साउनमा जीवन बीमकको व्यापारमा ३३.३४ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरूले २६ अर्ब रुपैयाँ बढीको व्यापार भित्र्याएका छन् । 

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बीमकले एक महिनामा ३ लाख ८५ हजार ९२१ वटा बीमालेख जारी गर्दा २६ अर्ब २२ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

अघिल्लो आव २०८२/८३ को साउनमा कम्पनीहरूले १९ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ भित्र्याएका थिए । अघिल्लो आवको तुलनामा कम्पनीहरूको व्यापार ३३.४४ प्रतिशतले बढेको छ ।

साउनमा सबैभन्दा धेरै व्यापार भित्र्याउनेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । ग्रोथको हिसाबले भने राष्ट्रिय जीवन बीमा कम्पनी अगाडि रहेको छ ।

एक महिनामा नेपाल लाइफले ६ अर्ब ९९ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ६ अर्ब १९ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको व्यापार १२.९३ प्रतिशतले बढेको छ ।

दोस्रो धेरै व्यापार भित्र्याउनेमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । कम्पनीले एक महिनामा ३ अर्ब ९९ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ४३ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको व्यापार ८२०.१६ प्रतिशतले बढेको छ ।

तेस्रो धेरै व्यापार भित्र्याउने कम्पनीमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले साउनमा २ अर्ब ९१ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले २ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको व्यापार २०.६५ प्रतिशतले बढेको छ ।

चालु आवको एक महिनामा हिमालयन लाइफले २ अर्ब २९ करोड ४१ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) ले २ अर्ब १४ करोड १४ लाख रुपैयाँ, सूर्यज्योति लाइफले १ अर्ब ५१ करोड ७९ लाख रुपैयाँ, एसियन लाइफले १ अर्ब ११ करोड ११ लाख रुपैयाँ, सिटिजन लाइफले ९६ करोड १ लाख रुपैयाँ, आइएमई लाइफले ९० करोड ९४ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफले ८५ करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा हिमालयन लाइफको व्यापार १३.११ प्रतिशत, एलआईसी नेपालको ४.९८ प्रतिशत, सूर्यज्योति लाइफको २१.९० प्रतिशत, एसियन लाइफको १७.१४ प्रतिशत, सिटिजन लाइफको १२.११ प्रतिशत, आइएमई लाइफको ३६.६३ प्रतिशत र सानिमा रिलायन्स लाइफको १८.७३ प्रतिशतले व्यापार वृद्धि भएको छ ।

एक महिनामा प्रभु महालक्ष्मी लाइफले ७६ करोड ११ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ७० करोड ६६ लाख रुपैयाँ, मेटलाइफले ६० करोड २८ लाख रुपैयाँ र सन नेपाल लाइफले ४६ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा प्रभु महालक्ष्मी लाइफको २३.३९ प्रतिशत, रिलायबल नेपाल लाइफको २१.४६ प्रतिशत, मेट लाइफको ११.६४ प्रतिशत र सन नेपाल लाइफको २७.८५ प्रतिशतले व्यापार बढेको छ ।

null

Share News