अजोड इन्स्योरेन्सले डाक्यो साधारण सभा, यस्ता छन् एजेण्डा

काठमाडौं । अजोड इन्स्योरेन्सले आगामी फागुन ६ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । इन्स्योरेन्सले सो दिन बिहान ११ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वल्ड ट्रेड सेन्टरमा भर्चुअल माध्यमबाट आफ्नो चौथो वार्षिक साधारण सभा गर्न लागेको हो । उक्त सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सले माघ २४ गते एकदिन बुक क्लोज गर्दै छ । यससँगै माघ २३ गतसम्म कायम सेययरधनीहरु उक्त सभामा भाग लिन योग्य मानिनेछन् । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को साधारण सभा डाकेको हो । उक्त सभामा इन्स्योरेन्सले लाभांश तथा हकप्रद लगायतको कुनै पनि प्रस्ताव लगेको छैन । यससँगै योपालि इन्स्योरेन्सका सेयरधनीको हात खाली हुने देखिन्छ । सभाले आर्थिक वर्ष २०७७/७८ को चौथो वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्दै छ । त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित कम्पनीको विभिन्न वित्तीय विवरण पनि पारित गर्ने छ । र, चालु आर्थिक वर्ष २०७८/७९ को लागि वर्तमान लेखापरीक्षकलाई नै पुनः नियक्ति दिने इन्स्योरेन्सले जनाएको छ ।

जुम्लामा अतिविपन्न स्थानीयवासिलाई निःशुल्क स्वास्थ्य बीमा

खलङ्गा । जुम्लाको तातोपानी गाउँपालिकाले अतिविपन्न स्थानीयवासीलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७८/७९ को साउनदेखि अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । उक्त कार्यक्रमको १० लाख बजेटमा अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा गरिएको हो। आर्थिक अभावले स्वास्थ्य बिमा नगरेका गाउँपालिकाका आठवटै वडाभित्रका अतिविपन्न नागरिकलाई लक्ष गरेर प्रति परिवार बिमा गर्दाको बीमाङ्क रकम तीन हजार ५०० मध्ये एक हजार ५०० सम्बन्धित व्यक्ति आफैँले र दुई हजार गाउँपालिका व्यहोर्ने गरी स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको अध्यक्ष न्यौपानेले बताए । गाउँपालिकाभित्रका आठवटा वडामा स्वास्थ्य बिमाकर्ता परिचालन गरी निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत मिलन बुढाथापाले जानकारी दिए । उनले भने, ‘आठ बिमाकर्ता परिचालन गरेका छौँ । अतिविपन्न नागरिकको अनिवार्य निःशुल्क स्वास्थ्य बिमा गर्न भनिएको छ ।’ तातोपानी गाउँपालिका–३ का रेवती रावलका अनुसार अहिलेसम्म यो वडाका ५० अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गरिसकिएको उनको भनाइ थियो । जिल्लामा ५५ हजार ३५२ नागरिकले स्वास्थ्य बिमा गरेको स्वास्थ्य बिमा कार्यालयका प्रमुख प्रेम भण्डारीले बताए ।

रिलायन्स लाइफ इन्स्योरेन्सको सीईओमा राकेश पोखरेल, सम्हाले कार्यभार

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राकेश पोखरेल नियुक्त भएका छन् । बीमा समितिको स्वीकृति पाएसँगै पोखरेलले माघ १३ गतेदेखि इन्स्योरेन्सको सीईओ पदको कार्यभार सम्हालेका छन् । पोखरेलले कार्यभार सम्हाल्दै आफुसँग रहेको कार्य अनुभवलाई प्रयोग गरी कम्पनीले नयाँ आयम दिई जिवन बीमा कम्पनीहरु मध्ये अग्रणी भूमिका हासिल गर्न सधैं लागि पर्ने बताए । गत पुस १४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले पोखरेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई बीमा समितिले स्वीकृति दिएपछि मात्रै पोखरेलले कार्यभार सम्हालेका हुन् ।