जीवन बीमा कम्पनीको सेयर लगानी घट्यो, कसको कति ?
काठमाडौं । जीवन बीमा कम्पनीहरुले सेयर बजारमा गर्दै आएका लगानी एकाएक घटाएका छन् । जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा दोश्रो त्रैमासमा ४५.८५ प्रतिशतले सेयर लगानी घटाएका हुन् । बीमा समितिका अनुसार इन्स्योरेन्सहरुले दोश्रो बजारमा सूचीकृत कम्पनीहरुको सेयरमा ८ अर्ब ४९ करोड ७८ लाख रुपैयाँमा मात्रै लगानी गरेका छन् । उनीहरुले दोश्रो त्रैमास (अर्थात कात्तिकदेखि पुससम्म) मा सूचीकृत कम्पनीहरुको साधारण सेयरमा सो मात्राको लगानी गरेका हुन् । जुन अघिल्लो त्रैमासको तुलनामा ७ अर्ब १९ करोड रुपैयाँले घटी हो । कम्पनीहरुले अघिल्लो अर्थात पहिलो त्रैमास (साउनदेखि असोजसम्म) मा १५ अर्ब ६९ करोड रुपैयाँ बरारको लगानी बजारमा सूचीकृत कम्पनीको सेयरमा गरेका थिए । १९ वटा जीवन बीमा कम्पनीहरुमध्ये १८ वटा कम्पनीले सेयर बजारमा लगानी गर्दै आएका छन् । मेट लाइफ एलिकोले भने हालसम्म नेपाली सेयर बजारमा लगानी गरेको छैन । त्यस्तै, १८ कम्पनीमध्ये अधिकांशले पहिलो त्रैमासको तुलनामा दोश्रो त्रैमासमा लगानी घटाएका छन् । जसमध्ये १३ कम्पनीको घटेको छ, ३ कम्पनीको बढेको छ भने दुई कम्पनीले भने दुबै त्रैमासमा बराबर लगानी गरेका छन् । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले भने चालु आवको दोश्रो त्रैमासदेखि मात्रै सेयरमा लगानी गरेको तथ्यांकले देखाएको छ । कम्पनीले तीन महिना (कात्तिक, मंसिर र पुस) मा १५ करोड ५२ लाख रुपैयाँ बराबरको लगानी सूचीकृत कम्पनीको सेयरमा गरेको छ । त्यस्तै, प्रतिशतका आधारमा गुराँस लाइफ इन्स्योरेन्सले सेयर बजारबाट सबैभन्दा बढी लगानी झिकेको छ । इन्स्योरेन्सले दोश्रो त्रैमासमा मात्रै ९७.७४ प्रतिशतले सेयर लगानी घटाएको छ । पहिलो त्रैमासमा ३० करोड ६९ लाख रुपैयाँ बराबरको लगानी गरेको कम्पनीले दोश्रो त्रैमासमा जम्मा ६९ लाख २५ हजार रुपैयाँ मात्रै गरेको समितिले जनाएको छ । त्यस्तै, ज्योति लाइफ इन्स्योरेन्सले पनि ९६.२९ प्रतिशतले सेयर लगानी घटाएको छ । समीक्षा अवधिमा कम्पनीले ६ करोड ५२ लाख रुपैयाँ मात्रै लगानी गरेको छ । जबकी कम्पनीले चालु आवको पहिलो तीन महिना अर्थात असोजसम्ममा १ अर्ब ७५ करोड रुपैयाँ लगानी सूचीकृत कम्पनीको सेयरमा गरेको थियो । रकमका आधारमा सबैभन्दा बढी लगानी गरेको नेपाल लाइफको पनि सेयर लगानी ३१.२६ प्रतिशतले घटेको छ । कम्पनीले पहिलो त्रैमासमा ४ अर्ब ६ लाख रुपैयाँ लगानी गरेको थियो भने दोश्रोमा जम्मा २ अर्ब ७९ करोड रुपैयाँ लगानी गरेको समितिले जनाएको छ । उक्त रकम अन्य कम्पनीको तुलनामा भने सबैभन्दा बढी हो । समीक्षा अवधिमा आइएमई लाइफ, यूनियन लाइफ र प्रभु लाइफले भने सूचीकृत कम्पनीको सेयरमा गर्दै आएको लगानी रकम बढाएका छन् । जसमध्ये सबैभन्दा बढी आइएमई लाइफ इन्स्योरेन्सले ५० प्रतिशतले लगानी बढाएको छ । कम्पनीले ५० प्रतिशतले लगानी बढाई १३ करोड ९ लाख रुपैयाँ लगानी गरेको समितिले जनाएको छ । त्यस्तै, यूनियन लाइफले १२.१० प्रतिशत र प्रभु लाइफले ०.४० प्रतिशतले सेयर लगानी बढाएको पाइएको छ । कसको कति ? बजारमा गर्दै आएका लगानी एकाएक घट्नुले उक्त लगानी सम्बन्धमा नियामक निकायले नै कडाई गरेको हो की भन्ने प्रश्नमा बीमा समितिले भने हाललाई त्यस्तो कुनै व्यवस्था नगरेको जनाएको छ । कम्पनीहरुले गर्दै आएका लगानी घट्नुले उनीहरुले उक्त क्षेत्रमा जोखिम देखेर कम लगानी गरेका हुन सक्ने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘हामीले कम्पनीहरुलाई लगानी निर्देशिका २०७५ अनुसारकै सीमाभित्र रहेर लगानी गर्न खुला छोडिदिएका छौं, हाल त्यसमा कडाई तथा परिमार्जन केही पनि गरिएको छैन, कम्पनीहरुले बजारमा रिक्स देखे होला, त्यसैले पनि बजारमा कम लगानी गरेका होलान्,’ प्रवक्तासमेत रहेका पौडेलले विकासन्युजसँग भने । यस्तो छ व्यवस्था बीमा समितिको ‘बीमकको लगानी निर्देशिका, २०७५’ अनुसार बीमा कम्पनीहरुले घरजग्गा, सेयर बजार लगायत विभिन्न क्षेत्रमा लगानी गर्न पाउने छन् । जसको लागि समितिले लगानी सीमासहित लगानीको शर्त पनि तोकिदिएको छ । सो अनुसार कम्पनीहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा १० प्रतिशतसम्म लगानी गर्न पाउने भएका हुन् । उनीहरुले कूल टेक्निकल रिजर्भको दश प्रतिशतसम्म लगानी गर्न पाउने छन् । तर सेयर लगानी गरिने कम्पनीको चुक्ता पुँजीको ५ प्रतिशतभन्दा बढी हुने गरी लगानी गर्न नपाइने शर्त राखिएको छ । कम्पनीहरुले साधारण सेयरमा मात्रै नभई नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क ख र ग वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर र ऋणपत्रमा पनि २० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ । तर लगानी गरिने कम्पनीको चुक्ता पुँजीको १० प्रतिशतभन्दा बढी हुन नपाइने शर्त तोकिएको छ । यससँगै विनिमय बजारमा सूचीकृत कम्पनीको सुरक्षित डिबेन्चर, नागरिक लगानी कोष तथा म्युचुअल फण्डको लगानी योजनाहरुमा पनि बीमा कम्पनीहरु लगानी गर्न पाउने व्यवस्था छ ।
नेशनल लाइफकी अध्यक्ष सिंहले लिइन् पथ तथा गोपनियताको शपथ
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले पद तथा गोपनियताको शपथ लिएकी छिन् । उनले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद तथा गोपनियताको शपथ लिएकी हुन् । यससँगै उनले कम्पनीको अध्यक्ष पदमा रहेर आफ्नो दोश्रो कार्यकाल सम्हाल्ने छिन् । गत फागुन २९ गते सम्पन्न कम्पनीको ३३ औं वार्षिक साधारण सभाले सिंहलाई पुनः कम्पनीको अध्यक्ष पदमा सर्वसम्मत रुपमा निर्वाचन गरेको हो ।
अजोड इन्स्योरेन्स र भक्तपुर उद्योग वाणिज्य संघबीच बीमा सेवा सम्झौता
काठमाडाैं । भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्सबीच बीमा सहकार्य गर्ने सम्झौता सम्पन्न भएको छ । उक्त सम्झाैतामा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र भक्तपुर उद्योग वा०िाज्य संघका अध्यक्ष शिव प्रसाद मानन्धरले हस्ताक्षर गरेका थिए । सो अवसरमा ‘उद्योग व्यवसायमा बीमाको आवश्यकता र फाइदा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियाे । संघका अध्यक्ष शिवप्रसाद मानन्धरले सहभागीलाई बीमाको फाइदाकाे बारेमा जानकारी दिएका थिए ।