युवा अवस्थामा किन बढ्दैछ डायबिटिज ?

काठमाडौं ।  केही वर्षदेखि डायबिटिज (मधुमेह) तीव्र गतिमा बढिरहेको रोगहरूमध्ये एउटा रोग हो । अहिलेको तथ्याङ्क हेर्दा संसारभरमा लगभग ६० करोड मानिसहरूलाई डायबिटिज भइसकेको छ । अब आउने केही वर्षहरूमा (सन् २०५० मा) ८० करोड नाघ्ने प्रक्षेपण गरिएको छ ।  हरेक नौ जना व्यक्तिमध्ये एक जनामा डायबिटिज भएको तथ्याङ्कले देखाउँछ । विगत केही समयदेखि यो ग्लोबल प्याण्डामिकका रूपमा बढिरहेको छ । डायबिटिजको क्यापिटल (राजधानी) चीन र भारत हो । विश्वमा सबैभन्दा धेरै जनसङ्ख्या भएका देश पनि यिनै दुई वटा हुन् । नेपालको अवस्थामा जनसङ्ख्याको ८ देखि १० प्रतिशतमा डायबिटिज रहेको बताइएको छ । मधुमेहका सम्बन्धमा  डा. प्रिया दर्शिनी योञ्जनसँग गरिएको कुराकानीको सम्पादित अंश: मुख्य कारण जीवनशैली हाम्रो अहिलेको जीवनशैली पहिलेको भन्दा धेरै नै फरक छ । पहिला संसारभर नै जति एक्टिभ खालको जीवनशैली हुन्थ्यो, मान्छेहरू धेरै हिँड्थे, अहिले त्यस्तो खालको वातावरण छैन । शहरतिरको अलिक छिटो लाइफस्टायल हुन्छ । बाहिरतिर खाने, स्ट्रेसफुल कामको इन्भाइरोमेन्टका कारणहरूले गर्दा मोटोपनाको मात्र पनि मानिसहरूमा बढिरहेको हुनाले डायबिटिजको सङ्ख्या बढिरहेको हो । त्यो सँगसँगै मानिसहरू अलिक सचेत भएर परीक्षण गर्ने टाइमिङ पनि अलिक छिटो—छिटो भएको हुनाले यसले बढिरहेको देखाएको हो । तर मुख्यकुरा जीवनशैलीकै कारण अहिले मधुमेह बढिरहेको हो । अर्को के कुरा याद गर्नुपर्छ भने मधुमेह भएको व्यक्तिमा जुन खालको लक्षणहरू हुन्छ, जस्तो कि तिर्खा लाग्ने, पिसाव लाग्ने, घाउ निको नहुने, तौल घट्दै जाने, प्रायमा यी लक्षण हुँदैनन् । त्यसकारण लक्षण नभइकन त कसैले ब्लड टेस्ट गर्दैन । तर पनि कुनै समस्या नभइकन पनि ब्लड टेस्ट गर्दा हामीले धेरैमा डायबिटिज देखेका छौँ । मधुमेह र थाइराइडको सम्बन्ध मधुमेह र थाइराइड भनेको एन्डोक्राइन प्राक्टिस अर्थात् हर्मोन सम्बन्धी विशेषज्ञ भएको हुनाले यी दुईवटा रोगहरू सबैभन्दा कमन हर्मोनल कन्डिसन हो । त्यहाँबाट शुरु गरौँ । डायबिटिज नभएको व्यक्ति र डायबिटिज भएको व्यक्तिलाई तुलना गरेर हेर्दा थाइराइडको समस्या डायबिटिज भएका व्यक्तिहरूमा बढी मात्रामा भेटाइन्छ । विशेष गरेर टाइपान डायबिटिज अर्थात प्रकार १ डायबिटिज भन्छौँ । जुन बच्चादेखि नै अर्थात सुरुदेखि नै इन्सुलिनको अभाव भएको रोग हो । यो रोगमा थाइराइडको समस्या अझै बढी लगभग ३० प्रतिशतमा नै भेटाउँछौँ । मधुमेह कसलाई हुनसक्छ ? मधुमेह त जसलाई पनि हुनसक्ने रोग हो । तर मधुमेह हुनुमा धेरै कुराको रिस्क फ्याक्टर हुन्छ । जस्तो मैले मोटोपनको कुरा गरेँ । सेटेन्टरी लाइफस्टाइल अर्थात् अलिक एक्टिभ नहुने, एउटै ठाउँमा लामो समय बस्ने, फिजिकल एक्टिभिटी नभएको, शारीरिक व्यायाम नहुने, अथवा वंशाणुगत छ भने ती रिस्क फ्क्टरहरूले भविष्यमा डायबिटिज हुने रिस्क बढाउँछ । तर हामीले भन्छौँ नि मोटो मान्छेमा नै डायबिटिज देखिने हो, त्यस्तो होइन । हामीले नेपालको जनसंख्यामा हेर्दा वा भारतमा पनि के भेटिरहेका छौँ भने डायबिटिजको समस्या पश्चिमा अर्थात युरोप अमेरिकाको तुलनामा अलिक छिटो अथवा १० वर्षअघि नै देखिने गरेको छ । मोटोपन नभएको मान्छे जस्तै शारीरिक रूपमा मान्छे दुब्लो छ, तर सेन्ट्रल ओबिसिटी अर्थात पेटमा बोसोको मात्रा बढी हुने त्यस्तो व्यक्तिहरूमा पनि हामीले डायबिटिज भेट्टाइरहेका छौँ । भनेपछि मोटोपना नै हुनुपर्छ भन्ने छैन । परीक्षण कसले गर्ने, कसरी गर्ने ? मधुमेह हामी सामान्यतया ब्लड टेस्टबाट हेर्छौँ । परीक्षणका क्रममा हामीले कि खाली पेटमा सुगर हेर्छौँ कि त खाना खाएको दुई घण्टापछि हेर्छौँ । अर्को तीन महिनाको सुगर हेर्ने जाँच हुन्छ । जसलाई हामी एचपीए वायोप्सी भन्छौँ । यी तीन वटा जाँचमा जुनै जाँच गर्दा पनि डायबिटिज छ कि छैन भनेर हामीलाई थाह हुन्छ । अहिलेको गाइडलाइन अर्थात् अमेरिकन डायबिटिज एसोसिएसनले के भन्छ भने तीव्र गतिमा बढेको रोग भएको हुनाले ३० वर्ष नाघेको, जसमा कुनै पनि रिस्क फ्याक्टर छैन भनेपनि सबैले ब्लड टेस्टमा सुगरको जाँच गर्नुपर्छ । र नर्मल आयो भने हरेक तीन–तीन वर्षमा गर्दा राम्रो हुन्छ । यो बाहेक तपाईँमा डायबिटिज हुने रिस्क फ्याक्टर छ, जुन अघि मैले कुरा गरिसकेँ । तपाईंको परिवारमा छ, मोटोपना छ, लाइफस्टाइल त्यति एक्टिभ छैन भने उहाँहरूले पनि गर्नुपर्छ । त्यो सँगसँगै जसमा कहिले कहीँ हर्मोनहरू गडबड हुने कन्डिसन छ, जस्तो महिलाहरूमा महिनावारी गडबड हुने, टाइममा नहुने । यस्तो कन्डिसनमा जसलाई हामीले ‘पुलिसेस्टिक ओन्ड्रिक सिस्टम’ भन्छौँ । अथवा पहिले गर्भवती भएको बेलामा सुगर देखिएको छ, जसलाई हामी ‘जेस्टिसन डायबिटिज’ भन्छौँ । यस्तो समस्या देखिएको छ भने पनि यस्ता व्यक्तिहरूले एक–एक वर्षको फरकमा आफ्नो ब्लडसुगर चेक गर्नुपर्ने हुन्छ । थाइराइड पनि डायबिटिजको जस्तै ब्लड टेस्टबाट थाह हुन्छ, लक्षणहरूबाट थाहा हुँदैन । थाइराइडको टेस्टलाई हामी ‘थाइरोइड फङ्सन टेस्ट’ भन्छौँ । जुन सिम्पल ब्लड टेस्ट हो । यो जता पनि हुने जाँच हो । त्यसकारण टीएफटी अर्थात् ‘थाइरोइड फङ्सन टेस्ट’ बाट हामीलाई थाहा हुन्छ । थाइराइड कसले टेस्ट गर्ने ? अघि कुरा गरेजस्तै जस्तो टाइप वान डायबिटिज छ भने यस्तो व्यक्तिहरूले टेस्ट गर्नुपर्‍यो । महिलाहरूमा प्रेगनेन्सी अगाडि चेक गर्नुपर्‍यो । जुन महिलाहरूको बाँझोपनको समस्या छ, महिनावारी गठबडीको समस्या छ, यस्तो महिलाहरूले चेक गर्नुपर्‍यो । र फेम्लीमा कसैलाई थाइराइडको समस्या छ भने उहाँहरूले चेक गर्नुपर्‍यो । सँगसँगै लक्षणहरू छ भनेपनि उहाँहरूले पनि चेक गर्नुपर्‍यो । मधुमेहका प्रकार मधुमेहका पनि धेरै प्रकार हुन्छ । त्यसमध्ये प्रकार १ र २ का बारेमा कुराकानी गर्छु । हामीले ९० प्रतिशतभन्दा धेरै जुन प्राक्टिसमा भेट्टाउँछौँ त्यो प्रकार २ मधुमेह हो । प्रकार २ अथवा टाइप टु डायबिटिज उमेर बढ्दै गएपछि यो प्रकारको मधुमेह लाग्ने सम्भावना बढी हुन्छ । ४० वर्ष नाघेपछि टाइप २ डायबिटिजको रिस्क बढ्दै जान्छ । तर प्रकार २ मधुमेह बच्चादेखि वृद्धसम्म जसलाई पनि लाग्न सक्ने रोग हो । दोस्रो भनेको टाइप १ डायबिटिज । प्रकार १ मधुमेह प्रायजसो बच्चाहरूमा देखिने रोग हो । तर, यो पनि उमेर कटिसकेकाहरूमा पनि देखिन सक्छ । तर, बच्चाहरूमा नै बढी देखिन्छ । युवा अवस्थामा किन बढ्दैछ डायबिटिज ? ‘युथ अनसेट डायबिटिज’ अथवा अलि कम उमेरमै ४०/३५ वर्षभन्दा कम उमेरमै देखिने डायबिटिज पनि विगत केही वर्षहरूमा बढेको देखिएको छ । पहिले हामीले के सोच्थ्यौँ भने डायबिटिज उमेर बढेपछि हुने रोग हो, यो एकदम गलत हो । अहिले जसरी जीवनशैली परिवर्तन भएको छ, खानपान पहिले जस्तो छैन, जुन प्रकारको स्टेस छ, यी कारणहरूले गर्दा कम उमेरमा अथवा ३५ वर्ष नपुग्दै वा ३० वर्ष मुनिकालाई पनि डायबिटिज देखिराखेको छ । ५० वर्ष अगाडिसम्म पनि हामीले यस्तो देखेका थिएनौँ । तर १५/२० वर्षयता किशोरावस्थामा वा युवाअवस्थामा देखिने डायबिटिज हामीले लगभग दोब्बर पाएका छौँ । अहिले जुन प्रकारको जीवनशैली छ, खानेकुराको स्वरुप छ, बाहिर बढी खाने, फिजिकल एक्सरसाइज नगर्ने, ओबिसिटी अर्थात् मोटोपनाले यो समस्या बढाएको छ । के खाने के नखाने ? मधुमेह भएको व्यक्तिहरूले अलिक कम कार्बोहाइड्रेट भएको खानेकुरा खाने भनेर सल्लाह दिन्छौँ । चिनी, आलु, यो प्रकारको खानेकुरा खाँदा सुगर एकैचोटी ह्वात्तै बढ्छ । त्यसकारण चिनी, आलु, मैदाले बनेका परिकारहरू नखाने सल्लाह दिन्छौँ । त्यो बाहेक भिनी मिसिएका चिजहरू मिठाइहरू, जुस, कोक, फेन्टा, आइसक्रिमहरू भयो, जसमा चिनीको मात्रा धेरै हुन्छ । यस्तो प्रकारको खानेकुरा पनि नखाने सल्लाह दिन्छौँ । ग्रामीण क्षेत्रमा डायबिटिज कम   प्रायजसो ग्रामीण क्षेत्रमा बस्ने मानिसहरूमा डायबिटिज कम नै देखिन्छ । किनभने उहाँहरूको जीवनशैली अलिक एक्टिभ हुन्छ, जस्तो खेतीमा जाने, काम गर्ने, श्रम बढी हुन्छ । खानेकुरा पनि प्रायः घरकै खानुहुन्छ । मिलाएर खानुहुन्छ । उहाँहरूको डाइट पनि अलिक हेल्थी हुन्छ । तर, के पनि देखिएको छ भने ग्रामीण क्षेत्र पनि शहरीकरण हुँदै जाँदा परिश्रम कम, खानेकुरा पनि नमिलाएर खाने गरेको देखिएकोले त्यहाँ पनि डायबिटिज देखि नै रहेका छौँ । तर सहरमा बस्ने मानिसहरूमा डायबिटिजको मात्रा अलिक बढी नै देखिन्छ । इन्सुलिन वा औषधि खानेले ध्यान दिनुपर्ने कुरा मधुमेह भएको व्यक्ति जसले इन्सुलिन (सुगरलाई घटाउने सुई) प्रयोग गरिरहनुभएको छ, वा औषधि खाइरहनुभएको छ, उहाँहरूले चाडपर्वको बेला आफ्नो औषधि नियमित लिने, खानेकुरामा ध्यान दिनुपर्छ । किनभने चाडपर्वमा अलिकति गुलियो खानेकुरा बढी खाने, चिल्लो बढी खाने हुन्छ । त्यसकारण यस्ता कुरामा ध्यान दिएर चिल्लो, गुलियो बारेर सामान्य, जुन सादा खानेकुराहरू छ, त्यो मिलाएर खानुपर्ने हुन्छ । लामो यात्रामा जाँदै हुनुहुन्छ भने पनि आफ्नो खानेकुरा बोकेर हिँड्ने, आफ्ने इन्सुलिनहरू आइसमा प्याक गरेर बोक्ने, औषधिहरू बोकेर हिँड्ने । यात्रा गर्दा यदि तपाईँ आफूले ड्राइभ गरिरहनुभएको छ, गाडी कुदाइरहनुभएको छ भने एउटा सुगर नाप्ने मेसिन बोकेर हिँड्ने । लामो समय हिँड्दा सुगर लो हुनसक्छ । खानेकुरा समयमा खाने, बिचबिचमा मसिनले सुगर चेक गर्ने र आफूसँग केही गुलियो खानेकुरा जस्तो चकलेटहरू पकेटमा राख्ने । यदि सुगर लो भयो भने त्यो खानुभए हुन्छ । जीवनशैली कस्तो बनाउने ? दिनको सुरुवात सकारात्मक सोचबाट गर्नुपर्‍यो । निद्रा राम्रो हुनुपर्‍यो । बिहान उठेर आफ्नो दिनको सुरुवात कुनैपनि प्रकारको फिजिकल एक्सरसाइजबाट गर्ने । र खानेकुरा यस्तो मिलाउनुस् किनभने अहिले व्यस्त जीवनशैली छ । हामी सबैजना व्यस्त हुन्छौँ, काम कहिले पुग्ने भनेर रेस हुन्छ । बिहानको खाना सकभर घरबाटै खाएर जानुहोस् । सक्नुहुन्छ भने आफ्नो खानेकुरा प्याक गरेर लैजानुहोस् । सक्नुहुन्न भने खानेकुरा के खानुहुन्छ, त्यसमा विशेष ध्यान दिनुहोस् । प्रायः हाम्रो खाजा भनेको मैदाले बनेको परिकार हुन्छ । जस्तै, समोसा, मम, चाउमिन, यस्तो खानेकुरा सकेसम्म नखानुहोस् । यसको सट्टा बरु चिउरा, तरकारी, रोटी, उसिनेको अण्डा यस्तो मिलाएर खानुहोस् । मिल्छ भने घरबाट सलादहरू पनि बोकेर लैजानुस् । कामको स्टेस अलि कम गर्नुहोस्, कामको धेरै स्ट्रेस नलिनुहोस् । खानेकुराको टाइमटेबल मिलाएर र औषधि नछुटाइकन लिनुपर्ने हुन्छ । औषधि छोड्दा के हुन्छ ? तपाईँलाई मधुमेह भइसकेको छ र औषधि खाने गर्नुभएको छ भने आफैँ औषधि नछोड्नुहोस् । किनभने यो दीर्घरोग हो । औषधि नछाड्ने, आफ्नो जीवनशैली मिलाउने । डायबिटिजको उपचार भनेको औषधि मात्र होइन, यसको सबैभन्दा फाइदा गर्ने उपचार भनेको आफ्नो जीवनशैली हो । त्यो भनेको खानपान मिलाउनुपर्‍यो । तौल यदि बढी छ भने तौल घटाउनुपर्‍यो । धूम्रपान मध्यपान गर्नुहुन्छ भने यो दुवै कुरालाई छोड्नुहोस् । मधुमेह भएको व्यक्तिमा उपचार गर्ने भनेको जटिलताहरूबाट बचाउनका लागि हो । जटिलताहरूबाट बचाउनका लागि जीवनशैली पनि सुधार्नुपर्ने हुन्छ । र चौथो भनेको तपाईँलाई बोलाएको टाइममा परीक्षण गर्नुहोस् । वर्षको एकपटक आफ्नो आँखा, किड्नी लगायत अरु जाँच गर्नुपर्ने परीक्षणहरू गर्नुहोला । र सकारात्मक सोच राख्नुहोस् ।  ध्यान दिनुपर्ने कुरा हामीले के कुरा याद गर्नुपर्छ या ध्यान दिनुपर्छ भने मधुमेह भएको व्यक्ति प्रायलाई थाह हुँदैन कि मलाइ मधुमेह छ भनेर । मलाई मधुमेहको लक्षण छैन, त्यही भएर म किन टेस्ट गर्ने भनेर सोच्नुहुन्छ । तर, ५० प्रतिशत व्यक्तिहरूमा मधुमेह भइसकेपछि पनि कुनै पनि लक्षणहरू हुँदैन । त्यसकारण तपाईँ ३० वर्ष कट्नुभएको छ भने कृपया वर्षको एकचोटी आफ्नो स्वास्थ्य जाँचमा एउटा सुगरको जाँच पनि राख्नुहोस् । किनभने यो एउटा सिम्पल टेस्ट हो । तपाईँ बिहानको समयमा खाली पेटमा गएर ब्लड दिनुभए हुन्छ, दिनभरी कुर्नुपर्दैन । तपाईँमा लक्षण छैन भनेपनि वर्षको एक पटक सुगर टेस्ट गर्नुहोस् । 

नाइमा मोबिलिटी एक्स्पोमा पेट्रोल र विद्युतीय बाइकले प्रतिस्पर्धा गर्दै, यी हुन् प्रदर्शन हुने मोडेल

काठमाडौं । नेपाली अटोमोबाइल बजारमा नयाँ उत्साह र रौनक थप्दै नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले ‘नाइमा मोबिलिटी एक्स्पो–२०२५’ को आयोजना गर्दैछ । आगामी साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने यो महामेलामा दुई पाङ्ग्रे सवारीसाधनका १७ भन्दा बढी ब्राण्डहरूले सहभागिता जनाउनेछन् ।  विशेषगरी दुई पाङ्ग्रे सवारीको व्यापार तुलनात्मक रूपमा बढिरहेको समयमा हुन लागेको यो एक्स्पो कम्पनीहरूका लागि आफ्नो व्यापार विस्तार गर्ने र ग्राहकहरूका लागि नयाँ प्रविधि र मोडलहरू एकै छानामुनि हेर्ने अवसर बनेको छ ।  यस पटकको एक्स्पोको मुख्य आकर्षण पेट्रोल इन्जिन र विद्युतीय सवारी (ईभी) बीचको प्रतिस्पर्धा र सहयात्रा हुने देखिन्छ । केही कम्पनीहरूले पेट्रोल सेगमेन्टमा नयाँ मोडल ल्याउँदैछन् भने अधिकांशको ध्यान विद्युतीय सवारीमा केन्द्रित छ ।  पहिलो पटक हुन लागेको एक्स्पोमा १० वटा ब्राण्डका करिब २४ वटा मोडेलका विद्युतीय स्कुटर र मोटरसाइकलले प्रदर्शनीमा राखिनेछ । केही बहुप्रतिक्षित नयाँ मोडलहरू यही एक्स्पोमार्फत पहिलो पटक नेपाली बजारमा सार्वजनिक हुँदैछन् ।  मेलामा सहभागी प्रमुख कम्पनीहरूले नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्ने योजना बनाएका छन् । वैद्य इनर्जी प्रालिले भारतमा सर्वाधिक बिक्री भएको र अत्यधिक चर्चामा रहेको ‘एथर रिज्ता’ ईभी स्कुटरलाई यही एक्स्पोमा सार्वजनिक गर्ने भएको छ । १५९ किलोमिटरसम्मको रेन्ज, ४.३ किलोवाटको शक्तिशाली मोटर र ३४ लिटरको ठूलो स्टोरेज क्षमता भएको यो स्कुटरले बजारमा नयाँ तरंग ल्याउने अपेक्षा कम्पनीको छ ।  वैद्य इनर्जी प्रालिका मार्केटिङ प्रमुख सलमान खानका अनुसार यो स्कुटर भारतमा निकै सफल भएको र पारिवारिक प्रयोजनका लागि उत्कृष्ट विकल्प हो । नेपालमा सार्वजनिक हुनुअघि नै यसको ३० देखि ४० प्रतिशत युनिट बुक भइसकेको उनले जानकारी दिए ।  यसका साथै कम्पनीले आफ्ना पुराना र सफल मोडेलहरू ४५० एक्स र ४५० एस पनि प्रदर्शनीमा राख्नेछ । वैद्य इनर्जीले हालसम्म नेपालमा १ हजार ५ सय भन्दा बढी एथर स्कुटर बिक्री गरिसकेको पनि खानले बताए । यसैगरी नवीनतम् प्रविधिका लागि चिनिएको गोगोरो नेपालले एक्स्पोमा आफ्ना उत्पादनभन्दा पनि प्रविधिलाई मुख्य आकर्षण बनाउने जनाएको छ । कम्पनीका मार्केटिङ प्रमुख चिरञ्जिवी साहका अनुसार अवलोकनकर्ताले गोगोरोको ‘ब्याट्री स्वापिङ टेक्नोलोजी’ को प्रत्यक्ष अनुभव गर्न पाउनेछन् । उनीहरूले आफैले ब्याट्री स्वाप गरेर यसको सहजता र उपयोगिता बुझ्न सक्ने गोगोरोले जनाएको छ ।  यसका साथै, गोगोरोले जेगो, क्रसोभर र पल्स गरी तीन भेरियन्टमा ल्याउने जनाएको छ । यी मोडेलका अपग्रेटेड भर्सन र देशभर रहेका ४५ वटा ब्याट्री स्टेसनबारे विस्तृत जानकारी पनि प्रदान गर्नेछ भने बजाजले यस पटक आफ्नो एकमात्र नयाँ इलेक्ट्रिक स्कुटर ‘चेतक ३५०१’ लाई मुख्य आकर्षण बनाउने छ ।  बजाजले पनि आफ्नो एकमात्र नयाँ मोडलको रूपमा ’चेतक’ स्कुटर प्रदर्शन गर्नेछ । कम्पनीका मार्केटिङ प्रमुख अमित चालिसेका अनुसार यो ३५०१ मोडलको नयाँ चेतक हुनेछ र यो पूर्ण रूपमा नयाँ हुनेछ । कम्पनीले यसपटक एउटा मात्र नयाँ मोडेलमा ध्यान केन्द्रित गरेको छ । यो मोडेल भारतमा निकै लोकप्रिय छ ।  यस्तै, सुजुकीले भने यस पटक कुनै नयाँ मोडल सार्वजनिक नगर्ने भएको छ । सुजुकीका मार्केटिङ प्रमुख समित सिंहका अनुसार एक्स्पोमा कम्पनीले आफ्ना स्थापित र लोकप्रिय मोडलहरू ‘भी–स्ट्रम एसएक्स २५०’, ‘जिक्सर १५०’ र ‘एभिनिस’ स्कुटर प्रदर्शनीमा राख्नेछ । नयाँ ‘एक्सेस’ स्कुटर आउने चर्चा चले पनि त्यो हाललाई निश्चित नभएको उनले स्पष्ट पारे ।  टीभीएसल ‘कस्टम मोडल’, ‘रेसिङ मोडल’ र हाल चलिरहेका स्कुटरहरूको ‘नयाँ कलर भेरियन्ट’ ल्याउने सम्भावना रहेको बताएको छ । तर, चर्चित इलेक्ट्रिक स्कुटर ‘आईक्युब’ भने प्रदर्शनीमा नहुने निश्चित भएको छ । कम्पनीले एक-दुई दिनमा आफ्नो अन्तिम योजनाबारे जानकारी दिने बताएको छ । यस्तै, कुजु नेपालले नाइमा एक्स्पोमा आफ्नो पहिलो ईभी मोटरसाइकल ‘याडिया कीनीस’ सार्वजनिक गर्दैछ । १०० किमी/घण्टाको उच्च गति र १५० किलोमिटरको रेन्ज भएको यो बाइकसँगै कम्पनीले ई८एस प्रो, एम६ र भेलक्स स्कुटर पनि प्रदर्शनमा राख्नेछ । हुलास अटोक्राफ्टले बजाजको लोकप्रिय ‘चेतक’ स्कुटरलाई विद्युतीय अवतारमा प्रस्तुत गर्नेछ । १५३ किलोमिटरको रेन्ज र ३५ लिटरको स्टोरेज भएको ‘चेतक ३५०१’ ले क्लासिक डिजाइनका पारखीहरूलाई आकर्षित गर्नेछ । यसैगरी आइहब प्रालिले दुइटा नयाँ ईभी स्कुटर (ई १२५ एमके २ र ई १५० एमके २) र दुईवटा अफरोड ईभी बाइक (जाइबर र छफरी) प्रदर्शन गर्ने तयारी गरिरहेको कम्पनीले जनाएको छ । यी मोडेलहरूले एड्भेन्चर र सिटी राइड दुवैका लागि नयाँ विकल्प दिनेछन् ।  केडिया इन्टरनेशनलले उच्च प्रदर्शन भएको ‘अल्ट्राभोइलेट एफ७७ म्याच २’ मोटरसाइकल प्रदर्शन गर्नेछ । ३२३ किलोमिटरको विशाल रेन्ज र ३० किलोवाटको शक्तिशाली मोटर भएको यो प्रिमियम बाइकले सबैको ध्यान खिच्ने पक्का छ ।  यसका साथै, रिभोल्टले आरभी ४०० सिरिज, जीहोले एई ६ प्लस र एई ८ प्लस, तथा एनआईयूले गोभा, एनक्यूआई लगायतका चार मोडेलहरू प्रदर्शनीमा राख्नेछन् । यी सबै ब्राण्डहरूले विद्युतीय सवारीको बढ्दो बजारमा आफ्नो बलियो उपस्थिति देखाउनेछन् ।  एड्भेन्चर र स्पोर्टी बाइकमा विशेष आकर्षण विद्युतीय सवारीको चर्चा चुलिँदै गर्दा पेट्रोल इन्जिनका पारखीहरूलाई पनि नाइमा एक्स्पोले निराश बनाउने छैन । स्थापित ब्राण्डहरूले आफ्ना लोकप्रिय मोडलका नयाँ र अपग्रेटेड भर्सनहरू ल्याउँदैछन् ।  हंशराज हुलाशचन्द एण्ड कम्पनीले बाइक प्रेमीहरूको लागि ‘केटीएम एड्भेन्चर’ र ‘केटीएम ड्युक’ को नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरिरहेको छ । भारतमा केही महिनाअघि मात्रै सार्वजनिक भएको यी मोडेलहरूले नेपाली बजारमा पनि उत्साह थप्ने विश्वास कम्पनीको छ ।   एक्स्पोमा केटीएम ब्राण्डले आफ्ना ५ वटा नयाँ मोडल ल्याएर ठूलो ’सप्र्राइज’ दिने तयारी गरिरहेको कम्पनीले जनाएको छ ।  कम्पनीका अनुसार एक्स्पोमा सार्वजनिक गरिने मोडलहरूमा ’नयाँ जेनेरेसन ड्युक’ र ’एड्भेन्चर’ सिरिजका बाइकहरू रहनेछन् । यद्यपि, ग्राहकहरूमाझ उत्साह कायम राख्न कुन–कुन मोडल आउँदैछन् भन्नेबारे कम्पनीले गोप्य राखेको छ । कम्पनीका अनुसार यी सबै मोडेलहरू पेट्रोल इन्जिनमा आधारित हुनेछन् । हालसम्म नेपालमा करिब २५ हजार वटा केटिएम बाइक बिक्री भइसकेको कम्पनीले जनाएको छ ।  भीजी अटोमोबाइल्सले नेपालको सबैभन्दा लोकप्रिय स्कुटरमध्ये एक ‘सुजुकी एक्सेस’ को अपग्रेटेड भर्सन ल्याउनेछ । जसमा कम्पनीले ‘एक्सेस’ कै विद्युतीय (ईभी) भर्सन पनि ल्याउने तयारी गरिरहेको जनाएको छ, जसले पेट्रोल र ईभी दुवै बजारलाई जोड्ने प्रयास गर्नेछ । यसैगरी जगदम्बा मोटर्सले युवाहरूमाझ निकै लोकप्रिय ‘टीभीएस एन्टर्क’ स्कुटरको नयाँ मोडेल प्रस्तुत गर्ने तयारी गरिरहेकोे छ । यसबाहेक कम्पनीले रिसिङ मोडेल र न्यूकलर भेरियन्ट नाइमा एक्स्पोमा राखिने जनाएको छ ।  केटीएम इन्टरनेशनलले बनेलीको भगिनी ब्राण्ड ‘मोर्बिडेली’ का २५० सीसी र ३५२ सीसीका स्पोर्ट बाइकहरू प्रदर्शनीमा राख्नेछ । जसले रेसिङ बाइकका पारखीहरूलाई आकर्षित गर्नेछ ।  यी बाहेक होण्डा, रोयल इन्फिल्ड, महिन्द्रा जस्ता ब्राण्डहरूको उपस्थिति पनि एक्स्पोमा रहनेछ । जसले ग्राहकहरूलाई छनोटका लागि थप विकल्पहरू प्रदान गर्नेछन् । भृकुटी मण्डपमा ‘नाइमा मोबिलिटी एक्स्पो-२०२५’ भविष्यको मोबिलिटीको स्पष्ट चित्र देखाउने एउटा मञ्च बन्दैछ । जहाँ एकातिर वातावरणमैत्री विद्युतीय सवारीको पार्किङ हुनेछ भने अर्कोतिर पेट्रोल इन्जिनका आकर्षक नयाँ मोडलहरूले प्रतिस्पर्धा गर्नेछन् ।  यो एक्स्पो सवारी खरिद गर्न चाहनेहरूका लागि मात्र नभई नेपाली अटोमोबाइल उद्योगको भविष्यको दिशा बुझ्न चाहने सबैका लागि एक महत्त्वपूर्ण गन्तव्य हुन विश्वास अटो व्यवसायीको छ ।

‘बैंकर र भ्यालूएटरको मिलेमतोले बैंकको ऋणमा समस्या आयो’ {अन्तर्वार्ता}

बैंकले ऋण दिँदा ग्राहकको सम्पत्ति (जग्गा, घर, व्यापारिक सम्पत्ति आदि) जमानत रूपमा स्वीकार्छन् । मूल्याङ्कनकर्ताले यी सम्पत्तिको वस्तुगत र बजार अनुकूल मूल्य निर्धारण गर्छन्, ताकि बैंकले अति मूल्याङ्कन वा कम मूल्याङ्कनबाट जोगिन सकोस् । सम्पत्तिको सही मूल्य थाहा नभएमा, बैंकले आवश्यकताभन्दा बढी ऋण दिन सक्छ । यदि ग्राहकले ऋण फिर्ता गर्न सकेन भने, बैंकले जमानत कुर्दा घाटा बेहोर्नुपर्ने जोखिम हुन्छ । मूल्याङ्कनकर्ताले यस जोखिमलाई न्यूनीकरण गर्छन् । मूल्याङ्कनले ग्राहक र बैंकबीच विश्वास बढाउँछ । बैंकिङ कारोबारमा मूल्याङ्कनकर्ता (भ्यालूएटर) एक महत्वपूर्ण पार्ट हो । तर, पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेका कर्जामा समस्या आएपछि बैंकर र भ्यालूएटरबीच द्वन्द्व उत्पन्न भएको छ । मूल्याङ्कनकर्ताहरूले मूल्याङ्कन गरेको धितोको मूल्य अहिले ठ्याक्कै आधा घटेपछि धमाधम बैंकको कालोसूचीमा राख्न थालेका छन् । नेपाल भ्यालुयर्स एसोसिएशनका अध्यक्ष सञ्जयकुमार महतोका अनुसार बैंकहरूले हालसम्म २ सयभन्दा बढी मूल्याङ्कनकर्तालाई कालोसूचीमा राख्न पत्र पठाएका छन् । मूल्याङ्कनकर्ता कालोसूचीमा पर्न थालेपछि मूल्याङ्कनकर्ता (भ्यालूएटर)हरू आन्दोलित छन् । यी विभिन्न विषयमा आधारित रहेर इन्जिनियर महतोसँग विकासन्युजका लागि सीआर भण्डारीले गरेको कुराकानी छन्ः बैंक तथा वित्तीय संस्थाहरूलाई किन मूल्याङ्कनकर्ता (भ्यालूएटर) चाहिन्छ ?  हामी प्राविधिक इन्जिनियर हौं । भ्यालूएटसन पूर्ण रूपमा प्राविधिक विषय हो । बैंक तथा वित्तीय संस्थामा इन्जिनियरहरूले तयार पारेको मूल्याङ्कन प्रतिवेदन आवश्यक पर्छ । जस्तो कोही ग्राहक ऋणका लागि बैंकमा जाँदा सबै डुकेमेन्टेसनको काम भएपछि धितो मूल्याङ्कन गर्न हामी मूल्याङ्कनकर्ताहरूलाई दिनु हुन्छ । जबकि १५/२० वर्ष अगाडि मूल्याङ्कनको काम तजविजमा हुन्थ्यो । जसले डुब्लिकेसनमा फस्ने सम्भावना हुन्थ्यो । तर, अहिले त्यो समस्या समाधान भइसकेको छ । मूल्याङ्कनको काम प्राविधिक भएकाले बैंकलाई इन्जिनियरहरू चाहिन्छ । बैंकका मान्छेले प्राविधिक काम गर्न नसक्ने भएपछि हामी इन्जिनियरलाई त्यो जिम्मेवारी दिएको हो ।  नेपाल राष्ट्र बैंकको गाइडलाइनमा पनि मूल्याङ्कनकर्ता नियुक्ति गर्नुपर्ने स्पष्ट व्यवस्था छ । बैंकहरूले कर्जा प्रवाह गर्दा मूल्याङ्कनकर्ताले मूल्याङ्कन गरेको धितो हुनुपर्छ । ऋणीलाई कति कर्जा दिने भन्ने विषय मूल्याङ्कनबाट आएको प्रतिवेदनमा आधारित हुन्छ । व्यवसायिक र प्राविधिक रूपमा मूल्याङ्कनकर्ताले धितो मूल्याङ्कन गरेर स्वीकृत दिएपछि मात्रै बैंकले धितो स्वीकार गर्छ । मूल्याङ्कनकर्ताले मूल्य निकालेपछि मात्रै कति कर्जा दिन मिल्छ भन्ने यकिन हुन्छ । मूल्याङ्कनको प्रक्रिया कस्तो हुन्छ ? कुनै ग्राहकलाई पैसा आवश्यक पर्याे भने ऋण लिनका लागि बैंकमा जानुहुन्छ । ऋण लिँदा विभिन्न फ्याक्टर मध्ये मूल्याङ्कनकर्ता एउटा हो । ऋण तिर्न सक्ने/नसक्ने, बुझाउनुपर्ने डकुमेन्ट, ऋणीको विगत इतिहास र भ्यालूएटर लगायत ६ सी अन्तर्गत पर्छ । ६ सीमध्ये ५ वटा बैंक आफैले गर्छ भने छैटौं हामी मूल्याङ्कनकर्ताहरूले गर्ने हो । जुन प्राविधिक विषय हो । चार किल्ला, घरको इजाजतपत्र, नक्सा डकुमेन्ट दिइसकेपछि मात्रै बैंकले मूल्याङ्कनकर्तालाई दिन्छ । त्यसपछि मात्रै मूल्याङ्कनकर्ताले मूल्याङ्कनको काम गर्ने हो ।  भ्यालूएटर व्यवसायीहरु कति हुनुहुन्छ ? भ्यालूएटर व्यवसायको आकार कत्रो छ ? नेपाल भ्यालुयर्स एसोसिएसनमा ९१८ वटा मूल्याङ्कन संस्था आवद्ध छन् । नेपालमा सबैभन्दा धेरै संस्थागत सदस्य भएको एसोसिएसशनमा नेपाल भ्यालुयर्स एशोसिएसन हुनुपर्छ । एसोसिएसनमा आवद्ध भएका संस्थाहरूमध्ये कुनै संस्थामा २ जना, कुनै संस्थामा ५ जना, कुनैमा १२ जना मल्याङ्कनकर्ता इन्जिनियर कार्यरत हुनुहुन्छ । एकिन तथ्याङ्क नभएपनि देशभर ४ देखि ५ हजार मूल्याङ्कनकर्ता यो पेशामा प्रत्यक्ष रूपमा संलग्न रहेको अनुमान छ ।  बैंकिङ क्षेत्रका लागि मूल्याङ्कनकर्ता एउटा अभिन्न अंग हो । नेपालको बैंकिङ धितोमा आधारित कर्जा प्रवाह गर्ने भएकाले भ्यालूएटरको भूमिका महत्वपूर्ण छ । तर, काम गर्ने स्कोप भएपनि तपाईहरु संस्थागत रुपमा विकास हुन सक्नु भएन । कहाँ चुक्नु भयो ? राष्ट्र बैंकको निर्देशिकामा कालोसूची र तीन वटा बुँदा मात्रै थिए । नेपाल भ्यालुयर्स एसोसिएसशन २०६८ मा स्थापना भएको हो । त्यसपछि मात्रै हामी संस्थागत रुपमा आन्दोलन गर्न थालेको हौं । नेपालमा बिना आन्दोलन केही पनि हुँदैन । डक्टर, वकिल, शिक्षकहरु सबैले आन्दोलन गरेपछि मात्रै मागहरु सुनुवाई भएका छन् । विगतमा ३ वटा बुँदा मात्रै थिए । कालोसूची राखेपछि हामीलाई पाच्य छैन । नीति नियम बनाउने काम राष्ट्र बैंकले गर्छ भने कार्यान्वयन बैंकहरूले गर्छन् । तर, हाम्रो विषयमा कहिले पनि सोचेनन् । हामी संस्थागत रुपमा आएपछि मात्रै राष्ट्र बैंक र बैंकहरुले सोच्न बाध्य भएका हुन् । तीन वटा बुदाहरुमध्ये सुरुमै कालो छ । इन्जिनियर लेख्नु र काम बिगारेपछि मात्रै कालोसूचीमा राख्नु भन्ने हुनुपर्ने हो । नेपाल राष्ट्र बैंकका गभर्नर हाम्रा मागहरुप्रति सकारात्मक हुनुहुन्छ । किनभने उहाँ पनि इन्जिनियर हो । त्यसैले हाम्रा मागको सुनुवाई हुनेछ भन्ने विश्वास छ । तपाईहरुले साउन १२ गतेदेखि चरणवद्ध रुपमा आन्दोलनको घोषणा गर्नु भएको छ । आन्दोलन के-का लागि हो र कसका लागि हो ? अरुले आन्दोलन गर्दा किन गरेको होला भन्ने लाग्थ्यो । तर, आफूलाई परेपछि मात्रै थाहा हुँदो रहेछ । एउटा कोठाभित्र बिरालोलाइ थुनेर राखेपछि कस्तो होला भन्ने याद आउँछ । वास्तवमा आन्दोलन मलाई पनि चित्त बुझ्दैन । कति आन्दोलन गर्नु भन्ने लाग्छ । आन्दोलन गरेर शिक्षक र डक्टरहरुले आफ्ना मागहरुको सुनुवाइ भयो । बिना आन्दोलन केही पनि नहुने रहेछ ।  म संस्थाको अध्यक्ष बनेको ६/७ महिना भयो । तर, हामीले एक/डेढ वर्ष अगाडि नै मागहरु राखेका हौं । म अध्यक्ष भइसकेपछि पनि माग सम्मोधन गर्नका लागि बेलाबेलामा पहल चालेको हो । तर, उहाँहरुले भ्यालूएटर तथा इन्जिनियर त हो । यी साना इन्जिनियरले केही पनि प्रभाव पार्दैनन्, के नै गर्न सक्छन् भन्ने सोचाई र अहम छ । त्यसरी अहम राख्नु राम्रो होइन । एउटा सानो कमिलाले हात्ति ढाल्छ भने अहम राख्दा ख्याल राख्नुपर्छ । बैंकले त ठूलो मन राख्नुपथ्र्याे । बैंक र बैंकर फरक हो, तपाईहरु बैंक नबन्नुहोस् भनेर कहिलेकाहीँ सम्झाउने गरेको छु । जब बैंकर बैंक बन्छ तब अहम बढ्छ । बैंकर मेरो साथी हो, बैंक मेरो साथी होइन । किनभने बैंक माथि हो । बैंकरले बैंक चलाउने हो । बैंकरलाई चलाउने माथिल्लो तहका हुन्छन् । त्यसैले समन्वय गरेर काम गरौं भन्दै आएका छौं । हामी सबै एउटै हो भन्नु हुन्छ । तर, जब समस्या वा गुनासो आउँदा बैंक बन्न खोज्नुहुन्छ । उहाँहरुले हामीलाई यस्तो शब्द प्रयोग गर्नु हुन्छकी त्यो यहाँ भन्न मिल्दैन । त्यसैले हामीलाई आन्दोलन गर्न मन नभएपनि बाध्यताले गर्नु परेको हो । यसले जनतालाई नै अप्ठेरो पार्ने हो । हामी जन्मिदा नाङ्गै जन्मिएको हो । हामीलाई केही फरक पार्दैन । तर, टाइसुट लगाउनेलाई फरक पर्न सक्छ । तपाईहरुको चित्त दुखाई के मा हो ?  म यो पेसामा लागेको २० वर्ष भयो । कुनै पेसामा सुरुमै कालो भनिँदैन । जस्तो दौड प्रतियोगिता भइरहेको छ भने कुनै प्रतिस्पर्धीलाई सुरुमै त सक्दैनस् भन्दा उसको चित्त दुख्छ । हामीलाई पनि यहि व्यवहार भएको छ । चित्त बुझाउने कुनै ठाउँ नै छैन । हामीलाई फि (शुल्क)मा पनि चित्त बुझेको छैन । किनभने २० वर्षदेखि एउटै शुल्क छ । २० वर्ष अगाडि ५ हजार रुपैयाँ थियो भने अहिले पनि ५ हजार रुपैयाँ नै छ । समय सापेक्ष शुल्क हुनुपर्छ । नेपाल बैकर्स संघ र नेपाल भ्यालुयर्स एसोसियशनबीच एककिसिमको सम्झौता छ । तर, बैंकहरुले बीचबीचमा एउटा एउटा प्वाइन्ट थप्छन् । हामीलाई लिगल पनि लिएर आउ भन्छन् । जबकी हामीलाई लिगल आउँदैन । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)मा लिगल प्वाइन्ट थपेपछि विवाद सुरु भएको हो । हामी इन्जिनियरलाई कहाँनेर प्राविधिक समस्या छ भन्ने थाहा हुन्छ । यदि कुनै भ्यालूएटरले बदमासी गरेको छ भने हामी जोगाउन लागदैनौं । बदमासी गर्न इन्जिनियर होस् की बैंकर होस् कसैलाई पनि छाड्नु हुँदैन । मिलेर कारवाही गरौं । बदमासी गर्नका लागि यो एसोसिएशन खोलिएको पनि होइन । तर, कहिले लिगल थप्ने, कहिले केही बुँदा थप्ने गरिएको छ । २० वटा बैंकले एउटा एउटा बुँदा थप्ने हो भने २० वटा प्वाइन्ट पुग्छन् । त्यसैले हामीले आन्दोलन गर्नु परेको हो ।  विभिन्न ६ वटा बुँदा माग राखेर आन्दोलन गर्नु भएको छ । त्यो बुँदा पुरा नहुँदा तपाईहरुको व्यवसायमा कस्तो असर पर्छ ? असर स्वतः परिहाल्ने भयो नी । हामी त आन्दोलनमै होमिसकेका छौं । साउन १२ गतेसम्मको समय दिएका छौं । अझै केही दिन बाँकी छ । वार्ताबाट समस्याको समाधान गर्न तयार छौं । उहाँहरुले चाहनु भयो भने एकछिनमै समस्या समाधान हुन्छ । हामीले केही माग नै गरेका छैनौं । उहाँहरुले अटोमेटिक समस्या निकालिदिनु भयो । २० वर्ष अगाडि तलब १० हजार रुपैयाँ थियो भने अहिले पनि १० हजार हुनु कत्तिको जायज हो ? मूल्याङ्कनकर्ता वा इन्जिनियर थुपारेर के गर्न खोजेको हो ? २० वटा चाहिने हो भने २५ वटा राखौं । एउटा इन्जिनियरलाई ३ लाख रुपैयाँ दिनु हुन्छ । कुनै बैंकले १ हजार भ्यालूएटर राखेको छ भने ३० करोड रुपैयाँ एउटा बैंकको लागत आउँछ । बैंकहरुले हामीलाई झोले बनाएका छन् । त्यसैका लागि आन्दोलन गर्नु परेको हो । समाधान कसरी निकाल्न सकिन्छ ?  यसमा धेरै टाउको दुखाउन जरुरी छैन । हामीले मागेको केही पनि होइन । शुल्कको विषय निर्धारण गर्नुपर्छ । बैंकर्स संघ नेपाल भ्यालुयर्स एसोसिएशनभ हामीभन्दा ठूलो संस्था हो । बैंकर्स संघ र भ्यालुयर्स एशोसिएसनबीच भएको सहमतिलाई बैंकले नामान्ने ? बैंक हिरो बन्न खोज्ने ? दुईटा एसोसिएसनले एउटा सहमति गरिसकेपछि बीचमा बैंकले आफ्ना बुँदाहरु छिराउनु भएन । यदि कुनै विषय थप्नु नै पर्ने हो भने सल्लाह गर्नुपर्याे । बैंकर्स संघ र भ्यालुयर्स एसोसिएसनबीच सल्लाह गरेर थप गर्न सकिन्छ । परिवर्तन गर्न आवश्यक हो भने सबै बैंकमा परिवर्तन गरौं । परिवर्तन गर्ने हो भने छलफल गरेर समाधान गरौं ।  तपाईहरुको शुल्क कति छ ? न्यूनतम ५ हजार रुपैयाँबाट सुरु हुन्छ । विगतमा पनि त्यहि हो, अहिले पनि यही नै छ । एउटा कर्जा प्रवाह गर्दा धितो मूल्याङ्कनका लागि न्यूनतम ५ हजार रुपैयाँ शुल्क लिने गरिएको छ । बरु अमिनले बिना जोखिम ५ हजार रुपैयाँमा काम गर्नु हुन्छ । तर, हामीलाई त्यो रकम पनि दिन मान्नु हुन्न । हामीले त आफ्नै मोटरसाइकल, आफ्नै पेट्रोल खर्चमा कुद्नुपर्ने हुन्छ । बैंकका लागि मात्रै हामीले कमाइ दिइरहेका छौं । हामी त बैंकको झोले मात्रै भयौं । तर, जोखिम जति हाम्रो टाउकोमा राख्छन् । हामीले आन्दोलन गर्नुको कारण भनेको २ सयको हाराहारीमा चिठि आएका छन् । कि पैसा तिर भन्छ की पैसा तिर्न लगा भन्छ । होइन भने ब्ल्याकलिस्ट गरिदिने भनेर चिठि आएका छन् । हाम्रो काम पैसा तिर्ने र तिराउने होइन । नेपाल राष्ट्र बैंकका गभर्नर, बैंकर्स संघको अध्यक्षले समेत जग्गाको भाउ घटेको विषय सार्वजनिक रुपमा बोलिरहनु भएको छ । साथै, हामी पनि भाउ घटेको छ भन्दै आएका छौं ।  यदि गल्ती भए छलफलबाट समाधान गर्न सकिन्छ । राष्ट्र बैंकबाट एक जना, बैंकर्स संघबाट एक जना, भ्यालुयर्स एसोसिएसनबाट १ जना सहितको समिति बनाएर अध्ययन गर्न सकिन्छ । समितिले गल्ती देखाएमा कालोसूचीमा राख्दा केही फरक पर्दैन । जबकी बैंकरको बदमासीले मूल्याङ्कनकर्ता जेल बस्नु पर्ने बाध्यता छ । ऋणीसँगको मिलेमतोमा धितोको मूल्याङ्कन उच्च बनाउँदा अहिले समस्या आएको भनेर तपाईहरु स्वीकार्नु हुन्छ ?  कमजोरी भएको छ भने स्वीकार्छाैं । गल्ती नभई कसरी स्वीकार्नु ? यदि कसैले त्यसरी मिलेमतो गरेर गलत मूल्याङ्कन गरेको छ/छैन समिति बनाएर अध्ययन गरौंन । जस्तो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्नु भन्दा अगाडि ५/७ लाख रुपैयाँमा जग्गा पाइन्थ्यो । जब विमानस्थल बन्न थाल्यो त्यसपछि ५ लाखको जग्गाको भाउ २०/२५ लाख रुपैयाँ पुग्यो । र, अहिले फेरि पुरानै अवस्थामा फर्कियो । के त्यतिबेला भ्यालूएटरले बढाएका हुन् ? के अहिले आएर भ्यालूएटरले घटाएका हुन् ? होइनन् । समय अनुसार घटबढ भयो । जस्तो सुनको भाउ कुनै दिन बढ्छ, कुनै दिन घट्छ । के सुनचाँदी व्यवसायीहरुले सुनको भाउको ठेक्का लिएका हुन्छन् ? सेयर बजार जहिले पनि उकालो मात्रै लाग्छ भन्ने छैन । के उनीहरुलाई कालोसूचीमा राख्ने त ? भ्यालूएटर पनि त्यस्तै त हो नी ।  हामीले रिपोर्ट दिएपछि छानिबिन गर्ने होइन, दिने बेलामा छानबिन गर्नुपर्छ । भ्यालुएसन गरिसकेपछि सीएसभीआर फर्म हुन्छ, त्यो बैंकका मान्छेले भर्ने हो । यदि त्यतिबेलामा इन्जिनियरले २० लाखको ठाउँमा ५० लाख रुपैयाँ गरेको छ भने बैंकका मान्छेले त्यसलाई रिजेक्ट गरे भइहाल्यो नी । त्यतिबेला नहेर्ने । जब तीन वर्ष भयो । तीन वर्षमा २ वर्ष भुक्तानी पनि गरिसकेको छ । तर, अहिले आएर समस्या भयो भन्नु त मिलेन नी । कतिपय ग्राहक राम्रा पनि हुनुहुन्छ । कतिपय ग्राहकले साच्चिकै तिर्न सकिरहेका छैनन् । काठमाडौंकै ठल्ठूला घरानाले पनि समयमा ऋण तिर्न सकिरहेका छैननन् ।  घरजग्गाको मूल्य कति घटेको छ ?  एकिन तथ्याङ्क छैन । सातै प्रदेशका साथीहरुसँग बुझ्दा सबैभन्दा बढी ५ नम्बर लुम्बिनी प्रदेशमा घटेको छ ।  त्यसपछि मधेश प्रदेश, सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशमा जग्गाको भाउ घटेको छ । काठमाडौं, पोखरा लगायत शहरमा भने घटेको छैन । एक वर्ष अगाडि १ करोड रुपैयाँ थियो भने अहिले पनि १ करोड रुपैयाँ नै छ । लगानीका आधारमा त्यो घटेकै हो । यदि त्यो १ करोड रुपैयाँ कुनै बैंकको मुद्दती निक्षेपमा राखेको भए ब्याज त आउँथ्यो नी । जस्तो बानेश्वरको शंखमुलमा २/३ वर्ष अगाडि आनाको ६०/७० लाख रुपैयाँ थियो भने अहिले पनि सोही मूल्यमा पाइन्छ । यदि ३ करोड रुपैयाँ बैंकको एफडीमा राखेको थियो भने १० प्रतिशतका दरले राखेको भए ३० लाख रुपैयाँ ब्याज आउँथ्यो । उपत्यका बाहिर शहरी क्षेत्रतिर पनि जग्गाको मूल्य घटेको छैन । तर, ग्रामीण क्षेत्रतर्फ जग्गाको मूल्य घटेको पाइएको छ । किनभने किन्ने मान्छे नै छैनन् । ९ सय हाराहारीमा मूल्याङ्कनकर्ता संस्था र ४/५ हजार मूल्याङ्कनकर्ता छन् भन्नुभयो । व्यवसाय कस्तो भइरहेको छ ?  २ वर्षको अवधिमा हाम्रो काम ६० प्रतिशत घटेको छ । मेरो कम्पनीमा १२ जना इन्जिनियर थिए भने अहिले घटेर ६ जना मात्रै छन् । म २० वर्षदेखि यो क्षेत्रमा काम गर्दै आएको हुँदा टिकिरिहेको छु । तैपनि वर्षको २ महिना घाटामा चल्नुपरेको छ । अहिलेको समयमा कम्पनी टिके मात्रै पुग्छ । हामीले नाफा खोजेका छैनौं । तर, सधैं घाटा नै लाग्यो भने म पनि टिक्न सक्दिन होला । यसका लागि राज्य नै जिम्मेवार हुनुपर्छ । समग्र इण्डस्ट्रिको अवस्था हेर्ने हो भने नाजुक अवस्था छ । कतिपय संस्था बन्द छन् । भ्यालूएसन पेशा एउटा कोठाभित्र हुने हो । अधिकांशले झोलामा अफिस राखेर मूल्याङ्कनको काम गरिरहेका छन् । अहिले झोलामा संस्था छ । यो पेशा नराम्रो होइन तर, बदनाम गराइएको छ । यो पेशालाई राम्रो बनाउन एसोसिएसन खुलेको हो । म आफ्नो मान्छेलाई गाली गर्छु । किनभने आफ्नो मान्छे सुध्रियो भने मात्रै अरु पनि सुध्रिने हो । हामी सद्धिकरण गरौं भन्दैछौं । बैंकमा भएको जनताको पैसामा खेलाची गर्नु हुँदैन ।   मूल्याङ्कन पेसाको आकार कत्रो छ ?  ९ सय कन्सलटेन्सी छन् । एउटा कन्सलटेन्सीले २ वटा मात्रै काम गर्याे भने दिनमा १८ सय काम हुन्छन् । हामी तथ्याङ्क संकलनको काम गरिरहेका छौं । राष्ट्र बैंकलाई पनि तथ्याङ्क पनि संकलन गरिदिनुपर्छ भनेर माग गरेका छौं । त्यो तथ्याङ्क हामी मात्रै नभइ देशका लागि पनि चाहिन्छ । बैंकिङ कसुरमा सीआईबीले अनुसन्धान गर्दा भ्यालूएटर पनि मुछिने गरेका छन् । किन ?  यसअघि हामीले नबिल बैंकमा आन्दोलन गरेका थियौं । त्यहाँ इन्जिनियरको केही बदमासी थिएन । सबै कागजात बैंकबाट दिएको हो । बैंकले दिएको डकुमेन्टको आधारमा मूल्याङ्कन गरेको हो । तर, सबै डकुमेन्ट डुब्लिकेट दिँदा मूल्याङ्कनकर्ता जेल नै बस्नु पर्याे २ महिना । त्यसैले बैंकमा सीआईबी पस्दा सबैभन्दा पहिला तानिने इन्जिनियर नै हो । किनभने मूल्याङ्कन प्रतिवेदनमा हस्ताक्षर गरेको हुन्छ । त्यसैले इन्जिनियर साथीहरुलाई मूल्याङ्कन गर्दा ध्यान दिनुहोस् है भनेर बेलाबेला झकझक्याइरहेको हुन्छु । बैंकको ऋण बिग्रिनुमा मूल्याङ्कनकर्ताको दोष छ ?  हामी (मूल्याङ्कनकर्ता)ले गल्ती गरेका छौं भने दोष हो । पैसा खाएर मूल्याङ्कन गरेको छ भने बिग्रिन्छ । मूल्याङ्कनकर्ता एक्लैले गल्ती गर्दैमा बिग्रिने भन्ने हुँदैन । त्यहाँ बैंकर पनि समावेश भएपछि बिग्रिने हो । मूल्याङ्कन साइटबाट गल्ती भएको छ भने त्यो जिम्मेवारी मूल्याङ्कनकर्ताले लिनुपर्छ । तर, मूल्याङ्कनकर्ताले गल्ती गर्दैमा बैंकले दिनुपर्छ भन्ने छैन । जस्तो कुनै सामान्य ठाउँको जग्गाको मूल्याङ्कन ५ करोड भन्दैमा पत्याउने विषय हुँदैन । तर, बैंकर मिलेपछि पत्याउँछन् । त्यस्तालाई जोगाउने हाम्रो प्रयास हुँदैन । त्यसका लागि छानबिन हुन जरुरी छ । तर, बैंकले कालोसूचीमा राखेर आफ्ना कर्मचारी जोगाउने काम गर्नु हुँदैन । छानबिन समिति बनाएर बदमासी गर्ने सबैलाई कारवाहीको दायरामा ल्याउनु पर्छ । जनताको पैसामा हेलचक््रयाई गर्नु हुँदैन । बैंकर र मूल्याङ्कनकर्ता दुइटैको मिलेमतोमा ऋण बिग्रिने हो । मूल्याङ्कनकर्ता एक्लैको मिलेमतोमा कहिले पनि बिग्रिदैँन ।  त्यसो भए अहिले समस्या आउनुमा बैंकर र मूल्याङ्कनकर्ताको मिलेमतोले हो ?  यदि बिग्रेको छ भने हुन सक्छ । बिग्रेका कर्जाहरुमा दुइटैको मिलेमतो हुन सक्छ । तर, त्यसमा म ग्यारेन्टी दिँदैन । त्यसको लागि छानबिन हुनुपर्छ । इन्जिनियर दोषि हो की बैंकर दोषि हो छानबिन गरौं ।  मूल्याङ्कन गर्दा के-के आधार लिनु हुन्छ ?  पहिलो, डकुमेन्टलाई आधार मानिन्छ । दोस्रो, वरिपचि चलनचल्तीको मूल्य कति छ इन्जिनियरले प्राविधिक ज्ञानबाट लिन्छ । जस्तो कुनै घरको मूल्याङ्कन गर्नुपर्याे भने त्यो घरको सबै डकुमेन्ट चाहिन्छ । तयसपछि डकुमेन्टलाई म्याचिङ गराइन्छ । बिल्डिङ आरसिसि बिल्डिङ हो/होइन, बनावट कस्तो छ, मार्वल राखेको छ/छैन भनेर सबै अध्ययन गरिन्छ । यदि जग्गाको मूल्याङ्कन गर्नु पर्याे कति बाटो फिटको छ ? गोरेटो होकी पिच हो ? यसले फरक पार्छ । सरकारी मूल्यलाई पनि लिइन्छ ।  बैंकपिच्छे फरक छ । त्यसमा पनि हाम्रो विरोध छ । बैंकपिच्छे फरक फरक हुँदा मूल्याङ्कन पनि फरक आउँछ । कुनै ए भन्ने बैंकसँग भवनको मूल्याङ्कन गर्दा एउटा मूल्याङ्कन आउँछ, त्यहि भवनको बी भन्ने बैंकसँग गर्याैं भने फरक मूल्याङ्कन प्रतिवेदन आउँछ । सबै बैंकमा एउटै मूल्याङ्कन लागू हुनुपर्छ भनेर बैंकर्स संघसँग माग गरेका छौं ।  मूल्याङ्कनकर्ताले मूल्याङ्कन गरेपछि मात्रै बैंकले ऋण दिने हुन् । तर, व्यवसाय पाउनैका लागि खोलाको जग्गा, मसानघाटको जग्गाको मूल्याङ्कन गरेका हुन्छन् । यसले समग्र इण्डस्ट्रिको लागि त्यो त राम्रो भएन नी ?  खोलाको जग्गा, मसानघाटको जग्गाको मूल्याङ्कन गर्नै मिल्दैन । यदि त्यस्तो गरेको छ भने कारवाही गर्दा हुन्छ । खोलाको जग्गा, भीरको जग्गा राखेर मूल्याङ्कन गर्छ भने कारवही हुनुपर्छ । अधिकार छ भन्दैमा जे पायो त्यहि गर्ने होइन । त्यसको पक्षमा कहिले पनि एसोसिएशन उभिदैँन । इन्जिनियर ३ किसिमले दबाबमा पर्छन् । एउटा, बैंकरसँग मिलेको हुन्छ । दोस्रो, आफैं लोभमा परेर ऋणीसँग मिलेर मूल्याङ्कन बढाउँछ । तेस्रो, अनजालमा हुन्छ । काम गर्दागर्दै कहिलेकाहीँ गल्ती हुन्छ । जस्तो सवार दुर्घटना जानी जानी हुँदैन । मिलेमतोमा हुने गल्तीलाई हामी सपोर्ट गर्दैंनौं । तर, अनजानमा भएको गल्तीलाई हेर्छाैं । बैंकबाट कस्ता दबाब आउँछन् ?   फोन गरेर उहाँ आफ्नै मान्छे हो, मिलाएर मूल्याङ्कन गर्नु है भनेर बैंकरहरुले दबाब दिनुहुन्छ । नजिकका मान्छे हुन्, गरिदिनु भयो भने उद्धार हुन्छ भन्नु हुन्छ । फोन गरेर गर्नैपर्छ, होइन भने अर्काेपटक व्यवसाय दिँदैन भन्नु हुन्छ । यो समस्या चिर्दैछौं, अझै चिर्न बाँकी छ । सिस्टमले हामीलाई स्वतन्त्र भनेपनि छैनौं । उहाँहरुले काम दिएपछि मात्रै काम पाउने हो । अझै सरकारी बैंकलाई हामीले बुझाउन सकेका छैनौं ।