अन्तरिक्ष युद्धमा रूस ‘सबैभन्दा ठूलो विजेता’ बन्न सक्ने

काठमाडौं । अमेरिकाले पृथ्वीको कक्षमा एउटा अन्तरिक्ष हतियार तैनाथ गरेको घोषणा गरेपछि अन्तरिक्षमा बढ्दो सैन्य गतिविधिबारे चर्चा हुन थालेको छ ।

अमेरिकाले तैनाथ गरेको भनिएको उक्त हतियारबारे भने धेरै जानकारी सार्वजनिक भएको छैन । अमेरिकी वायुसेनाका सचिव ट्रोय मिंकले कक्षमा रहेको उक्त हतियार शत्रुका गतिविधिबाट अमेरिकी सेनाको सुरक्षा गर्न आवश्यक रहेको बताएका छन् । तर उनले यो हतियारले के गर्न सक्छ र कहिले अन्तरिक्षमा तैनाथ गरिएको हो भन्नेबारे भने खुलाएका छैनन् ।

त्यसो भए अमेरिकाले कस्तो हतियार तैनाथ गरेको हुन सक्छ ? अन्तरिक्षमा अहिले सैन्य गतिविधिको अवस्था कस्तो छ ? र अमेरिका बाहेक कुन–कुन देशसँग यस्ता हतियार छन् ? यिनै विषयमा आधारित भई यो लेख तयार पारिएको छ । 

अन्तरिक्षमा बढ्दै सैन्य गतिविधि

अन्तरिक्ष युग सुरु भएदेखि नै त्यहाँ सैन्य गतिविधि हुँदै आएको छ । सन् १९६० को दशकको अन्त्यतिर तत्कालीन सोभियत संघले अन्तरिक्षमा हतियार तैनाथ गरेको थियो । 

सोभियत संघले ‘इस्त्रेबितेल स्पुतनिकोभ’ अर्थात् आईएस कार्यक्रम सञ्चालन गरेको थियो । यसको अर्थ ‘उपग्रह नष्ट गर्ने भन्ने हुन्छ । यस कार्यक्रमअन्तर्गत त्यस्ता उपग्रह बनाइएका थिए, जुन अर्को उपग्रहको कक्षमा पुगेर विस्फोट हुन सक्थे । 

सामान्यतया यस्ता हतियारको निशाना अमेरिकी उपग्रह हुने गर्थे । विस्फोटपछि निस्कने धातुका टुक्राले अर्को उपग्रहलाई क्षति पुर्याउन सक्थे । आज आधुनिक सेनाहरूले विभिन्न कामका लागि अन्तरिक्षमा उपग्रह तैनाथ गर्छन् । यस्ता उपग्रह जासुसी, सुरक्षित सञ्चार र क्षेप्यास्त्र प्रहार भएको पत्ता लगाउन प्रयोग हुन्छन् ।

उपग्रहले कुनै सैन्य वा अन्य लक्ष्यको सटीक स्थान पहिचान गर्न पनि सहयोग गर्छन्, जसका आधारमा त्यसलाई निशाना बनाउन सकिन्छ । युद्धमा प्रविधिको प्रयोग बढ्दै जाँदा अन्तरिक्षमा सैन्य उपकरणको प्रयोग पनि बढ्ने विज्ञहरूको अनुमान छ ।

अमेरिकाले कुन हतियार तैनाथ गरेको छ ?

डा. ब्लेडिन बोवेन रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युट (आरयूएसआई) मा सैन्य विज्ञान विभागका एसोसिएट फेलो हुन् । उनी डरहम विश्वविद्यालयमा अन्तरिक्ष राजनीतिका एसोसिएट प्रोफेसर पनि हुन् ।

उनका अनुसार अमेरिकाले घोषणा गरेको हतियारबारे अहिले अनुमान मात्र गर्न सकिन्छ । उनले बीबीसी रेडियो–४ को ‘टुडे’ कार्यक्रममा भनेका छन्, ‘मलाई लाग्छ, यो इलेक्ट्रोनिक युद्धसँग सम्बन्धित प्रणाली वा रेडियो सिग्नल जाम गर्ने उपकरण हुन सक्छ ।’

यो त्यस्तो एन्टी–स्याटेलाइट हतियार पनि हुन सक्ने उनको भनाइ छ, जसले उपग्रहलाई पूर्ण रूपमा नष्ट नगरी काम नलाग्ने बनाउन सक्छ । यस्ता हतियार यसअघि नै पृथ्वीमा रहेको उनले बताए । तिनले उपग्रहबीचको सम्पर्क र सञ्चार रोक्न सक्छन् । ‘यदि तपाईंले रेडियो सम्पर्क काटिदिनुभयो भने तपाईंको उपग्रह लगभग बेकार हुन्छ,’ बोवेनले भने ।

तर योभन्दा खतरनाक र ठूलो क्षति पुर्याउन सक्ने हतियार पनि हुन सक्ने सम्भावनालाई उनले अस्वीकार गरेका छैनन् । यस्तो हतियारले अन्तरिक्षमा ठूलो मात्रामा फोहोर र विनाश निम्त्याउन सक्छ ।

तर अर्को उपग्रहमा ठोक्किएर त्यसलाई नष्ट गर्ने खालको यान हुने सम्भावना भने कम रहेको उनको भनाइ छ ।

त्यस्तो यानले अर्को उपग्रहसँग ठोक्किने वस्तु छोडेर त्यसलाई नष्ट गर्न सक्छ । अर्को सम्भावना भनेको अर्को उपग्रहको नजिक गएर त्यसको जाँच गर्ने वा त्यसलाई नियन्त्रणमा लिने उपग्रह पनि हुन सक्ने हो ।

के रूस र चीनसँग पनि यस्ता हतियार छन् ?

रूस र चीनजस्ता अमेरिकी प्रतिद्वन्द्वी देशले पनि यस्ता हतियार अन्तरिक्षमा तैनाथ गरेका छन् वा छैनन् भन्ने यकिन गर्न कठिन छ । जुलियाना जूस यसअघि आरयूएसआईमा रिसर्च फेलो थिइन् । अहिले उनी जर्मन इन्स्टिच्युट फर इन्टरनेसनल एन्ड सेक्युरिटी अफेयर्समा अनुसन्धानकर्ता छिन् ।

उनले बीबीसीसँग चीन र रूस दुवैले यस्ता गतिविधि गरेको बताइन् ।

‘रूसको मामिलामा हामीले एउटै कक्षमा एन्टी–स्याटेलाइट हतियार परीक्षण गरेजस्तो देखिने गतिविधि देखेका छौं,’ उनले भनिन् । यसको अर्थ रूसले अन्तरिक्षमा कुनै हतियार वा प्रोजेक्टाइल परीक्षणका लागि पठाएको हुन सक्ने उनको भनाइ छ ।

यसबाहेक पनि यस्ता गतिविधि भएका छन् । तर अमेरिकी हतियारबारे पर्याप्त जानकारी नभएकाले तिनको आपसमा तुलना गर्न कठिन रहेको उनले बताइन् ।

अमेरिकाले अन्तरिक्षमा तैनाथ गरेको हतियार परम्परागत हतियारभन्दा फरक हुन सक्छ । तर अमेरिका, रूस र चीनसँग लामो समयदेखि पृथ्वीबाट अन्तरिक्षमा रहेका लक्ष्यतर्फ प्रहार गर्न सकिने हतियार छन् ।

चीनले अमेरिकी घोषणाको विरोध गर्दै अन्तरिक्षमा हतियारको होड रोक्नुपर्ने बताएको छ । तर बोवेनले चीनको यस्तो भनाइको आलोचना गरेका छन् । उनले यसलाई ‘एक चोरले अर्कोलाई चोर भनेजस्तै’ भएको टिप्पणी गरेका छन् ।

उनका अनुसार अमेरिका, रूस, चीन र भारतले विभिन्न प्रकारका एन्टी–स्याटेलाइट तथा अन्तरिक्षविरोधी हतियार विकास गरेका छन् । ‘रूस र चीनले अन्तरिक्षमा यस्ता धेरै प्रविधि प्रयोग गरेका छन्, जसलाई हतियारका रूपमा प्रयोग गर्ने सम्भावना छ,’ उनले भने ।

उपग्रहको पछिपछि लाग्ने प्रविधि

पछिल्लो १० वर्षमा रूस र चीनले अन्तरिक्षमा ठूलो संख्यामा ‘रेन्डेभु एन्ड प्रोक्सिमिटी अपरेसन’ (आरपीओ) गर्दै आएका छन् । यसमा एउटा उपग्रह अर्को उपग्रहको नजिक पुगेर त्यसको वरिपरि गतिविधि गर्छ ।

रूस र चीनका उपग्रहहरू पश्चिमी देशका उपग्रहको नजिक पुगेर तिनलाई ‘पछ्याएको’ समेत देखिएको छ ।

लन्डनको किङ्स कलेजका रूसको सुरक्षा तथा रक्षा मामिलाका लेक्चरर डाक्टर रड थर्नटनका अनुसार सैद्धान्तिक रूपमा आरपीओ प्रविधिलाई अर्को उपग्रहको ‘शिकार’ गरी नष्ट गर्ने उपग्रहमा परिणत गर्न सकिन्छ ।त्यस्ता उपग्रह अर्को उपग्रहसँग सिधै ठोक्किन वा त्यसलाई धकेलेर कक्षबाट बाहिर निकाल्न सक्छन् ।

बोवेनका अनुसार चीनले ‘स्पेस टग’ अर्थात् अन्तरिक्षमा रहेको उपग्रहलाई तानेर अर्को स्थानमा लैजान सक्ने क्षमता पनि प्रदर्शन गरेको छ । एउटा यान अर्को उपग्रहको नजिक गएर त्यसलाई नियन्त्रणमा लिई अर्को कक्षमा लैजान सक्ने उनले बताए ।

यो प्रविधि उपयोगी कामका लागि पनि प्रयोग गर्न सकिन्छ । उदाहरणका लागि अन्तरिक्षको फोहोर हटाउन वा काम गरिरहेका उपग्रहलाई स्थानान्तरण गर्न सकिन्छ । तर केही अन्तरिक्ष हतियारले ठूलो मात्रामा फोहोरसमेत उत्पादन गर्न सक्छन् ।

किङ्स कलेजका अन्तरिक्ष सुरक्षा तथा हतियार विशेषज्ञ डाक्टर मार्क हिलबोर्नका अनुसार सन् २००७ मा चीनले पृथ्वीबाटै अन्तरिक्षमा रहेको एउटा उपग्रहलाई निशाना बनाएर क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

यस्तो परीक्षणबाट उत्पन्न ठूलो मात्राको फोहोर लामो समयसम्म पृथ्वीको कक्षमा घुमिरहन्छ । जूसका अनुसार चीनको उक्त परीक्षणबाट उत्पन्न फोहोर अझै कक्षमा रहेको र खतरनाक अवस्थामा छ ।

‘क्षति पुर्याउन धातुको ठूलो टुक्रा नै हुनुपर्छ भन्ने छैन,’ उनले भनिन् ।

पृथ्वीको कक्षमा वस्तुहरू अत्यन्त तीव्र गतिमा घुम्ने भएकाले प्लास्टिकको सानो टुक्राले समेत ठूलो क्षति पुर्याउन सक्ने उनको भनाइ छ ।

परमाणु हतियारको खतरा

थर्नटनका अनुसार रूससँग अन्तरिक्ष हतियार र उपग्रहको संख्या कम भए पनि उसको क्षेप्यास्त्र क्षमताले यो कमी केही हदसम्म पूरा गर्छ । रूससँग पृथ्वीबाट प्रहार गर्न सकिने त्यस्ता क्षेप्यास्त्र छन्, जसले पृथ्वीको तल्लो कक्षमा रहेका उपग्रहलाई निशाना बनाउन सक्छन् । 

रूससँग एएसएटी अर्थात् एन्टी–स्याटेलाइट क्षेप्यास्त्रसमेत छन्, जसलाई विमानमार्फत धेरै उचाइमा लगेर प्रहार गर्न सकिन्छ । थर्नटनका अनुसार रूसको बुझाइमा नेटोसँग उसका भन्दा धेरै र अझ उन्नत उपग्रह छन् । त्यसैले युद्धको मैदानमा केही हदसम्म बराबरी कायम गर्न रूसले एन्टी–स्याटेलाइट हतियारमा ठूलो लगानी गरेको उनको भनाइ छ ।

थर्नटनले अर्को गम्भीर चिन्तासमेत व्यक्त गरेका छन् । उनका अनुसार अन्तिम विकल्पका रूपमा रूसले अन्तरिक्षमा परमाणु हतियारसमेत प्रयोग गर्न सक्छ । त्यसबाट उत्पन्न हुने ईएमपी अर्थात् परमाणु विद्युत–चुम्बकीय विस्फोटले ठूलो क्षेत्रमा रहेका र यस्तो आक्रमणबाट सुरक्षित नगरिएका उपग्रहलाई नष्ट गर्न सक्छ ।

अन्तरिक्षमा परमाणु हतियार प्रयोग हुने सम्भावना कति छ ?

विज्ञहरूका अनुसार यस्तो अवस्था पृथ्वीमा समेत युद्ध भइरहेको अवस्थामा मात्र बढी सम्भावित हुन्छ । बोवेनका अनुसार अन्तरिक्षमा हुने घटना पृथ्वीमा भइरहेको युद्धबाट अलग हुने छैन ‘केही पनि नहुन सक्छ । केही हुन पनि सक्छ,’ उनले भने ।

अमेरिकाले अहिले किन घोषणा गर्यो ?

अन्तरिक्षमा प्रयोग हुने हतियार लामो समयदेखि अस्तित्वमा छन् । त्यसो भए अमेरिकाले अहिले आएर आफ्नो हतियारबारे घोषणा किन गर्यो ?

विज्ञहरूको बुझाइमा यो कुनै ठूलो नयाँ प्राविधिक उपलब्धि होइन । बरु यो राजनीतिक सन्देश हुन सक्छ ।

बोवेनका अनुसार यो चीनको बढ्दो अन्तरिक्ष क्षमताको जवाफ पनि हुन सक्छ । उनले चीनले पछिल्लो ३० वर्षमा आफ्नो सेनालाई आधुनिक बनाएको बताए ।

चीनले अन्तरिक्षमा ठूलो संख्यामा सैन्य उपग्रह तैनाथ गरेको छ । यसले अमेरिकी सेनाले निशाना बनाउन सक्ने लक्ष्यको संख्या बढाएको छ । त्यसैले अमेरिकासँग अन्तरिक्ष हतियार विकास र तैनाथ गर्ने थप कारण बनेको उनको भनाइ छ ।

अमेरिकाजस्तै चीन पनि अन्तरिक्षमा निर्भर छ । त्यसैले चीनलाई पनि अन्तरिक्षमा रहेका उसका साधनमार्फत निशाना बनाएर क्षति पुर्याउन सकिन्छ ।

अन्तरिक्ष युद्धमा रूसलाई किन फाइदा हुन सक्छ ?

विज्ञहरूका अनुसार यसले अन्तरिक्ष युद्धमा एउटा असन्तुलित अवस्था सिर्जना गरेको छ । चीन र अमेरिकाको तुलनामा रूससँग निकै कम उपग्रह छन् ।

यही कारण थर्नटनको मान्यता छ कि अन्तरिक्ष युद्ध भएमा रूस ‘सबैभन्दा ठूलो विजेता’ बन्न सक्छ । रूससँग गुमाउनुपर्ने उपग्रह कम हुनेछन्, जबकि उसले अमेरिका र चीनजस्ता देशका उपग्रहलाई निशाना बनाउन सक्छ ।

यसमा अन्तरिक्षतर्फ प्रहार गर्न सकिने क्षेप्यास्त्रदेखि अर्को उपग्रहको नजिक पुगेर त्यसलाई कक्षबाट हटाउने वा नष्ट गर्ने उपग्रहसम्म प्रयोग हुन सक्ने उनको भनाइ छ । त्यस्तै, पृथ्वीमा जडान गरिएका लेजर हतियार पनि अन्तरिक्ष युद्धको हिस्सा बन्न सक्छन् । (बीबीसीबाट अनुदित तथा सम्पादित)

पठनीय सामग्रीहरू :

खतरा मेसिनमा कि मानिसमा ?

के एआई मानव जातिका लागि खतरा हो ?

रुसको चुनावमा पुटिनको परीक्षा, युद्धसँगै चर्किँदै रुसी अर्थतन्त्रको संकट

आणविक हतियारको होड तीव्र, थप जोखिम बढ्दै

Share News