नेपाल इन्स्योरेन्सले बढायो लाभांशदर, बोनस र नगद कति ?
काठमाडौं । नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ११.५७८९ प्रतिशित लाभांश वितरण गर्ने घोषणा गरेको हो । चैत ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा बढी हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत (८ प्रतिशत बोनस र २ प्रतिशत नगद) वितरण गरेको थियो । हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २४ करोड रुपैयाँ छ । प्रस्तावित ११ प्रतिशत बोनस पारित पश्चात १ अर्ब ३७ करोड रुपैयाँ पुँजी पुग्ने छ । प्रस्तावित लाभांशलाई बीमा समितिले स्वीकृत दिएपछि इन्स्योरेन्सको साधारण सभाले पारित गर्नुपर्ने छ ।
दाबी रकम समयमै नदिए बीमा कम्पनीले अब व्याज दिनुपर्ने
काठमाडौं । बीमा कम्पनीहरूले समयमै बीमाको दाबी रकम भुक्तानी नगरे बीमितलाई व्याज दिनुपर्ने व्यवस्था हुने भएको छ । बीमा समितिको आयोजनामा ललितपुरमा आइतबार सम्पन्न जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँगको भएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा दाबी भुक्तानी जानी बुझी समयमै नदिएमा दाबी भुक्तानी अवधिपछि बीमा रकमको व्याजसमेत दिनुपर्ने व्यवस्था गर्न लागेको बताएका हुन् । अध्यक्ष सिलवालले देशमा बीमा क्षेत्रको समग्र विकास एवम् विस्तारका साथै बीमितको हित रक्षा गर्नु बीमा समितिको मुख्य कार्य भएको उल्लेख गर्दै कानून उल्लङ्घन गरी गलत काम गर्नेलाई भने कारवाही गरिने स्पष्ट गरे । साथै बीमाको दाबी भुक्तानी मनोगतरुपमा नगरी तोकिएकै समयमा गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिए । उनले बीमा समितिले राष्ट्रिय बीमा नीति ल्याउन सरकारलाई आग्रह गर्दै आएको र त्यसको मस्यौदासमेत बुझाइसकेको उल्लेख गर्दै त्यसलाई आवश्यक छलफल गरेर अघि बढाउन अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग तयार रहेको जानकारी दिए । कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूका लागि एकीकृत सफ्टवेर निर्माण गर्ने कार्यको समितिले नेतृत्व गर्ने बताउँदै बीमा कम्पनीका कर्मचारी, बीमा अभिकर्ता लगायतलाई सक्षम बनाउनका लागि तालिम दिन इन्सुरेन्स इन्ष्टिच्युट नेपाललाई अनुमती दिइएको जानकारी दिए । कार्यकारी निर्देशक पौडेलले समितिले एकीकृत निर्देशिका चाँडै ल्याउने जानकारी दिँदै बीमा दाबी भुक्तानी छिटोभन्दा छिटो गरेर बीमाप्रतिको विश्वास कायम राख्न आग्रह गरे ।
प्रभु लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । सम्पन्न साधारणसभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरेको छ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू पारित गरिको छ । चौथो वार्षिक साधारण सभाले सञ्चालक डा. बिमला दाहाल रेग्मी एवम् स्वतन्त्र सञ्चालक अनिलप्रसाद श्रेष्ठको नियुक्ति अनुमोदन गरेको छ । साथै सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा शंकर गौतम र दिपक पाण्डेय निर्विरोध निर्वाचित भएका छन् । होटल रेडिसन काठमाडौंमा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा सम्पन्न साधारणसभा सेयरधनीहरूलाई लाभांश वितरण भने गरेको छैन ।