तोकिएको समयमै प्रतिवेदन पेश गर्न निर्जीवन बीमा कम्पनीलाई समितिको निर्देशन
काठमाडौं । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरूलाई सबै प्रतिवेदनहरु तोकिएको मितिमा पेश गर्न निर्देशन दिएको छ । समितिले बुधबार निर्जीवन बीमा कम्पनीका परिपालन अधिकृत र सम्पत्ति सुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण हेर्ने कार्यान्वयन अधिकारीहरूसँग अन्तर्क्रिया कार्यक्रमा सो निर्देशन दिएको हो । कार्यक्रममा बीमा समितिका कानून तथा नियमन महाशाखाका प्रमुख एवम् निर्देशक दिनेश कुमार लालले समितिबाट उपलब्ध गराइएको ढाँचामा परिपालन प्रतिवेदन र एएमएल तथा सीएफटीसम्बन्धी प्रतिवेदन तोकिएको मितिमा समितिमा पेश गर्न निर्देशन दिएका हुन् । निर्देशक लालले परिपालन अधिकृतहरूले कम्पनीमा बीमा ऐन, नियम र समितिबाट जारी निर्देशिका, निर्देशन एवम् परिपत्र अनुरूप काम भएको छ छैन र समस्याहरू के के छन् भन्ने बारेमा तथ्यपरक ढङ्गले उल्लेख गरी समस्या समाधानको कार्ययोजना सहित परिपालन प्रतिवेदन पेश गर्नुपर्ने बताए । निर्देशक लालले बीमा क्षेत्रमा सम्पत्ती सुद्धीकरणको जोखिमलाई ध्यानमा राखेर पर्याप्त काम भएको नपाइएकाले त्यस्तो जोखिमलाई समेत विशेष ध्यान दिई एएमएल तथा सीएफटी सम्बन्धी प्रतिवेदन तयार गरी सम्बद्ध निकायमा समेत जानकारी दिन निर्देशन दिए । साथै, उनले एएमएल तथा सीएफटी सम्वेदनशील विषय भएकाले त्यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए । कार्यक्रममा बीमा समितिका नियमन शाखा प्रमुख एवम् उपनिर्देशक कुन्दन सापकोटाले परिपालन प्रतिवेदन सम्बन्धी प्रस्तुती गर्दै परिपालन प्रतिवेदनमा कम्पनीका काम कारवाहीका साथै कमी कमजोरी समेत प्रष्टसँग उल्लेख गर्न र संचालक समितिबाट स्वीकृत गरेर मात्र समितिमा पेश गर्न आग्रह गरे । यसैगरी, समितिका उपनिर्देशक (कानून) हृदयश्वर पण्डितले एएमएल तथा सीएफटी सम्बन्धी प्रस्तुती गर्दै बीमा क्षेत्रमा सम्पत्ति सुद्धीकरणको जोखिमका आधारमा जोखिम विश्लेषण गर्न र शंकास्पद कारोवार पहिचान गरी सम्बद्ध निकायमा समेत जानकारी दिन आग्रह गरे ।
शिखर इन्स्योरेन्सले गत वर्षको लाभांश वितरण नगर्ने
काठमाडौं । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । कम्पनीको सञ्चालक समितिको जेठ १७ गते बसेको बैठकले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । कम्पनीको ३० प्रतिशत हकप्रद बाँडफाँट तथा सूचीकरण पश्चात चुक्ता पूँजी २ अर्ब २८ करोड रुपैयाँ हुनेछ । समितिको निर्देशन अनुसार कम्पनीले तोकिएको समयमा न्युनतम चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनु पर्नेछ । कम्पनीले २०७९ चैतभित्र समितिको तोकेको चुक्ता पूँजी पुर्याउन जगेडा कोषमा पर्याप्त रकम भएपनि जोखिममा आधारित पूँजी सम्बन्धी निर्देशिकाको अध्ययन गरी कम्पनीको व्यवसाय अनुकुल आवश्यक चुक्ता पूँजी सम्बन्धी निर्णय गरिने कम्पनीले जनाएको छ । यस्तै कम्पनीले व्यवसायिक रणनीति अनुरुप अन्य कम्पनीसँग गाभ्नेरगाभिने वा प्राप्ति गर्ने वातावरण सृजना भएमा त्यसपश्चात कायम हुने चुक्ता पूँजीको सम्बन्धमा समेत आवश्यक अध्ययन तथा विश्लेषण गरी निर्णय गरिने जनाएको छ ।
नेपाल इन्स्योरेन्सको सीईओमा महर्जन नियुक्त, आजैदेखि कार्यभार सम्हाल्ने
काठमाडौं । नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा वीरकृष्ण महर्जन नियुक्त भएका छन् । जेठ १७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले महर्जनलाई रिक्त रहेको सीईओ पदमा नियुक्त गरेको हो । हाल इन्स्योरेन्समा कामु सीईओको कार्यभार सम्हालेका महर्जनले अब जेठ १८ गतेदेखि सीईओको कार्यभार सम्हाल्ने छन् । त्यस्तै, करार सेवामा नियुक्त भएका सीईओ महर्जनले अब आगामी ४ वर्षसम्म इन्स्योरेन्सको सीईआको जिम्मेवारी सम्हाल्ने छन् । बीमा क्षेत्रमा २४ वर्षभन्दा बढी अनुभव भएका महर्जनले बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गरेका छन् । उनी कानूनको स्नातक हुन् । उनले मुम्बईको इन्सुरेन्स इन्स्टिच्युट अफ इन्डियाबाट फेलोसिप पूरा गरेका छन् । उनले जनवरी १९९७ मा भारत सरकारको पूर्ण स्वामित्वमा रहेको जनरल इन्स्योरेन्स कर्पोरेशन अफ इन्डियाको सहायक कम्पनी नेशनल इन्स्योरेन्स कम्पनीमा आफ्नो करियर शुरु गरेका हुन् । नेपाल इन्स्योरेन्समा आवद्ध हुनुअघि उनले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा १४ वर्ष सीईओको रूपमा सेवा गरेका थिए । उनी सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड (एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा गाभिएको), नेपाल केन्द्रीय बैंकबाट इजाजतपत्र प्राप्त ’घ’ वर्गको बैंकिङ संस्थाको सञ्चालक समेत पनि थिए । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको निर्देशक थिए । उनी नेपाल बिमा संघका पूर्व उपाध्यक्ष हुन् ।