मन्त्री किरातीको निर्णय : विवादित कार्यकर्तालाई नियुक्ती, १५ वर्षदेखि सेवा गरेका कर्मचारी आउट

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले गत शनिबार आफ्नो फेसबुक एकाउन्टमार्फत् नियुक्ती तथा सुरुवा बढुवाका लागि शक्ति केन्द्रको सोर्स नलगाउन आग्रह गरे । ‘पुनः स्मरण गराउँदछु; सरुवा, बढुवा, नियुक्ति,पुनर्नियुक्ति गर्न गराउन मेरो परिवार नाता गोता र कुनै शक्ति केन्द्र बाट सोर्स लगाउने दुःख कष्ट कसैले नगर्नु होला, यदि गर्नु गराउनु भयो भने फेरि पनि एकपटक भन्छु त्यो काम हामी बाट हुनेछैन ’, उनले शनिबार फेसबुकमा स्टाटस राख्दै भनेका थिए । उनले आफू आफ्नो परिवार नातागोता तथा कुनै शक्ति केन्द्रबाट सोर्स नलगाउन भन्दै स्टाट्स राखे । तर, उनले स्टाटस राखेकोे एक दिन नबित्दै आइतबार उनै किरातीले लुम्बिनी विकास कोषमा पार्टीका केन्द्रिय सदस्य समेत रहेका विवादास्पद व्यक्ति ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षको जिम्मेवारी दिए । उनले मन्त्रिपरिषद्बाटै निर्णय गराएर विवादास्पद छवि बनाएका लामालाई विश्वका शान्तिप्रेमीहरुको पवित्र केन्द्र मानिने लुम्बिनी विकास कोषको कार्यकारी उपाध्यक्षमा नियुक्त गरेका हुन् । उनको नियुक्तीले अहिले सबैतिर चर्चासँगै किरातीको आलोचना समेत भएको छ । नेकपा माओवादी केन्द्रकै उच्च तहका नेता तथा जिम्मेवार कार्यकर्ताबाटै उनको नियुक्तीमा आलोचना भइरहेको छ । विवादास्पद व्यक्तिलाई क्याबिनेटको निर्णय गराएर जिम्मेवारी दिएका मन्त्री किरातीले नेपाल वायुसेवा निगममा १५ वर्षभन्दा बढी समय कार्यरत ५औं तहका करारका कर्मचारीको भने नवीकरण रोकेका छन् । उनले नेपालगन्जमा कार्यरत निगमका पूराना कर्मचारी रोहित यादवको करार नवीकरण नगरेको पाइएको छ । यादवले निगमको नेपालगञ्जमा रहेको पुरानो भवनलाई आवासका रुपमा उपभोग गर्दै आएका थिए । उनलाई सो भवनको उपयोग गर्न निगमकै जिम्मेवार व्यक्तिले लिखित रुपमै अनुमति दिएका थिए । तर, निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले उनले भवनको उपयोग गरेको चाल पाएपछि भवन छोड्ने शर्तमा करार नवीकरणको आश्वासन दिएका थिए । तर रोहित यादवले आफूलाई लिखित रुपमै अनुमति दिएको बताउँदै भवन छोड्न आनाकानी गर्दै आएका थिए । करारका कर्मचारीले भवन छोड्न आनाकानी गरेपछि अधिकारीले पर्यटनमन्त्री किरातीलाई उक्त कुराको जानकारी गराएका थिए । किरातीले स्टन्ड देखाउँदै उनको करार नै नवीकरण नगर्ने धम्की दिएका थिए । १५ वर्षभन्दा बढी समय काम गरेको स्थानमा मन्त्री किरातीले नवीकरण नगरेपछि यादवले आफूले सक्ने सोर्स फोर्स लगाए । उनले मन्त्री किरातीले आफूलाई अन्याय गरेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत अन्य मन्त्रीहरुलाई समेत गुनासो गरेका थिए । एउटा सामान्य कर्मचारीलाई अन्याय भएको अनुभूति भएपछि हामीले पनि मन्त्रीज्यूलाई नवीकरण गरिदिनुस भनेर आग्रह गरेका थियौं, तर उहाँले हुँदै हुँदैन भन्नुभयो’, मन्त्री किरातीको सचिवालयमा कार्यरत एक कर्मचारीले भने, ‘उहाँ केही समयअघिसम्म दिनहुँ मन्त्रालय आउनुहुन्थ्यो, गुनासो गर्नुहुन्थ्यो, उहाँलाई देख्दा माया लाग्छ ।’ के हो ल्यारक्याल लामाको विवाद ? लामा दोहोरो नागरिकता, भारतीय रासनकार्ड/राहदानी, तिब्बती शरणार्थी परिचयपत्र, वैदेशिक रोजगारीका नाममा ठगी तथा अकुत सम्पत्ति आर्जन र बैंकको लकरमा गोली राखेको आरोपमा पक्राउ परिसकेका व्यक्ति हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा संविधानसभा सदस्य तथा पूर्वराज्यमन्त्री लामाको नाममा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको लकरमा गोलि भेटिएको थियो । एक जना व्यक्तिले लकरमा पेस्तोलको गोलि राखेको सूचनाका आधारमा अख्तियारले गरेको अनुसन्धानले २०७२ को फागुनमा उनले लकरमा गोलि भेटाएको थियो । सिन्धुपाल्चोक हेलम्बुका बासिन्दा रहेका लामा (धार्मिक नाम डा. खेन्पो छिमे छिरिङ) लाई सरकारले ५ वर्षका लागि लुम्बिनी विकास कोषले उपाध्यक्षको जिम्मेवारी सुम्पिएको हो ।

सहकारी ठग्ने अर्बपतिको नक्कली डिभोर्स, सदस्य दम्पत्तिहरुको दुःखदायी बिच्छेद

काठमाडौं । यदि तपाईं कुनै सहकारीको सदस्य हुनुहुन्छ र तपाईंको पैसा सहकारीमा फसेको छ भने श्रीमती वा श्रीमानसँग तपाईंको सम्बन्ध कस्तो छ ? राम्रो, सन्तोषजनक वा चिन्ताजनक ? पछिल्लो समय सहकारीमा देखिएको सकस र त्यसले सदस्यहरुमा पारेको पीरले अधिकांश सहकारीका सदस्यहरुको दम्पतीच राम्रो सम्बन्ध नभएको विभिन्न घटनाक्रमहरुले देखाएको छ । सहकारीमा बचत गरेको ठूलो रकम सञ्चालकहरुले झ्वाम पारेपछि सदस्यहरुको बिचल्ली भएको र त्यसले घर झगडा, कलह र अन्त्यमा सम्बन्ध बिच्छेदसम्मका घटना हुने गरेका उदाहरणहरु व्याप्त सुनिन्छन् । सुरुमा बहस गरौं सहकारीका सदस्यको बचत ठग्ने सञ्चालकहरुको । कानुनका छिद्रहरु प्रयोग गरेर पीर पार लगाउने अनेक जुक्तीहरु हुन्छन् हुनेखानेहरुसँग । उनीहरुले आफ्नो टाउको माथिको बोझ हटाउन यतिसम्मको घृणित काम गर्छन् भन्ने सोच्न धेरै टाढा जानु पर्दैन । उनीहरुले विभिन्न उपायहरु अपनाएर समस्याबाट भाग्ने प्रयत्न गर्छन् । तर, अन्तिममा आफ्नो निर्णय नै उनीहरुका लागि महँगो सावित हुन हुन्छ । र, विडम्वना बास जेलको हुन्छ । कुनै मान्छे चाँडै धनी बन्ने सपना राख्छ भने उसले सहकारी खोल्ने प्रवृति र अभ्यास थियो कुनै बेला । त्यो नीति निर्माता होस्, सरकारी कर्मचारी वा कुनै व्यवसायी नै किन नहोस् । सहकारी खोलेर मनग्य कमाउने धन्दामा लाग्थे उनीहरु । कुनै पनि क्षेत्रमा काम गर्न नसकेको व्यक्ति, आफन्त वा नजिकको मान्छे छ भने त्यसलाई नीति निर्माता र सरकारी उच्च तहका कर्मचारीले पनि सहकारी खोलेर खाउ भन्ने गरेको विषयको बहस र छलफल विभिन्न अनौपचारिक फोरमहरुमा पनि नहुने गरेका होइनन् । त्यो धन्दा अन्तिममा सम्बन्ध विच्छेदको बाटोमा पुग्छ र त्यो प्रवृति प्रयोग गरेका पात्रहरु पछि प्रक्राउ पर्छन् । यस्तै धन्दामा थिए सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पनि । सामान्य व्यवसायी घरजग्गा र सहकारीको बचतकर्ताकै पैसा प्रयोग गरेर अर्बपतिको लाइनमा आए । तर, पछि तिनै सहकारीका बचतकर्ताको पैसा तिर्न नसकेर उनी अहिले जेलमा छन् । त्यो बिचमा उनले त्यो सकसबाट उम्कन अनेक प्रयत्न गरे । यतिसम्मकी श्रीमती सिर्जना शाक्य तामाङसँग सम्बन्ध बिच्छेदसम्मको कागज बनाए । सदस्यहरुबाट ठगेको पैसाले जाडेको सम्पत्ति जोगाउनकै लागि उनले श्रीमती शाक्यसँग मिलेमतो गरेर सम्बन्ध बिच्छेद गरेको हौवा बजारमा फैलाए । उनले श्रीमतीसँग डिभोर्स गरेर नै तत्कालीन सिभिल बैंकको संस्थापक सेयर बिक्री गरेका थिए । श्रीमान बैंकको अध्यक्ष भएका बेला श्रीमतीले सेयर बेच्न नपाउने कानुनी व्यवस्था भएपनि उनले सम्बन्ध बिच्छेद गरेर सो सेयर बिक्री गरेका थिए भने सदस्यहरुबाट ठगेको पैसा सम्बन्ध बिच्छेद भइसकेको श्रीमतीको नाममा राखेका थिए । तर, अन्ततः कानुनको कठघरामा भने आउनै पर्छ, केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)ले इच्छाराज र सिर्जनालाई पक्राउ गर्यो । यस्तै, सदस्यहरुबाट उठाएको पैसा फिर्ता नगर्ने नियतका साथ श्रीमतीसँग सम्बन्ध बिच्छेद गर्ने सहकारीका सञ्चालक हुन् सुधिर बस्नेत । ओरेन्टल सहकारीका अध्यक्ष बस्नेत पनि महत्वांकाक्षी व्यवसायी थिए । सहकारीका सदस्यबाट पैसा उठाएर उनी घरजग्गामा लगाउँथे । पछि घरजग्गामा मन्दी आएपछि उनी समस्यामा परे । र, श्रीमतीसँग सम्बन्ध बिच्छेदको नाटक गरे । बचतकर्ताको रकम हिनामिना गरेको अभियोग बस्नेत माथि पनि लाग्यो । सदस्यहरुको पैसा फिर्ता गर्न नसकेपछि उनले श्रीमती नितु थापा बस्नेतसँग सम्बन्ध बिच्छेद गरे । त्यसको पुष्टि उनकै श्रीमती नितुले गरेकी थिइन् । नितुले सुधिरसँग सम्बन्ध विच्छेद भएको भन्दै आफ्नो नाममा रहेको सेयर फुकुवा गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा निवेदन पनि दिएकी थिइन् । बस्नेत केही समय हिरासतमा पनि बसे । अहिले उनी बचतकर्ताको रकम फिर्ताको अभियानमा लागेका छन् । तर, उनको त्यो सम्बन्ध बिच्छेद पनि नाटक थियो । अदालतमाथि भद्दा मजाक थियो र एउटा समधुर सम्बन्ध भएको दम्पत्तिमाथिको सांकेतिक खेलवाड थियो । यस्तै, खेलवाड गरे भरत महर्जनले पनि । जुन खेलवाडमा खलनायकको भूमिकामा रहिन् उनकी श्रीमती राजमाया महर्जन । सुमेरु सहकारीका सदस्यहरुको पैसा ठगेको आरोप उनीमाथि छ । दुई दशकअघिसम्म सामान्य मान्छे व्यवसायी रहेका उनी पछिल्लो समय अर्बपति नै भेर चिनिन्थे । उनले असाधारण व्यवसायिक साम्राज्य खडा गरेका थिए । तर, कालोधनले कसको मन पो सेता हुन्छ होला र । सहकारी सकसको ठूलो जञ्जालमा उनी पनि परे । र, सदस्यहरुबाट जोगिन देश नै छाड्नु पर्यो । अहिले उनले सहकारीका बचतकर्ताबाट असुलेको पैसाले जोडेको सम्पत्ति जोगाउन श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेको खुलेको छ । उनी निकट व्यवसायीहरुका अनुसार उनले दुई वर्ष अगाडि नै श्रीमति राजमायासँग सम्बन्ध बिच्छेद गरेका थिए । उनले सम्बन्ध बिच्छेद गरेर अंशबण्डा समेत गरिसकेको बुझिएको छ । हाल उनी स–परिवार बेलायत पुगेको स्रोतको दावी छ । यी केही उदाहरण मात्रै हुन् । सहकारीका सदस्यहरुको बचत ठगेर त्यो पैसालाई बचाउत श्रीमतीसँग नक्कली डिभोर्स गर्नेहरुको संख्या बढ्दो छ । तर, ती घटनाहरु भने बाहिर आउन सकेका छैनन् । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)का अनुसार बचतकर्ताको पैसा ठगेको आरोप लागेर अनुसन्धान भइरहेको अधिकांश केसहरुमा यस्ता घटनाहरु देखिएका छन् । सिआईबीका प्रवक्ता सञ्जय सिंह थापाका अनुसार समस्या परेर भन्दा पनि नियमवस् र मिलेमतोमै दम्पत्तिहरुले सम्बन्ध बिच्छेद गर्ने गरेको अनुसन्धानको क्रममा खुल्छ । सदस्य दम्पत्तिको सम्बन्ध पनि सकसपूर्ण रुपन्देहीका बिक्रम पौडेलको जिन्दगाी सहकारीमा बचत गर्नु अघि सामान्य चल्दै थियो । उनले घरसल्लाहमै ललितपुरको देउराली सहकारी र बुटवलको हिमपात बचत तथा ऋण सहकारी संस्थामा बचत गर्ने भए । सुरुमा उनले बचत फिर्ता पनि पाउँथे । तर, जब सहकारीमा समस्या आयो उनलाई पनि सकस पर्यो । उनले आफ्नो बचत फिर्ता पाउन सकेनन् । परिणामस्वरुप उनको पीडा श्रीमतीको सम्बन्धसँग ठोक्कियो । आफुले पेटमा लात हानेर सहकारीमा जम्मा गरेको ३५ लाख रुपैयाँ सहकारीले फिर्ता नगरेपछि घरमा दिनरात कलह हुन थाल्यो । विदेशमा कमाएको पैसा उनले सुरुमा त बैंकमा जम्मा गरेका थिए । तर, पछि बढी ब्याजको लोभले घरसल्लाहमै सहकारीमा राखे । विडम्वना, उनको त्यो सावाँ ब्याज पनि गुम्यो र जीवन संगिनी पनि सदाका लागि घरबाट बाहिरिन् । केही दिन अघि सहकारीको पीडितहरुले गरेको आन्दोलनमा माइतीघरमा आइपुगेका उनले निराश हुँदै भने, ‘त्यही पैसाले मेरो डिभोर्स गरायो, सहकारीमा पैसा जम्मा गरेर ब्याज आएपछि अष्ट्रेलिया जाने योजना थियो, सबै योजना चकनाचुर भयो, घर बिग्रियो, सम्बन्ध बिग्रियो ।’ माइतीघरकै आन्दोलनमा देखिएकी काठमाडौं धापासीकी रञ्जना लामाले पनि सहकारीमा राखेको पैसाले नै श्रीमानसँग सम्बन्ध बिच्छेदको अवस्था आइलागेको गुनासो गरिन् । गाडी चालक रहेका श्रीमानबाट आएको पैसा उनले सहकारीमा जम्मा गर्थिन् । तर, अहिले सो पैसा फिर्ता नआएपछि उनी समस्यामा परेकी छिन् । उनको श्रीमानलाई सहकारीमा पैसा जम्मा भएको थाहा थिएन । अहिले थाहा पाएपछि उनलाई घर बस्न सक्ने अवस्था छैन । सुरुमा उल्लेख भए अनुसार सहकारीमा पैसा जम्मा गरेका हरेक श्रीमान–श्रीमतीबीच अहिले दरार सिर्जना भएको छ । श्रीमानले श्रीमती र श्रीमतीले श्रीमानलाई सराप्दै बस्नुपर्ने बाध्यतामा हरेक दम्पत्ति छन् । जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दिपक दाहाल आर्थिक बिचलनका कारण श्रीमान श्रीमतीबीच सम्बन्ध बिच्छेद हुने घटना बढेको बताउँछन् । उनका अनुसार सहकारीमा राखेको बचतको कारण सम्बन्ध बिच्छेद भनेर आफुहरुलाई जानकारी हुने नभएपनि आर्थिक बिचलनका समस्याले नै डिभोर्सका निवेदनहरु बढ्न थालेका छन् ।

बैंकहरुले उल्लेख्य नाफा देखाउँदा पनि किन झस्किए लगानीकर्ता ?

काठमाडौं । बैंकहरुले वित्तीय विवरण सार्वजनिक गरेपछि सेयर बजारमा नकारात्मक प्रभाव परेको छ । गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण सार्वजनिक गरेपछि बैंकिङ्ग उपसमूहको नेप्से परिसूचक १.७० प्रतिशत घटेको छ । बैंकहरुले गत आर्थिक वर्षमा उल्लेख्य नाफा गरेको विवरण प्रकाशन गरेको भए पनि सेयर बजारमा भने नकरात्मक प्रभाव परेको छ । आइतबार बैंक उपसमूह १.५७ प्रतिशत अर्थात २२.३४ अंक घटेर १२८५.३२ अंकमा बन्द भएको छ । कारोबारमा आएका अधिकांश बैंकको सेयर मूल्य घटेको छ भने ३ बैंकको मात्रै मूल्य बढेको छ । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले ७० अर्बभन्दा बढी नाफा गरेको वित्तिय विवरण सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार २० वटा वाणिज्य बैंकहरुले ७० अर्ब १७ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा २५ प्रतिशत अर्थात् १४ अर्ब रुपैयाँ बढेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकहरुले ५६ अर्ब १७ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । बैंकहरुले प्रकाशन गरेको प्रशस्त नाफाको रिपोर्ट कार्डलाई लगानीकर्ताहरुले नपत्याएको देखिन्छ । त्यसको असर आइतबारको सेयर बजारमा प्रतिबिम्बित भएको छ । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणमा नाफा बढेको देखिए पनि वितरणयोग्य नाफा घटेका कारण सेयर मूल्य प्रभावित भएको एक लगानीकर्ताले विकासन्युजलाई बताए । लगानीकर्ताले नाफा मात्रै नहेरेर अन्य सूचक पनि केलाउँदा वितरणयोग्य नाफा अधिकांशको कम र केही बैंकको ऋणात्मक समेत पाएपछि लगानीकर्ताहरु निराश भएको उनको विश्लेषण छ । त्यसैको प्रभाव सेयर मूल्यमा परेको उनको भनाइ छ । ‘बैंकहरुको नाफा लगायतका सूचक बढेका छन् तर, बैंकले कमाएको सबै नाफा बाँड्दैनन्, लगानीकर्ताहरुले वितरणयोग्य नाफा पनि हेर्छन्,’ उनले भने, ‘सेयरधनीहरुलाई बाँड्ने नाफा घटेका कारण बजार प्यानिक भएको हो ।’ आज बैंकहरुमध्ये सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयर मूल्य घटेको छ । उक्त  बैंकको ५.१६ प्रतिशत अर्थात् ९.९० रुपैयाँ घटेर सेयर मूल्य १८२ रुपैयाँमा झरेको छ । यस्तै, हिमालयन बैंकको ४.९३ प्रतिशत अर्थात् ११ रुपैयाँ घटेर २१२ रुपैयाँ, कुमारी बैंकको ४.९१ प्रतिशत अर्थात् ८.५० रुपैयाँ घटेर १६४.७० रुपैयाँमा झरेको छ । यस्तै, प्रभु बैंकको ४.३३ प्रतिशत अर्थात् ७.७० रुपैयाँ घटेर १७०.२० रुपैयाँ, प्राइम बैंकको ४.३१ प्रतिशत अर्थात् ८.७० रुपैयाँ घटेर १९३.३० रुपैयाँ, नेपाल एसबीआई बैंकको ४.०२ प्रतिशत अर्थात् १४ रुपैयाँ घटेर ३३४.२० रुपैयाँ, ग्लोबल आइएमई बैंकको ३.७१ प्रतिशत घटेर २१५.७० रुपैयाँमा झेरेको छ । नेप्सेकाअनुसार आइतबार एनएमबी बैंकको ३.३५ प्रतिशत अर्थात् ८ रुपैयाँ घटेर २३१.१० रुपैयाँ, सिटिजन्स बैंकको १.९९ प्रतिशत अर्थात् ३.८० रुपैयाँ घटेर १८७.१० रुपैयाँ, सिद्धार्थ बैंकको १.९७ प्रतिशत घटेर २५८.९० रुपैयाँ, एनआईसी एशिया बैंकको १.३९ प्रतिशत अर्थात् ११ रुपैयाँ घटेर ७७८ रुपैयाँमा झरेको छ । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य ०.५९ प्रतिशत अर्थात् ३.३० रुपैयाँ घटेर ५५६.७० रुपैयाँ, नेपाल बैंकको ०.३५ प्रतिशत घटेर २५७ रुपैयाँ, माछापुच्छ्रे बैंकको ०.१९ प्रतिशत घटेर २६० रुपैयाँ र नबिल बैंकको ०.१६ प्रतिशत घटेर ६१२ रुपैयाँमा सेयर मूल्य कायम भएको छ । आइतबार कृषि विकास बैंक, सानिमा बैंक र एभरेष्ट बैंकको सेयर मूल्य बढेको छ । कृषि विकास बैंकको सेयर मूल्य ६.७३ प्रतिशत अर्थात् १६.७० रुपैयाँ बढेर २६५ रुपैयाँ पुगेको छ । यस्तै, सानिमा बैंकको सेयर मूल्य १.७१ प्रतिशत अर्थात् ५ रुपैयाँ बढेर २९७ रुपैयाँ र एभरेष्ट बैंकको सेयर मूलय ०.८३ प्रतिशत अर्थात् ५ रुपैयाँ बढेर ६०४ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ । लगानीकर्ता छोटेलाल रौनियार नकारात्मक हल्ला फैलाएकाले बजार घट्न पुगेको बताउँछन् । बैंकहरुको वित्तीय विवरण सकारात्मक आएको तर, बजारमा नकरात्मक हल्ला फैलिएको उनले बताए । केही बैंकहरुको लाभांश क्षमता घटेको भएपनि डराएर बिक्री गरिहाल्नुपर्ने स्थिति नरहेको उनले बताए । ‘बैंकहरुको रिपोर्ट राम्रो आएको छ, कोही पनि डराउनु र आत्तिनु पर्ने स्थिति छैन,’ उनले भने, ‘बजार हल्लामा चल्न थाल्यो, बजारमा लाभांश क्षमता घट्यो भनेर हल्ला चलेपछि घटेको हो ।’ उनले हल्लाको पछि लागेर सेयर कारोबार नगर्न आग्रह गरे । नेप्सेमा १९ वाणिज्य बैंक सूचीकृत छन् । जसमध्ये आइतबार १८ बैंकको सेयर कारोबार भएको थियो । हालै मर्ज भएका लक्ष्मी र सनराईज (लक्ष्मी सनराईज बैंक) बैंकको एकीकृत करोबार प्रयोजनार्थ सेयर कारोबार रोक्का छ ।