देशको आय-व्यय लभगभ ‘शून्य’ भएको दिन

काठमाडौं । नेपालको अर्थतन्त्र शिथिल बनेको चर्चा पछिल्ला धेरै वर्षदेखि सुनिँदै आएको छ । २०७२ को भूकम्प, सोही वर्षको भारतीय नाकाबन्दी र २०७६ को कोरोना महामारी र त्यसपछिको बाढी-पहिरोले नेपालको अर्थतन्त्र ग्रस्त बन्यो । बेला-बखत आइरहने प्राकृतिक विपत्तिले नेपालको अर्थतन्त्रलाई नराम्रोसँग क्षतविक्षत बनाउँछ ।  यसअघि प्राकृतिक विपत्तिबाट अर्थतन्त्रमा नराम्रो असर परे पनि यस पटक भने कृतिम प्रकोपले देशको अर्थतन्त्र धेरै वर्ष पछाडि धकेलिदियो । देशमा व्याप्त भ्रष्टाचारको न्यूनीकरण र करको सदुपयोग लगायत एजेन्डा बोकेर सडकमा उत्रिएको जेनजी आन्दोलनले सत्ता पल्टाउनेसम्मको काम गर्दा देशले ठूलो मूल्य चुकाउनु पर्यो ।  भदौ २३ गते सुरु भएको जेनजी आन्दोलनको दोस्रो दिनमै अर्थात् भदौ २४ गतेको विध्वशंकारी आन्दोलनले सिंहदरबार, संघीय संसद भवन, सर्वोच्च अदालत, ठूल्ठूला व्यावसायिक हाउस, होटल तथा कलेजहरूमा आगजनी तथा तोडफोड हुँदा अर्बौंको क्षति भएको छ । निजी कम्पनीले क्षतिको बीमा दाबी गरे पनि सरकारी तथा सार्वजनिक भवनको भने बीमा नहुँदा सरकारले यो आन्दोलनबाट ठूलो क्षति बेहोरेको छ ।  ७० जना बढी कलिला युवाहरूको ज्यान लिएको यो आन्दोलनले देशको अर्थतन्त्रलाई पनि नराम्रोसँग धक्का पुर्यायो । यसअघि पनि अर्थतन्त्र बिग्रिएको भनेर चर्चा हुँदै आएको थियो । बजारमा माग कम हुँदा बैंकमा तरलता थुप्रिँदै गएको थियो । लगानीकर्तामा विश्वास थिएन । घरजग्गा व्यवसायी त्रासपूर्ण वातावरणमा बस्न विवश थिए । सेयर बजारका लगानीकर्ता ‘बेष्ट टाइम’को पर्खाइमा थिए । तर, यही समयमा देशले थप क्षति बेहोर्दा अर्थतन्त्रमा ठूलो धक्का पुगेको छ ।  त्यो असर सरकारले प्राप्त गर्ने राजस्व र दैनिक गर्ने खर्चले पनि प्रष्ट पार्छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार पछिल्लो एक साता देशको आय-व्ययको अवस्था कठिन देखिन्छ ।  भदौ २३ गते आन्दोलन सुरु हुनुभन्दा एक दिन अगाडि अर्थात् भदौ २२ गते सरकारले ३ अर्ब ६४ लाख रुपैयाँ राजस्व प्राप्त गरेको थियो । सो दिनसम्म भने कुल १ खर्ब ३४ अर्ब ३२ करोड रुपैयाँ सरकारी ढुकुटीमा राजस्व जम्मा भएको थियो । सोही दिन सरकारले कुल १४ अर्ब ८५ करोड रुपैयाँ खर्च गरेको थियो । धेरैको विश्वास र अपेक्षा थियो कि आन्दोलन बानेश्वरमा पुगेर एकछिन नाराबाजी गरेर रोकिन्छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको अनुमान पनि त्यही थियो । तर, आन्दोलनले पृथक मोड समात्यो । सोही दिन १९ जनाको प्रहरीको गोली लागेर निधन भयो । सयौं घाइते भए । अहिलेसम्म ७० जना बढीको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।  विभिन्न व्यवसायी तथा करदाताले पनि आन्दोलनले यो रूप लिन सक्छ भन्ने अनुमान पनि गरेका थिएनन् । सोही कारण पनि सरकारी खातामा भदौ २३ गते ७ अर्ब ३७ करोड रुपैयाँ राजस्व संकलन भयो । सरकारले सोही दिन ५ अर्ब ५३ करोड रुपैयाँ खर्च गर्यो ।   तर, जब २३ गतेको घटनाले पृथक मोड लियो, भदौ २४ गते आन्दोलन थप उग्र बन्यो । आन्दोलनकारीले निजी तथा सरकारी कार्यालयमा आगजनी गरे । आन्दोलनको राप देशभर सल्कियो । यो घटनाले अन्योलता बढायो । परिणामस्वरूप भदौ २३ गते ७ अर्ब प्राप्त भएको राजस्व २४ गते १ अर्ब १ करोड रुपैयाँमा झर्यो । सोही दिन सरकारले २ अर्ब ८८ करोड रुपैयाँमात्रै खर्च गर्न सक्यो ।  भदौ २४ गते देशभर विध्वंश मच्चिएपछि देशको हालत नै परिवर्तन भयो । केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिए । गृहमन्त्रीले अघिल्लो राति नै राजीनामा दिइसकेका थिए । प्रहरीहरूले सुरक्षा दिन छोडे । राति १० बजे सेना सडकमा निस्कियो । देश अन्यौलताको बाटोमा अगाडि बढ्यो । सेनाले कर्फ्यु र निषेधाज्ञा आदेश जारी गर्यो । सडकमा सर्वसाधारण निस्किन छोडे । व्यावसायिक माहोल बिग्रियो । अत्यावश्यक सेवाहरू पनि बन्द भए । देशवासी त्रसित बने ।  परिणामस्वरूप भदौ २५ गते सरकारले राजस्व आम्दानी ह्वात्तै गुमायो । भदौ २५ गते सरकारी खातामा कुल २९ करोड २९ लाख रुपैयाँ रकममात्रै प्राप्त भयो । सरकारले सोही दिन ४६ करोड रुपैयाँमात्रै खर्च गर्यो । सरकारले साउनको कर २५ गतेभित्र तिर्नुपर्ने व्यवस्था गरेको थियो । अर्थात् करदाताले साउन महिनाको कर भदौ २५ गतेभित्र तिरिसक्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार करदाताले भदौ २५ गतेभित्र कर तिरिसक्नु पर्ने हो । तर, सोही दिन करदाताले कर नै तिरेनन् ।  करदाताले देशको अनिश्चितता देखेर कर नतिरेको हुन सक्ने महालेखा नियन्त्रक कार्यालयका एक अधिकारीले बताए । ती अधिकारीका अनुसार २३ र २४ गते देशभर आन्दोलन भएको र २५ गते कर्फ्यु आदेश जारी भएको कारणले सरकारी खातामा राजस्व न्यून रुपैयाँ संकलन भएको सुनाए । उनले यो अवस्थामा सरकारले खर्च पनि नगरेको बताए ।  भदौ २६ गते पनि सकारले अपेक्षाकृत राजस्व प्राप्त गर्न सकेन । सो दिन कुल १ अर्ब ८९ करोड रुपैयाँ कुल राजस्व प्राप्त भयो भने ६ करोड ८४ लाख रुपैयाँमात्रै खर्च भयो । सरकारले यो अवधिमा कामकाज ठप्प गरेको यो तथ्यांकबाट बुझ्न सकिन्छ ।  यस्तै, भदौ २७ गते कुल १ अर्ब ९५ करोड रुपैयाँ राजस्व प्राप्त भएकोमा सरकारको खर्च भने शून्य देखियो । यस्तै, भदौ २८ गते सरकार राजस्व प्राप्त गर्न असफल नै रह्यो । सो दिन कुल ६ करोड १६ लाख रुपैयाँमात्रै राजस्व सकारले पायो भने सरकारको खर्च त्यो दिन पनि शून्य नै रह्यो । अर्थात् यो दिन सरकारको आयव्यय लगभग शून्य भयो । देशको एक दिनको आम्दानी ६ करोड रुपैयाँमात्रै हुनु दुर्भाग्यपूर्ण रहेको अर्थविज्ञहरू बताउँछन् ।  लामो समय नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकका रुपमा काम गरेका नरबहादुर थापा राजस्व संकलन नै नहुनु र सरकारको खर्च पनि शून्य हुनुलाई अपवादका रूपमा लिन सकिने धारणा राख्छन् ।  ‘आन्दोलनकै कारण देशको आयव्यय नै शून्य हुनु दुर्भाग्यपूर्ण हो, यसले देशको अर्थतन्त्र ठीकठाक छैन भन्ने सन्देश पनि दिएको छ, अहिले झन धेरै संरचना ध्वस्त भएका छन्, यसले थप अनिश्चितता थपेको छ,’ उनले भने ।  उनका अनुसार पर्यटन क्षेत्र आन्दोलनको ठूलो मारमा परेको छ । सिजन सुरु हुनै लाग्दा पर्यटन क्षेत्र समस्यामा पर्दा देशको अर्थतन्त्रले ठूलो मूल्य चुकाउनुपर्ने अवस्था सिर्जना हुनेछ । अब सरकारले पूर्णता पाएर तत्काल सुधारका कामहरू गर्नुपर्ने धारणा उनको छ ।  यसअघिको सरकारले अर्थतन्त्र ठिकठाक रहेको भनेर वक्तव्यवाजी गरे पनि अहिले राजस्व र खर्चको स्थिति हेर्दा अर्थतन्त्र ठिकठाक नरहेको सन्देश प्रवाह भएको तर्क उनको छ ।  भदौ २९ गतेदेखि भने देशको आयव्यय विगतकै लयमा फर्किएको तथ्यांकबाट देखिन्छ । भदौ २९ गते सरकारले कुल ५ अर्ब ७० करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ भने उक्त दिन कुल ९ अर्ब ३५ करोड रुपैयाँ खर्च गरेको छ । भदौ ३० गते पनि कुल ५ अर्ब ७० करोड रुपैयाँ राजस्व र कुल ९ अर्ब ३५ करोड रुपैयाँ सरकारले खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ ३१ गतेसम्म सरकारले कुल १ खर्ब ५५ अर्ब ८५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ भने १ खर्ब ८० अर्ब १७ करोड रुपैयाँ खर्च गरेको छ । सरकारले कुल १५ खर्ब ३३ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । अहिले संकलन भएको राजस्व कुल लक्ष्यको १०.४३ प्रतिशतमात्रै हो ।  यस्तै, १९ खर्ब ६४ अर्ब रुपैयाँ बजेटमा सरकारले ९.१७ प्रतिशतमात्रै खर्च गरेको छ । आर्थिक वर्षको दुई महिनासम्म सरकारको राजस्व र खर्च न्यून देखिन्छ ।  अर्थमन्त्रालयले भदौ २३ र २४ गतेको आन्दोलनले करदाताले कर तिर्न नपाएको उल्लेख गर्दै कर बुझाउने म्याद असोज २५ गतेसम्म कायम गर्ने निर्णय गरेको छ । जेनजी आन्दोलनका कारण देशभर कर्फ्यु र निषेधाज्ञा लाग्दा करदाताले समयमा विवरण पेस गर्न असुविधा भएको भन्दै मन्त्रालयले कर बुझाउने समयसीमा सार्ने निर्णय गरेको हो । 

एक महिनामा बैंकहरूको नाफा साढे ८ अर्ब रुपैयाँ, ग्लोबल आइएमई अग्रस्थानमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा वाणिज्य बैंकहरूले साढे ८ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बैंकहरूले पहिलो महिना नै ८ अर्ब ३८ करोड २९ लाख रुपैयाँ बराबर खुद नाफा आर्जन गरेका हुन् ।  साउनमा सबैभन्दा धेरै नाफा ग्लोबल आईएमई बैंकले गरेको छ । ग्लोबल आईएमईले एक महिनामै ७८ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  यस्तै, नबिल बैंकले ७१ करोड ६४ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले ६३ करोड ४२ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ५५ करोड ८३ लाख रुपैयाँ, नेपाल बैंकले ५५ करोड २७ लाख रुपैयाँ, प्राइम बैंकले ५० करोड ४९ लाख रुपैयाँ, कुमारी बैंकले ४९ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।  राष्ट्र बैंकका अनुसार एभरेष्ट बैंकले ४८ करोड ३९ लाख रुपैयाँ, एनएमबि बैंकले ४६ करोड ६७ लाख रुपैयाँ, हिमालयन बैंकले ४० करोड ८९ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ४० करोड १३ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ३९ करोड ४४ लाख रुपैयाँ, सानिमा बैंकले ३९ करोड २ लाख रुपैयाँ खुद नाफा गरेका छन् ।  यस्तै, एनआईसी एशिया बैंकले ३१ करोड ९३ लाख रुपैयाँ, प्रभु बैंकले ३० करोड २३ लाख रुपैयाँ, सिटिजन्स बैंकले २७ करोड २४ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २७ करोड १६ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले २६ करोड ५२ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकले १५ करोड ८९ लाख रुपैयाँ र कृषि विकास बैंकले ३७ लाख रुपैयाँ नाफा गरेको राष्ट्र बैंकको तथ्याङ्क छ । 

भग्नावशेष स्वास्थ्य मन्त्रालयमा तीन घण्टा बिताउँदा

काठमाडौं । सडकमा आवतजावत गर्नेहरूको आँखा स्वास्थ्य मन्त्रालयमा ठोक्किँदा उनीहरू टक्क उभिन्छन् । चासो राख्नेहरू भित्रैसम्म पुग्छन् । मन्त्रालय हेर्न आउनेहरू देशको स्वास्थ्य मन्त्रालयको हालत भन्दै भिडियो बनाउँछन्, फर्कन्छन् । सोमबार स्वास्थ्य मन्त्रालयको प्राङ्ग्रणमा तीन घण्टा बिताउँदा यस्तै दृश्य देखियो । बाटोमा हिँड्ने सयौं व्यक्ति कोही फोटो खिचेर जान्थे, कोही भिडियो बनाएर फर्कन्थे भने कतिपय आक्रोश पोखेर हिँड्थे ।  नेपालको स्वास्थ्य नीतिगत र प्रशासनिक काम गर्ने  प्रमुख निकाय स्वास्थ्य मन्त्रालयको अहिले भग्नावशेष मात्र बाँकी छ । भाद्र २४ गते जेनजीहरूको प्रदर्शनमा प्रदर्शनकारीले स्वास्थ्य मन्त्रालयमा आगजनी गर्दा भवनभित्रको कुनै पनि कागजात, सामग्री बचेन । सबै जलेर खरानी बन्यो । अहिले स्वास्थ्य मन्त्रालयसँग न आफ्नो भवन छ न कुनै सामाग्री । कुनै पनि संकट वा विपद आउँदा सक्रिय रूपमा खटिनुपर्ने मन्त्रालय अहिले आफै संकटमा परेको छ । सिंहदरबारबाट करिब सय मिटरको दूरीमा र माइतीघरबाट ५०/६० मिटरको दूरीमा छ स्वास्थ्य मन्त्रालय । रामशाह पथ सडकको छेउमै रहेको मन्त्रालय बाहिरबाट हेर्दा जलेर कालो भएको देखिन्छ ।  गेटबाट भित्र पस्ने हो भने अवस्था कहालीलाग्दो छ ।  जलेर कवाडी बनेका गाडी, भवन वरिपरि रहेका फूल, बोटबिरुवा, समेत जलेर केही बाँकी छैन । गेटबाट प्रवेश गर्दा दायाँपट्टि रहेको स्वास्थ्य आपतकालीन केन्द्र (एचईओसी)सँगै जोडिएको सचिवालय, सचिवदेखि मन्त्रीका क्वाटर जलेर खरानी बनेका छन् ।  गाडी जलेर नष्ट भएका कतिपय चालक र मन्त्रालयको रेखदेख गर्ने पालेदेखि मन्त्रालयलाई सुरक्षा दिने प्रहरी मन्त्रालयको भग्नावशेष हेरिरहेका थिए । न खानेपानी न बत्ती केही नहुँदा दिनभर बस्न समस्या भएको उनीहरूको गुनासो छ । स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील क्षेत्रमा प्रदर्शनकारीले गरेको गतिविधि कुनै हालतमा स्वीकार्य नहुने धेरैको प्रतिक्रिया थियो । जलेको भवनलाई हेर्न पुगेका डा. अबुल हुसेन अन्सारी हरेक नागरिकसँग जोडिएको मन्त्रालयलाई जलाउने कार्य निन्दनीय भएको बताउँछन् ।  उनी भन्छन्, ‘हरेक पालिका, जिल्ला प्रदेशमा स्वास्थ्य संस्थाहरू छन्, सबैको लगानी मन्त्रालयबाट हुन्छ , कतिपय ठाउँमा भवनहरू बनिरहेका छन्, त्यो भवनको लेखाजोखा यहाँ थियो, सबै कागजात जले, मृगौलादेखि मुटुका समस्या भएका बिरामीको फाइल मन्त्रालयमा थियो  । ती फाइल जल्दा बिरामीलाई औषधी खान समस्या भएको छ यो काम जसले गर्यो निकै गलत गर्यो ।’ कागजात नहुँदा सबैभन्दा बढी असर दीर्घ रोगका बिरामी र सेवाग्राहीमा परेको डा. अन्सारी बताउँछन् । बाराका राजेश प्रसादयादव करिब १३ वर्षदेखि स्वास्थ्य मन्त्रालयमा कार्यालय सहयोगी र पालेको रुपमा काम गरिरहेका छन् । उनीसहित उनको परिवार मन्त्रालय भित्रको एउटा भवनमा बस्छन् । दिनरात मन्त्रालयको रेखदेखका लागि बसेका यादवले २४ गते मन्त्रालयलाई जोगाउन सकेनन् ।  ‘कहिले हाकिमसाब राति ९ बजे घर जानुहुन्थ्यो, कहिले ८ बजे काममा व्यस्त हुँदा रातिको मन्त्रालय रेखदेखको काम मेरो हुन्थ्यो,’ उनी भन्छन्, ‘१३ वर्षदेखि रातीको समयमा पनि रक्षा गरेको मन्त्रालयलाई २४ गते दिउँसोको समयमा रक्षा गर्न सकिनँ ।’  मन्त्रालयको रेखदेखका लागि पाले यादव मात्र होइनन्, सुरक्षागार्डका रूपमा नेपाल प्रहरी पनि थिए । कुनै पालकहरूले मन्त्रालयलाई जोगाउन सकेनन् ।  मन्त्रालयमा आगजनी हुने दिन सोमबार दिउँसोको चार बजेको थियो । देश अघिल्लै दिन २३ गतेदेखि नै अशान्त बनिसकेको थियो । २३ गते युवाहरूमाथि प्रहरी दमन भएको भन्दै २४ गते प्रदर्शनकारीले नेताको घरदेखि संसद भवनसम्म जलाइरहेका थिए । जब देशमा विपत्ति पर्छ, स्वास्थ्य मन्त्रालय तातिनुपर्छ । अघिल्लो दिन घाइते भएकाहरूले काठमाडौं उपत्यकादेखि देशभरका अस्पताल भरिएका थिए । आवश्यक जनशक्तिदेखि रगत र औषधीको चाँजोपाँजोका लागि मन्त्रालयका कर्मचारी देशभरका अस्पताल स्वास्थ्यकर्मीसँग समन्वय गरिरहेका थिए ।  उपत्यकाका सिभिल र ट्रमा अस्पताल घाइतेले भरिएका थिए । उपत्यका बाहिरका सरकारी अस्पतालको अवस्था पनि उस्तै थियो । कतै जनशक्ति अभाव, कतै औषधी अभावका कुरा आइरहेका थिए । अस्पतालमा रगत अभावको कुरा पनि आइरहेको थियो । सचिवसहितको टोली समन्वयमा व्यस्त थियो ।  मन्त्रालयले २३ गते दिनभर नै देशभरका बिरामीका लागि कमाण्डको काम  गरिरहेको थियो । २३ गतेदेखि नै घाइतेको उपचारका लागि सबै कर्मचारी व्यस्त थिए । २४ गते पनि स्वास्थ्य सचिवसहितको टोली स्वास्थ्य आपतकालीन केन्द्रमा देशभरका अस्पतालसँग भर्चुअल छलफलमा थिए । दुई बजेसम्म सचिवसहितको टोली सिंहदरबारमा थियो । साढे दुई बजेतिर अचानक कसैको फोन आयो सिंहदरबार आगो लगाइसक्यो, सर्वोच्चमा पनि आगो लगाइसक्यो, अब त्यो आगो मन्त्रालयमा लाग्नेवाला छ भाग्नूस् । त्यो खबर आउँदा पनि मन्त्रालयका विभिन्न महाशाखा, शाखाका कर्मचारी मन्त्रालयमै थिए ।   भित्र कर्मचारी छलफलमा हुँदा सुरक्षागार्ड र पाले गेटमा थिए । सिंहदरबारदेखि सर्वोच्च अदालतसम्मका सबै कार्यालय तोडफोड र आगजनी भइसकेको थियो । सिंहदरबारमा आगो सल्काएको एक हुल स्वास्थ्य मन्त्रालयतिर आयो । त्यहाँका कर्मचारीलाई मन्त्रालयमा आगजनी हुन सक्छ भन्ने एकरत्ति पीर थिएन । किनकि स्वास्थ्य क्षेत्र आफैमा संवेदनशील र यस्तो अवस्थामा अझ बढी सक्रिय रहनुपर्ने क्षेत्र हो ।  ‘स्वास्थ्य मन्त्रालयमा आगजनी हुन्छ भन्ने लागेको थिएन, सिभिलमा स्वास्थ्यकर्मी अपुग भयो भन्ने खबर आएको थियो, हामी टेकुबाट स्वास्थ्यकर्मीलाई पठाउने योजना बनाइरहेका थियौं, केही गर्दैनन् होला भन्नेमा ढुक्क थियौं,’स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. भीमप्रसाद सापकोटाले घनाको फेहरिस्त सुनाउँदै भने, ‘फेरि सुरक्षाकर्मी नै आएर तपाईंहरू निस्कनूहोस् प्रदर्शनकारीले जे पनि गर्न सक्छन् भनिसकेपछि कोही साथी निस्कनुभयो, हामी केही जोगाउन सकिन्छ कि भनेर बस्यौं । तर हातमा खुकुरी, हतियार बोकेको जमातको अगाडि हामी चार पाँच जनाको केही लागेन, ज्यान जोगाउनु नै ठूलो लाग्यो, भाग्यौं त्यसपछि मन्त्रालय खरानी बन्यो ।’ डा. भीम प्रसाद सापकोटा ।  प्रदर्शनकारीले स्वास्थ्य मन्त्रालयमा आक्रमण गर्नुपर्ने कुनै कारण थिएन । तर, आगजनी गरे । कति क्षति भयो भन्ने लेखाजोखा अहिलेसम्म छैन । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदर्शनकारीका दुई समूहले मन्त्रालयमा आक्रमण गरेको थियो । पहिलो समूहले पार्किङ स्थलमा राखिएको गाडी जलाएको थियो भने दोस्रो पटक आएको समूहले भवनमा आगो लगाएको थियो ।  ‘देशमा ठूल्ठूला राजनीतिक आन्दोलन हुँदा पनि स्वास्थ्य मन्त्रालय कसैको चपेटामा परेन । तर, जेनजीले स्वास्थ्य क्षेत्रलाई पनि छोडेन, हामी स्तब्ध भएका छौं,’ डा. सापकोटा भन्छन् ।  के-के भयो नष्ट ? स्वास्थ्य मन्त्रालयका अनुसार पार्किङमा रहेको २४ गाडी १८ वटा मोटरसाइकल जले भने तीनवटा व्यक्तिगत गाडी जलेका छन् ।  भवन भित्रको कुनै पनि फर्निचरदेखि फाइल कागजपत्र, कम्प्युटर, प्रिन्टिङलगायत सरकारी कामकाजमा आउने अभिलेख बाँकी छैन । २४ गते लगाइएको आगो २५ गते बिहान नियन्त्रणमा लिने प्रयासका लागि केही कर्मचारी मन्त्रालय पुगेका थिए । ‘आगोको ज्वालामा उनीहरूको केही चलेन । केही साथीहरू आएका थियौं,  केही जोगाउन सकिन्छ कि भनेर तर मन्त्रालयमा आगो दन्किरहेको थियो, रापले भित्र पस्नै सकिएन,’ डा. सापकोटाले भने ।  दमकलका लागि काठमाडौं महानगरपालिकामा फोन गर्दा सकिने अवस्था छैन भन्ने जवाफ आयो त्यसपछि कर्मचारी निरीह भएर बसे । उनी भन्छन्, ‘एक/दुई बाल्टिन पानी हालेर नियन्त्रणमा लिन सकिने अवस्था थिएन, दमकल आएन हामीले टुलुटुल हेरेर बस्नुको विकल्प भएन ।’ तेस्रो दिनमा आगो आफै निभ्न लागिसकेको थियो । त्यतिञ्जेलसम्म मन्त्रालय खरानी बनिसकेको थियो । डा. सापकोटा भन्छन्, ‘भवन फेरि बनाउन सकिएला, गाडी फेरि किन्न सकिएला तर, हाम्रो लागि ठूलो क्षति भनेको ५०औं वर्षदेखिका अभिलेख, कर्मचारी व्यवस्थापन, वैदेशिक सहायताका सम्झौता, कागजात किन्न मिल्दैन निकै ठूलो क्षति भएको छ ।’ मन्त्रालय खरानीमा परिणत भएको परिणामले कस्तो असर पर्छ भन्ने कुरा अहिले कल्पना समेत गर्न सकिँदैन । काम गर्दै जाँदा जतिबेला त्यो अभिलेखको आवश्यकता पर्छ त्यो बेला यहाँ असर पर्यो भन्न सकिन्छ । अहिले जलेको मन्त्रालयमा पाँचवटा महाशाखा र २० वटा शाखा सञ्चालनमा थिए भने बाहिरको स्वास्थ्य आपतकालीन केन्द्र सबै जलेका  छन् ।  एनएचआरसीको शरणमा मन्त्रालय  मन्त्रालय जलेर खरानी भएपछि स्वास्थ्य मन्त्रालयले नजिकै रहेको स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)को नयाँ भवनमा सरेको छ । यो भवनको डिजाइन, बनावट मन्त्रालयको कामका लागि उपभोग्य छैन । यो भवनमा मन्त्रालयको स्थायित्व हुँदैन । नयाँ भवन नबन्दासम्म भने यही भवनबाट सेवा दिने मन्त्रालयको तयारी छ ।  स्वास्थ्य मन्त्रालयमा आगो लागेको पछिल्लो दिनमै सेवाग्राही पुगेका थिए । यस्तो अवस्थामा मन्त्रालयले कसै न कसैको शरणमा गएर सेवा दिनुपर्ने बाध्यता आयो । यही बाध्यताका कारण मन्त्रालय अहिले स्वास्थ्य अनुसन्धान परिषदको शरणमा पुगेको हो ।  डा. देवकोटा भन्छन्, ‘यो भवन नभएको भए हामीले जलेको भवनको प्राङ्गणमा टेन्ट लगाएर भएपनि सेवा सुचारु गर्नुपर्ने हुन्थ्यो, अब  तत्कालै मन्त्रीको बहाली भएपछि कहाँ लिएर राख्ने भन्ने समस्या हुँदा मन्त्रीकै लागि भएपनि यो भवनमा सर्नु परेको हो ।’ स्वास्थ्य मन्त्रालय केही समयका लागि सरेको भवनमा कुनै पनि सामान छैन । बाहिरबाट हेर्दा चिटिक्क परेको नयाँ भवन भए पनि भित्र न टेबल छन् नत कुर्सी । केही गरी नयाँ मन्त्री तुरुन्त आइहालेमा पदभारका लागि भन्दै भवनको चौथो तलामा तयारी हुँदैछ ।  ‘सचिव र मन्त्रीको लागि कोठा तयार गरेका छौं, अस्थायी रुपमा आकस्मिक रुपमा यो भवनमा सरे पनि मन्त्रालयको आफ्नै भवन आवश्यक छ,’ उनले भने । सिंहदरबार भित्र छिर्ने प्रयासमा मन्त्रालय राज्यका सबै संघीय मन्त्रालय सिंहदरबार भित्र छन् । स्वास्थ्य मन्त्रालयमात्र सिंहदरबार बाहिर छ । सुरक्षाको घेरमा रहेको सिंहदरबार समेत प्रदर्शनकारीको आक्रमणबाट नबचेको बेला स्वास्थ्य मन्त्रालयका कर्मचारी भने मन्त्रालय सिंहदरबार भित्र रहेको भए यो सम्मको क्षति हुन् नसक्ने बताउँछन् ।  सिंहदरबार बाहिर रहेर काम गर्दा यो भन्दा अगाडि पनि केही अभाव खड्केको बताउँदै ती कर्मचारी बाहिर हुँदा धेरै क्षति भोग्नु परेको बताउँछन् । अब स्वास्थ्य मन्त्रालय पनि सिंहदरबारभित्रै हुनुपर्ने स्वास्थ्य मन्त्रालयका कर्मचारीको एकमत छ ।  अस्थायी रूपमा अरूको भवनमा बसेर सेवा दिए पनि अबको स्वास्थ्य मन्त्रालय सिंहदरबार भित्र हुनुपर्ने मन्त्रालयको माग छ । ‘मन्त्रालयको उत्कृष्ट प्रयास भनेको सिंहदरबार भित्रै जा‍औं भन्ने हो । मन्त्रालयलाई पूर्ण रूपमा प्रयोग गर्न यो भवनमा स्पेस छैन ५० प्रतिशतभन्दा कम छ स्थायित्वका लागि अब हामी सिंहदरबारभित्र सर्नैपर्छ,’ उनले भने ।  स्वास्थ्य मन्त्रालय किन बाहिर ?  अहिले जलेर नष्ट भएको स्वास्थ्य मन्त्रालयको भवन कसरी बाहिर हुन पुग्यो धेरैलाई थाहा छैन । जब विसं २०३१ सालमा सिंहदरबारमा आगलागी भयो त्यो बेला सिंहदरबारका मन्त्रालय बाहिर छरिए । त्यो बेला प्रधानमन्त्री कीर्तिनिधि विष्ट थिए । १ हजार ८ सय कोठा रहेको सिंहदरबारमा कसरी आगो लागेको थियो अहिलेसम्म पत्ता लागेको छैन । सिंहदरबारमा आगो लागेपछि स्वास्थ्य मन्त्रालय टेकुमा रहेको राष्ट्रिय स्वास्थ्य, शिक्षा सूचना तथा सञ्चार केन्द्रको भवनमा सरेको थियो । अहिले जलेर नष्ट भएको स्वास्थ्य मन्त्रालयको भवनमा परिवार नियोजन तथा मातृशिशु कल्याण योजनाको थियो ।  वरिष्ठ जनस्वास्थ्यविद् डा . बाबुराम मरासिनीका अनुसार टेकुमा रहेको स्वास्थ्य मन्त्रालय रामशाह पथमा सरेको थियो । पछि अन्य मन्त्रालय सिंहदरबारभित्र पसे पनि स्वास्थ्य मन्त्रालय भने २०३१ सालदेखि बाहिर रहेको छ ।  डा. मरासिनीका अनुसार अहिले जलेको स्वास्थ्य मन्त्रालय संसारकै नामी आर्किटेक्ट इन्जिनियर लुइ कानको शैलीमा बनाइएको थियो । युएसएआईडीको सहयोगमा विश्व प्रसिद्ध इन्जिनियरको युनिक डिजाइनमा भवन तयार पारिएको थियो ।  जुन भवनको एउटा पनि पिल्लर थिएन ।  २०२३ सालमा निर्माण भएको भवनको २०३२ सालमा उद्घाटन गरिएको थियो । जुन भवन हेर्न विश्वका नर्वे, डेनमार्क, स्वीटजरल्याड लगायत देशका आर्किटेक्टका विद्यार्थी नेपाल आउँथे ।  लुइ कानले दक्षिण एसियामा तीन ठाउँमा मात्र लुइ कान शैलीका भवन बनाएका थिए । शैली उनकै भए पनि डिजाइन भने तीनवटै देशको फरक थियो ।  एउटा श्रीलंका, अर्को पाकिस्तान र एउटा नेपालमा यो भवनहरू थिए।  डा. मरासिनी भन्छन्, ‘यो सामान्य मन्त्रालयमात्र थिएन, नेपालको आर्किटेक्ट इन्जिनियरको इतिहास र वास्तुशिल्पलाई विश्वभर अन्तर्राष्ट्रिय स्तरमा चिनाएको थियो, भवन जलेर नष्ट हुँदा यो वास्तुशिल्प पनि जल्यो । डा. मरासिनी अब पनि त्यही संरचनामा भवन बनाउनुपर्ने बताउँछन् ।