कोरोना बीमाको दाबी भुक्तानी गर्ने अन्तिम तयारीमा अर्थमन्त्रालय, बनायो ३ सदस्यीय समिति
काठमाडौं । सरकारले कोरोना बीमाको दाबी भुक्तानीका लागि तयारी थालेको छ । यसअघि पटक-पटक कोरोना बीमाको दाबी भुक्तानी दिने बताएको सरकारले अब भने समिति नै बनाएर काम अगाडि बढाएको हो । अर्थ मन्त्रालयले अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख रमेश कुमार केसीको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ । समितिमा राजश्व महाशाखा प्रमुख भूपाल बराल र बजेट महाशाखाका प्रमुख चक्रबहादुर बुढा सदस्य रहेको श्रोतले बताएको छ । श्रोतका अनुसार यो समितिले कोरोना बीमा दाबी भुक्तानीमा हालसम्म भएका कार्य प्रगति लगायतका विषयहरूको अध्ययन गरी भुक्तानी गर्न अर्थमन्त्रालय समक्ष प्रतिवेदन पेश गर्ने बताइएको छ । सो समितिको प्रतिवेदनपछि अर्थमन्त्रालयले कोरोना बीमा दाबी भुक्तानीका लागि बजेट निकासा गर्ने बताइएको छ । बीमा समितिले सरकारलाई कुल दायित्वको ५५ प्रतिशत दाबी भुक्तानी गर्न आग्रह गरेको छ । सरकारले साढे ११ अर्ब रूपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।
तारा एयरको जहाज दुर्घटनामा ४ अर्ब ४० करोड रुपैयाँ क्षति, हिमालयन जनरलले २२ लाख तिर्ने
काठमाडौं । जेठ १५ गते मुस्ताङको थासाङ –२ मा दुर्घटनामा परेको तारा एयरको जहाजमा ४ अर्ब ४० करोड रुपैयाँ क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । सो दिन विहान ९ः५५ बजे पोखराबाट जोमसोमको लागि उडान भरेको तारा एयरको टुवीन् अटर नाइन एन–एइटी जहाज मुस्ताङको थासाङ गाउँपालिकाको वडा नम्बर २ मा दुर्घटनामा परेको थियो । सो जहाजको बीमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले गरेको छ । हिमालयन जनरलले कुल बिमांक रकमको ०.०५ क्षति आफूले व्यहोर्ने गरी पुनर्बीमा गराएको छ । सो जहाज दुर्घटनामा परेपछि पुनर्बीमा कम्पनीका प्रतिनिधि नेपाल आएर क्षतिको प्रारम्भिक अनुमान गरेको स्रोतले जानकारी दियो । सो जहाजको ४.४ विलियन (४ अर्ब ४० करोड) रुपैयाँ क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । यद्यपि, सो क्षतिको अन्तराष्ट्रिय भ्यालुएटरले भ्यालुएसन गरिसकेका छैनन् । त्यसैकारण यकिन क्षतिको विवरण आएको छैन । अहिलेको प्रारम्भिक विवरण अनुसार ताराको जहाज दुर्घटनामा ४ अर्ब ४० करोड रुपैयाँ बराबरको क्षति भएको छ । सो क्षतिको ०.०५ प्रतिशत बीमा गराउने कम्पनी हिमालयन जनरलले क्षतिपूर्ति दिदा २२ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने हुन्छ । सम्बन्धित सामग्री : कति पाउँछन् तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएकाको परिवारले बीमा रकम ?
मर्जरमा जाने बीमा कम्पनीलाई तीन छुट, असारभित्रै प्रकृया थाल्नुपर्ने
काठमाडौं । बीमा समितिले २०७९ असारभित्र मर्जरको प्रकृयामा जाने बीमा कम्पनीहरुलाई विभिन्न सेवा सुविधामा छुट दिने भएको छ । समितिले मर्जरमा जान इच्छुक कम्पनीलाई पुँजीगत लाभकर, लाभांश कर र कर्मचारी अवकाश भुक्तानीमा कर छुट दिने भएको हो । समितिका अनुसार कम्पनीहरु गाभिएपश्चात बनेको नयाँ कम्पनीका सेयरधनीहरुले आफ्नो सेयर गाभिएको मितिले दुई वर्षभित्र बिक्री गर्दा बिक्री भएको सेयरमा पुँजीगत लाभकर नलाग्ने भएको छ । त्यस्तै, कम्पनीहरुमा मर्ज भएको मितिले दुई वर्षभित्र गाभिएको अवस्थामा कायम रहेको सेयरधनीलाई वितरण गरेको लाभांशमा समेत कर नलाग्ने समितिले जानकारी गराएको । अर्को, मर्जरको प्रकृयामा रहेका बीमा कम्पनीहरुले कर्मचारीहरुको अवकाश भुत्तानीमा ५० प्रतिशत कर छुट दिनु पर्ने छ । यससँगै, कम्पनीहरुले कर्मचारीहरुलाई सामुहिक रुपमा सेवाबाट अवकाश दिने प्रयोजनको लागि गरिने थप एकमुष्ट भुत्तानीमा एकमुष्ट अवकाश भुत्तानी कर कट्टी गर्नुपर्नेमा ५० प्रतिशत छुट हुने भएको हो । यो सुविधा आयकर ऐन, २०५८ अनुसार २०७९ असार मसान्तभित्र मर्जरमा जाने आशयपत्र आन्तरिक राजस्व विभागमा दिएका कम्पनीहरुले मात्रै पाउने छन् । र, उक्त आशयपत्र दिएका कम्पनीहरुले आगामी २०८० असार मसान्तभित्र मर्जरको प्रकृया सम्पन्न गरिसक्नु पर्ने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी गराएका छन् । साथै, चुक्ता पुँजी पुर्याउन मर्जरमा जाने कम्पनीहरुले आयकर ऐन २०५८ को दफा ४७ अनुसारको छुट तथा सुविधा समेत पाउने छन् । जसको लागि उनीहरुले २०७९ असारभित्र बीमा समितिमा आवेदन दिइसक्नुपर्ने समितिले जानकारी गराएको छ । सम्बन्धित समाचार प्रमोटरको निराशा र नियामकको दवावले मर्जमा जाँदै बीमा कम्पनी