चार बीमा कम्पनीले आईपीओ ननिकाल्दा ६ बैंक तथा वित्तीय संस्था तनावमा

काठमाडौं । अहिले संचालनमा रहेकामध्ये ४ जीवन बीमा कम्पनीले साधारण सेयर (आईपीओ) जारी नगर्दा ६ वटा बैंक तथा वित्तीय संस्थाहरु तनावमा परेका छन् । सञ्चालनमा आएका जीवन बीमा कम्पनीमध्ये ५ वटा कम्पनीले आईपीओ जारी गरेका छैनन् । यी ५ कम्पनीमध्ये पनि ४ कम्पनीले आईपीओ जारी नगर्दा ग्लोबल आईएमई, मेगा, एनएमबी बैंक सहित ७ वटा बैंक तथा वित्तीय संस्थाहरु तनावमा परेका हुन् । संचालनमा रहेका महालक्ष्मी लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ, आईएमई लाइफ, रिलायवल लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ जारी गरिसकेका छैनन् । यसमध्ये सन नेपाल लाइफ बाहेकका कम्पनीले आईपीओ जारी नगर्दा विभिन्न बैंक तथा वित्तीय संस्थालाई तनाब भएको हो । आईपीओ जारी गर्न बाँकी रहेका ५ कम्पनीमध्ये ४ वटा कम्पनीमा विभिन्न बैंक तथा वित्तीय संस्थाको लगानी रहेको छ । तर, सन नेपाल लाइफ इन्स्योरेन्समा भने बैंक तथा वित्तीय संस्थाको खासै लगानी देखिदैन । बैंक तथा वित्तीय संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत भइनसकेको संगठित संस्थाको सेयर वा डिवेञ्चरमा लगानी गरेमा त्यस्तो लगानी गरेको मितिले ३ वर्षभित्रमा उक्त सेयर वा डिवेञ्चर सुचिकृत नभएमा लगानी गरेको रकम बराबर नै प्रोभिजनिङ गर्नुपर्ने हुन्छ । त्यसैकारण यी ४ बीमा कम्पनीमा लगानी गरेका ६ वटा बैंक तथा वित्तीय संस्थाहरु तनावमा परेका हुन् । ‘धितोपत्र विनिमय बजारमा सुचिकृत भइनसकेको संगठित संस्थाको सेयर वा डिवेञ्चरमा लगानी गरेमा त्यस्तो लगानी गरेको मितिले ३ वर्षभित्र उक्त सेयर तथा डिवेञ्चर सुचिकृत नभएको खण्डमा लगानी भए बराबरको रकम संचित मुनाफा खर्च गरी लगानी समायोजन कोषमा जम्मा गर्नु पर्नेछ । त्यस्तो कोषमा रहेको रकम सेयर तथा डिवेञ्चर सुचिकृत नभएसम्म उपयोग गर्न पाइने छैन,’ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लागि जारी गरेको एकीकृत निर्देशनको निर्देशन नम्बर ८ मा उल्लेख छ । अहिलेसम्म आईपीओ जारी नगरेका ५ बीमा कम्पनी संचालनमा आएको ३ वर्ष पूरा भएको छ । संचालनमा आएको ३ वर्ष पूरा भएपनि आईपीओ जारी नगरेका बीमा कम्पनीमा लगानी गरेका बैंक तथा वित्तीय संस्थाले लगानी गरेको रकम बराबर नै प्राभिजनिङ गर्नुपर्ने भएकोले उनीहरुले वितरण गर्ने नाफा कम हुने देखिएको हो । महालक्ष्मी लाइफ, सिटिजन्स लाइफ, रिलायबल नेपाल र आईएमई लाइफ इन्स्योरेन्समा भने बैंक तथा वित्तीय संस्थाको लगानी रहेको पाइएको छ । जसमध्ये महालक्ष्मीमा बैंक तथा वित्तीय संस्थाको सबैभन्दा बढी लगानी छ । सो इन्स्योरेन्समा ५ वटा बैंक तथा वित्तीय संस्थाको ५२ करोड ७५ लाख रुपैयाँ बराबरको लगानी छ । महालक्ष्मीमा मेगा बैंकको २० करोड, ज्योति विकास बैंकको १५ करोड, एक्सेल डेभलपमेन्ट बैंकको ८ करोड, एनएमबि बैंकको ५ करोड र महालक्ष्मी विकास बैंकको ४ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर लगानी छ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी २०७५ साल माघ २७ गतेदेखि संचालनमा आएको हो । संचालनमा आएको तीन वर्ष पूरा भएकोले सो कम्पनीको प्रमोटर सेयरमा लगानी गरेका ५ वटा नै बैंक तथा वित्तीय संस्थाहरुले लगानी गरे बराबरको रकम प्रोभिजनिङ गर्नुपर्ने भएको छ । यस्तै, सिटिजन लाइफ इन्स्योरेन्समा गुडविल फाइनान्सको ३ करोड रुपैयाँ लगानी रहेको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी २०७४ साल भदौ ७ गतेदेखि संचालनमा आएको हो । त्यसैले गुडविल फाइनान्सले सिटिजन लाइफको प्रमोटर सेयरमा लगानी गरे बराबरको रकम लगानी समायोजन कोषमा राख्नु परेको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा ग्लोबल आइएमई बैंकको २० करोड रुपैयाँ बराबरको लगानी छ । सो कम्पनी २०७४ साल भदौ १५ गतेदेखि संचालनमा आएको हो । अहिलेसम्म आईपीओ जारी नगरेका कारण ग्लोबल आईमई बैंकले रिलायवल लाइफमा गरेको २० करोड रुपैयाँ लगानी बराबरको रकम लगानी समायोजन कोषमा जम्मा गर्नु परेको छ । आईएमई लाइफ इन्स्योरेन्समा पनि ग्लोबल आईएमई बैंकको २० करोड रुपैयाँ लगानी छ । सो कम्पनी २०७४ साल भदौ १ गतेदेखि संचालनमा आएको हो । संचालनमा आएको ३ वर्ष पुगेपनि आईपीओ जारी नगरेका कारण ग्लोबल आईएमई बैंकले आईएमई लाइफमा गरेको २० करोड रुपैयाँ लगानी बराबरको रकम लगानी समायोजन कोषमा राख्नु परेको छ । सम्बन्धित समाचार एकै वर्षमा डबलभन्दा बढी पुँजी वृद्धि गर्न सजिलो छैन बीमा कम्पनीहरु मर्जर/एक्वीजीसनमा जानै पर्ने, हकप्रद जारी गरेर मात्रै पुँजी पुर्‍याउन नदिइने बीमा कम्पनीहरूको चुक्ता पुँजी बढाइयो, एक महिनाभित्रै योजना पेश गर्न निर्देशन निर्जीवन बीमा कम्पनीले मात्रै सवा २४ अर्ब बढी पुँजी थप्नुपर्ने, कुनलाई कति दवाव ? (सूचीसहित) आईपीओ निकाल्न बाँकी ५ बीमा कम्पनीको पुँजी वृद्धि प्रक्रिया कसरी अघि बढ्छ ? जीवन बीमाको पुँजी वृद्धि : ५ अर्बको पुँजी जुटाउन कसले कति हकप्रद सेयर जारी गर्नुपर्ला ?

असारभित्रै आईपीओ जारी गर्दै महालक्ष्मी लाईफ इन्स्योरेन्स

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले आगामी असारभित्रै प्राथमिक सार्वजनकि निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । इन्स्योरेन्सले २०७९ असारभित्र चुक्ता पुँजीको ३० प्रतिशत बराबरको सेयर सर्वसाधारणलाई बिक्री तयारी गरेको हो । चैत १३ गते २०७९ सालको आफ्नो क्यालेन्डर सार्वजनिक गर्दै इन्स्योरेन्सले उक्त जानकारी गराएको हो । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले उक्त क्यालेन्डर वितरणको लागि सार्वजनिक गरेका हुन् । जसमा प्राकृतिक पर्यटनलाई सघाउ पुग्ने गरी नेपालको दुर्गम हिमाली क्षेत्रमा रहेको तालहरु समावेश गरिएको कम्पनीले जनाएको छ । कारोबार संचालन भएको ३ तिन वर्ष पुगेको कम्पनीको हाल ६५ वटा शाखारउपशाखा संचालनमा रहेको छ । त्यस्तै, समीक्षा अवधिमा कम्पनीले ३ अर्बभन्दा बढी प्रिमियम संकलन गरिसकेको जानकारी गराएको छ । क्यालेन्डर सार्वजनिक कार्यक्रममा संचालकहरु उमेशलाल श्रेष्ठ, सुरेश सापकोटाको उपस्थिति रहेको थियो ।

एकै वर्षमा डबलभन्दा बढी पुँजी वृद्धि गर्न सजिलो छैन

काठमाडौं । पछिल्लो समय बीमा क्षेत्र दवावमा छ । नियामक निकाय बीमा समितिले एकैपटक साढे २ गुणाले चुक्ता पुँजी बढाउन निर्देशन दिएसँगै कम्पनीहरुलाई दवाव परेको हो । हाल २ अर्ब रुपैयाँ पुँजी भएकालाई ५ अर्ब र एक अर्ब पुँजी भएका कम्पनीलाई साढे २ अर्बको चुक्ता पुँजी पुर्याउन समितिको निर्देशन छ । जसको लागि कम्पनीहरुले के कसरी बढाउन सकिन्छ भन्ने योजना एकमहिना भित्रै नियामक निकाय समितिमा पेश गर्नुपर्ने छ । नयाँ व्यवस्था अनुसार अधिकांश कम्पनीहरुलाई गाह्रो हुने देखिएको छ । निर्जीवन बीमा कम्पनीको तुलनामा जीवन बीमा कम्पनीहरुलाई तोकिएको समयमा पुँजी पुर्याउन असज हुने जानकारहरु बताउँछन् । निर्जीवन बीमा कम्पनीहरुको छाता संघठन बीमक संघका अध्यक्ष चंकी क्षेत्री पुँजी वृद्धिको लागि कम्पनीहरुलाई दुई वटा मात्रै विकल्प रहेको बताउँछन् । उनका अनुसार एउटा मर्जर र अर्को बोनस तथा हकप्रद सेयर जारी गर्ने बाहेक पुँजी बढाउने अन्य कुनै विकल्प छैन । ‘हामी (संघ) ले देखेको अनुसार पुँजी बढाउनको लागि की त मर्जरमा जानुपर्छ की बोनस सेयर वितरण गरेर बाँकी रहेको हकप्रद नै जारी गर्नुपर्छ, अरु त अप्सन नै छैन,’ सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत समेत रहेका क्षेत्रीले भने । मर्जरमा जान नचाहने कम्पनीहरुले बोनस र हकप्रदबाट नै जारी गरेर तोकिएको न्युनतम पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनु पर्छ । तर अहिलेको व्यवस्था अनुसार पनि कम पुँजी भएका कम्पनीहरुलाई बोनस र हकप्रदले मात्र पुँजी वृद्धि नहुने र मर्जरमा जानै पर्ने बाध्यकारी व्यवस्था आउन सक्ने अध्यक्ष क्षेत्री बताउँछन् । समितिले कम्पनीहरुलाई एक वर्षभित्र तोकिएको न्यूनतम पुँजी बढाउन निर्देशन दिएको छ । जुन समय एकदमै सीमित रहेको संघका अध्यक्ष क्षेत्री बताउँछन् । साथै, समितिले मर्जरलाई प्राथमिकतामा राखेर पुँजी वृद्धिको निर्णय गरेको हुन सक्ने उनको भनाई छ । ‘समितिले पुँजी बढाउनुको मूख्य उद्देश्य कम्पनीहरुलाई मर्ज गराउनु जस्तो लाग्छ, यो मिल्यो भने राम्रो हो, कम्पनीहरुको संख्या घट्छ, सिनर्जी आउँछ, म्यानपावरको समस्या समाधान हुन्छ, हालको अस्वस्थ प्रतिस्पर्धा कम हुन्छ, त्यसैले यो सकारात्मक नै हो, अब मर्ज हुन सकेनन् भने हकप्रद नै हो,’ आफ्नो धारणा व्यक्त गर्दै क्षेत्रीले विकासन्युजसँग भने । यता जीवन बीमा कम्पनीको छातासंगठन नेपाल बीमक संघले ठूला र साना दुबैलाई एउटै लेभलको पुँजी वृद्धि गर्न असज हुने बताएको छ । उनीहरुलाई एउटै लेभलको क्यापिटलभन्दा पनि रिक्स बेस क्यापिटलको आधारमा व्यवस्था भईदिएको भए राम्रो हुने संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठ बताउँछन् । ‘सञ्चालनमा रहेका सबै जीवन कम्पनीहरु एकनासका छैनन्, कति पुराना छन्, भने कति भर्खर सञ्चालनमा आएका छन् त कति अझै पनि पब्लिकमा गएका छैनन्, त्यसैले सबैलाई एउटै पुँजी भन्दा पनि रिक्स बेस क्यापिटलमा नै गएको भए राम्रो हुने थियो,’ आफ्नो व्यक्तिगत धारणा राख्दै उनले भने । उनका अनुसार जीवन बीमा कम्पनीहरु पुँजी बढाउनको लागि अब रिक्स बेस क्यापिटलमै जानु पर्ने देखिन्छ । ठूला कम्पनीले त ठूलो क्यापिटल अफोर्ड गर्न सक्लान्, तर भर्खर खुलेका साना कम्पनीको हकमा त्यो सम्भव नहुने उनको भनाई छ । एउटै क्यापिटल कार्यान्वयन धेरै कम्पनीहरुलाई असहज हुन्छ । त्यस्तै, अब आईपीओ निकाल्न बाँकी रहेका कम्पनीहरुलाई पुँजी वृद्धि गर्ने प्रकृयामा जान दुई वटा अप्सन रहेको बताउँदै उनले भने- ‘पहिला आईपीओको प्रकृयामा गएर त्यसपछि कसरी पुँजी वृद्धि गराउने भन्नेमा जाने, अर्को, प्रमोटरहरुले पुँजी मिलाउने त्यसपछि मात्रै आईपीओको प्रकृयामा जाने, तर अहिले  नै यो गर्न सकिन्छ भन्न नसकिँदैन ।’ पुँजी वृद्धिको योजना पेश गर्ने एक महिनाको समयसीमा भएकाले त्यो समयसम्ममा सबै कम्पनीको संस्थापक र सञ्चालक समितिसँग छलफल भइसकेर के गर्ने भन्ने निर्णय आइसक्ने उनले बताए । ‘कसरी पुँजी वृद्धि गराउने भनेर प्लान दिनको लागि एक महिनाको समय ठिकै हो, तर एकै वर्षमा डबलभन्दा बढी पुँजी वृद्धि गर्नलाई त्यति सजिलो छैन, अब कसरी गर्न सकिन्छ भन्नेमा सञ्चालक तथा प्रमोटरहरुसँग थप डिस्कसन होला, त्यहि अनुसार समितिमा प्लान तथा प्रपोजल जाला,’ उनले भने । तर, पुँजी वृद्धिको विषयमा कम्पनीहरुको संस्थापकहरुसँग छलफल नै भएपनि एउटै डिसिजन आउन भने गाह्रो हुने पनि उनको भनाई छ । ‘नियामकले गरेको नयाँ व्यवस्थामा प्रमोटरहरुले लगानी गर्ने विषय हो, कम्पनीहरुको प्रमोटरहरुसँग छलफल भएपछि मात्रै के गर्ने भन्ने निष्कर्ष आउँछ, हाल भने प्रमोटरहरुसँग छलफल भइसकेको छैन, तर छलफल नै भएपनि सबै प्रमोटरबाट एउटै डिसिजन आउन गाह्रो हुन्छ,’ मेटलाइफका सीईओ समेत रहेका श्रेष्ठले बताए । यता बीमा समितिले भने हकप्रद जारी गर्छु भन्ने प्रस्तावलाई कडाई गरिने बताएको छ । कम्पनीको संख्या बढी भएकोले घटाउने उद्देश्यले नै चुक्ता पुँजी बढाइएको प्रष्ट पार्दै हकप्रद जारी गर्छु भन्ने प्रस्तावलाई कडाईका साथ हेरिने बीमा समितिका एक अधिकारीले बताएका छन् । सम्बन्धित समाचार बीमा कम्पनीहरु मर्जर/एक्वीजीसनमा जानै पर्ने, हकप्रद जारी गरेर मात्रै पुँजी पुर्‍याउन नदिइने बीमा कम्पनीहरूको चुक्ता पुँजी बढाइयो, एक महिनाभित्रै योजना पेश गर्न निर्देशन निर्जीवन बीमा कम्पनीले मात्रै सवा २४ अर्ब बढी पुँजी थप्नुपर्ने, कुनलाई कति दवाव ? (सूचीसहित) आईपीओ निकाल्न बाँकी ५ बीमा कम्पनीको पुँजी वृद्धि प्रक्रिया कसरी अघि बढ्छ ? जीवन बीमाको पुँजी वृद्धि : ५ अर्बको पुँजी जुटाउन कसले कति हकप्रद सेयर जारी गर्नुपर्ला ?