काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा विकास बैंकहरुको नाफा घटेको छ । गत वर्ष विकास बैंकहरुको खराब कर्जा बढेका कारण बढी रकम प्रोभिजनिङ गर्नु पर्दा अघिल्लो वर्षको तुलनामा नाफा औसत साढे ८ प्रतिशतले घटेको बुझिएको हो । सबै विकास बैंकहरुको नाफा एउटा वाणिज्य बैंक सरह पनि छैन ।
विकास बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार १६ वटा विकास बैंकहरुले गत वर्ष पौने ६ अर्ब रुपैयाँ नाफा गरेका छन् । जुन नबिल वा ग्लोबल आइएमई बैंकले गरेको नाफाभन्दा कम हो । गत आर्थिक वर्ष नबिल र ग्लोबलले ७ अर्बभन्दा बढी नाफा गरेका छन् ।
सार्वजनिक वित्तीय विवरण अनुसार गत असारसम्म राष्ट्रिय र क्षेत्रीयस्तरका विकास बैंकहरुले ५ अर्ब ८९ करोड ३७ लाख रुपैयाँ नाफा गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा ५.५८ प्रतिशत अर्थात् ५५ करोड ३४ लाख रुपैयाँ घटी हो । अघिल्लो वर्षको सोही अवधिमा विकास बैंकहरुले ६ अर्ब ४४ करोड ७२ लाख रुपैयाँ नाफा गरेका थिए ।
राष्ट्रियस्तरका विकास बैंकको नाफा ७.८२ प्रतिशत घटेको छ । गत असारसम्मको तथ्याङ्क अनुसार राष्ट्रियस्तरका बैंकहरुले ५ अर्ब ८१ करोड ९२ लाख रुपैयाँ नाफा गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा राष्ट्रियस्तरका बैंकहरुले ६ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा गरेका थिए ।
गत वर्ष तीन राष्ट्रियस्तरका विकास बैंकको नाफा बढेको छ भने अन्य विकास बैंकको नाफा घटेको छ । जसमध्ये शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २१.२९ प्रतिशत बढेर ७८ करोड ६८ लाख रुपैयाँ, गरिमा विकास बैंकको १८.१८ प्रतिशत बढेर १ अर्ब २१ करोड ७३ लाख रुपैयाँ र मुक्तिनाथ विकास बैंकको १.६४ प्रतिशत बढेर १ अर्ब ३६ करोड ३८ लाख रुपैयाँ खुद नाफा गरेका छन् ।
महालक्ष्मी विकास बैंकको ४७.९४ प्रतिशत घटेर ४७ करोड ९ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको २६.९२ प्रतिशत घटेर ४३ करोड ११ लाख रुपैयाँ र सांग्रिला डेभलपमेन्ट बैंकको २१.८७ प्रतिशत घटेर ३८ करोड ३३ लाख रुपैयाँ मात्रै नाफा गरेका छन् । यस्तै, ज्योति विकास बैंकको १७.४३ प्रतिशत घटेर ५५ करोड ३२ लाख रुपैयाँ र लुम्बिनी विकास बैंकको ६१ करोड २४ लाख रुपैयाँ नाफा गरेका छन् ।
क्षेत्रीयस्तर (१ जिल्लादेखि ७ जिल्ला) का विकास बैंकको नाफामा ४४.४० प्रतिशतले घटेको छ । अघिल्लो वर्ष १३ करोड ३८ लाख रुपैयाँ नाफा गरेका बैंकले गत वर्ष घटेर ७ करोड ४४ लाख रुपैयाँ मात्रै गरेका हुन् ।
गत आर्थिक वर्ष नाफा वृद्धि गर्ने बैंकको अग्रस्थानमा कर्पाेरेट डेभलपमेन्ट बैंक छ । यस बैंकको नाफा ३९८ प्रतिशत बढेर १ करोड ८५ लाख रुपैयाँ पुगेको छ । यस्तै, एक्सल डेभलपमेन्ट बैंकको ३१.२० प्रतिशत बढेर १२ करोड ६५ लाख रुपैयाँ र मितेरी डेभलपमेन्ट बैंकको ८.४१ प्रतिशत बढेर १६ करोड ६ लाख रुपैयाँ नाफा गरेका छन् ।
अघिल्लो वर्ष नोक्सानीमा रहेको कर्णाली डेभलपमेन्ट बैंकले भने गत वर्ष ४ करोड ४३ लाख रुपैयाँ नाफा गरेको छ । यस्तै, सिन्धु विकास बैंकको ७१ प्रतिशत घटेर १ करोड ३४ लाख रुपैयाँ र ग्रीन डेभलपमेन्ट बैंकको १ प्रतिशत घटेर १ करोड ८४ लाख रुपैयाँ खुद नाफा गरेका छन् ।
तर, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा ऋणात्मक छ । नारायणी डेभलपमेन्ट बैंक ३ करोड २१ लाख रुपैयाँ र सप्तकोशी डेभलपमेन्ट बैंक २७ करोड ४९ लाख रुपैयाँ नोक्सानीमा छन् । यी दुवै बैंक अघिल्लो वर्ष पनि नोक्सानीमा थिए ।
आधा दर्जन बैंक लाभांश बाँड्न नसक्ने
गत वर्ष राष्ट्रियस्तरका विकास बैंकको वितरणयोग्य नाफा २ अर्ब ९५ करोड रुपैयाँ छ । सो आधारमा लाभांश वितरण क्षमता औषतमा ८.३ प्रतिशत मात्रै देखिन्छ ।
लुम्बिनी विकास बैंकको ११.६१ प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ११.३६ प्रतिशत, गरिमा विकास बैंकको १०.७४ प्रतिशत र मुक्तिनाथ विकास बैंकको १०.०३ प्रतिशत लाभांश क्षमता देखिन्छ ।
यस्तै, महालक्ष्मी विकास बैंकको ८.०६ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ७.६२ प्रतिशत, ज्योति विकास बैंकको ५.१८ प्रतिशत र कामना सेवा विकास बैंकको १.७७ प्रतिशत लाभांश क्षमता छ ।
क्षेत्रीयस्तरका विकास बैंकहरुमध्ये गत वर्ष मितेरी डेभलपमेन्ट बैंकको लाभांश क्षमता १३.८३ प्रतिशत रहेको छ । जुन विकास बैंकहरुमध्ये सबैभन्दा धेरै हो । यस्तै, कर्णाली डेभलपमेन्ट बैंकको ९.८ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको ४.२६ प्रतिशत लाभांश क्षमता छ ।
एक्सल, नारायणी, सिन्धु र सप्तकोशी बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको हुँदा लाभांश क्षमता ऋणात्मक छ । एक्सलको १ करोड २० लाख रुपैयाँ, नारायणीको ३ करोड १२ लाख रुपैयाँ, कर्पाेरेटको ८० लाख ६८ हजार रुपैयाँ, सिन्धुको ७ करोड ६४ लाख रुपैयाँ र सप्तकोशीको ३८ करोड ४७ लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक छ ।
वितरणयोग्य नाफा ऋणात्मक भएका एक्सल, नारायणी, कर्पाेरेट, सिन्धु र सप्तकोशी बैंकले गत आर्थिक वर्षको लाभांश वितरण नगर्ने निश्चित छ । यस्तै, न्यून लाभांश क्षमता भएका कामना सेवा विकास बैंक र ग्रीन डेभलपमेन्ट बैंक पनि लाभांश वितरण नगर्न सक्छन् । न्यूनतम क्षमता भएका यी दुई बैंकलाई राष्ट्र बैंकले सो रकम कोषमा राख्न सुझाव दिन सक्छ । बैंकहरुले एक/दुई प्रतिशत मात्रै लाभांश दिएको उदाहरण हालसम्म छैन ।
यस्तो छ खराब कर्जा
गत वर्ष विकास बैंकको खराब कर्जा बढेको छ । राष्ट्रियस्तरका विकास बैंकको औषत २.४६ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष १.४४ प्रतिशत खराब कर्जा थियो । जसमध्ये महालक्ष्मी विकास बैंकको २.४३ प्रतिशतबाट बढेर ३.५१ प्रतिशत पुगेको छ ।
यस्तै, सांग्रिलाको ३.०६ प्रतिशत, लुम्बिनीको ३.०१ प्रतिशत, कामना सेवाको २.९८ प्रतिशत, ज्योतिको २.८६ प्रतिशत, शाइन रेसुङ्गाको, गरिमाको १.५५ प्रतिशत र मुक्तिनाथको ०.८९ प्रतिशत खराब कर्जा पुगेको छ ।
क्षेत्रीयस्तरका विकास बैंकहरुको भने खराब कर्जा ह्वात्तै बढेको छ । अघिल्लो वर्ष औषत कर्जा ४.९ प्रतिशत रहेकोमा बढेर ७ प्रतिशत पुगेको हो ।
सप्तकोशी र नारायणी बैंकको खराब कर्जा १८ प्रतिशतभन्दा बढी पुगेको छ । यस्तै, एक्सलको २.८५ प्रतिशतबाट बढेर ४.८८ प्रतिशत, कर्णालीको ३.४ प्रतिशतबाट बढेर ३.९२ प्रतिशत र ग्रीनको १.४८ प्रतिशतबाट बढेर ३.३ प्रतिशत पुगेको छ । यस्तै, सिन्धुको १.३४ प्रतिशत र मितेरी बैंकको १.२५ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिमा कर्पाेरेट बैंकले भने खराब कर्जा घटाएको छ । अघिल्लो वर्ष ४.६५ प्रतिशत रहेको खराब कर्जा घटाएर ४.२९ प्रतिशतमा झरेको हो ।