काठमाडौं । वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुले अर्थमन्त्री डा.प्रकाश शरण महतलाई कर्जा प्रवाहका क्षेत्र पहिचान गरिदिन माग गरेका छन् । आइतबार अर्थमन्त्री डा.महतसँगको छलफलमा बैंकका सीईओहरुले कर्जाको माग नै आउन छाडेपछि अध्ययन गरेर कर्जा प्रवाह हुने क्षेत्र पहिचान गरिदिन माग गरेका हुन् ।
बैंकको ब्याजदर कम हुँदा पनि कर्जाको माग नै नआएको गुनासो बैंकरहरुले गरेको छलफलमा उपस्थित एक बैंकका सीईओले विकासन्युजलाई बताए । उनका अनुसार बैंकसँग प्रयाप्त पैसा हुँदा पनि ऋणीहरु ऋण लिन आएका छैनन् ।
‘बैंकको ब्याजदर कम भइसक्यो, बैंकसँग प्रयाप्त पैसा छ, ब्याजदर पनि घटिसकेको छ,’ उनले भने, ‘नयाँ उद्योग स्थापना तथा व्यवसयास सुरु गर्छु कर्जा चाहियो भनेर बैंकमा कर्जा लिन कोही आएका छैनन्, कर्जाको माग नहुनुमा सरकारको नीतिका कारण त होइन् ?, बैंकसँग भएको ५/६ खर्ब उत्पादनमुलक क्षेत्रमा नजाने हो भने त्यो पैसा जाम भएर बस्छ ।’
पछिल्लो समय बैंकहरुले कर्जा प्रवाहका लागि आकर्षक प्रडक्ट ल्याउँदा पनि लिन आउने सुरसार नै नगरेको उनको भनाइ छ । यस्तै स्थिती रहिरहने हो भने अर्थमन्त्रालयले कुन क्षेत्रमा कर्जाको माग छ त्यसको पहिचान गरिदिनु पर्याे भनेर बैंकरहरुले माग गरेको सहभागी ती बैंकरले बताए ।
‘बैंकहरुले ब्यापार, सेयर, घरजग्गा कर्जाका आकर्षक प्रडक्ट वा स्कीम ल्याउँदा पनि माग नै छैन, बैंकहरुले धमाधम स्कीम ल्याइरहेका छन्,’ उनले भने, ‘कर्जाको माग नै नभएपछि अर्थमन्त्रालयले कर्जाको माग कहाँ छ भनेर पहिचान गर्न अध्ययन गर्नु पर्याे, हामी कर्जा दिन तयार छौं, हामीले कर्जा रोकेर बसेका छैनौं, कर्जा दिन कुनै कन्जुस्याईं गरेका छैनौं ।’
साथै, छलफलमा बैंकको ब्याजदर बढी भएर कर्जा नरोकिएको बैंकरहरुले अर्थमन्त्रीलाई जानकारी गराएका थिए । कसैले चाहेर बैंकको ब्याजदर घटबढ हुन नसक्ने बैंकरहरुले अर्थमन्त्रीलाई बताएका थिए ।
‘कसैले चाहेर ब्याजदर घट्ने र बढ्ने होइन, अब क्रमशः ब्याजदर घट्दै जान्छ, बैंकहरुले प्रिमियम घटाउँदै लगेका छन्,’ उनले भने ।
बैंकरहरुले बैंकप्रतिको नकारात्मक प्रचारप्रसार तथा अराजक गतिविधि अन्त्य गर्न माग राखेका थिए । पछिल्लो समय अराजक गतिविधि बढ्दै गएपछि बैंकरहरुको मनोबल खस्किएको बताएका थिए । यस्तै स्थिती आगामी दिनमा पनि रहिरहे काम नगर्ने चेतावनी अर्थमन्त्रीलाई बैंकरहरुले दिए ।
स्थानीय निकायको पैसालाई बैंकहरुले निक्षेपमा गणना गर्न पाउनु पर्ने माग गरेका थिए । झण्डै १ खर्ब रुपैयाँ स्थानीय तहको छ । स्थानीय तहको रकम निक्षेपमा गणना गर्दा ब्याजदर घट्न मद्दत पुग्ने तर्क बैंकरहरुले गरेका थिए ।
अर्थमन्त्री डा. महतले अहिलेको मन्दीलाई चलायमान गर्न बैंकरहरुको सुझाव संकलनका लागि आइतबार अर्थमन्त्रालय बोलाएका थिए । छलफलमा बैंकका सीईओ रत्नराज बज्राचार्य, किरण श्रेष्ठ, सुदेश खालिङ, सुनिल केसी लगायतले आफ्नो सुझाव राखेका थिए ।
‘अराजक गतिविधिलाई निस्तेज हुनु पर्याे, कर्जा लिएपछि चुक्ता नगर्ने, उल्टै बैंकरमाथि आक्रामण गर्ने परिपाटी बढेको छ, भौतिक आक्रमणको अन्त्य हुनु पर्छ, बैंकरहरुको सुरक्षाको प्रत्याभुति हुनु पर्याे,’ उनले भने ।
अर्थमन्त्री डा. महतले ठूला ऋणीलाई मात्रै नभएर सानालाई पनि कर्जा दिन बैंकरहरुलाई निर्देशन दिएका थिए । बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि हुने भौतिक आक्रमण रोक्न राज्यका सबै निकाय परिचालनका लागि समन्वय गर्ने विश्वास अर्थमन्त्री महतले दिलाए । साथै, निर्माण क्षेत्रका व्यवसायीहरुको भुक्तानी थोरै मात्रै रहेको उनले दावी गरे ।
‘साना ऋणीहरुलाई पनि कर्जा दिनु पर्याे, अहिलेको अराजक गतिविधि रोकिरहेका छौं, यस्ता गतिविधि आगामी दिनमा गर्न दिँदैनौं, सरकारका अन्य निकाय परिचालन गर्छाैं,’ उनले भने, ‘निर्माण क्षेत्रका व्यवसायीहरुको रकम पनि उपलब्ध गराइरहेका छौं, अब थोरै रकम मात्रै उपलब्ध गराउन बाँकी छ ।’