काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले दोस्रो त्रैमासमा एक अर्ब ६६ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर लगानी गरेका छन् । जुन अघिल्लो त्रैमासको तुलनामा ३३.१७ प्रतिशतले कम हो ।
चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा दुई अर्ब ४९ करोड २८ लाख रुपैयाँ सेयर लगानी गरेका कम्पनीहरुले दोस्रो त्रैमासमा भने ८२ करोड ३० लाख रुपैयाँले घटाएका हुन् ।
बीमा समितिका अनुसार सञ्चालित २० वटा निर्जीवन बीमा कम्पनीमध्ये १७ कम्पनीले सूचीकृत कम्पनीको सेयरमा सो मात्राको लगानी गरेका हुन् । दि ओरियण्टल र नेशनल इन्स्योरेन्सले भने चालु आर्थिक वर्षमा सूचीकृत कम्पनीको सेयरमा लगानी नगरेको समितिले जनाएको छ ।
लगानी गरेका कम्पनीमध्ये अधिकांशले बढाएका छन् । जसमध्ये जनरल र प्रिमियर इन्स्योरेन्सले शतप्रतिशत अर्थात १०० प्रतिशतभन्दा बढीले बढाएका छन् । त्यसमा पनि सबैभन्दा बढी जनरल इन्स्योरेन्सले १३२.८१ प्रतिशत र प्रिमियर इन्स्योरेन्सले १०६.२४ प्रतिशतले लगानी वृद्धि गरेका छन् ।
पहिलो त्रैमासमा ४६ लाख ८७ हजार रुपैयाँ मात्रै लगानी गरेको जनरल इन्स्योरेन्सले दोस्रो त्रैमासमा एक करोड नौ लाख रुपैयाँ सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । त्यस्तै, प्रिमियर इन्स्योरेन्सले दोस्रो त्रैमास (अर्थात कातिकदेखि पुस) मा ३१ करोड २० लाख रुपैयाँ लगानी गरेको छ । जुन अघिल्लो त्रैमास (साउनदेखि असोज) मा १५ करोड १२ लाख रुपैयाँ मात्रै गरेको थियो ।
सूचीकृत कम्पनीको सेयरमा नेपाल इन्स्योरेन्सको लगानी भने पहिलो र दोस्रो त्रैमासमा बराबर रहेको छ । पहिलो त्रैमासमा ११ करोड ३७ लाख रुपैयाँ लगानी गरेको कम्पनीले दोस्रो त्रैमासमा पनि सो मात्राको लगानी गरेको पाइएको छ ।
त्यस्तै, पहिलो त्रैमासमा लगानी गरेकाले दोस्रो त्रैमासमा लगानी गरेका छैनन् भने पहिलोमा नगरेकाले दोस्रो त्रैमासमा भने गरेका छन् । पहिलो त्रैमासमा ८५ करोड ९५ लाख रुपैयाँ लगानी गरेको राष्ट्रिय बीमा कम्पनीले दोस्रो त्रैमासमा भने कति पनि लगानी गरेको छैन । उता पहिलो त्रैमासमा सूचीकृत कम्पनीको सेयरमा लगानी गर्दै नगरेको सानिमा इन्स्योरेन्सले भने दोस्रो त्रैमासमा ३४ लाख रुपैयाँ गरेको छ ।
पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा लगानी बढाउने कम्पनीमा जनरल र प्रिमियर इन्स्योरेन्ससहित ७ कम्पनीले बढाएका छन् । जसमा नेको, लुम्बिनी जनरल, हिमालयन जनरल, एभरेष्ट, आईएमई जनरल र प्रभु इन्स्योरेन्स छन् ।
त्यस्तै, शिखर, सिद्धार्थ, सगरमाथा, एनएलजी, प्रुडेन्सियल, युनाइटेड र अजोड इन्स्योरेन्सले भने सूचीकृत कम्पनीको सेयरमा कम लगानी गरेका छन् । यीमध्ये अजोड इन्स्योरेन्सले सबैभन्दा बढी प्रतिशतले घटाएको छ । इन्स्योरेन्सले पहिलो त्रैमासको तुलनामा ६१.४१ प्रतिशतले घटाएर चार करोड ६१ लाख रुपैयाँ मात्रै लगानी गरेको छ । त्यस्तै, सबैभन्दा कम प्रतिशतले घटाउने भने सगरमाथा इन्स्योरेन्स छ । पहिलो त्रैमासमा २० करोड २९ लाख रुपैयाँ लगानी गरेको कम्पनीले दोस्रोमा १९ करोड ६३ लाख रुपैयाँ मात्रै गरेको छ । जुन ३.२७ प्रतिशतले घटी हो ।

निर्जीवन बीमा कम्पनीको तुलनामा जीवन बीमा कम्पनीको सेयर लगानी भने बढीले घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुको औसत लगानीदर ३३.०७ प्रतिशतले घटेको छ भने जीवन बीमा कम्पनीहरुको ४५.८५ प्रतिशतले घटेको छ ।
समग्रमा बीमा व्यवसाय (जीवन र निर्जीवन) बाट कूल १० अर्ब १६ करोड रुपैयाँ (सूचीकृत कम्पनीको) सेयरमा लगानी भएको छ । जुन पहिलो त्रैमासको तुलनामा ४४.०९ प्रतिशतले घटी हो । बीमा कम्पनीहरूले पहिलो त्रैमासमा १८ अर्ब १८ करोड रुपैयाँ लगानी सेयरमा गरेका थिए ।
सामान्यतः बजारमा बढी जोखिम देखेकाले लगानी घटाएको र कम जोखिम देखेकाले लगानी बढाएको बुझिन्छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीहरूले सेयर बजारमा गर्दै आएका लगानी घट्नुले उनीहरूले उक्त क्षेत्रमा जोखिम देखेर बाहिरिएका हुन सक्ने बताएका छन् ।
‘हामीले कम्पनीहरूलाई लगानी निर्देशिका २०७५ अनुसारकै सीमाभित्र रहेर लगानी गर्न खुला छोडिदिएका छौं, हाल त्यसमा कडाइ तथा परिमार्जन केही पनि गरिएको छैन, कम्पनीहरूले बजारमा रिक्स देखे होला, त्यसैले पनि बजारमा कम लगानी गरेका होलान्,’ प्रवक्तासमेत रहेका पौडेलले विकासन्युजसँग भने ।
यस्तो छ लगानी व्यवस्था
कम्पनीले समितिको निर्देशन अनुसार नै सेयर बजारमा लगानी गर्दै आएका छन् । बीमा समितिले बीमा कम्पनीहरूलाई सूचीकृत कम्पनीको सेयरमा अधिकतम १० प्रतिशत लगानी गर्न पाउने व्यवस्था गरेको छ । र, समितिको बीमकको लगानी निर्देशिका, २०७५ अनुसार बीमा कम्पनीहरूले घरजग्गा, सेयर बजारलगायत विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन् जसको लागि समितिले लगानी सीमासहित लगानीको शर्त पनि तोकिदिएको छ ।
सो अनुसार कम्पनीहरूले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा १० प्रतिशतसम्म लगानी गर्न पाउने भएका हुन् । उनीहरूले कूल टेक्निकल रिजर्भको दश प्रतिशतसम्म लगानी गर्न पाउने छन् । तर, सेयर लगानी गरिने कम्पनीको चुक्ता पुँजीको ५ प्रतिशतभन्दा बढी हुने गरी लगानी गर्न नपाइने शर्त राखिएको छ ।
कम्पनीहरुले साधारण सेयरमा मात्रै नभई नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर र ऋणपत्रमा पनि २० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ । तर, लगानी गरिने कम्पनीको चुक्ता पुँजीको १० प्रतिशतभन्दा बढी हुन नपाइने शर्त तोकिएको छ ।
यससँगै विनिमय बजारमा सूचीकृत कम्पनीको सुरक्षित डिबेन्चर, नागरिक लगानी कोष तथा म्युचुअल फण्डको लगानी योजनाहरूमा पनि बीमा कम्पनीहरूले लगानी गर्न पाउने व्यवस्था छ ।