काठमाडौं । बीमा समितिले स्वदेशी पुनर्बीमा कम्पनीलाई प्रवद्र्धन गर्ने नीति लिइरहेको समयमा नेपाली बीमा कम्पनीहरु भने स्वदेशी पुनर्बीमा कम्पनीबाटै दुःख पाएको गुनासो गर्न थालेका छन् ।
नेपाली बीमा कम्पनीले नियम अनुसार गराएको पुनर्बीमाको दाबी भुक्तानी गर्न विदेशी कम्पनीले भन्दा नेपाली कम्पनीले बढी झन्झट थपेको गुनासो बीमा समितिमा बढ्न थालेको छ ।
समितिले स्वदेशी पुनर्बीमा कम्पनीलाई मात्रै पुनर्बीमा दिन निर्देशन दिएको छ । तर, स्वदेशी पुनर्बीमा कम्पनीहरुको व्यवहार राम्रो नभएको भन्दै बीमा समितिमा गुनासो बढ्न लागेको हो ।
अहिले नेपालमा सरकारी लगानी पनि रहेको नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) र निजी क्षेत्रबाट संचालित हिमालयन रिइन्स्योरेन्स कम्पनी संचालनमा छन् । यी दुबै कम्पनीप्रति गुनासो गर्दै आउने बीमा कम्पनीहरुको संख्या बढ्न थालेको बीमा समिति स्रोतले जानकारी दियो ।
‘नेपाल रि आफैमा सरकारी कम्पनी भएकोले उसको आफ्नै ढर्रा छ, हिमालयन रिले बीमा समिति लगाएर तिमीहरुलाई ठीक पारिहाल्छु, व्यवसायको लागि मैले किन सहज रुपमा प्रस्तुत हुनु पर्यो र भन्ने आशय व्यक्त गरेका छन् भन्दै गुनासो गर्ने बीमा कम्पनीहरुको संख्या बढिरहेको छ, यसमा के कस्तो भएको हो भनेर हामीले पनि परोक्ष रुपमा हेरिरहेका छौं,’ समिति स्रोतले भन्यो ।
नेपालका बीमा कम्पनीहरुले नेपाली पुनर्बीमा कम्पनीसँग मात्रै पुनर्बीमा गराउनु पर्ने वाध्यकारी व्यवस्थाको कारण पुनर्बीमा कम्पनीहरुले आफूहरुसँग राम्रो व्यवहार नगरेको बीमा कम्पनीहरुको अनुमान छ ।
स्वदेशी कम्पनीसँग पुनर्बीमा गराउँदा दाबी भुक्तानी लिने समयमा विदेशीसँगभन्दा पनि अप्ठेरो पर्ने गरेको लाइफ इन्स्योरेन्स कर्पाेरेसन (एलआईसी) नेपालको एक घटनाले पनि पुष्टी गरेको छ ।
नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) मा गरिएको एउटा बीमाको दाबी भुक्तानी एक वर्षभन्दा बढी समयसम्म पनि लिन नसकिएको एलआईसी नेपालले जानकारी दियो ।
‘न्यूरोडका एक व्यापारीले हामीसँग ९ करोड ९५ लाखको जीवन बीमा गराउनु भएको थियो, २ वर्षसम्म नियमित किस्ता तिरेपछि उहाँको दुर्घटनामा निधन भयो, प्रहरी प्रतिवेदन, अस्पतालका कागजात, नाता प्रमाणित जस्ता आवश्यक डकुमेन्ट बुझाएर दाबी भुक्तानी माग्दा पनि नेपाल रिले कहिले के, कहिले के भनेर एक वर्षभन्दा बढी समयदेखि भुक्तानी रोकेर राखेको छ,’ एलआइसी नेपालको पुनर्बीमा विभागका प्रमुख प्रकाशभक्त उपाध्यायले भने ।
यद्यपि, बिमितलाई आफूहरुले पहिला नै भुक्तानी दिइसकेको उनले बताए । ती बिमितको निधन सन् २०२० को अगष्ट १४ मा भएको थियो ।
यस्तै, प्रकृतिको दाबीमा विदेशी पुनर्बीमा कम्पनीले सहजै भुक्तानी दिने गरेको उपाध्यायले सुनाए ।
‘एक जना बिमितको पनि त्यस्तै गरी निधन भएको थियो, त्यसको पुनर्बीमा हामीले मलेसियाको ह्याण्डओभर रिसँग गरेका थियौं, त्यो कम्पनीले सहजै दाबी भुक्तानी गर्यो, नेपाल रिले भने अनेक बहाना बनाएर भुक्तानी गर्न टारेको टार्यै छ,’ उनले थपे ।
निजी क्षेत्रबाट संचालित हिमालयन रिइन्स्योरेन्स कम्पनी भने चालु आर्थिक वर्षदेखि मात्रै व्यवसायिक संचालनमा आएको हो । तर, नेपाल पुनर्बीमा कम्पनी भने सरकारको समेत लगानी रहेको सबै बीमा कम्पनी प्रमोटर रहेर स्थापना भएको कम्पनी हो । यही कम्पनीले दाबी भुक्तानीमा समस्या सिर्जना गर्ने गरेको बीमा कम्पनीहरुको आरोप छ ।
सम्बन्धित समाचार