हिमालयन बैंकको सेयर ११८.८८ मा विड, यसरी तोडियो सञ्चय कोषको डिल

काठमाडौं । हिमालयन बैंकको संस्थापक सेयर खरिदका लागि ४ वटा आवेदन परेका छन् । बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको सेयर खरिदका लागि अन्तिम दिनसम्म विभिन्न ४ लगानीकर्ताले आवेदन दिएको बैंकका कम्पनी सचिव विपिन हाडाले जानकारी दिए । हबिब बैंकले हिमालयनमा रहेको १२.९३ प्रतिशत अर्थात् २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर बिक्रीमा राखेको थियो । बैंकको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ११२.८० रुपैयाँ तोकिएको छ ।  ‘सेयर खरिदका लागि आएका आवेदनहरु हबिबलाई पठाइसकेका छौं । ४ वटा आवेदन परेका हुन् । सबै नाम कण्ठ छैन । अब हबिबले के निर्णय गर्छ सोही अनुसार अघि बढ्छ,’ कम्पनी सचिव हाडाले भने । नेपाल राष्ट्र बैंकको व्यवस्था बमोजिम उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउँछन् । सोही बमोजिम हाल कायम संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिएका छन् । हबिबले बिक्रीमा राखेको उक्त सेयर खरिदका लागि नेशनल लाइफ इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र अन्य दुई लगानीकर्ताले आवेदन दिएका हुन् । नेशनल लाइफ इन्स्योरेन्सले बिक्रीमा राखिएको सबै सेयर खरिदका लागि आवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता ११८.८८ रुपैयाँ मूल्य तोकेर सबै सेयर खरिदका लागि आवेदन दिएको कम्पनी स्रोतको दाबी छ । बैंकले तोकेको मूल्यभन्दा नेशनल लाइफले प्रतिकित्ता ६.०८ रुपैयाँ बढीमा सेयर खरिदका लागि आवेदन दिएको हो । यस आधारमा बैंकले ३ अर्ब ३३ करोड १ लाख १९ हजार ६९९ रुपैयाँ बराबरको लगानी गर्नेछ ।   ‘हामी लगानी गर्न योग्य भएर नै आवेदन दिएका हौं । प्रमोटरको टेण्डर मागेको थियो । प्रमोटरकोतर्फबाट हामी इलिजेबल भयौं । हामी अलरेडी प्रमोटर छौं,’ कम्पनी स्रोतले भन्यो, ‘बीमा कम्पनीहरुले मुद्दती निक्षेपमा लगानी गर्ने हो । त्यहाँ एक/दुइै प्रतिशत मात्रै ब्याजदर छ । हिमालयन बैंक राम्रो बैंक हो । त्यसैले दीर्घकालका लागि लगानी गर्याैं,’ कम्पनी स्रोतले भन्यो ।  हाल बैंकमा नेशनल लाइफको १.२५ प्रतिशत अर्थात् २७ लाख ९ हजार ९४३ कित्ता सेयर स्वामित्व रहेको छ । जसमा ०.८८ प्रतिशत संस्थापक सेयर र ०.३७ प्रतिशत सर्वसाधारण सेयर स्वामित्व रहेको छ । यस्तै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बैंकको सेयर खरिदका लागि आवेदन दिएको छ । तर, कम्पनीले २ लाख ५५ हजार कित्ता सेयर खरिदका लागि मात्रै आवेदन दिएको स्रोतको भनाइ छ । यसअघि बैंकमा कम्पनीको ५ लाख ५० हजार कित्ता संस्थापक सेयर स्वामित्व रहेको छ । स्रोतका अनुसार प्रतिकित्ता ११६ रुपैयाँका दरले सेयर खरिदका लागि आवेदन दिएको हो ।  ‘पुरै सेयरका लागि आवेदन दिन हाम्रो बजेटले पुग्दैन । सबै सेयर किन्नका लागि ३ अर्ब बढी रकम आवश्यक पर्छ । कम्पनीको १७ अर्बको फण्ड छ । सेयरमा १० प्रतिशत लगानी गर्न पाउँछन् । सो आधारमा १ अर्ब ७० करोड मात्रै लगानी गर्न पाउने हो । १ अर्ब १५ करोड सेयरमा लगानी भइसकेको छ । हाम्रो सीमा धेरै नभएपछि थोरै लगानी गरेका हौं,’ कम्पनी स्रोतले भन्यो । यस कारण पछि हट्यो सञ्चय कोष हबिब बैंकको सेयर खरिदका लागि सबैभन्दा बलियो दाबेदार मानिएको कर्मचारी सञ्चय कोषले भने प्राविधिक कारणले निवेदन नदिएको जनाएको छ । हिमालयन बैंकमा कर्मचारी सञ्चय कोष हबिब पछिको दोस्रो ठूलो सेयरधनी हो । बैंकमा कोषको १२.६२ प्रतिशत सेयर लगानी रहेको छ । पाकिस्तानको हबिबले सेयर बिक्रीका लागि प्रक्रिया अघि बढाउँदा कर्मचारी सञ्चय कोषले खरिदका लागि चासो समेत देखाएको थियो । तर, विभिन्न २ वटा कारणले पछि हटेको कर्मचारी सञ्चय कोष स्रोतले बतायो । ‘हिमालयन बैंकको सेयर खरिदका लागि प्राविधिक समस्या आइपर्याे । राष्ट्र बैंक ऐनमा एउटा बैंक तथा वित्तीय संस्थाको सेयर एउटै कम्पनीले १५ प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने व्यवस्था छ । अहिले नै हिमालयन बैंकमा कोषको १२.६२ प्रतिशत सेयर स्वामित्व रहेको छ । त्यसैले लगानी गर्न नपाउने भयो,’ कोष स्रोतले भन्यो ।  राष्ट्र बैंकको व्यवस्थालाई प्रवाह नगरी १५ प्रतिशतभित्र रहने गरी आवेदन दिने तयारी कोषले गरेको थियो । तर, कर्मचारी सञ्चय कोष ऐन बाधक बन्यो । किनभने कोषको ऐनमा कुनै पनि संस्थामा लगानी गर्दा २५ प्रतिशतसम्म मात्रै लगानी गर्न पाउने व्यवस्था रहेको छ । हाल कोषको स्वामित्वमा रहेको सेयर र हबिब बैंकको स्वामित्वमा रहेको सेयर खरिद गर्दा कोषको स्वामित्व बैंकमा २५.५५ प्रतिशत हुन आउँछ । तर, कोषको ऐन बाधक बनेपछि लगानी गर्नबाट पछि हटेको उनको भनाइ छ ।  फेरि कोषले २५ प्रतिशत भित्र सीमा रहने गरी आवेदन दिने तयारी थालेको थियो । तर, हबिब बैंकले सेयर खण्डिकरण नगरी एउटै व्यक्ति वा संस्थालाई सेयर बिक्री गर्न सर्त राखेपछि कोषले आवेदन नै नदिएको स्रोतको भनाइ छ । ‘हबिब बैंकले सेयर ट्क्य्राएर बेच्दिन, एउटै व्यक्ति वा संस्थाले मात्रै सबै सेयर खरिद गर्नुपर्ने सर्त राख्यो । यसरी एउटै व्यक्तिले मात्रै सबै सेयर लिनुपर्छ भन्ने सर्त राख्नु जायज हो की होइन भने कोषले कानुनी राय समेत लियो । तर, उसको सम्पत्ति हो, उसले सर्त राखेर बेच्न पाउँछ भन्ने सुझाव आएपछि हामीले सेयरका लागि आवेदन दिन पाएनौं,’ स्रोतले भन्यो, ‘तैपनि हामीले कोषको सञ्चालक समितिमा प्रस्ताव लग्यौं तर बोर्डले रद्द गरिदियो ।’  यदि कुनै पनि व्यवस्थाले नरोकेको भए कोषले प्रतिकित्ता ११२.८० रुपैयाँ भन्दा बढी नहुने गरी आवेदन दिने तयारी गरेको थियो । तर, जुनसुकै विकल्प अपनाउँदा पनि बञ्चित हुने देखिएपछि कोष पछि हटेको उनको भनाइ छ ।   

नाइमा मोबिलिटी एक्स्पोमा अधिकांश पुरानै मोडेलका गाडी राखिँदै, यी हुन् सहभागी हुने नयाँ मोडेल

काठमाडौं । यस वर्ष सवारीप्रेमीहरूले दुईवटा अटो शो अवलोकन गर्न पाउने भएका छन् । अटो व्यवसायीहरूबीचको संस्थागत विभाजनपछि पहिलोपटक स्थापना भएको ‘नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन’ (नाइमा) ले आगामी साउन २१ देखि २५ गतेसम्म भृकुटीमण्डपमा ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्न लागेको छ भने नाडाले पनि भदौ ३ गतेदेखि ८ गतेसम्म नाडा अटो शो गर्न लागेको छ ।  नाइमाले अटो क्षेत्रलाई झल्कने गरी मोबिलिटी एक्स्पो गर्ने तयारी गरिरहेको छ भने नाडाले पनि नाइमाको मोबिलीटी एक्स्पोभन्दा केही फरक गर्ने रणनीतिका साथ योजना बनाइरहेको छ । यसअघि नाडा अटो शोमा सँगै काम गर्दै आएका अटो व्यवसायीहरुले यसपटक नाइमा खोलेर मोबिलिटी एक्सो पो गर्दैछन् । जसमा ५० भन्दा बढी ब्राण्डको सहभागिता हुनेछ ।  कुल ५० ब्राण्ड सहभागी हुने एक्स्पोमा ४८ स्टल रहने छन् । यसमध्ये चार पाङ्ग्रेका २१, दुई पाङ्ग्रेका १७ र व्यावसायिक सवारी साधन ब्राण्डका ७ वटा स्टल रहने छन् । एक्स्पोमा विद्युतीय सवारीसाधन (ईभी), हाइब्रिड र डिजेल/पेट्रोल सवारी साधन प्रदर्शनी हुने व्यवसायीले बताएका छन् । एक्स्पोमा सहभागी हुने मोडेल  बीवाईडी  बीवाईडी विश्व प्रसिद्ध ब्राण्ड हो । बीवाईडी १ करोड चार पाङ्ग्रे उत्पादन गाडी उत्पादन गर्ने पहिलो गाडी निर्माता कम्पनी बनिसकेको छ । नेपालमा पनि यसका विभिन्न मोडेलहरु उपलब्ध छन् ।  नेपालमा सन् २०१७ मा ई-६ मोडेलसहित भित्रिएको बीवाईडीले हाल डल्फिन, एट्टो-३ र सिल जस्ता मोडेलहरूले तहल्का मच्चाइरहेको छ । यी गाडीहरूमा अत्यधुनिक ब्लेड ब्याट्री प्रविधि, सुरक्षाको उच्च स्तर र उत्कृष्ट पफर्मेन्सको कारणले नेपाली ग्राहकहरूको रोजाइमा परिरहेका छन् ।  पर्याप्त प्रोडक्ट, नयाँ-नयाँ प्रविधिसहितका विभिन्न कार्यक्रम, सर्भिस सेन्टर लगायतले बीवाईडीलाई नेपाली अटो बजारको ईभीहरुको नेतृत्वकर्ता नै बनाइदिएको छ । उसो त बीवाईडीले ‘सामाजिक उत्तरदायित्व’ तर्फ गरेको लगानीको चर्चा हुने गरेको छ । सँगै, चार्जिङ स्टेशन तथा प्वाइन्टमा पनि बीवाईडीले राम्रो लगानी गरेको छ । बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले एक्स्पोमा विभिन्न आफ्ना मोडेलहरु प्रर्दशनमा राख्ने जनाएको छ । साइमेक्स इंकले नाइमा मोबिलिटी एक्स्पोमा नयाँ मोडल नयाँ प्रिमियम विद्युतीय एसयूभी ‘सिल लायन ७ सार्वजनिक गर्ने जनाएको छ ।  बीवाईडीका सेल्स हेड आशुतोष गौतमले ‘सिल लायन ७’ को सहभागिता निश्चित भएको बताए । उनका अनुसार यो नयाँ मोडेलका साथै कम्पनीका हाल बजारमा रहेका लोकप्रिय मोडलहरू एट्टो ३, डल्फिन, र ई६ पनि प्रदर्शनीमा राखिनेछन् ।  ‘नाइमामा हाम्रो नयाँ गाडी ‘सिल लायन ७’ प्रदर्शनमा रहनेछ । यो मोडेल नयाँ हो ।  यो बाहेक हाम्रा सबै पुराना र सफल मोडलहरू पनि अवलोकनका लागि उपलब्ध हुनेछन्,’ गौतमले भने । उनका अनुसार, ‘सिल लायन ७’ हाल नेपाल भित्र्याउने प्रक्रियामा रहेको छ र नाइमा एक्स्पोमार्फत पहिलो पटक नेपाली ग्राहकमाझ प्रस्तुत गरिनेछ ।  उनले हालसम्म ७ हजारभन्दा बढी गाडीहरू सडकमा गुडिरहेको जानकारी दिए । ग्राहकको सुविधालाई ध्यानमा राख्दै कम्पनीले देशभर आफ्नो सञ्जाल विस्तार गरेको उनको भनाइ छ । हाल देशभर २१ वटा सेल्स आउटलेट र ६० भन्दा बढी चार्जिङ स्टेशनहरू सञ्चालनमा रहेका छन् ।  सिट्रोन सिट्रोन सुन्दर कार निर्माणमा बहुचर्चित यूरोपियन ब्राण्ड हो । जुन सन् १९१९ मा फ्रान्सेली उद्योगपति आन्दे्र–गुस्तोभ सिट्रोनले स्थापना गरेका थिए । सन् १९७६ देखि सिट्रोन ग्रुप पिएसए को अभिन्न अंगको रुपमा रहेको छ । नेपालको लागि सिट्रोनको आधिकारीक वितरक साँग्रिला मोटर्स हो ।  सिट्रोन ब्राण्ड अन्तर्गत विभिन्न प्रकारका सवारी साधनहरु रहेका छन् । जसमध्ये कम्प्याक्ट ह्याचब्याक, एमयू–भी, मिनी-भ्यान र एसयू भी बहु चर्चित छन् । सिट्रोन ब्राण्ड पनि मोबिलिटी एक्स्पोमा सहभागी हुँदैछ ।  यस कम्पनीले मोबिलिटी एक्स्पोमा सिट्रोनका ‘सी३’, ‘ईसी३’ र ‘सी५ एयरक्रस’ मोडलहरू प्रर्दशनमा राख्नेछ । कम्पनीका मार्केटिङ म्यानेजर कुमुद नकर्मीका अनुसार एक्स्पोमा सिट्रोनको कुनै पनि नयाँ गाडी सार्वजनिक गरिने छैन । कम्पनीले भित्र्याउँदै गरेको अर्को ब्रान्ड ‘लिपमोटर’ को नयाँ गाडी ‘बी १०’ को सहभागिता मोबिलिटी एक्स्पो अघि नै आयात भएको खण्डमा प्रदर्शनमा राखिने जानकारी दिए । नभए पुरानै मोडेलहरु एक्स्पोमा राखिनेछ । उनका अनुसार चीनबाट आयात गरिनुपर्ने उक्त गाडी रसुवागढी नाका बन्द भएका कारण तातोपानी नाकाबाट ल्याउने प्रयास भइरहेको छ । तर, तातोपानी नाकामा पनि अत्यधिक चाप भएकाले भन्सार प्रक्रियामा ढिलाइ भएको नकर्मीको भनाई छ ।  ‘गाडी चीनबाट छुटिसकेको छ । तर, भन्सारमा समय लागेकाले एक्स्पोका लागि समयमै आइपुग्छ कि पुग्दैन भन्ने निश्चित छैन,’ उनले भने, ’यदि एक्स्पो सुरु हुनुभन्दा एक दिन अगाडिसम्म पनि गाडी आइपुगेमा हामी त्यसलाई प्रदर्शनीमा राख्नेछौँ ।’ ग्रेटवाल मोटर्स ग्रेटवाल मोटर्स बहुचर्चित चिनियाँ ब्राण्ड हो । पछिल्लो समयमा नेपालमा सबैभन्दा बढी गाडी चीनबाटै भित्रिने गरेका छन् । नेपालमा ग्रेटवाल मोटर्स गाडीको इतिहास पुरानो भएपनि अहिलेसम्म राम्रो ब्राण्डको रुपमा उसले आफुलाई स्थापित गर्दै लगेको छ ।  ग्रेटवाल मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता भिजिइम्पेक्स प्रालिका अनुसार मोबिलिटीमा ‘ट्यांक ५००’ बाहेक जीडब्लूएमका अन्य दुई पुराना मोडलहरू पनि प्रदर्शनीमा राखिनेछन् । जसमा ‘ओरा ०३ ईभी’ र ‘ह्याभल’ एसयूभी समावेश हुने छन् । यी तीनवटै गाडी एक्स्पो अवधिभर अवलोकन तथा बुकिङका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।  जीडब्लूएमले नेपालमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ । हालसम्म देशभर आफ्नो नेटवर्कमार्फत ३ सयभन्दा बढी गाडी बिक्री गरिसकेको छ भने हाल नेपालभर ५ वटा शोरुम सञ्चालनमा छन् । जसमा शोरुमहरू काठमाडौं, विराटनगर, बुटवल, चितवन र पोखरामा रहेका छन् ।  यस्तै, नेपालगञ्जमा पनि छिट्टै नयाँ शोरुम खोल्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । आफ्ना सबै नेटवर्क शोरुमहरूबाट चार्जिङ र सर्भिसिङको सुविधा पनि प्रदान गर्दै आएको कम्पनीले दाबी गरेको छ ।  ओमोडा ओमोडा चिनियाँ अटोमोबाइल कम्पनी ‘चेरी’ को अर्को ब्राण्ड हो । यसले उच्च गुणस्तरका कार खोज्ने उपभोक्ताहरूलाई लक्षित गरी फ्युचरिस्टिक गाडीहरू डिजाइन गरेको दाबी गरेको छ । अत्यधुनिक प्रविधिको प्रयोगसहित नयाँ डिजाइनहरूको विकास गर्नु ओमोडा ब्रान्डको डिएनएमै रहेको कम्पनीको भनाइ छ ।  ओमोडा, उपभोक्ताहरूको परिवर्तनशील आवश्यकतालाई पहिल्याउँदै नयाँ पुस्ताका लागि पहिलो रोजाइको ब्रान्ड बन्न पुगेको छ । ओमोडा, विश्वव्यापी रूपमा युवापुस्ताको जीवनलाई अझ राम्ररी बुझ्नको लागि उनीहरूसँग संवादमा संलग्न हुँदै आइरहेको छ भने ओमोडाले ‘ओ–युनिभर्स’ इकोसिस्टमको अवधारणा सिर्जना गरेको छ ।  जुन ब्रान्ड र प्रयोगकर्ताहरूबीच सम्पर्क गर्न अनुकुल बनाउने प्रविधि हो । नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स नेपालका लागि चेरी अटोमोबाइल कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता हो । सन् २०२१ मा सुरु भएको यस कम्पनीले चीनस्थित चेरीको प्लान्टबाट गाडी आयात गर्दै आएको छ । हाल कम्पनीको नेपालभर १२ वटा बिक्री केन्द्रहरू रहेका छन् ।  कम्पनीका अनुसार एक्स्पोमा ‘जेको’ ब्रान्डको ‘जे५’ र ‘चेरी’ ब्रान्डको ‘आइकार भी२३’ लाई पहिलो पटक प्रर्दशनीमा राखिनेछ । यी दुई मोडल एक्सपोका मुख्य आकर्षण बन्ने अपेक्षा कम्पनीले गरेको छ ।  यसका साथै शारदा ग्रुपले आफ्ना अन्य स्थापित मोडेलहरू पनि प्रदर्शनीमा राख्नेछ । जसमा ‘ओमोडा ई५’ र ‘जेको जे६’ समावेश छन्, जुन पहिले नै लन्च भइसकेका गाडी हुन् ।  त्यस्तै, ‘जिकर’ ब्रान्डको ‘एक्स’ मोडल पनि अवलोकनका गर्न सकिनेछ ।  यसैबीच, पायोनियर मोटो कर्पले वितरण गर्दै आएको निशानको ‘म्याग्नाइट’ पनि सोही एक्सपोमा प्रदर्शनीका लागि राखिनेछ । यद्यपि, ‘म्याग्नाइट’ शारदा ग्रुप अन्तर्गत नभई पायोनियर मोटो कर्पको छुट्टै प्रस्तुति रहने कम्पनीले जनाएको छ । एक्सपोमा निशानको एउटा मात्र मोडल ‘म्याग्नाइट’ सहभागी हुनेछ । हुन्डाई हुन्डाई गाडी कोरियन ब्राण्ड हो । अटोमोबाइल कम्पनी हुन्डाई मोटर्स ग्रुप विश्वको तेस्रो ठूलो मोटर कम्पनी हो । यो ब्राण्डले सन् २०२२ मा तेस्रो ठूलो अटोमोबाइल कम्पनी बन्दा जापानी, युरोपियन र अमेरिकन ब्राण्ड पछाडि परेका थिए । ५८ वर्ष अगाडि स्थापना भएको हुन्डाई मोटर्स ग्रुपले हुन्डाई, किया र जेनिसस ब्राण्डमा कार उत्पादन गर्दै आएको छ । विश्वभर कम मूल्यका फिचर लोडेड कार उत्पादनमा हुन्डाईले ख्याति कमाएको छ । हुन्डाईको विश्वभर १९३ देशमा ५ हजारभन्दा बढी डिलरसिप तथा शोरुम रहेको जनाइएको छ । यस ब्राण्डले पनि नाइमा एक्स्पोमा आफ्नो स्टल बुकिङ गरेको छ । नाइमा एक्स्पोमा यस ब्राण्डका सबै मोडलहरु देख्न सकिने नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी ग्रुपले जनाएको छ । कम्पनीका प्रबन्ध निर्देशक दीपक थपलियाले हाल बजारमा रहेका सबै रेगुलर मोडलहरूलाई नै प्रदर्शनीमा राख्ने तयारी गरेको बताए ।  उनका अनुसार, एक्स्पोमा हुन्डाईका क्रेटा ईभी, नेपालमै बनेको क्रेटा, भेन्यु, आयोनिक ५, ग्रान्ड आई१० नियोस र एक्स्टर जस्ता गाडीहरू प्रदर्शनीमा रहनेछन् ।   यद्यपि, लक्ष्मी ग्रुपले हुन्डाईबाहेक नयाँ ब्रान्ड ‘फोरथिङ’ को ‘साइनियर’ नामक गाडी भने एक्सपोमार्फत सार्वजनिक गर्ने जनाएको छ । यो मोडेल नयाँ हो ।  निर्देशक थपलियाले नाडा अटो शोमा नभई नाइमा एक्सपोमा सहभागी हुने जानकारी दिए ।  हुन्डाईले नेपालमा आफ्नो वितरक अधिकार लिएदेखि हालसम्म ४८ हजारभन्दा बढी गाडी बिक्री गरिसकेको छ भने नेपाली अटो बजारमा आफ्नो हक जमाउन सफल भएको छ ।  हाल देशभर हुन्डाईका १३ वटा शोरुम र ६६ वटा ‘रिल्याक्स’ नामका चार्जिङ स्टेसनहरू सञ्चालनमा छन् । यी चार्जिङ स्टेसनहरू एसी र डीसी दुवै प्रविधिका छन् भने केही स्थानमा वर्कशपको सुविधासमेत उपलब्ध रहेको थपलियाले बताए । उनका अनुसार, तत्काल विदेशबाट अन्य नयाँ मोडल ल्याउने कुनै योजना छैन ।  एमजी एमजी पनि चिनियाँ ब्राण्ड हो । अहिले बजारमा रहेका चर्चित ब्राण्डमध्ये एमजीलाई पनि लिने गरिन्छ । नेपाली बजारमा विद्युतीय गाडी (ईभी) को क्रेज बढ्दै गर्दा एमजीले पनि उल्लेखनीय प्रदर्शन गरिरहेको छ । एमजीले सन् २०१९ मा नेपालमा पहिलो पटक ईभी भित्र्याएको थियो । त्यही सययदेखि कम्पनीले एमजी-४ लगायत निकै लोकप्रिय बनेको जेड-एस ईभी नेपाली बजारमा ल्याइसकेको कम्पनीले जनाएको छ । हालसालै नेपाल भित्र्याइएको एस-५ मोडलले बजारमा छुट्टै तहल्का पिटिरहेको कम्पनीको दाबी छ ।  कम्पनीका अनुसार व्यापारिक दृष्टिकोणले हेर्दा एमजीका ईभीहरू नेपाली बजारमा दिगो रूपमा स्थापित (सस्टेन) भएका मोडलहरूमा पर्छन् । आफुसँग उत्पादन ब्याकअप पनि मजबुत रहेको कम्पनीको भनाइ छ । एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले एक्स्पोमा आफ्ना विभिन्न ब्राण्ड एमजी एस ५, एमजी कोमेट, एमजी विन्डसर तथा एमजी ४ प्रदर्शनमा राख्ने जनाएको छ । यसका साथै आइएम-सिक्स मोडल पनि राख्ने कम्पनीले जनाएको छ । यो एमजीको नयाँ मोडल हो ।  चार्जिङ संरचना विस्तारमा समेत एमजीले उल्लेखनीय लगानी गर्दै आएको छ । एमजीले देशभर एसी चार्जिङ स्टेसन १२ तथा डीसी चार्जिङ स्टेसन ११ गरी जम्मा २३ वटा रहेका छन् ।  महिन्द्रा नेपालमा उपलब्ध सवारी साधन ब्राण्डहरु मध्यको एक उत्कृष्ट ब्राण्ड हो महिन्द्रा । भारतीय ब्राण्ड महिन्द्राको उत्पादन विश्व बजारमा परिचित छ । जुन नेपाली बजारमा समेत निकै लोकप्रिय मानिन्छ । नेपालका लागि महेन्द्रा गाडीको आधिकारिक वितरक अग्नि इन्कर्पोरेट प्रालि हो । विशेष गरी महिन्द्राका गाडीहरू बोलेरो, स्कार्पियो तथा थार कडा सडक, पहाडी भूगोल र ग्रामीण क्षेत्रमा सजिलै चल्ने गरी निर्माण गरिएका छन् । नेपाली जस्तो विविध भौगोलिक चुनौतीहरू सामना गर्न यी मोडलहरू निकै उपयोगी छन् ।  यसका साथै महिन्द्राका पिकअप ट्रक, बोलेरो, स्कार्पियो जस्ता मोडलहरू सरकारी कार्यालयहरू, सुरक्षा निकायहरू, तथा ग्रामीण यातायात सेवा (जस्तै ट्याक्सी र यात्रुवाहक) का लागि व्यापक रूपमा प्रयोग हुँदै आएका छन् ।  महिन्द्राले पछिल्लो समयमा आफ्ना गाडीहरूको डिजाइन, प्रविधि र सुरक्षा सुविधाहरूमा सुधार गरिरहेको छ । एक्स यूभी ७००, स्कर्पियो-एन जस्ता नयाँ मोडलहरूमा प्रिमियम डिजाइन, एडभान्स फिचरहरू र अत्याधुनिक सुरक्षा प्रविधिहरू समावेश छन् ।  महिन्द्राले ई२०, ईभेरिटो जस्ता विद्युतीय गाडी (ईभी) हरू नेपाली बजारमा पहिले नै ल्याइसकेको छ । नेपालमा महिन्द्राले बोलेरो, स्कार्पियो, थार, एक्स यूभी ३००, एक्स यूभी ७०० लगायतका मोडलहरूमार्फत बलियो उपस्थिति कायम गरेको छ । विक्री सञ्जाल, सजिलो मर्मत सेवा र स्पेयर पाट्र्सको पहुँचले गर्दा महिन्द्रा सहरी र ग्रामीण दुवै क्षेत्रमा लोकप्रिय ब्राण्ड बनेको छ । नाइमा एक्स्पोमा महेन्द्रा ब्राण्डका विभिन्न गाडीहरु देख्न पाइने छ । कम्पनीका अनुसार नयाँ दुई इलेक्ट्रीक एसयूभी ल्याउने छ ।  कम्पनीले बीई-सिक्स र एक्सईभी-नाइन यी मोडल ल्याउने तयारी गरिरहेको छ । यी मोडेल नयाँ हुन् ।  अहिले नेपालका सबै किसिमका सडकमा यसको परीक्षण भइरहेको कम्पनीले जनाएको छ । यसबाहेक एक्स्पोमा पुराना मोडेलहरु पनि राखिनेछन् । अहिले महिन्द्राले एक्सयूभी-४०० ईभी मोडल बिक्री गरिरहेको छ ।  किया किया दक्षिण कोरियाली चर्चित ब्राण्ड हो । कियाका गाडीहरू विश्वभर गुणस्तरीय निर्माण, सुरक्षा र मजबुत इन्जिनका लागि परिचित रहेको कम्पनीको दाबी छ ।  कियाका मोडलहरू प्रायः आकर्षक डिजाइन र आधुनिक इन्टेरियरका साथ आउने गरेका छन् । नेपालका लागि कियाको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले नाइमा एक्सोमा कियाले पनि सहभागिता जनाउनेछ ।  कम्पनीका अनुसार नाइमा मोबिलिटी एक्स्पोमा कियाले पनि नयाँ एसयूभी ईभी–फाइभ देखाउने तयारी गरिरहेको छ । अहिले एक युनिट ईभी-फाइभ भन्सार बिन्दुमा आइपुगेको जनाएको छ । त्यसैलाई ल्याएर एक्स्पो मार्फत सार्वजनिक गर्ने योजनामा कन्टिनेन्टल ट्रेडिङ छ । यो  नयाँ मोडेल हो । प्रोटोन मलेशियाको चर्चित ब्राण्ड प्रोटोन हो । प्रोटोनको मुख्य बजार मलेशिया र बेलायत भए तापनि, हालसम्म कम्पनीले ७० भन्दा बढी मुलुकहरूमा आफ्नो उपस्थिति विस्तार गरिसकेको छ भने यो क्रम अझ बढ्दै गएको कम्पनीले जनाएको छ । यस कम्पनीका अनुसार  उत्तर अमेरिका, युरोप, चीन र दक्षिण–पूर्वी एसियामा गरी कम्पनीका ९ वटा अनुसन्धान केन्द्रहरू तथा ९ वटा डिजाइन केन्द्रहरू सञ्चालनमा छन् ।  प्रोटोनले आफ्नो अत्यधिक बिक्री भएको ब्राण्ड हो । जुन हाल नेपाली बजारमा देख्न सकिन्छ । उक्त गाडी नेपालका लागि शंकर ग्रुपको मातहतमा रहेको जगदम्बा मोटर्स प्रालिले बिक्री गरिरहेको छ । यसको मुख्य उत्पादन केन्द्र भने मलेशियाको तान्जुङ् मलिम सहरमा अवस्थित रहेको कम्पनीले जनाएको छ ।  कम्पनीले निर्माण गरेका प्रत्येक गाडीमा नवीनतम अन्तर्राष्ट्रिय प्रविधिको समावेश रहेको उल्लेख गरेको छ । ठूला अटो ब्राण्डहरूसँग प्रतिस्पर्धा गर्न प्रोटोनले प्रविधि अनुसन्धानमा अर्बौं रुपैयाँको लगानी गर्दै आएको जनाइएको छ ।  कम्पनीका अनुसार, प्रोटोनका गाडीहरूले सुरक्षित, आरामदायी र सुलभ यात्रा अनुभव प्रदान गर्ने उद्देश्य राखेका छन् ।  ३५ वर्षभन्दा बढीको अनुभवसहित उच्चस्तरीय गाडी उत्पादन गर्दै आएको प्रोटोनले हालसम्म २७ ओटा मोडल बजारमा ल्याइसकेको छ ।  यो ब्राण्डले पनि नाइमा एक्स्पोमा सहभागि हुनेछ । जगदम्बा मोटर्स प्रालिका अनुसार एक्स्पोमा ईमास ७ मोडेलका दुईवटा भेरियन्ट प्राइम र प्रिमियम सहभागि हुनेछन् । यसमा पाँच रङ्गहरू छन् । जसमा प्लाटिनम सिल्भर, टक्र्वोइज ग्रीन, स्लेट ग्रे, क्वाट्र्ज रोज र लिथियम ह्वाइट रहेका छन् । हालसम्म जगदम्बा मोटर्सले ४६ वटा गाडी बिक्री गरिसकेको छ ।  यसका साथै जर्मन ब्राण्ड फक्सवागेनले कम्प्याक्ट सेडान कार सेग्मेन्टमा भारतमा बनेको ‘भर्टुस’ मोडल नेपालका लागि आधिकारिक बिक्रेता पूजा इन्टरनेशनल प्रालिले एक्सपोमा भर्टुस सार्वजनिक गर्ने जनाएको छ ।  जर्मन ब्राण्ड फक्सवागेनले भारतमा उत्पादन गरेको भर्टुसमा १.० लिटर टीएसआई इन्जिन रहने छ । यसअघि टाइगुनमा दिएको उक्त इन्जिन टर्बो चार्ज्ड, थ्री सिलिण्डर हो । यो नयाँ मोडेल हो । फक्सवागनले आफ्नो नयाँ सेडान भर्टुसको अगाडिको डिजाइन निकै सार्प बनाएको कम्पनीको दाबी छ ।  टोयोटा टोयोटा जापानी ब्राण्ड हो । यस ब्राण्डलाई हाइब्रिड प्रविधिमा विश्वकै अग्रणी कम्पनीका रुपमा लिइन्छ । सन् १९९७ मा ल्याइएको टोयोटा प्रियस पहिलो व्यावसायिक हाइब्रिड कार हो । जसले ईभीको युग सुरु गरेको थियो ।  नेपालका लागि टोयोटा ब्राण्डको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स प्रालि हो । जसले नेपाली बजारमा छुट्टै पहिचान बनाउन सफल भएको छ । टोयोटा गाडीहरू कम बिग्रने, मर्मत खर्च न्यून हुने र लामो समयसम्म चल्ने गाडीका रूपमा परिचित छन् ।  त्यसैले एक पटक किनेपछि नहेर्नु पर्ने गाडी भन्ने छवि यस ब्राण्डले बनाएको कम्पनीको दाबी छ । नेपालमा टोयोटाले हाइलक्स, आरएभी४, फच्र्युनर, ल्याण्ड क्रुजर प्राडो जस्ता मोडलमार्फत राम्रो बजार जमाएको छ । हाइब्रिड गाडीप्रति बढ्दो आकर्षणसँगै टोयोटा अहिले फेरि चर्चामा छ ।  कम्पनीले नाइमा मोबिलिटी एक्स्पोमा टोयोटाका विभिन्न ब्राण्डहरु राख्नेछ । कम्पनीका अनुसार टोयोटाले नाइमा मोबिलिटी एक्स्पोमा पुरानै तीन मोडेल राख्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दुइटा मोडेलको यकिन भएको तर तेस्रो कुन मोडेल राख्ने भन्ने यकिन भएको छैन् । दुइटा मोडेलहरुमा ल्याण्ड क्रूजर र ल्याण्ड क्रूजर २५० ल्याउने बताएको छ ।  

इलावेन इकोनोमी

काठमाडौं । काठमाडौंका अविरल कार्की ३.५७ जिपीए ल्याएर एसईईमा पास भए । काठमाडौंको बागबजारमा रहेको सिद्धार्थ पब्लिक एकेडेमीबाट एसईई पास उनी अहिले नयाँ बानेश्वरमा रहेको नोवेल एकेडेमीमा व्यवस्थापन अन्तर्गत गत कम्प्युटर साइन्स पढ्न भर्ना समेत भइसकेका छन् । भर्ना शुल्क ५ हजार तिरेका अविरलले ड्रेसका लागि १० हजार तिर्नुपर्यो  । कलेजको ड्रेस कलेजले भनेकै ठाउँमा गएर मात्र सिलाउनुपर्छ । यसका लागि १० हजार खर्च भएको उनले बताए ।  उनको जीपीए पनि राम्रो र  साथीहरूको समूह जाँदा उनलाई कलेजले केही छुट दिएको उनले बताए  । उनका अनुसार अब उनलाई वर्षभरीको मासिक शुल्क ३५ हजार मात्र तिर्नुपर्ने छ । त्यस बाहेक कलेजलाई वार्षिक ५५/६० हजार रूपैयाँ बुझाउनु पर्ने उनी बताउँछन् । सिन्धुलीकी निकिता चावहिलको टेक्सास कलेजमा कक्षा ११ मा भर्ना भइन् । अघिल्लो साता आमाबुवासँग कलेजमा पुगेकी उनले कलेज हेरेपछि भर्ना भइन् । विज्ञान विषय लिएर अध्ययन गर्ने योजना बनाएकी उनीसँग शुल्कको विषयमा बुझ्दा छुट विभिन्न छुटपछि वार्षिक ६० हजार तिर्नुपर्ने उनका बुवाले बताए ।  उनले भने, ‘हाम्रो चिनजानका मान्छे पनि हुनुहुन्थ्यो छोरीले पनि राम्रै नम्बर ल्याएकी थिइन्, छुट पाएर ६० हजार शुल्कमा कुरा मिलेको छ, नभए कति धेरै पैसा लाग्छ ।’ कलेजलाई बुझाउने बाहेक भर्ना, स्कुल ड्रेस लगायत विभिन्न शिर्षकमा उत्तिकै खर्च हुन्छ । उनी कक्षा ११ मा छुट पाए पनि कम्तिमा एक लाख खर्च हुने बताउँछन् ।  काभ्रेका अंकित खनाल ज्ञानोदय माविमा कक्षा ११ मा विज्ञान विषय लिएर अध्ययन गर्ने योजनामा छन् । उनी कलंकीमा रहेको ज्ञानोदयले लिएको प्रवेश परीक्षामा नाम निकालेर भर्ना समेत भइसकेका छन् । भर्नाको लागि ६ हजार ५ सय रुपैयाँ तिर्नुपर्यो भने स्कुल ड्रेसको लागि ५ हजार ५ सय रुपैयाँ स्कुलमा बुझाइसके ।  ज्ञानोदयमा विज्ञान विषय लिएर अध्ययन गर्दा मासिक शुल्क १ हजार पाँच सय तिर्नुपर्छ । शुल्क मात्रै हेर्ने हो भने उनले एक वर्षमा अर्थात कक्षा ११ मा १८ हजार तिर्नुपर्छ ।  अंकितकी आमा जानुका कमै खर्च भने पनि छोरा पढाउँदा ३० देखि ४० हजार हाराहारीमा खर्च हुने बताउँछिन् ।  ‘सरकारी स्कुल राम्रो पनि छ, सस्तो पनि छ भनेर यही भर्ना गरियो,’ जानुका भन्छिन्, ‘मासिक शुल्क १५ सय भनेको छ, स्कुल त हो कहिले केही कहिले केही भनेर पैसा मागिरहन्छ, जति खर्च लागे पढाउनै पर्यो ।’ सामुदायिक विद्यालयमा कक्षा ११ मा पढ्न ४० देखि ५० हजारसम्म खर्च गर्नुपर्ने बाध्यता छ । पुतलीसडकमा रहेको पद्मोदय माविका प्रधानाध्यापक डा. शर्मीला पोख्रेल पद्मोदय माविमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीले ३५ देखि ४० हजारको हाराहारीमा खर्च लाग्ने गरेको सुनाउँछिन् ।  मासिक शुल्क महँगो छैन । तर, भर्ना, ड्रेस, किताब कापी लगातय सामग्री जोड्दा हाम्रो स्कुलमा विज्ञान विषय पढ्ने विद्यार्थीले ३५ देखि ४० सम्म खर्च गर्नैपर्छ,’ उन्ले भनिन् । उनी व्यवस्थापन विषय लिएर पढ्दा पनि सोही हाराहारीमा खर्च आउने बताउँछिन् ।  पद्मोदयमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीले सुरुमै भर्ना हुँदा ५ हजार तिर्नुपर्छ भने स्कुल ड्रेसका लागि ५ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ । विद्यालयले नेपाली अंग्रेजी र सामाजिक विषय उपलब्ध गराएपनि बाँकी विषय भने विद्यार्थीले किन्नुपर्ने हुन्छ ।  ‘सामुदायिक विद्यालय हो यति शुल्क पनि हामीले लिनु नपर्ने हो । तर, विद्यार्थीका लागि आवश्यक शिक्षक राख्नुपर्यो, कहिलेकाहीँ अन्य विभिन्न किसिमका खेलहरू पनि खेलाउनुपर्यो,’ उनी भन्छिन्, ‘विद्यार्थीबाट उठाएको शुल्क हामी व्यक्तिगत रुपमा खर्च गर्ने होइन, दरबन्दी अनुसार शिक्षक छैनन्, शिक्षक राख्नुपर्यो,  विद्यार्थीबाट लिइएको शुल्क उनीहरूकै क्षेत्रमा खर्च गर्नुपर्ने हुन्छ ।’ निजीमा लाखाैं शुल्क सामुदायिक विद्यालयमा ३० देखि ४५ हजार रुपैयाँसम्म खर्च गरे पनि निजी विद्यालयमा भने लाखौं रुपैयाँसम्म खर्च हुने गरेको छ । उपत्यका सबैभन्दा महँगा भनिका युलेन्स र रातो बंगलामा अध्ययन गर्ने विद्यार्थीले कक्षा ११ र १२ पुरा गर्न ६ लाखदेखि ७ लाख रुपैयाँसम्म खर्च गर्नुपर्ने हुन्छ । ललितपुरमा रहेको प्रसादी एकेडेमी, बागबजारमा रहेको काठमाडौं मोडेल कलेज, डिल्ली बजारमा रहेको ट्रिनिटी इन्टरनेश्नल निष्ट र युनाइटेड कलेजमा अध्ययन गर्ने विद्यार्थीले ५ लाखसम्म खर्च गर्नुपर्ने हुन्छ ।  सामुदायिक विद्यालयमा एउटा विद्यार्थीले कक्षा ११ मा भर्ना हुन औसत २० हजार रुपैयाँ खर्च गर्नु परेको छ भने निजी विद्यालयमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीले औसतमा ६० हजार खर्च गर्नु परेको छ ।  नेपाल मेगा कलेज, गोल्डेन गेट र अरनिको स्कुलमा  विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले तीन लाख ७५ हजारसम्म शुल्क तिर्नुपर्ने सम्बन्धित कलेजका अधिकारीहरुले बताएका छन् ।  चावहिलमा रहेको टेक्सास कलेजका प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठ टेक्सासमा पढ्ने विद्यार्थीले १ लाखदेखि डेढलाखसम्म खर्च गर्दा  कक्षा ११ र १२ को पढाइ पुरा गर्न सकिने बताउँछन् । व्यवस्थापन र विज्ञान विषयका लागि एक देखि डेढ लाख र मानवशास्त्र र कानुन विषयका लागि औसत एक लाख खर्च गर्दा पढाइ पुरा हुने उनी बताउँछन् ।  उनी भन्छन् ‘मैले भनेको कलेजको शुल्कको मात्र कुरा हो । तर, किताब कापी, ट्युसन लगायत अन्य विद्यार्थीको व्यक्तिगत शुल्क त्यो भन्दा बढी लाग्न सक्छ । अनामनगरमा रहेको मेगा कलेजमा व्यवस्थापन, विज्ञान र कानुन विषय पढाइ हुन्छ । त्यहाँ कक्षा ११ मा मात्रै भर्ना हुँदा विद्यार्थीले एक लाख १२ हजार मासिक शुल्क तिर्नुपर्छ । कक्षा ११ र १२ दुवै पूरा गर्न विद्यार्थीले करिब तीन लाख हाराहारीमा खर्च गर्नुपर्ने हुन्छ । बजारमा अर्बौं रकम माध्यामिक शिक्षा परीक्षा एसईई २०८१ मा नियमित परीक्षामा सहभागी ४ लाख ३८ हजार ८ सय ९६ परीक्षार्थी मध्ये ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात पास भए । अर्थात् २ लाख ७१ हजार २ सय ९२ विद्यार्थी कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई)पास भएका छन् ।  एक वा दुई विषयमा फेल भएका विद्यार्थीले फेरि परीक्षा दिँदा यो संख्या अझै बढ्छ ।  कुनै पनि विषय नलागेर पास भएका २ लाख ७१ हजार बढी विद्यार्थीको मात्र कुरा गर्ने हो भने अहिले उनीहरू कक्षा ११ मा भर्ना भइसकेका छन् । कतिपय विद्यार्थीले प्राविधिक विषय रोजेर ११ मा भर्ना गरेका छन् भने कतिपयले नन्प्राविधिक विषय रोजेका छन् ।  कक्षा ११ मा सामुदायिक विद्यालय र निजी विद्यालयमा भर्ना हुने विद्यार्थीको भर्ना शुल्कदेखि मासिक शुल्क फरक छ  । सामुदायिक विद्यालयमा एउटा विद्यार्थीले कक्षा ११ मा भर्ना हुन औसत २० हजार रुपैयाँ खर्च गर्नु परेको छ भने निजी विद्यालयमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीले औसतमा ६० हजार खर्च गर्नु परेको छ ।  सामुदायितक र निजी विद्यालयमा कक्षा ११ मा भर्ना गर्ने विद्यार्थीले भर्ना शुल्क, किताब–कापी, स्कुल ड्रेस लगायत सामग्रीमा सुरुमै औसत ४० हजार बढी खर्च हुने गरेको शिक्षकहरु बताउँछन् । अहिले एसईईमा पास भएका कुल २ लाख ७१ हजार २ सय ९२ विद्यार्थीले ११ मा भर्ना गर्नका लागि सुरुमै औसत ४० हजार रुपैयाँ खर्च गर्दा करिब ११ अर्ब रुपैयाँ बजारमा जान्छ ।  यो न्यूनतम रकम हो । निजी विद्यालयमा पढ्ने विद्यार्थीले सुरुमै २ लाख बढी रुपैयाँ विद्यालयलाई तिर्नुपर्ने अवस्था पनि छ भने केही विद्यार्थी प्राविधिक क्षेत्र रोज्ने भएकोले पनि त्यहाँ पनि लाखौं रकम खर्च गर्नुपर्ने बाध्यता छ । तर, औसतमै हिसाब गर्ने हो भने एसईईमा पास भएका विद्यार्थीले सुरुमै बजारमा ठूलो रकम पठाउँछन् ।  एउटा सामान्य सामुदायिक विद्यालयमा भर्ना शुल्क न्यूनतम १० हजार, ड्रेस १० हजार, किताब–कापी लगायत स्टेसनरी खर्च १० हजार र मासिक शुल्क १० हजारमात्र छुट्याउने हो भने पनि एक जना विद्यार्थीले औसतमा ४० हजार रुपैयाँ खर्च हुन्छ ।