बीमामा चाडपर्व लक्षित योजना किन बन्दैनन् ?

काठमाडौं । नेपालमा चाडपर्वको समयमा विभिन्न क्षेत्रले विभिन्न किसिमका अफरहरु ल्याउने गर्छन् । दशैं, तिहार छठ लगायतका चाडपर्वको अवसरमा बैंक लगायत अधिकांश कर्पोरेट अफिसहरुले आफ्ना क्षेत्रअनुसारका अफर ल्याउने गर्छन् । ग्राहकलाई आकर्षित गर्नको लागि पनि कम्पनीहरुले विभिन्न अफरहरु ल्याउने अभ्यास बढ्दै गएको छ । यो समयमा बजारमा पैसाको प्रवाह बढ्ने भएकाले पनि ग्राहकहरु विभिन्न क्षेत्रका अफरहरुमा आकर्षित हुने गर्छन् । बैंक, अटो लगायत विभिन्न क्षेत्रले विभिन्न स्कीम ल्याइरहँदा बीमा क्षेत्रले भने हालसम्म चाडपर्वलाई लक्षित गरेर कुनै पनि प्रकारको स्कीम ल्याएको पाइँदैन । बीमाले कम्पनीहरुलाई बीमा समितिको नीतिले नै यस्ता स्कीमहरु ल्याउन रोकेको जीवन बीमक संघका उपाध्यक्ष पोषकराज पौडेल बताउँछन् । बीमा कम्पनीहरुले दीर्घकालिन समयमा काम गर्ने भएकाले चाडपर्वमा ल्याउने अल्पकालिन योजनाहरु बीमाले नल्याएको उनको भनाइ छ । ‘ग्राहकले पनि चाडपर्व हेरेर बीमाको प्रडक्ट किन्ने पनि होइन, उनीहरुले त्यसमा भएका विशेषताहरु हेरेर किन्ने हो, बैंकले मासिक प्रडक्ट बनाउँछ, मासिक व्याजदरहरु निकाल्छ, त्यसैले मासिक प्रडक्टहरु पनि भिन्न हुन्छन्, तर बीमाको हकमा त्यस्तो हुँदैन, बीमाले एक पटक बनाएपछि २०औं वर्षसम्म बेच्ने हो, एकपटक बजारमा ल्याइसकेपछि लामो समयसम्म बिक्री गर्ने हो,’ सिटिजन लाइफका सीईओ समेत रहेका पौडेलले विकासन्युजसँग भने । बीमालाई यो समयमा यस्ता प्रडक्ट बेच्छु भन्ने सहजता नहुने भएकाले पनि बीमाले प्रकृतिअनुसारका प्रडक्ट ल्याउन नसक्ने उनको भनाइ छ । तर, बीमा कम्पनीहरुले चाडपर्वको अवसरमा अभिकर्ताहरुलाई कमिसन तथा इन्सेन्टिभको लोभ देखाएर पोलिसी बेच्ने गरेको पाइएको छ । राष्ट्रिय बीमा संस्थानका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि पाठक पनि बीमा कम्पनीहरुले चाडपर्वमा प्रडक्ट लक्षितभन्दा पनि एजेन्ट लक्षित स्कीमहरु ल्याउने गरेको बताउँछन् । ‘बैंकहरुले जस्तो ग्राहकलाई यति छुट दिने भन्ने किसिमका योजना बीमाले ल्याउन पाउँदैनन्, बीमा समितिले नै सिलिङ् तोकिदिएको छ, त्योभन्दा बाहिर गएर बिजनेस गर्न पाइँदैन,’ उनले भने । बीमक संघका अध्यक्ष चंकी क्षेत्री पनि बैंकहरुले जस्तो बीमा कम्पनीहरुले चाडपर्व लक्षित स्कीम ल्याउनै नमिल्ने बताउँछन् । ‘चाडपर्वको समयमा कम्पनीहरुले नयाँ प्रडक्ट निकाले मात्रै हो, बैंक तथा कर्पोरेट हाउसले जसरी छुट दिने भन्ने बीमामा हुँदैन र मिल्दा पनि मिल्दैन,’ सगरमाथा इन्स्योरेन्सका सीईओसमेत रहेको क्षेत्रीले विकासन्युजसँग भने । कुनै व्यक्तिले अभिकर्ता मार्फत् नगई सिधै कम्पनीमा गएर बीमा गर्यो भने उसले कमिसन छुट पाउँछ । तर, त्योभन्दा बढी छुट बीमा क्षेत्रमा नहुने क्षेत्री बताउँछन् । बीमा कम्पनीले कुनै व्यक्ति तथा सम्पत्तिको जोखिम बहन गर्ने भएकाले पनि कुनै प्रकारको स्कीम ल्याउन नमिल्ने पनि उनको भनाई छ । यता नेपाल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) ईश्वर पोखरेल आफूलाई बीमा गर्नुपर्छ भन्ने अनुभव नभई मान्छेले बीमाको प्रडक्ट नकिन्ने बताउँछन् ।

राष्ट्रिय बीमा कम्पनीका नवनियुक्त सीईओ बरालले सम्हाले कार्यभार

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर बरालले कार्यभार सम्हालेका छन् । नवनियुक्त सीईओ बरालले भदौ २७ गतेदेखि लागू हुने गरी कम्पनीमा कार्यकारी अधिकृतको कार्यभार सम्हालेका हुन् । कम्पनी सञ्चालक समितिको बैठकले उनलाई गत भदौ २३ गते कम्पनीको सीईओ पदमा नियुक्त गरेको थियो । यससँगै उनले आगामी चार वर्षसम्म कम्पनीको कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने छन् । खुला प्रतिस्पर्धाबाट छनोट भएका तीन जनामध्ये सञ्चालक समितिले बराललाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । नवनियुक्त सीईओ बरालसँग बीमा क्षेत्रमा लामो समय काम गरेको अनुभव छ । उनले लुम्बिनी जनरल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्समा सीईओको कार्यभार सम्हालिसकेका छन् । यसअघि कम्पनीको सीईओको कार्यभार सरकारका उपसचिव ज्ञानेन्द्रराज ओझाले सम्हालिरहेका थिए । उनलाई अर्थमन्त्रालयले फिर्ता बोलाएसँगै कम्पनीले बराललाई नयाँ सीईओको रुपमा नियुक्त गरेको हो । ६ महिनाको लागि राष्ट्रिय बीमा कम्पनीमा पठाएको अर्थमन्त्रालयले अवधि नसकिँदै उनलाई मन्त्रालय फिर्ता बोलाएको छ ।

नेशनल लाईफ इन्स्योरेन्सले अस्पताललाई गर्यो २० लाख सहयोग

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले एक एक पाईला फाउण्डेसनलाई २० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत सुनकोशी गाउँपालिकामा अस्पताल बनाएको फाउण्डेसनलाई उक्त रकम सहयोग गरेको हो । फाउण्डेसनले सुनकोशी गाउँपालिकामा एक एक पाइला ठोकर्पा आधारभूत अस्पताल निर्माण गरी संचालनमा ल्याइसकेको छ । सुनकोशी गाउँपालिका वडा नं। १ का वडा अध्यक्ष कुमार शाहीको मूख्य आतिथ्य तथा फाउण्डेसनका अध्यक्ष डा। सुमन शम्सेर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा करिब १५० जनाको सहभागिता रहेको थियो । उक्त परियोजनाबाट ठूलो संख्यामा सो क्षेत्र र आसपासका सर्वसाधारण हरु लाभान्वित हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । सो समारोहमा अस्पताल व्यवस्थापनले आर्थिक सहयोग प्रदान गरे वापत कम्पनीका उप-कार्यकारी प्रमुख प्रताप मान श्रेष्ठलाई विशेष सम्मान गरेको थियो ।