्र उघार्न लागेको दाहाल बताउँछन् । वन्डर्स नेपाल प्रालिले कमलादीमा १३ रोपनी जग्गा २३ वर्षसम्मको लागि लिजमा लिएर स्काईवाक टावर बनाएको हो । लिज अवधि सकिएपछि सबै संरचना जग्गाधनीलाई छोडिदिनुपर्छ । यो टावरको निर्माण कार्य २०७७ सालबाट सुरु गरिएका थियो । करिब साढे २ वर्षको अवधिमा ९० प्रतिशत काम सम्पन्न भइसकेको दाहालले जानकारी दिए । फलाम नै फलामले बनेको टावर ७८ मिटर अग्लो छ । ‘भवन विभागको मापदण्ड अनुसार यसको सम्पूर्ण संरचना तयार पारेका छौं, यस भवनमा चढ्दा कुनै असुरक्षित हुन्छ कि भनेर कुनै संङ्का गर्नु पर्दैन, यो टावर सत प्रतिशत सुरक्षित छ,’ उनले भने । टावरको माथि सीमा हिँड्ने स्पेश २ हजार स्कवायर फिट हुन्छ । वरिपरि ६ फिट अग्लो ग्लासको रेलिङ हुन्छ । स्काईवाक एरियामा एकै पटक ५ सय जनासम्म अट्ने बताइएको छ । उक्त टावर माथि लिफ्ट मात्र नभई भर्याङबाट पनि चढ्न तथा ओर्लन सकिने सुविधा छ । भुईँ तलाको साइटमा गार्डेन, सपिङ सेन्टर, रेष्टुराँ हुनेछन् । त्यस क्षेत्रमा ७० वटा गाडी र ३ सय वटा मोटरसाइकल पार्किङ गर्न ठाउँ हुन्छ । टावरमा चढ्न एक हजार शुल्क निर्माणाधीन स्काईवाक टावर सञ्चालनमा आइ सकेको छैन । निर्माण कम्पनी केही महिनामा उक्त टावर सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । सञ्चालनमा आए पछि सो टावर चढ्नको लागि प्रति व्यक्ति एक हजार रुपैयाँ शुल्क लाग्ने पनि दाहालले बताए । विदेशी पर्यटनको लागि शुल्क अलिक बढी लाग्नेछ । दाहालका अनुसार विदेशी नागरिकले सो टावर चढ्नको लागि १ हजारदेखि १५ सय रुपैयाँसम्म बुझाउनु पर्ने हुन्छ । टावर भित्रका रेस्टुरेन्टमा बस्दाको पैसा बेग्लै तिर्नुपर्ने हुन्छ । वर्षमा २/३ लाख मानिस यस टावरमा स्काई वाक गर्न आउने अनुमान निर्माणकर्ताको छ । टावरको सबैभन्दा माथि सिसामा हिँड्ने ठाउँछ । सिसा भन्दामाथि १२ फिट अग्लो निर्माण कम्पनीले बस्ने ठाउँ बनाएको छ । उक्त ठाउँमा बस्न चाहनेहरूले अग्रिम बुकिङ गर्नुपर्ने पनि दाहालले बताए । बुकिङ गर्दा १० हजार रुपैयाँ बुझाउनु पर्ने पनि दाहालले जानकारी दिए । ‘अहिले टावरमाथि सिसा राख्ने, फिनिसिङको काम भइरहेको छ, छिटै सञ्चालनमा ल्याउने हाम्रो तयारी हो, अहिले हामीले अनुमानित टावर चढ्दाको शुल्क मात्र निर्धारण गरेको छौं,’ उनले भने ।

नवलपरासीमा विकासका लागि एक करोड १९ लाख छुट्याइयो

नवलपरासी । नेपालकै मध्यभागमा पर्ने नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा कैयन पर्यटकीय गन्तव्य छन् । जिल्लामा प्राकृतिक, धार्मिक पर्यटकीय क्षेत्र प्रशस्त छन् तर कतिपय पर्यटकीय क्षेत्रमा आवश्यक पूर्वाधारको विकास नहुँदा ओझेलमा परेका छन् । पर्यटकीय क्षेत्रमा पूर्वाधारको विकास गर्न गण्डकी प्रदेश सरकारले जिल्लामा यस वर्ष एक करोड १९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । हालै मात्र पर्यटन सम्बन्धका कामसमेत गर्ने गरी यसअघिको घरेलु तथा साना उद्योग कार्यालयलाई जिम्मा दिएको छ । तत्पश्चात् कार्यालयको नामसमेत पर्यटन तथा उद्योग कार्यालय राखिएको छ । यसै पर्यटन तथा उद्योग कार्यालय नवलपुरमार्फत् नवलपुरमा रहेका पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास गर्ने गरी एक करोड १९ लाख रुपैयाँ बराबरका योजना छनोट गरिएको छ । नवलपुरमा रहेका रहेका १७ वटा स्थानमा पर्यटकीय पूर्वाधार विकासमा काम गरिने पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख सागर खनालले बताए । चालु आर्थिक वर्षमा जिल्लाका १७ वटा पर्यटकीय गन्तव्यका लागि बजेट छुट्याइएको उनले बताए । “यसअघि हामीले पर्यटनको क्षेत्रमा काम हामीले गर्न सकेनौँ तर यस वर्ष कार्यालयको जिम्मेवारी थप गरी सोहीअनुसार बजेटसमेत आएको छ”, कार्यालय प्रमुख खनालले भने, “यस वर्ष १७ वटा योजना छनोट भएका छन्, ती योजनामा पूर्वाधार विकासको काम गर्नेछौँ ।” पर्यटकीय क्षेत्रको विकासका लागि विनियोजित बजेटका कार्यक्रममा धेरैजसो पदमार्ग निर्माणका योजना छन् । पर्यटकीयस्थलमा सहज आवतजावतका लागि पदमार्ग निर्माणलाई प्राथमिकता दिइएको कार्यालय प्रमुख खनालको भनाइ छ । यसबाहेक विभिन्न पार्कलाई आवश्यक पूर्वाधार निर्माण र व्यवस्थापनका योजना छन् । प्रत्येक योजनालाई न्यूनतम पाँच लाखदेखि १० लाख रुपैयाँसम्म विनियोजन गरिएका छन् । विनियोजन भएको बजेटअनुसारको काम अगाडि बढाउने तयारी गरिएको कार्यालय प्रमुख खनालले बताए । जिल्लामा रहेका धेरैजसो पर्यटकीय क्षेत्रमा आवश्यक पूर्वाधार नहँदा ती क्षेत्रमा पर्यटकको चहलपहल कम हुने गरेको छ । पर्यटकीय क्षेत्रमा आवश्यक पूर्वाधार विकास गरी ती क्षेत्रको प्रवद्र्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्ने कावासोतीका पर्यटन व्यवसायी जितनारायण थनेतले बताए । रासस

चार करोड ६४ लाख ८२ हजारको लागतमा निर्धारित समयभन्दा छिटो बन्यो सडक

बागलुङ । सडक डिभिजन कार्यालय बागलुङले एउटा सडक परियोजना सम्झौता अवधि नसकिँदै सम्पन्न भएको बताएको छ । डिभिजनले मुस्ताङदेखि डोल्पा जोड्ने सडक निर्धारित समयअघिनै सम्पन्न भएको बताएको छ । मुस्ताङको वाराजुङ मुक्तिक्षेत्र गाउँपालिकादेखि डोल्पाको वार्खा ताङसोङ जोड्ने सडक तोकिएको समयभन्दा छ महिना अगाडि सम्पन्न भएको हो । चालु आर्थिक वर्ष सडक स्तरोन्नति गर्ने मुस्ताङ खण्डको करिब ६ किमी सडक ६ महिनामै सम्पन्न भएको हो । गत चैत २७ गते सम्झौता भएको सडक असोज मसान्तमा सकिएको हो । सडक निर्माण सम्पन्न गर्ने मिति २०८० को असोज ३० सम्म थियो । तर जागृति कुन्सालिङ संयुक्त निर्माण कम्पनीले ६ महिनामै काम सकेको हो । चार करोड ६४ लाख ८२ हजारको लागतमा बनेको यो सडकको अन्तिम मूल्याङ्कनसमेत भइसकेको डिभिजन सडक कार्यालय बागलुङका प्रमुख बलिराज मल्लले बताए । सडकमा एक लाख ८७ हजार घनमिटर माटो खन्ने, तीन हजार पाँच सय घनमिटर ग्याबीन पर्खाल लगाउने तथा खाल्डाखुल्टी सम्याएर ग्राभेल विच्छाउने समेतको काम थियो । ठेकेदारका प्रतिनिधि जीवन रोकायले चिसो मौसममा काम गर्न नसकिने भएकाले सम्झौता गरेकै दिनदेखि काम थालेर सकेको बताए । ‘उनको काम निकै प्रभावकारी रहेछ, समय अगाडि सके’ लेखा अधिकृत रामनाथ शर्माले भने, ‘उनलाई डिभिजनले सम्मान गर्नेछ । वर्षाै देखि काम अलपत्र भएको गुनासो आउने बेलामा उनले गरेको काम उदाहरणीय भएको बताए ।’ डिभिजनले मुस्ताङ जिल्ला पनि हेर्छ । यो करिडोरको मनाङदेखिकै खण्ड हेरिरहेको मल्लले जानकारी गराए । पाँच वर्षदेखि निर्माण सुरु भएको यो सडक खण्डमा ११ मिटर चौडा पार्ने काम पनि भएको छ । यो सडक अधिकांश खण्ड चार हजार मिटरभन्दा माथि पर्ने र मङ्सिर लागेपछि यहाँ हिमपात हुन्छ । ‘हिमपातका कारण काम गर्न कठिन हुन्छ । चैतसम्म हिउँ रहने र निर्माण उपकरण सोही स्थानमा राख्नुपर्दा खिया लाग्ने, इञ्जिन बिग्रने भएपछि समयमा काम सकेर उपकरण तल्लो खण्डमा झारिएको हो’, रोकायाले भने ।