समितिले एकैपटक ११ कम्पनीलाई गर्यो कारवाही, अधिकांश जीवन बीमा कम्पनी

काठमाडौं । बीमा समितिले एकैपटक ११ वटा बीमा कम्पनीहरुलाई कारवाही गरेको छ । समितिले लेखापरीक्षण प्रतिवेदन नबुझाउने जीवन र निर्जीवन बीमा कम्पनी गरी कूल ११ वटालाई नगद जरिवानासहित कारवाही गरेको हो । कारवाही पर्नेमा अधिकांश जीवन बीमा कम्पनीहरु रहेका छन् । जसमा निर्जीवन बीमातर्फका तीन कम्पनी (दि ओरियन्टल इन्स्योरेन्स कम्पनी, नेशनल इन्स्योरेन्स कम्पनी र राष्ट्रिय बीमा कम्पनी) रहेका छन् भने जीवन बीमातर्फका ८ वटा कम्पनी (राष्ट्रिय बीमा संस्थान, नेपाल लाइफ, गुराँस लाइफ, आईएमई लाइफ, युनियन लाइफ, सन नेपाल लाइफ, रिलायवल नेपाल लाइफ र सानिमा लाइफ इन्स्योरेन्स कम्पनी) रहेका छन् । यी ११ वटा कम्पनीलाई प्रतिकम्पनी १० हजार रुपैयाँको दरले एक लाख १० हजार रुपैयाँ बराबरको नगद जरीवाना गरेको हो । समितिका अनुसार बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम तोकिएको समयसिमाभित्र बीमा समितिमा आर्थिक वर्ष २०७६/०७७ मा आफूले गरेको बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन नबुझाउने यी कम्पनीलाई कारवाही गरिएको हो । बीमा ऐन, २०४९ को दफा २५ बमोजिम बीमा कम्पनीहरूले आफूले गरेका बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण मान्यताप्राप्त लेखापरीक्षकबाट गराई सोको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र समितिसमक्ष पेश गर्नुपर्ने अनिवार्य कानूनी व्यवस्था छ । जुन यी कम्पनीले जानी-जानी उल्लङ्घन गरेकाले पाइएकाले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम सो रकम बराबरको जरिवाना गरिएको समितिका कार्यकारी निर्देशक एवम् प्रवक्ता राजुरमण पौडेलले जनाएका छन् । सम्बन्धित समाग्रीः कम्पनीहरु प्रति आक्रामक बन्दै बीमा समिति

विदेशी कम्पनीमा पुनर्बीमा गर्न खुला गरिँदै

काठमाडौं । बीमा कम्पनीहरुलाई विदेशी कम्पनीमा पुनर्बीमा गर्ने बाटो खुला गरिने भएको छ । बीमा समितिले पुनर्बीमाको जोखिमलाई वर्गीकरण गरेर बीमा कम्पनीहरुलाई विदेशी कम्पनीमा पुनर्बीमा गर्न दिने भएको हो । समितिले पुनर्बीमाको जोखिमलाई उच्चस्तर र न्यूनस्तर गरी दुई भागमा वर्गीकरण गरेको हो । जसमध्ये उच्चस्तरको जोखिम रहेकोलाई विदेशी कम्पनीमा र न्यूनस्तरको जोखिमलाई स्वदेशी कम्पनीमा पुनर्बीमा गर्न दिइने व्यवस्था लागू गरिने समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले बताए । उनका अनुसार एभियशन (हवाई) बीमा, ठूला जलविद्युत परियोजनाका बीमा, जलवायु परिवर्तनबाट हुने क्षतिको बीमा, प्राकृतिक प्रकोपबाट हुने क्षतिको बीमा लगायत भूकम्पबाट हुुने क्षतिको बीमालाई उच्चस्तरको जोखिममा वर्गीकरण गरिएको छ । त्यस्तै, न्यूनस्तरको जोखिममा मोटर बीमा, घर तथा सम्पत्ति बीमा, स्वास्थ्य बीमा लगायत अन्य प्रकारका बीमा पर्दछन् जसको जोखिम तुलनात्मक रुपमा कम देखिन्छन् । समितिले वैदेशिक मुद्रा जोगाउने भन्दै केही महिना अघि मात्रै बीमा कम्पनीहरुलाई विदेशी कम्पनीसँग पुनर्बीमा गर्न रोक लगाएको थियो । र, सबै पुनर्बीमा व्यवसाय स्वदेशी पुनर्बीमा कम्पनी (नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्स) सँग गर्न निर्देशन दिएको थियो । तर, स्वदेशी पुनर्बीमा कम्पनीले सबै प्रकारको बीमाको जोखिम बहन गर्न नसक्ने भएकाले र बीमा कम्पनीहरुलाई थप सहज होस् भन्ने उद्देश्यले जोखिमलाई विभाजन गरिएको समितिका प्रवक्ता पौडेल बताउँछन् । ‘स्वदेशी कम्पनीले सबै प्रकारका बीमाको जोखिम बहन गर्न नसक्ने अवस्था भएकाले जोखिमलाई दुई भागमा विभाजित गर्न लागिएको हो, यससँगै अब बीमा कम्पनीहरुले बीमाको जोखिमका आधारमा योग्यता पुगेका विदेशी कम्पनीसँग पुनर्बीमा व्यवसाय गर्न पाउने छन्,’ पौडेलले भने । तर, नेपालका पुनर्बीमा कम्पनीले जोखिम बहन गर्न सक्ने किसिमका सबै बीमा भने नेपालमै गराउनु पर्ने उनको भनाई छ । उनीहरुले जोखिम बहन गर्न नसक्ने अवस्था रहेमा मात्रै विदेशी कम्पनीसँगै पुनर्बीमा गर्न पाइने उनले थप प्रष्ट पारे । साथै, यस विषयमा समिति छलफलको चरणमै रहेको समेत उनले बताए । समितिले गत मंसिरमा निर्देशन जारी गर्दै विदेशी कम्पनीमा पुनर्बीमा गर्न करिब रोक लगाएको थियो । उक्त निर्देशन अनुुसार २० प्रतिशत पुनर्बीमा व्यवसाय अनिवार्य रुपमा नेपाल पुनर्बीमा कम्पनीलाई दिनुपर्ने र बाँकी रहेको ८० प्रतिशत पुनर्बीमा व्यवसाय दुई पुनर्बीमा कम्पनी (नेपाल रि र हिमालयन रि) लाई दिनुपर्ने भएको थियो । सम्बन्धित समाचार बीमा कम्पनीहरुले स्वदेशी कम्पनीमै पुनर्बीमा गर्नुपर्ने वैदेशिक मुद्रा संचितिमा योगदान पुर्याउन नयाँ व्यवस्था गरिएको होः बीमा समिति ४ अर्ब पुनर्बीमा कमिसनमा प्रतिस्पर्धा, विदेशी मुद्रा जोगाउने तर्क गफ मात्र

कम्पनीहरु प्रति आक्रामक बन्दै बीमा समिति

काठमाडौं । पछिल्लो समय बीमा समिति बीमा कम्पनीहरु प्रति आक्रामक बन्दै छ । स्वदेशी कम्पनीमै अनिवार्य पुनर्बीमा गराउनु पर्ने निर्देशन, नयाँ कम्पनीलाई लाइसेन्स दिने समितिका अध्यक्षकाे अभिव्यक्तिप्रति बीमा कम्पनीहरुले असन्तुष्ट जनाउँदै गर्दा समितिले भने कम्पनीहरूमाथिकाे अनुगमन र कारवाहीलाई तिब्रता दिएकाे हाे । पछिल्लाे समय बीमा समितिले कम्पनीहरुको स्थलगत निरीक्षणमा जाेड दिएकाे छ ।  र, समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका उल्लङ्गन गर्ने कम्पनीहरुलाई धमाधम कारवाही थालेकाे छ । पछिल्लो गत एक सातामा समितिले दुई कम्पनीलाई कारवाही गरिसकेको छ । समितिले सुशासन सम्बन्धी निर्देशिका पालना नगरेका दुई जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सलाई नगद जरिवानासहितको कारवाही गरेको हो । जसमध्ये समितिले गत माघ १४ गते नेपाल लाइफ इन्स्योरेन्सलाई २० हजार रुपैयाँ बराबरको जरीवाना गरेको छ । इन्स्योरेन्सले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिम दुई वटा व्यवस्था उल्लङ्घन गरेको भन्दै इन्स्योरेन्सलाई प्रतिव्यवस्था १० हजार रुपैयाँ जरिवाना गराउने निर्णय गरेको हो । अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रवन्धकमा नियुक्ति गरेको भन्दै इन्स्योरेन्सलाई १० हजार रुपैयाँ बराबरको नगद जरीवाना गर्ने निर्णय गरेको हो । त्यस्तै, एउटा समिति तथा उपसमितिमा संयोजक रहेको संचालक अर्को समिति वा उपसमितिमा संयोजक हुन पाउने छैन भन्ने व्यवस्थालाई उल्लङ्घन गरेको भन्दै १० हजार रुपैयाँ बराबरको जरीवाना गरिएको छ । नेपाल लाइफले बीमा समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका, २०७५ बमोजिमको योग्यता नभएको व्यक्तिलाई सहायक महाप्रवन्धकमा नियुक्त गरेको भन्ने उजूरी समितिमा परेको थियो । त्यसपछि समितिले त्यस सम्बन्धमा उक्त कम्पनीबाट आवश्यक प्रतिवेदन/विवरण झिकाई अध्ययन गर्दा सो कम्पनीले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका कयाललाई सहायक महाप्रवन्धक पदमा नियुक्त गरी समितिबाट जारी निर्देशिकाको जानाजान उल्लङ्घन गरेको देखिएकोले इन्स्योरेन्सलाई कारवाही गरिएको हो । यसैगरी, उक्त सुशासन सम्बन्धी निर्देशिकामा भएको ‘एउटा समिति तथा उपसमितिमा संयोजक रहेको संचालक अर्को समिति वा उपसमितिमा संयोजक हुन पाउने छैन’ भन्ने व्यवस्था विपरित नेपाल लाइफका विभिन्न १४ वटा समिति/उपसमितिहरुमध्ये संचालक समितिका सदस्य कमलेश कुमार अग्रवाल ८ वटा र विमल ढकाल ३ वटा समिति/उपसमितिहरुमा संयोजक रही समितिबाट जारी निर्देशनको जानीजानी उल्लङ्घन गरेकोले १० हजार रुपैयाँ जरीवाना लगाएको हो । त्यसको लगत्तै प्राइम लाइफ इन्स्योरेन्सलाई पनि १० हजार रुपैयाँ बराबरको नगद जरिवाना गरिएको छ । समितिले माघ १६ गते एक सूचना गर्दै इन्स्योरेन्सले वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन, २०७३ विपरित काम गरेका भन्दै प्राइम लाइफलाई जरिवाना गर्ने निर्णय गरेको हो । समितिका अनुसार प्राइम लाइफले नक्कली बीमालेख जारी गरेको, अव्यवस्थित रुपले वैदेशिक रोजगार बीमा गरेको र तलब भत्ता निर्धारण नै नगरी कर्मचारीको नाममा ठूलो रकम खर्च गरेको पाइएकोले कारवाही गरिएको हो । यी दुई कम्पनीमात्रै नभई नियम उल्लंघन गर्ने अन्य कम्पनीलाई पनि कारवाही गर्ने चरणमा समिति छ । बीमा समितिले पहिलो चरणमा कम्पनीहरुका गल्ती कमजोरी औल्याई, सुधारको लागि सुझाव र निर्देशन दिएको र दोस्रो चरणमा सुधार नगर्ने माथि कारवाही थालेको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका छन् । ‘म कुनै पनि कम्पनीलाई छोड्ने वाला छैन, गलत गर्नेहरु कारवाहीमा पर्छन्, जुनसुकै शक्ति लगाएर रोक्न खोजे पनि गलत गर्नेहरु कारवाहीमा पर्छन्’, उनले विकासन्युजसँग भने । हाल समितिले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा १ बमोजिम दुई कम्पनीलाई जरिवाना गरेको हो । समिति नियम विपरित व्यवसाय गर्दै आएका कम्पनीहरुलाई कडा भन्दा कडा कारवाही गर्न चाहन्छ । तर, यसको लागि ऐन बाधक बनेको छ । किनकी बीमा ऐनमा कुनै पनि कम्पनीलाई १० हजार रुपैयाँभन्दा माथिको कारवाही गर्न नपाउने व्यवस्था उल्लेख छ । सम्बन्धित समाचारः बीमा कम्पनीहरुले स्वदेशी कम्पनीमै पुनर्बीमा गर्नुपर्ने ४ अर्ब पुनर्बीमा कमिसनमा प्रतिस्पर्धा, विदेशी मुद्रा जोगाउने तर्क गफ मात्र ‘हकप्रद जारी गर्नुस् कि बोनस सेयर दिनुस्, चुक्ता पुँजी साढे २ अर्ब हुनै पर्छ’