ईभीलाई भ्याइनभ्याई, पेट्रोलबाट चल्ने ट्याक्सी पार्किङमा

<p>काठमाडौं । काठमाडौंको डिल्लीबजार बस्ने कुमार खड्काले विद्युतीय ट्याक्सी(ईभी) चलाउन थालेको तीन महिना भयो । ईभी ट्याक्सी चलाउन थालेपछि उनको आम्दानीमा ठूलो परिवर्तन देखिएको छ । विगतमा इन्धनबाट चल्ने ट्याक्सी चलाएर आजित बनेका कुमार आजभोली विद्युतीय ट्याक्सी चलाएर हर्षित बनेका छन् । इन्धनबाट चल्ने ट्याक्सी चलाउँदा उनलाई दिनभर आम्दानी हुने/नहुने ठेगान हुन्थेन । कहिले दिनभर [&hellip;]</p>

फाइल फोटो ।

काठमाडौं । काठमाडौंको डिल्लीबजार बस्ने कुमार खड्काले विद्युतीय ट्याक्सी(ईभी) चलाउन थालेको तीन महिना भयो । ईभी ट्याक्सी चलाउन थालेपछि उनको आम्दानीमा ठूलो परिवर्तन देखिएको छ । विगतमा इन्धनबाट चल्ने ट्याक्सी चलाएर आजित बनेका कुमार आजभोली विद्युतीय ट्याक्सी चलाएर हर्षित बनेका छन् ।

इन्धनबाट चल्ने ट्याक्सी चलाउँदा उनलाई दिनभर आम्दानी हुने/नहुने ठेगान हुन्थेन । कहिले दिनभर ट्याक्सी पार्किङमा थन्काएर घर साँझ रित्तै घर फर्किनुपर्ने बाध्यता थियो भने कहिले दई/तीन हजार रुपैयाँ बोकेर गुजारा चलाउनु पर्ने अवस्था थियो ।

तर, अहिले ईभी ट्याक्सीले उनलाई निकै ब्यस्त बनाएको छ । आम्दानी पनि सोचेभन्दा बढी भएको उनी सुनाउँछन् । अहिले उनी बिहान घरबाट निस्केदेखि साँझ घर फर्किदासम्म निकै व्यस्त हुन्छन् ।

‘पहिला प्रेट्रोलबाट चल्न आफ्नै गाडी चलाउँथे, त्यो गाडीलाई बेचेर विद्युतीय ट्याक्सी खरिद गरेँ, पहिले यात्रु पाउन निकै सकस हुन्थ्यो, अहिले सहज भएको छ,’ उनले भने, ‘आम्दानीमा पनि धेरै फरक आएको छ ।’

उनले पहिलको ट्याक्सी बिक्री गरेको ट्याक्सीको पैसा र केही पैसा बैंकबाट ऋण लिएर नयाँ विद्युतीय ट्याक्सी खरिद गरेका हुन् । अहिले उनलाई बैंकको किस्ता तिर्न पनि समस्या नभएको सुनाउँछन् ।

सरकारले पनि ईभीलाई प्रोत्साहन गरिरहेको बेला ईभीको भविष्य राम्रो भएको महसुस गरेर विद्युतीय ट्याक्सी रोजेको उनको भनाइ छ । इन्धनबाट चल्ने ट्याक्सीको तुलनामा विद्युतीय ट्याक्सीमा यात्रा गर्दा प्रतिकिलोमिटर पाँच रुपैयाँ फाइदा हुने उनको भनाइ छ ।

उनले खुसी हुँदैन भने, ‘पहिले कसैलाई सोध्दा पनि नजाने भन्थे, अहिले यात्रुहरु बसेकै ठाउँमा आएर जाने हो भनेर सोध्नुहुन्छ ।’ उनका अनुसार अहिले उनको मासिक आम्दानी एक लाख रुपैयाँ बढी छ । बैंकबाट ६० हजार किस्ता तिरेर ४० हजार घर खर्चमा प्रयोग गर्ने गरेको उनको भनाइ छ ।

पेट्रोलियम पदार्थको ट्याक्सीको तुलनामा विद्युतीय ट्याक्सीमा सञ्चालन लागत कम भएकोले पनि धेरैको रोजाइमा विद्युतीय ट्याक्सी परेको उनको भनाइ छ । यद्यपि कम्पनीले दिएको ग्यारेन्टी वारेन्टी सकिएपछि के गर्ने ? ट्याक्सीको कुनै पार्ट परिर्वतन गर्नु पर्यो भने खर्च ठूलो लाग्ने गरेको खड्काले सुनेका छन् । त्यसको जोहो भने कसरी गर्ने भन्ने चिन्तामा उनी छन् । तर, अहिलेसम्म उनी खुसी नै छन् ।

खड्का जस्तै विद्युतीय ट्याक्सी चलाउने अन्य चालकहरु प्नि पहिलेको तुलनामा धेरै खुसी छन् । उनीहरु विद्युतीय गाडी चलाउन थालेपछि यात्रुसँगै आम्दानी पनि बढेको अनुभव सुनाउँछन् ।

‘यो गाडी हेर्दै कार जस्तो छ, कोहीले यसलाई कारै ठान्छन्, अन्य ट्याक्सीको भन्दा विद्युतीय ट्याक्सी बढी सुविधायुक्त छ, त्यसैले पनि धेरैको रोजाई विद्युतीय ट्याक्सी छ,’ अर्का एक विद्युतीय ट्याक्सी चालकले भने ।

पेट्रोलियम पदार्थका ट्याक्सी चालक भन्छन् : कमाई छैन

ईभी ट्याक्सी चालक कमाई राम्रा भएको बताउँदा इन्धनबाट चल्ने ट्याक्सी चालक भने कमाइ भएको गुनासो गर्छन् । ट्याक्सी चालक बुद्ध नेही दैनिक कमाइ १५ सय रुपैयाँ मात्रै हुने गरेको सुनाउँछन् । यस हिसाबमा उनको मासिक ४५ हजार आम्दानी हुने गरेको छ । विगतमा दैनिक ३ हजार रुपैयाँसम्म कमाउने बुद्धको हाल कमाइ घटेको छ ।

उनलाई काठमाडौंमा ट्याक्सी चलाउन थालेको १८ वर्ष भयो । इन ड्राइभर, पठाओ र विद्युतीय ट्याक्सी बढ्दा आफुहरुको कमाइमा कमी आएको उनको भनाइ छ ।

‘पहिला आम्दानी पनि राम्रो थियो, मासिक ६०/७० हजार रुपैयाँ कमाई हुन्थ्यो, यात्रु पनि पाइन्थे, अहिले विभिन्न एपहरु आउँदा पनि कमाइ घटेको छ, विद्युतीय ट्याक्सीले पनि केही आम्दानी खोस्यो,’ उनले अनुभव सुनाए ।

अर्का ट्याक्सी चालक आनन्द कुमार माझी यात्रु पाइनै छाडेको बताउँछन् । विगत लामो समयदेखि ट्याक्सी कुदाएरै जीविकोपार्जन गर्दै आएका माझीको अहिले आम्दानी खस्किएको छ । उनी मासिक २५/३० हजार रुपैयाँ आम्दानी हुने गरेको बताउँछन् ।

उनले पनि ईभी ट्याक्सीका कारण आम्दानीमा गिरावट आएको बताए । केही समयअघि निजी विद्युतीय गाडीहरू मात्रै गुड्दै आएको काठमाडौं उपत्यकाभित्र अहिले विद्युतीय ट्याक्सी पनि देखिन थालेका छन् । ईभी गाडीको मूल्य महँगो भएता पनि सञ्चालन खर्च भने कम छ । जसका कारण ईभी ट्याक्सी प्रतिको क्रेज बढ्दै गएको छ ।

यात्रुको गुनासो : भाडा महँगो भयो

बजारमा विद्युतीय ट्याक्सी बढ्दै गर्दा ट्याक्सीले लिने भाडा भने महँगो भएको गुनासो यात्रुहरुले गरेका छन् । यात्रु विशाल खत्रीले इन्धनबाट चल्ने सवारीभन्दा विद्युतीय ट्याक्सीको भाडा महँगो भएको बताउँछन् ।

‘म मैतीदेवीदेखि एयरपोर्ट जानु थियो, म हतारमा थिएँ, सोही बेला विद्युतीय ट्याक्सी आयो, कुनै बार्गेनिङ नगरेर ट्याक्सीमा बसेँ, बिचमा भाडा कति हो भनेर सोध्दा भाडा एक हजार भनियो, म तिर्न बाध्य भएँ, त्यो धेरै महँगो भाडा भयो,’ उनले गुनासो गर्दै भने ।

अर्का यात्रु राम अधिकारी पनि ईभीको ट्याक्सी भाडामा केही सहुलियत हुनुपर्ने बताउँछन् । विद्युतीय ट्याक्सी सुविधायुक्त भएपनि केही भाडा घटाउँदा यात्रुलाई सहज हुने उनको भनाइ छ ।

पछिल्लो समय बजारमा विद्युतीय ट्याक्सीको संख्या बढेको छ । चालकहरु प्नि इन्धनबाट चल्ने ट्याक्सीबाट विद्युतीय ट्याक्सीमा सिफ्ट हुँदै गएका छन् । हाल एक सय बढी विद्युतीय ट्याक्सी दर्ता भएर सडकमा गुडिरहेका छन् । बागमती प्रदेश सरकारले सट्टा दर्तामा विद्युतीय ट्याक्सी दर्तागर्न दिने निर्णय गरे सँगै सडकमा विद्युतीय ट्याक्सीहरुको उपस्थिति बढ्न थालेको हो ।

सम्बन्धित सामग्री :  काठमाडौंका सडकमा गुड्दैछन् १०३ विद्युतीय ट्याक्सी, लागत कम देखिएपछि आकर्षण बढ्दै

Share News