ईभीलाई भ्याइनभ्याई, पेट्रोलबाट चल्ने ट्याक्सी पार्किङमा

फाइल फोटो । काठमाडौं । काठमाडौंको डिल्लीबजार बस्ने कुमार खड्काले विद्युतीय ट्याक्सी(ईभी) चलाउन थालेको तीन महिना भयो । ईभी ट्याक्सी चलाउन थालेपछि उनको आम्दानीमा ठूलो परिवर्तन देखिएको छ । विगतमा इन्धनबाट चल्ने ट्याक्सी चलाएर आजित बनेका कुमार आजभोली विद्युतीय ट्याक्सी चलाएर हर्षित बनेका छन् । इन्धनबाट चल्ने ट्याक्सी चलाउँदा उनलाई दिनभर आम्दानी हुने/नहुने ठेगान हुन्थेन । कहिले दिनभर ट्याक्सी पार्किङमा थन्काएर घर साँझ रित्तै घर फर्किनुपर्ने बाध्यता थियो भने कहिले दई/तीन हजार रुपैयाँ बोकेर गुजारा चलाउनु पर्ने अवस्था थियो । तर, अहिले ईभी ट्याक्सीले उनलाई निकै ब्यस्त बनाएको छ । आम्दानी पनि सोचेभन्दा बढी भएको उनी सुनाउँछन् । अहिले उनी बिहान घरबाट निस्केदेखि साँझ घर फर्किदासम्म निकै व्यस्त हुन्छन् । ‘पहिला प्रेट्रोलबाट चल्न आफ्नै गाडी चलाउँथे, त्यो गाडीलाई बेचेर विद्युतीय ट्याक्सी खरिद गरेँ, पहिले यात्रु पाउन निकै सकस हुन्थ्यो, अहिले सहज भएको छ,’ उनले भने, ‘आम्दानीमा पनि धेरै फरक आएको छ ।’ उनले पहिलको ट्याक्सी बिक्री गरेको ट्याक्सीको पैसा र केही पैसा बैंकबाट ऋण लिएर नयाँ विद्युतीय ट्याक्सी खरिद गरेका हुन् । अहिले उनलाई बैंकको किस्ता तिर्न पनि समस्या नभएको सुनाउँछन् । सरकारले पनि ईभीलाई प्रोत्साहन गरिरहेको बेला ईभीको भविष्य राम्रो भएको महसुस गरेर विद्युतीय ट्याक्सी रोजेको उनको भनाइ छ । इन्धनबाट चल्ने ट्याक्सीको तुलनामा विद्युतीय ट्याक्सीमा यात्रा गर्दा प्रतिकिलोमिटर पाँच रुपैयाँ फाइदा हुने उनको भनाइ छ । उनले खुसी हुँदैन भने, ‘पहिले कसैलाई सोध्दा पनि नजाने भन्थे, अहिले यात्रुहरु बसेकै ठाउँमा आएर जाने हो भनेर सोध्नुहुन्छ ।’ उनका अनुसार अहिले उनको मासिक आम्दानी एक लाख रुपैयाँ बढी छ । बैंकबाट ६० हजार किस्ता तिरेर ४० हजार घर खर्चमा प्रयोग गर्ने गरेको उनको भनाइ छ । पेट्रोलियम पदार्थको ट्याक्सीको तुलनामा विद्युतीय ट्याक्सीमा सञ्चालन लागत कम भएकोले पनि धेरैको रोजाइमा विद्युतीय ट्याक्सी परेको उनको भनाइ छ । यद्यपि कम्पनीले दिएको ग्यारेन्टी वारेन्टी सकिएपछि के गर्ने ? ट्याक्सीको कुनै पार्ट परिर्वतन गर्नु पर्यो भने खर्च ठूलो लाग्ने गरेको खड्काले सुनेका छन् । त्यसको जोहो भने कसरी गर्ने भन्ने चिन्तामा उनी छन् । तर, अहिलेसम्म उनी खुसी नै छन् । खड्का जस्तै विद्युतीय ट्याक्सी चलाउने अन्य चालकहरु प्नि पहिलेको तुलनामा धेरै खुसी छन् । उनीहरु विद्युतीय गाडी चलाउन थालेपछि यात्रुसँगै आम्दानी पनि बढेको अनुभव सुनाउँछन् । ‘यो गाडी हेर्दै कार जस्तो छ, कोहीले यसलाई कारै ठान्छन्, अन्य ट्याक्सीको भन्दा विद्युतीय ट्याक्सी बढी सुविधायुक्त छ, त्यसैले पनि धेरैको रोजाई विद्युतीय ट्याक्सी छ,’ अर्का एक विद्युतीय ट्याक्सी चालकले भने । पेट्रोलियम पदार्थका ट्याक्सी चालक भन्छन् : कमाई छैन ईभी ट्याक्सी चालक कमाई राम्रा भएको बताउँदा इन्धनबाट चल्ने ट्याक्सी चालक भने कमाइ भएको गुनासो गर्छन् । ट्याक्सी चालक बुद्ध नेही दैनिक कमाइ १५ सय रुपैयाँ मात्रै हुने गरेको सुनाउँछन् । यस हिसाबमा उनको मासिक ४५ हजार आम्दानी हुने गरेको छ । विगतमा दैनिक ३ हजार रुपैयाँसम्म कमाउने बुद्धको हाल कमाइ घटेको छ । उनलाई काठमाडौंमा ट्याक्सी चलाउन थालेको १८ वर्ष भयो । इन ड्राइभर, पठाओ र विद्युतीय ट्याक्सी बढ्दा आफुहरुको कमाइमा कमी आएको उनको भनाइ छ । ‘पहिला आम्दानी पनि राम्रो थियो, मासिक ६०/७० हजार रुपैयाँ कमाई हुन्थ्यो, यात्रु पनि पाइन्थे, अहिले विभिन्न एपहरु आउँदा पनि कमाइ घटेको छ, विद्युतीय ट्याक्सीले पनि केही आम्दानी खोस्यो,’ उनले अनुभव सुनाए । अर्का ट्याक्सी चालक आनन्द कुमार माझी यात्रु पाइनै छाडेको बताउँछन् । विगत लामो समयदेखि ट्याक्सी कुदाएरै जीविकोपार्जन गर्दै आएका माझीको अहिले आम्दानी खस्किएको छ । उनी मासिक २५/३० हजार रुपैयाँ आम्दानी हुने गरेको बताउँछन् । उनले पनि ईभी ट्याक्सीका कारण आम्दानीमा गिरावट आएको बताए । केही समयअघि निजी विद्युतीय गाडीहरू मात्रै गुड्दै आएको काठमाडौं उपत्यकाभित्र अहिले विद्युतीय ट्याक्सी पनि देखिन थालेका छन् । ईभी गाडीको मूल्य महँगो भएता पनि सञ्चालन खर्च भने कम छ । जसका कारण ईभी ट्याक्सी प्रतिको क्रेज बढ्दै गएको छ । यात्रुको गुनासो : भाडा महँगो भयो बजारमा विद्युतीय ट्याक्सी बढ्दै गर्दा ट्याक्सीले लिने भाडा भने महँगो भएको गुनासो यात्रुहरुले गरेका छन् । यात्रु विशाल खत्रीले इन्धनबाट चल्ने सवारीभन्दा विद्युतीय ट्याक्सीको भाडा महँगो भएको बताउँछन् । ‘म मैतीदेवीदेखि एयरपोर्ट जानु थियो, म हतारमा थिएँ, सोही बेला विद्युतीय ट्याक्सी आयो, कुनै बार्गेनिङ नगरेर ट्याक्सीमा बसेँ, बिचमा भाडा कति हो भनेर सोध्दा भाडा एक हजार भनियो, म तिर्न बाध्य भएँ, त्यो धेरै महँगो भाडा भयो,’ उनले गुनासो गर्दै भने । अर्का यात्रु राम अधिकारी पनि ईभीको ट्याक्सी भाडामा केही सहुलियत हुनुपर्ने बताउँछन् । विद्युतीय ट्याक्सी सुविधायुक्त भएपनि केही भाडा घटाउँदा यात्रुलाई सहज हुने उनको भनाइ छ । पछिल्लो समय बजारमा विद्युतीय ट्याक्सीको संख्या बढेको छ । चालकहरु प्नि इन्धनबाट चल्ने ट्याक्सीबाट विद्युतीय ट्याक्सीमा सिफ्ट हुँदै गएका छन् । हाल एक सय बढी विद्युतीय ट्याक्सी दर्ता भएर सडकमा गुडिरहेका छन् । बागमती प्रदेश सरकारले सट्टा दर्तामा विद्युतीय ट्याक्सी दर्तागर्न दिने निर्णय गरे सँगै सडकमा विद्युतीय ट्याक्सीहरुको उपस्थिति बढ्न थालेको हो । सम्बन्धित सामग्री :  काठमाडौंका सडकमा गुड्दैछन् १०३ विद्युतीय ट्याक्सी, लागत कम देखिएपछि आकर्षण बढ्दै

मर्जरमा गएका बैंकहरुमा ‘ओभरस्टाफ’को समस्या

काठमाडौं । एक वर्षअघि मर्जर गरेको नबिल बैंकले कर्मचारी कटौति गर्न तेस्रो पटक स्वेच्छिक अवकास सुविधा (भीआरएस) ल्याउने तयारी गरिरहेको छ । मर्जरको अवधिमा साविक नेपाल बङ्गलादेश बैंकले पहिलो पटक यो सुविधा ल्याएको थियो । त्यसपछि मर्जर सम्पन्न भएपछि र अहिले पुनः तेस्रो पटक भिआरएस सुविधा ल्याउन लागेको हो । सो अवधिमा बैंकबाट ७० जनाभन्दा बढी कर्मचारी भिआरएस सुविधा लिएर बाहिरिसकेका छन् । त्यतिबेला भिआरएस सुविधा लिने अधिकांश कर्मचारी साविक नेपाल बङ्गलादेश बैंकका रहेका थिए । सो सुविधामा बैंकका उच्च तहकै कर्मचारी बाहिरिएका थिए । एउटै विभागमा दोहोरिएका कर्मचारी कटौति गर्न भीआरएस सुविधा ल्याउने तयारी बैंकले गरिरहेको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनोज ज्ञवाली बताउँछन् । तर, उनी नबिल बैंकमा ओभरस्टाफ नभएको दाबी गर्छन् । एउटै पदमा दुई जना भएपछि एक जनालाई भीआरएस सुविधा दिएर बिदा गर्नु स्वभाविक रहेको उनको भनाइ छ । ‘भीआरएस सबै कर्मचारीलाई भन्दा पनि टप एक्जिक्यूटिभ अर्थात् सिनियर तहका कर्मचारीका लागि निकालिन्छ, एउटै विभाग प्रमुखमा २ जना चाहिँदैन,’ उनले भने, ‘एचआर, आईटी, फाइनान्स लगायतको विभागमा दुइ जना हेड चाहिँदैन, त्यसैले भीआरएसको माध्यमबाट कर्मचारी निकाल्नु स्वभाविक हो ।’ उनका अनुसार नबिल बैंकमा ओभर स्टाफ नभएपनि टप हेडिङमा काँटछाँट गर्ने तयारी गरिरहेको छ । नबिल बैंकमा हाल २ हजार ४ सय भन्दा बढी कर्मचारी छन् । हालै मर्जर सम्पन्न भएको लक्ष्मी सनराइज बैंकले पनि भिआरएस सुविधा लागू गरेको छ । बैंकले ल्याएको भिआरएस सुविधा साविक सनराइज बैंकका सीईओ सुमन शर्मासहित ५० जनाले लिएका छन् । साविक सनराइज बैंकबाट ४० जना र साविक लक्ष्मी बैंकबाट १० जनाले भिआरएस सुविधा लिएको बैंक स्रोतले बताएको छ । साविक सनराइज बैंकबाट सीईओ सुमन शर्मा, नायव महाप्रबन्धक (डीजीएम) रोविन नेपाल र प्रमुख प्रबन्धक प्रितम लाल श्रेष्ठले भिआरएस लिएका छन् । साथै, अन्य कर्मचारीहरुमा जुनियर लेभल र सपोर्टेड तहका रहेको स्रोतको भनाइ छ । नेपाल र श्रेष्ठले अवकाश पाउने बेला भएकाले भिआरएस सुविधा लिएका हुन् । लक्ष्मी सनराइज बैंकमा ३ हजार १ सयभन्दा बढी कर्मचारी छन् । बैंक अझै कर्मचारी कम गर्ने योजनामा छ । यस्तै, सेञ्चुरी बैंक गाभेको ६ महिनापछि प्रभु बैंकले पनि भिआरएस सुविधा ल्याएको छ। बैंकले सबै कर्मचारीलाई भिआरएस सुविधा ल्याएको बताएको छ । ३ हजार ५ सय कर्मचारी रहेको यस बैंकमा कर्मचारीको संख्या बढी भएकै कारण भिआरएस सुविधा ल्याएको बैंक स्रोतले बताएको छ । स्रोतका अनुसार बैंकमा कार्यरत कर्मचारीको संख्या अनुसारको प्रतिफल बैंकलाई नदिएका कारण कर्मचारी कटौति गर्नु परेको हो । बैंकले २ वर्षसम्मको सेवा सुविधा दिएर भिआरएसमा कर्मचारी कटौति गर्न लागेको जनाएको छ । गत पुस २६ गते सेञ्चुरी बैंकलाई गाभेको प्रभुले सो समयमा भिआरएस सुविधा ल्याएको थिएन । हिमालयन बैंकसँग गाभिएको तत्कालीन सिभिल बैंकले पनि यो सुविधा ल्याएको थियो । साविक सिभिल बैंक हिमालयनमा गाभिएपछि सीईओ सुनिल पोखरेलसहति ८ जना कर्मचारी भिआरएसमा बाहिरीएका थिए । यस्तै, साविक सिभिलबाट सुमन आचार्य, सागर पौडेल, अविजित श्रेष्ठ, किरण प्रकाश पाण्डे, रोशन ढकाल, किरण खड्का र गोवर्द्धन अधिकारी बैंकबाट बाहिरिएका थिए । हिलमायन बैंकका एसिस्टेन्ट चिफ एक्जिक्यूटीभ अफिसर सुनिल प्रसाद गोर्खाली पहिले सिभिलले भिआरएस सुविधा ल्याएपनि हिमालयनले नल्याएको बताउँछन् । तर, अहिले हिमालयन बैंकमा पनि ओभरस्टाफको समस्या रहेको बुझिएको छ । सिभिल बैंकबाट चाथौ वरियतामा काम गर्ने भनेर गएका सचिनजङ्ग रायमाझी बैंकमा असन्तुष्ट बनेर बाहिरिसकेका छन् । यस्तै, मर्जर भएको ६ महिनापछि ग्लोबल आइएमई बैंकले दोस्रो पटक भिआरएस सुविधा ल्याएको छ । बैंकका अनुसार २८ जना कर्मचारीले भिआरएस सुविधा लिएका छन् । बैंकले यसअघि साविक बैंक अफ काठमाण्डसँग मर्जर गर्दा पनि भिआरएस सुविधा दिएको थियो । त्यो बेलामा पनि केही कर्मचारीले भिआरएस सुविधा लिएका थिए । मर्जर पछि बैंकमा कर्मचारीको संख्या उच्च भएका कारण कारण कटौति गर्नु परेको बैंकका एक सञ्चालकले विकासन्युजलाई बताए । उनका अनुसार बैंकमा झण्डै ४ हजार कर्मचारी छन् । ‘मर्जरपछि धेरै शाखा कार्यालय मर्ज गर्नु पर्यो, मर्जर गर्दा कर्मचारीको संख्या बढी भएपछि भिआरएस ल्याउनु परेको हो,’ उनले भने, ‘भिआरएसको माध्यमबाट कर्मचारी कटौति गर्न खोजेका हौं, यसबाट पनि बैंकको खर्च कटौति हुन्छ ।’ नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने भिआरएस सुविधा ल्याउने कुनै योजना बनाएको छैन । ३ हजार २ जना कर्मचारी रहेको यस बैंकमा कर्मचारी समायोजनमा कुनै समस्या नरहेको सञ्चालक गोपाल खनाल बताउँछन् । २ वटा ठूला बैंक मर्जर हुँदा कर्मचारी कटौति गर्न भिआरएर सुविधा दिनु स्वभाविक रहेको उनको भनाइ छ । साथै, मर्ज भएका शाखाका कर्मचारीलाई भिआरएस दिएर बिदा गर्नु उचित नै रहेको उनले बताए । ‘बैंकिङ्ग क्षेत्रमा कर्मचारीको भार कम हुँदै गएको छ, हिजोको दिनमा बैंकको शाखामा एकरडेढ घण्टा लाइन लाग्नुपर्थ्यो तर, अहिले आधा घण्टा पनि कुर्नु पर्दैन,’ उनले भने, ‘फेरि बैंकहरु डिजिटल पनि बन्दै छन्, अधिकांश सेवा डिजिटल माध्यमबाट दिइरहेका छन्, त्यसैले बैंकहरुले कर्मचारी कटौति गर्नु स्वभाविक हो ।’ कर्मचारीलाई ह्यारेसमेन्ट गर्ने हिसावले भिआरएस निकाल्नु बैंकको हितमा नहुने उनको भनाइ छ । उनका अनुसार मर्जका माध्यमबाट आएका कर्मचारीको सुरक्षा गर्नु पर्ने हुन्छ । तर, खर्च कटौती गरेर नाफा बाँड्न कहिलेकाहीँ भिआरएस जरुरी हुने उनले बताए । किनभने माथिल्लो तहमा ओभर स्टाफिङ भयो भने सम्हाल्न गाह्रो हुन्छ । एनआईएमबि बैंकमा ओभर स्टाफको समस्या नरहेको उनको भनाइ छ । एकाध कर्मचारी घरायसी कारण बाहिरिएपनि बैंकको दबावका कारण नबाहिरीएको उनको भनाइ छ । बिग मर्जर गरेका अधिकांश बैंकहरुमा अहिले आवश्यक भन्दा बढी कर्मचारी (ओभरस्टाफ) को समस्या देखिएको छ । एउटै विभागमा दुई/तीन जना प्रमुख हुने समस्या छ । बैंकहरुलाई यो विषयको समस्या भइरहेको छ । यसको समाधान गर्न अधिकांशले भिआरएस सुविधा ल्याइरहेका छन् ।

नबिल बैंकले उच्च तहका कर्मचारीका लागि भीआरएस ल्याउने

काठमाडौं । मर्जर भएको एक वर्षपछि नबिल बैंकले पुनः स्वेच्छिक अवकास सुविधा (भीआरएस) ल्याउने तयारी गरेको छ । बैंकले एउटै विभागमा दोहोरिएका कर्मचारी कटौति गर्न भीआरएस सुविधा ल्याउने तयारी गरिरहेको हो । यसअघि बैंकले २ पटक भीआरएस सुविधा जारी गरेको बताउँदै नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनोज ज्ञवालीले फेरी भीआरएस ल्याउने तयारीमा रहेको बताए । साविक नेपाल बङ्गलादेश (एनबी) बैंकलाई गाभेपछि नबिल बैंकले तेस्रो पटक भीआरएस सुविधा जारी गर्ने तयारी थालेको हो । नबिल बैंकले साविक नेपाल बङ्गलादेश बैंकलाई २०७९ असार २७ गतेदेखि एकीकृत कारोबार गरेको थियो । एनबी बैंक नबिलमा गाभिनु अघि नै केही कर्मचारीहरु भीआरएसमा बाहिरीएका थिए । त्यसपछि एकीकृत कारोबार पश्चात् पनि पुनः बैंकले भीआरएस सुविधा दिएको थियो । अघिल्लो पटक भीआरएस सुविधा दिँदा ७० जना कर्मचारी बाहिरीएका थिए । बाहिरीने कर्मचारीहरुमा अधिकांश एनबी बैंकका थिए । ‘साविक एनबी बैंकले भीआरएस ल्याएर गाभेको हो, एनबी बैंकलाई गाभेपछि पनि फेरी भिआरएस ल्याएका थियौं, फेरी पनि नबिल बैंकले भीआरएसको तयारी गरेको छ,’ उनले भने, ‘यसअघि २ पटक भीआरएस जारी गर्दा ७० जना बाहिरीएका थिए, बाहिरीने सबै कर्मचारी एनबी बैंकका थिए । उच्च तहमा एउटै पदमा दुई जना भएपछि एक जनालाई भीआरएस सुविधा दिएर बिदा गर्नु स्वभाविक रहेको उनको भनाइ छ । ‘भीआरएस सबै कर्मचारीलाई भन्दा पनि टप एक्जिक्यूटिभ अर्थात् सिनियर तहका कर्मचारीका लागि निकालिन्छ किनभने एउटै विभाग प्रमुखमा २ जना चाहिँदैन,’ उनले भने, ‘एचआर, आइटी, फाइनान्स लगायतको विभागमा २ जना हेड चाहिँदैन, त्यसैले भीआरएसको माध्यमबाट कर्मचारी व्यवस्थापन गर्नु स्वभाविक हो ।’ उनका अनुसार नबिल बैंकमा हाल २ हजार ४ सय भन्दा बढी कर्मचारी कार्यरत छन् ।