आईपीओ निकाल्न बाँकी ५ बीमा कम्पनीको पुँजी वृद्धि प्रक्रिया कसरी अघि बढ्छ ?

काठमाडौं । बीमा समितिको चैत १० गते बसेको संचालक समिति बैठकले बीमा कम्पनीहरुको चुक्ता पुँजी १५० प्रतिशतले बढाउने निर्णय गर्यो । समितिको निर्णय अनुसार जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ हुने भयो । चुक्ता पुँजी बढाउनको लागि समितिले आगामी २०७९ को चैत मसान्तसम्मको म्याद दिएको छ । अर्थात २०७९ चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ हुनै पर्छ । तर, अहिले संचालनमा रहेका मध्ये ५ वटा जीवन बीमा कम्पनीले साधारण सेयर (आईपीओ) नै जारी गरेका छैनन् । आईपीओ जारी गरेका कम्पनीहरुले हकप्रद जारी गरेर वा मर्जर तथा एक्वीजीसनमा गएर तोकिए अनुसार चुक्ता पुँजी बनाउन सक्ने भएपनि आईपीओ जारी नै नगरेका कम्पनीहरुले कसरी पुँजी पुर्याउँछन् भन्ने प्रश्न पनि खडा भएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल भने आईपीओ जारी नगरेका कम्पनीहरुलाई पनि चुक्ता पुँजी बृद्धि गर्न समस्या नहुने बताउँछन् । आईपीओ जारी नगरेका कम्पनीहरुले पहिला प्रमोटरले पुँजी थप्ने र त्यसपछि आईपीओ जारी गर्न सक्ने उनले बताए । ‘कम्पनीहरुले प्रमोटेरले ७० प्रतिशत र सर्वसाधारणले ३० प्रतिशत लगानी गर्ने भनेका छन्, आईपीओ जारी नगरेका कम्पनीहरुले पहिला प्रमोटरले थप्ने रकम थप गर्नुपर्यो, त्यसपछि ३० प्रतिशतका दरले हुने रकम बराबरको आईपीओ जारी गरे हुन्छ, तर तोकिएको समयभित्रमा (२०७९ चैत मसान्तभित्रै) प्रमोटरले लगानी थपेर आईपीओ पनि जारी गरिसक्नु पर्छ,’ कार्यकारी निर्देशक पौडेलले विकासन्युजसँग भने । संचालनमा रहेका ५ वटा जीवन बीमा कम्पनीहरुले आईपीओ जारी गरेका छैनन् । आईपीओ जारी नगर्ने कम्पनीहरुमा सन् नेपाल, महालक्ष्मी, सिटिजन्स, आइएमई र रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी हुन् । यी कम्पनीहरु आईपीओ जारी गर्ने प्रक्रियामा भने गइसकेका थिए । आईपीओ जारी गर्ने प्रक्रियामा गइसकेका कम्पनीहरुका प्रमोटरले फेरि पुँजी थप गर्नुपर्ने भएपछि आईपीओ जारी गर्ने समय भने लम्बिने भएको छ । जीवन बीमा कम्पनीहरुको हकमा चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्याउनै पर्ने भएकोले प्रमोटरले ३ अर्ब ५० करोड रुपैयाँ लगानी (चुक्ता पुँजीको ७० प्रतिशतका दरले हुने रकम) गर्नुपर्छ । बाँकी हुने १ अर्ब ५० करोड रुपैयाँ बराबरको आईपीओ जारी हुनेछ । नयाँ व्यवस्था अनुसार सन् नेपाल, महालक्ष्मी, आईएमई र रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमोटरहरुले २ अर्ब १० करोड रुपैयाँका दरले लगानी थप गर्नुपर्ने भएको छ । किनभने यी ४ वटै कम्पनीमा प्रमोटरले १ अर्ब ४० करोड रुपैयाँ लगानी गरेका छन् । तर, सिटिजन्स लाइफका प्रमोटरले १ अर्ब ७५ करोड रुपैयाँ लगानी गरिसकेकाले थप १ अर्ब ७५ करोड रुपैयाँ मात्रै लगानी गर्दा हुनेछ ।

यूनियन लाइफको नयाँ बीमा योजना : बीमितले प्रत्येक ३ वर्षमा अग्रिम भुक्तानी पाउने

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सले नयाँ बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले प्रत्येक तीन वर्षमा अग्रिम रुपमा रकम भुक्तानी गर्ने गरी नविनतम प्रकारको जीवन उत्थान बीमा योजना सार्वजनिक गरेको हो । यस योजनाबाट बीमा गर्ने व्यक्तिहरुले धेरै भन्दा धेरै फाइदा लिन सक्ने  कम्पनीले जनाएको छ । कम्पनीको अनुिसार यस बीमा योजना न्युन आय भएका व्यक्तिहरुदेखि अधिक आय भएका व्यक्तिहरुले खरिद गर्न सक्नेछन् । यस योजनामा न्यूनतम ५० हजारदेखि आय श्रोतको आधारमा चाहे अनुसार बीमाङ्क रकमको बीमा गर्न सक्ने व्यवस्था रहेको छ । न्युनतम ९ वर्षदेखि अधिकतम १८ वर्षसम्मको अवधि कायम गरी १६ वर्षदेखि ५० वर्षका व्यक्तिहरुले बीमा गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीको अनुसार यस योजनामा बीमा गर्ने व्यक्ति बीमा अवधिसम्म जिवित रहेमा अग्रिम भुक्तानी गरी बाँकी हुन आएको बीमाङ्क रकम र बोनस उपलब्ध हुनेछ भने बीमा अवधिभित्र कालगतीले मृत्यु भएमा समेत बीमाङ्क रकम र बोनस उपलब्ध हुने व्यवस्था रहेको छ । यस्तै कुनै कारणले बीमितको दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क बराबरको थप रकम र बोनस रकम समेत उपलब्ध हुनेछ । उक्त योजनामा दुर्घटना लाभ वापतको अधिकतम रकम एक करोड सम्म हुने व्यवस्था रहेको कम्पनीले जनाएको छ । यति मात्र नभएर यस योजनामा प्रत्येक तिन वर्ष पुरा भएको बीमालेखको वार्षिकोत्सव मितिमा अग्रिम भुक्तानी वापतको रकम प्रदान गरिने र बीमा अवधि समाप्तीमा बीमितले प्राप्त गरेको अग्रिम भुक्तानी रकम पश्चात बाँकी हुन आउने बीमाङ्क रकम र बोनस समेत प्रदान गरिने व्यवस्था रहेको छ । यस बीमा योजनामा दुर्घटना मृत्यु लाभ, बीमा शुल्क छुट, मासिक आय, घातक रोग सम्बन्धी थप सुविधाहरु लिन सक्ने व्यवस्था रहेको छ । साथै यसमा बीमालेख लिएको मितिले तिन वर्ष पुरा भए पश्चात सम्पुर्ण मुल्य, चुक्ता मुल्य तथा कर्जा सुविधा प्राप्त गर्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले प्रत्येक तीन वर्षपछि अग्रिम भुक्तानी हुने र सबै वर्गका मानिसहरुको पहुँचमा उदेश्यले यस बीमा योजना ल्याइएको बताए ।

निर्जीवन बीमा कम्पनीले मात्रै सवा २४ अर्ब बढी पुँजी थप्नुपर्ने, कुनलाई कति दवाव ? (सूचीसहित)

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले कम्पनीहरुलाई पुँजी बढाउन निर्देशन दिएको छ । चैत १० गते बसेको समितिको बोर्ड बैठकले जीवन तथा निर्जीवन व्यवसाय गर्ने कम्पनीहरुलाई हालको चुक्ता पुँजी बढाउन निर्देशन दिएको हो । समितिले जीवन कम्पनीलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्याउन तोकेको हो । दुबै किसिमका व्यवसाय गर्ने कम्पनीलाई एक वर्षभित्र पुँजी पुर्याउन समितिको निर्देशन छ । समितिको निर्देशनसँगै निर्जीवन बीमा कम्पनीलाई एक वर्षभित्रै कूल २४ अर्ब रुपैयाँ बढी पुँजी थप्न दवाव परेको छ । नेशनल र दी ओरियन्टलबाहेक अन्य १८ वटा निर्जीवन बीमा कम्पनीले २०७९ चैत मसान्तभित्र हालको पुँजीमा २४ अर्ब २४ करोड ३९ लाख रुपैयाँ थप्नु पर्ने देखिएको हो । जुन हालको पुँजीको तुलनामा ११६.८० प्रतिशतले बढी हो । तोकिएको पुँजीअनुसार १८ वटा कम्पनीहरुको न्यूनतम पुँजी कूल ४५ अर्ब रुपैयाँ हुनुपर्छ । उनीहरुसँग हाल २० अर्ब ७५ करोड रुपैयाँ (कूल) मात्रै पुँजी छ । जुन गत वर्षको प्रस्तावित बोनस र हकप्रद सेयर समेत गरिको पुँजी हो । समितिको निर्देशन अनुसार अन्य कम्पनीको तुलनामा राष्ट्रिय बीमा कम्पनी (आरबीसीएल) ले सबैभन्दा बढी पुँजी थप्नुपर्ने देखिन्छ । हाल २६ करोड ६६ लाख रुपैयाँ पुँजी रहेको कम्पनीले एक वर्षभित्रै ८३७.७३ प्रतिशत बढी पुँजी बढाउनुपर्ने छ । जुन रकमको आधारमा २ अर्ब २३ करोड रुपैयाँ बढी हो । त्यस्तै, ४ वटा कम्पनीले शतप्रतिशतभन्दा बढीले पुँजी वृद्धि गर्नुपर्ने छ । जसमा यूनाईटेडले ३४३.१७ प्रतिशत, हिमालयन जनरलले ११३.०४, प्रुडेन्सियलले ११०.७९ र प्रिमियर इन्स्योरेन्सले १०३.६५ प्रतिशतले पुँजी बढाउनुपर्ने देखिएको छ । समितिले तोकेको न्यूनतम पुँजी पुर्याउन शिखर इन्स्योरेन्सले भने सबैभन्दा कम अर्थात ९.३६ प्रतिशतले मात्रै पुँजी बढाए हुन्छ । हाल हकप्रद जारी गरिरहेको कम्पनीको चुक्ता पुँजी हकप्रदपछि २ अर्ब २८ करोड ६० लाख रुपैयाँ पुग्ने छ । र, तोकिएको साढे २ अब पुँजी पुर्याउन कम्पनीलाई २१ करोड ४० लाख रुपैयाँ मात्रै आवश्यक छ । १८ वटा कम्पनीमा १३ वटा कम्पनीले बोनस तथा हकप्रद सेयर प्रस्ताव गरिसकेका छन् । जसमा शिखर र आईएमई जनरल इन्स्योरेन्सले हकप्रद जारी गर्दै छन् भने बाँकीले बोनस सेयर प्रस्ताव गरेका छन् । आईएमई जनरलले भने बोनस सेयर पनि प्रस्ताव गरिसकेको छ । बोनस र हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ७० करोड रुपैयाँ पुग्ने छ । राष्ट्रिय बीमा कम्पनीसहित ५ वटा कम्पनीले भने हालसम्म लाभांश तथा हकप्रद केही पनि प्रस्ताव गरेका छैनन् । समितिको निर्देशनसँगै सम्पूर्ण कम्पनीहरुलाई पुँजी वृद्धि योजना बनाउन आवश्यक छ । उनीहरुले एक महिनाभित्रै अर्थात बैशाख १० गतेभित्रै आ-आफ्नो पुँजी वृद्धि योजना बोर्डबाट पास गराई बीमा समितिमा पेश गर्नु पर्ने समितिको निर्देशन छ । यससँगै कम्पनीहरुले बोनस तथा हकप्रदबाट पुँजी बढाउन सक्ने छन् । तर, बोनस तथा हकप्रदबाट मात्रै पुँजी वृद्धि नभएमा समितिले मर्जरलाई विशेष प्राथमिकतामा राखेको छ । कम्पनीहरुले तोकेको समयमा पुँजी पुर्याउन नसके मर्जर तथा एक्वीजिसन मार्फत पनि पुँजी कायम गर्नुपर्ने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताएका छन् । सम्बन्धित समाचार बीमा कम्पनीहरूको चुक्ता पुँजी बढाइयो, एक महिनाभित्रै योजना पेश गर्न निर्देशन