४ जिल्लामा बीवाईडीको कारोबार चम्किँदा २ डिलरको आम्दानी २.२८ अर्ब

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार हुँदै जाँदा बीवाईडीका दुई अधिकृत विक्रेताले पनि आफ्नो कारोबार बढाएका छन् । बीवाईडीका सवारीसाधन बिक्री गर्दै आएका इको ड्राइभ अटोमोबाइल्स प्राइभेट लिमिटेड र टिम इलेभेन ईभी वल्र्ड प्राइभेट लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब २८ करोड १० लाख रुपैयाँको कारोबार गरेका छन् ।

दुवै कम्पनीले नेपालमा बीवाईडीका सवारीसाधनको आधिकारिक वितरक साइमेक्स इन्क प्राइभेट लिमिटेडसँगको विक्रेता सम्झौताअन्तर्गत तोकिएको क्षेत्रमा कारोबार गर्दै आएका छन् । इको ड्राइभले ललितपुर र धादिङ तथा टिम इलेभेनले नेपालगन्ज र दाङलाई केन्द्र बनाएर बीवाईडीका विद्युतीय सवारीसाधन बिक्री तथा बिक्रीपछिको सेवा दिँदै आएका छन् ।

विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको बढ्दो आकर्षण, नयाँ सवारी मोडलको आगमन र क्षेत्रीय बजारमा बिक्री तथा सेवा सञ्जाल विस्तार हुँदा दुवै कम्पनीको कारोबारमा वृद्धि देखिएको हो । तर कारोबार बढे पनि दुवै कम्पनीको नाफा मार्जिन भने तुलनात्मक रूपमा न्यून छ । साथै, सवारीसाधनको व्यापारका लागि ठूलो कार्यशील पुँजी आवश्यक पर्ने भएकाले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण पनि उच्च छ ।

इको ड्राइभको कारोबार १ अर्ब ५ करोड

ललितपुर र धादिङमा बीवाईडीका सवारीसाधन बिक्री गर्दै आएको इको ड्राइभ अटोमोबाइल्सले गत आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ५ करोड रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको ९७ करोड ४० लाख रुपैयाँको तुलनामा कम्पनीको आम्दानी ७.८० प्रतिशत अर्थात् ७ करोड ६० लाख रुपैयाँ बढेको हो ।

कम्पनीको आम्दानी आर्थिक वर्ष २०८०/८१ मा भने १ अर्ब ४३ करोड ५० लाख रुपैयाँ थियो । बीवाईडीको नयाँ सवारी मोडल सार्वजनिक भएपछि उक्त वर्ष बिक्री उच्च हुँदा आम्दानी बढेको थियो । त्यसपछिको आर्थिक वर्षमा आम्दानी घटे पनि २०८२/८३ मा पुनः वृद्धि भएको देखिन्छ ।

१९ अक्टोबर २०२१ मा स्थापना भएको इको ड्राइभले गत आर्थिक वर्षमा २६८ वटा सवारीसाधन बिक्री गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले २२२ वटा सवारीसाधन बिक्री गरेको थियो । यसले एक वर्षमा बिक्रीको संख्या पनि बढेको देखाउँछ ।

नेपाल अटोमोबाइल आयातकर्ता तथा निर्माता संघ (नाइमा) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा भएका प्रदर्शनीबाट प्राप्त बुकिङमध्ये करिब ७७ प्रतिशत बिक्रीमा रूपान्तरण हुने गरेको कम्पनीले जनाएको छ ।

तर बिक्री बढ्दा पनि नाफा मार्जिनमा भने दबाब देखिएको छ । आर्थिक वर्ष २०८२/८३ मा इको ड्राइभको ब्याज, कर, मूल्यह्रास तथा परिशोधनअघिको सञ्चालन नाफा मार्जिन ०.८० प्रतिशतमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो मार्जिन १.७३ प्रतिशत थियो ।

कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ९० करोड रुपैयाँ ऋण लिएको छ । ठूलो कारोबारका लागि आवश्यक कार्यशील पुँजी व्यवस्थापनमा बैंक कर्जाको भूमिका महत्वपूर्ण देखिन्छ ।

पश्चिम नेपालमा टिम इलेभेनको विस्तार

पश्चिम नेपालमा बीवाईडीको बजार समेट्दै आएको टिम इलेभेन ईभी वल्र्डले गत आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब २३ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको ९५ करोड १० लाख रुपैयाँको तुलनामा कम्पनीको आम्दानी २९.४४ प्रतिशत अर्थात् करिब २८ करोड रुपैयाँ बढेको हो ।

कम्पनीको आम्दानी आर्थिक वर्ष २०८०/८१ मा ९२ करोड ८० लाख रुपैयाँ थियो । १ डिसेम्बर २०२१ मा स्थापना भएको टिम इलेभेनले साइमेक्स इन्कसँगको सहकार्यमा पश्चिम नेपालमा बीवाईडीका विद्युतीय सवारीसाधन बिक्री गर्दै आएको छ ।

नेपालगन्ज र दाङमा रहेका दुई अधिकृत शोरुम तथा सेवा केन्द्र कम्पनीको पश्चिम नेपालमा रहेको प्रमुख बिक्री तथा सेवा सञ्जाल हुन् । यी केन्द्रमार्फत राप्ती र भेरी क्षेत्रका ग्राहकलाई बीवाईडीका विभिन्न विद्युतीय सवारीसाधन तथा बिक्रीपछिको सेवा उपलब्ध गराइँदै आएको छ ।

टिम इलेभेनको कारोबारसँगै नाफा मार्जिनमा पनि केही सुधार देखिएको छ । आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको ब्याज, कर, मूल्यह्रास तथा परिशोधनअघिको नाफा मार्जिन २.०७ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो मार्जिन १.९८ प्रतिशत थियो ।

त्यस्तै, कम्पनीको खुद नाफा मार्जिन १.१९ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो मार्जिन १.०४ प्रतिशत थियो । यद्यपि, सवारीसाधन विक्रेताको व्यवसायमा प्रतिस्पर्धा उच्च रहेकाले नाफा मार्जिन विस्तारको सम्भावना सीमित रहने देखिन्छ ।

टिम इलेभेनले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ८० करोड रुपैयाँ ऋण लिएको छ । यसमध्ये १ करोड रुपैयाँ दीर्घकालीन र ७८ करोड ९८ लाख रुपैयाँ अल्पकालीन ऋण रहेको कम्पनीले जनाएको छ ।

इको ड्राइभको अध्यक्षमा प्रकाश वीरसिंह तुलाधर हुन् भने टिम इलेभेनको अध्यक्ष बिमल कुमार पौडेल रहेका छन् । दुवै कम्पनीले बीवाईडीको बिक्री सञ्जालसँगै बिक्रीपछिको सेवा विस्तारमा समेत जोड दिँदै आएका छन् । विद्युतीय सवारीसाधनको बिक्रीमा ग्राहकले खरिदपछिको सेवा र मर्मतसम्भारलाई समेत महत्व दिने भएकाले यस्तो सञ्जाल व्यवसायका लागि महत्वपूर्ण मानिन्छ ।

कार्यशील पुँजी आवश्यक

सवारीसाधनको व्यापार सामान्य खुद्रा कारोबारभन्दा बढी कार्यशील पुँजी आवश्यक पर्ने व्यवसाय हो । आयात गरेर बिक्री गर्नुपर्ने भएकाले सवारीसाधन खरिदमै ठूलो रकम अग्रिम भुक्तानी गर्नुपर्ने वा स्वदेशी प्रतीतपत्र जारी गर्नुपर्ने हुन्छ । बीवाईडीका सवारीसाधनको आपूर्ति आयातमा निर्भर रहेकाले मागअनुसार समयमै सवारीसाधन उपलब्ध गराउन मौज्दात कायम गर्नुपर्ने हुन्छ । शोरुममा प्रदर्शनका लागि राखिने सवारीसाधनसँगै आपूर्ति अवरोधका बेला बिक्री प्रभावित नहोस् भनेर थप मौज्दात राख्नुपर्ने हुन्छ ।

कम्पनीहरूले सामान्यतया सवारीसाधन खरिदका लागि करिब ५० दिनको भुक्तानी अवधि रहेको उधारो प्रतीतपत्र प्रयोग गर्दै आएका छन् । यही कारण बिक्री बढेसँगै कार्यशील पुँजीको आवश्यकता पनि बढ्ने गरेको छ । इको ड्राइभ र टिम इलेभेनले क्रमशः ९० करोड र ८० करोड रुपैयाँ ऋण लिएका छन् । अर्थात्, दुई कम्पनीको बैंक तथा वित्तीय संस्थाबाट लिएको कुल ऋण करिब १ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । यसले उनीहरूको कारोबार विस्तारमा कर्जा तथा कार्यशील पुँजी व्यवस्थापनको महत्व देखाउँछ ।

बढ्दो बजारसँगै नीतिगत जोखिम

नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढाउन सरकारले विभिन्न नीतिगत व्यवस्था गर्दै आएको छ । परम्परागत इन्धनबाट चल्ने सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनमा कम आयात शुल्क तथा वार्षिक करको व्यवस्था रहँदै आएको छ । यसले विद्युतीय सवारीसाधनको प्रयोग विस्तारमा सहयोग पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाबाट विद्युतीय सवारीसाधन खरिदका लागि कर्जा सुविधा उपलब्ध भए पनि यसअघिको प्राथमिकतायुक्त कर्जा व्यवस्थामा परिवर्तन गरिएको छ । हाल विद्युतीय सवारीसाधनका लागि अधिकतम कर्जा–मूल्य अनुपात ६० प्रतिशत कायम गरिएको छ ।

सरकारले निजी सवारीसाधनमा विद्युतीय सवारीको प्रयोग बढाउने तथा नेपालको जलविद्युतमा आधारित ऊर्जाको उपयोग गर्ने दीर्घकालीन लक्ष्य लिएको छ । विद्युतीय सवारीसाधनप्रतिको उपभोक्ताको बढ्दो स्वीकार्यता र यस्तो नीतिगत समर्थनले बजार विस्तारको आधार तयार गरेको छ ।

तर विद्युतीय सवारीसाधनको बजार नीतिगत परिवर्तनबाट पनि प्रभावित हुन सक्छ । पछिल्ला नीतिगत परिवर्तनमार्फत केही वर्गका विद्युतीय सवारीसाधनमा भन्सार तथा अन्य सम्बन्धित शुल्क बढाइएको छ । शुल्कमा हुने परिवर्तनले सवारीसाधनको मूल्य र त्यससँगै उपभोक्ताको मागमा प्रभाव पार्न सक्ने जनाएका छन् । 

Share News