बल्ल झुल्किए सभामुख

काठमाडौं । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकार विस्तार हुने क्रम जारी छ । गत भदौ २३ र २४ गतेको आन्दोलनपछि संसद विघटन हुँदै सुशीला कार्कीको नेतृत्वमा सरकार बन्यो । प्रधानमन्त्री कार्कीले  भदौ २७ गते प्रधानमन्त्रीको शपथ ग्रहण गरिन् । विगतमा प्रधानमन्त्रीको शपथ ग्रहणमा राष्ट्रपति र उपराष्ट्रपतिसहित सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्व प्रधानमन्त्रीहरूलगायत व्यक्तित्वहरू सहभागी हुने संस्कार र संस्कृति भएपनि भदौ २७ गते राति साढे ९ बजे भएको कार्कीको शपथ ग्रहणमा भने बेग्लै चित्र देखियो ।  कार्कीको शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बाहेक अन्यको सहभागिता देखिएन ।  कार्कीले आफू प्रधानमन्त्री बनेपछि भदौ ३० गते मन्त्रिमण्डल विस्तार गरिन् । भदौ ३० गते अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री  कुलमान घिसिङ तथा  गृह र कानुनमन्त्रीमा ओमप्रकाश अर्यालले शपथ ग्रहण गरे ।  तीन मन्त्रीहरूको शपथ ग्रहणमा प्रधानमन्त्रीको सपथ ग्रहणमा उपस्थित भएका व्यक्तिव्यहरूबाहेक अनुपस्थित रहेका राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको सहभागिता रह्यो । सो शपथ ग्रहण कार्यक्रममा सहभागी हुनै पर्ने सभामुख देवराज घिमिरे कार्कीको शपथ ग्रहणमा झैं अनुपस्थित नै रहे । सोमबार (असोज ६) गते थप चार मन्त्रीले सपथ लिएका छन् । पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदीश खरेल, जलवायुविज्ञ मदन परियारले सोमबार मन्त्रीको शपथ लिएका हुन् ।  सिन्हाले उद्योग वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण, पुनले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको सपथ लिएका छन् । यस्तै, परियारले कृषि तथा पशुपन्छी विकास र खरेलले  सूचना तथा सञ्चार मन्त्रालयको सपथ लिएका छन् । आजका मन्त्रीहरूको शपथमा भने सभामुख घिमिरे सहभागी बनेका छन् । यसअघिका दुई शपथ ग्रहण कार्यक्रममा उनी अनुपस्थित रहेका थिए । सोमबार मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपछि यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायधीश राउत, सभामुख घिमिरे, उपसभामुख इन्दिरा राना र राष्ट्रिय सभा अध्यक्ष दाहाल उपस्थित भएका थिए ।  प्रधानमन्त्री तथा मन्त्रीहरूको शपथ ग्रहणमा पूर्वप्रधानमन्त्रीहरूको समेत सहभागी हुनुपर्ने संस्कार बस्दै आएको छ । तर, अन्तरिम सरकारको  प्रधानमन्त्री तथा मन्त्रीहरूको शपथ ग्रहणमा भने डा. भट्टराई बाहेक कुनै पनि पूर्व प्रधानमन्त्रीहरूको सहभागिता देखिएको छैन ।  शपथ ग्रहण कार्यक्रममा निवर्तमान प्रधानमन्त्रीको सहभागिता अनिवार्यजस्तै रहन्छ । तर, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरिम सरकारलाई बहिस्कार जस्तै गरेका छन् ।  

१७ वर्षको यात्रापछि वारेन बफेटले चीनको बीवाईडी छाडे

काठमाडौं । वारेन बफेटको बर्कशायर हाथवे चीनको बीवाईडीबाट पूर्ण रूपमा बाहिरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । वारेन बफेटको बर्कशायर हाथवेले चिनियाँ अटोमेकर बीवाईडीबाट पूर्ण रूपमा लगानी फिर्ता लिएको फाइलिङमा देखाइएको छ ।  यससँगै १७ वर्षको लगानी अन्त्य भएको छ, जसको मूल्य यस अवधिमा २० गुणाभन्दा बढी बढेको थियो । बर्कशायरको ऊर्जा सहायक कम्पनीको फाइलिङअनुसार २०२५ मार्च अन्त्यसम्म बीवाईडीमा गरिएको लगानीको मूल्य शून्य देखाइएको छ, जुन २०२४ अन्त्यमा ४१५ मिलियन डलर थियो । बफेटको कम्पनीले सन् २००८ मा सेन्जेनमा आधारित बीवाईडीमा करिब २२५ मिलियन सेयर खरिद गर्दै २३० मिलियन डलर लगानी गरेको थियो, जसले त्यतिबेला कम्पनीमा करिब १० प्रतिशत स्वामित्व दिएको थियो  । २०२२ मा बर्कशायरले ती सेयर बेच्न सुरु गर्यो, जब बीवाईडीको सेयर मूल्य २० गुणाभन्दा बढी बढिसकेको थियो। सोमबार टिप्पणीका लागि गरिएको अनुरोधमा बर्कशायरले तत्काल प्रतिक्रिया दिएको छैन । सीएनबीसीले आइतबार बर्कशायरले आफ्नो हिस्सेदारी बिक्री पूरा गरेको समाचार पहिलो पटक दिएको थियो । बीवाईडीका ब्रान्डिङ र सार्वजनिक सम्बन्धका महाप्रबन्धक ली युनफेईले आफ्नो आधिकारिक वेइबो खातामा पोष्ट गर्दै बर्कशायरलाई ‘गत १७ वर्षमा गरेको लगानी, सहयोग र साथका लागि’ धन्यवाद दिएका छन् । उनीहरूले यस हिस्सेदारी बिक्रीलाई ‘सामान्य’ सेयर लगानीको कारोबारको रूपमा वर्णन गरेका छन् । थप टिप्पणीका लागि गरिएको अनुरोधमा बीवाईडीले तत्काल प्रतिक्रिया दिएको छैन । टेस्लाको सबैभन्दा ठूलो प्रतिस्पर्धी बीवाईडीको साढे तीन वर्षपछि पहिलो पटक त्रैमासिक नाफा घटेको छ, किनकि मूल्ययुद्धविरुद्धको सरकारी अभियानबीच यसको विस्तारमा अवरोध आएको छ । बीवाईडीको घरेलु बिक्री, जसले यसको विश्वव्यापी आपूर्तिको करिब ८० प्रतिशत हिस्सा ओगटेको छ, अगस्त महिनामा लगातार चौथो पटक घटेको छ ।  रोयटर्सका अनुसार कम्पनीले वार्षिक बिक्री लक्ष्य १६ प्रतिशतसम्म घटाएर ४.६ मिलियन गाडी बनाएको छ । विशेषज्ञहरूका अनुसार बर्कशायरले लामो समयपछि नाफा काट्ने रणनीति अपनाएको र चीनको बजारमा बढ्दो प्रतिस्पर्धा तथा राजनीतिक जोखिमलाई ध्यानमा राखी सेयर बिक्री गरेको अनुमान गरिएको छ । चीन–अमेरिका सम्बन्धमा चिसोपन बढ्दै जाँदा विदेशी लगानीकर्ताहरू सतर्क देखिएका छन् । बीवाईडी हाल विश्वकै ठूलो विद्युतीय गाडी उत्पादक कम्पनीमध्ये एक बनेको छ र टेस्लासँग प्रत्यक्ष प्रतिस्पर्धामा छ । तर हालको मूल्यांकन उच्च भइसकेको र भविष्यमा मुनाफा घट्नसक्ने सम्भावनाले बर्कशायरले लगानी फिर्ता गरेको हुनसक्ने विश्लेषण गरिएको छ । बर्कशायर हाथवे विश्वकै सबैभन्दा सफल लगानी कम्पनीमध्ये एक मानिन्छ। प्रारम्भमा कपडा उद्योगका रूपमा स्थापना भएको यो कम्पनीलाई बफेटले सन् १९६५ मा नियन्त्रण लिएर लगानी होल्डिङ कम्पनीमा रूपान्तरण गरेका थिए । हाल बर्कशायर हाथवेले बीमा, रेल्वे, ऊर्जा र उपभोक्ता उत्पादन क्षेत्रमा ठूलो लगानी गरेको छ । यसका पूर्ण स्वामित्वका कम्पनीहरूमा गाइको, बीएनएसएफ रेल्वे , डेरी क्विन र ड्युरासेल जस्ता प्रसिद्ध ब्रान्डहरू छन् ।  साथै एप्पल, कोका–कोला, अमेरिकन एक्सप्रेस र बैंक अफ अमेरिका जस्ता बहुराष्ट्रिय कम्पनीमा यसको ठूला हिस्सेदारी रहेको छ । संसारकै सबैभन्दा महँगो सेयरको रूपमा चिनिने बर्कशायर हाथवेका क्लास–ए सेयरको मूल्य लाखौं अमेरिकी डलरसम्म पुग्छ । दीर्घकालीन लगानी रणनीतिका लागि चिनिने वारेन बफेटलाई ‘ओराकल अफ ओमाहा’ नामले समेत पुकारिन्छ । हुवावेको एटलस ९५० : एनभीडीयालाई हल्लाउने ‘एआई बम’ !  

७ खर्ब लगानी रहेको पर्यटकीय राजधानी पोखरा सुनसान, गभर्नरसँग मागे शून्य ब्याजदर

काठमाडौं । पोखरा पर्यटन परिषदले पर्यटन पुनर्उत्थानका लागि पहल गरिदिन नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलसँग आग्रह गरेको छ । परिषदका अध्यक्ष तारानाथ पहारी नेतृत्वको टोलीले आज काठमाडौंमा गभर्नर पौडेललाई ध्यानाकर्षण पत्र बुझाउँदै पर्यटन पुनर्उत्थानका लागि आवश्यक पहल गरिदिन आग्रह गरेको हो । मुलुकमा पछिल्लो समय नयाँ पुस्ताले गरेको आन्दोलन र त्यसले ल्याएको परिवर्तन तथा अठोटको उच्च सम्मान गर्दै ध्यानाकर्षण पत्रमा आन्दोलनका क्रममा अवाञ्छित व्यक्ति तथा स्वार्थ प्रेरित समूहको कारण भएको सरकारी तथा निजी सम्पत्तिमाथिको तोडफोड, आगजनी तथा लुटपाटका घटनाप्रति दुःख व्यक्त गरिएको छ । ‘पर्यटन व्यवसायको मुख्य यामको सुरुवात हुनै लाग्दा भएको यस घटनाबाट सबैभन्दा बढी असर यहाँका पर्यटन व्यवसायी तथा उद्योगीहरू माथि परेको छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘राज्यको आर्थिक विकासको प्रमुख आधारको रूपमा रहेको पर्यटन उद्योगमा हालै भएको घटनाबाट हरेक दिन पर्यटकहरूले आफ्ना भ्रमण प्याकेज तथा बुकिङ क्यान्सिल गरिरहेको अवस्था छ ।’ करिब ७ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको पर्यटन राजधानी पोखराको पर्यटन उद्योग देशको वर्तमान परिस्थितिको कारण यति बेला सुनसानजस्तै भएको परिषदको दाबी छ । विगतका भूकम्प, कोभिड-१९ जस्ता महामारीको अवस्थामा पनि पर्यटन उद्योगको पुनर्उत्थानको लागि सबै तहका सरकारबाट विभिन्न प्याकेजहरू घोषणा गरिएको उल्लेख गर्दै परिषदले हालको बदलिँदो परिस्थितिमा पनि पर्यटन उद्योगलाई पुनर्उत्थान गर्न आग्रह गरेको छ । आन्दोलनको क्रममा व्यावसायिक प्रतिष्ठानहरू माथि गरिएको तोडफोड, आगजनी तथा लुटपाटका क्रममा पर्यटन व्यवसायीमा परेको क्षतिको समुचित क्षतिपूर्तिको व्यवस्था गरिदिन समेत परिषदले अनुरोध गरेको छ । साथै अगामी फागुन २१ गतेका लागि निर्वाचन हुने भएकाले पर्यटक बढ्ने सम्भावना कम भएको उनीहरुको भनाइ छ । परिषदले व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको ब्याज तथा किस्ता भुक्तानीका लागि असोज मसान्त, पुस मसान्त र चैत मसान्तसम्म पनि असम्भव नै भएकाले सो किस्ता ब्याज तिर्ने म्याद कुनै शुल्क वा जरिवाना बिना थप गरिनुपर्ने माग गरेको छ । आगामी ६ महिनासम्म पर्यटन आगमन हुने नदेखिएकाले व्यवसाय सञ्चालनमा लागत आवश्यक हुने हुँदा छोटो समयका लागि भए पनि थप व्यवसाय सञ्चालन कर्जा उपलब्ध गराइ दिनुपर्ने, पर्यटन उद्योगलाई दिइने कर्जाको किस्ता तिर्ने अवधि कम्तीमा २५ वर्षको हुने गरी कर्जाको पुनर्संरचना र पुनःतालिकीकरण गरिनुपर्ने परिषदले माग गरेको छ । पर्यटन उद्योगको लागि लिएको कर्जामा रि फाइनान्सिङको सुविधा उपलब्ध गराइ दिनुपर्ने, साना तथा मझौला पर्यटन व्यवसायलाई पुनःउत्थान गर्नका लागि विगतमा व्यवस्था भएजस्तो १५ लाख रुपैयाँसम्म कम्तीमा ५ वर्षसम्मका लागि शून्य ब्याजदरमा व्यवसाय जीवन रक्षा कर्जा प्रदान गर्नुपर्ने आग्रह गरिएको छ ।  पर्यटन उद्योगमा प्रदान गरिएको कर्जाको ब्याजदरलाई अझ न्यून सहुलियत दरमा प्रदान गरिनुपर्ने, पर्यटन उद्योग पनि अन्य उद्योग सरह मान्यता दिने निर्णयलाई कार्यान्वयन गरिनुपर्ने माग गरिएको छ ।