बीमामा चाडपर्व लक्षित योजना किन बन्दैनन् ?

<p>काठमाडौं । नेपालमा चाडपर्वको समयमा विभिन्न क्षेत्रले विभिन्न किसिमका अफरहरु ल्याउने गर्छन् । दशैं, तिहार छठ लगायतका चाडपर्वको अवसरमा बैंक लगायत अधिकांश कर्पोरेट अफिसहरुले आफ्ना क्षेत्रअनुसारका अफर ल्याउने गर्छन् । ग्राहकलाई आकर्षित गर्नको लागि पनि कम्पनीहरुले विभिन्न अफरहरु ल्याउने अभ्यास बढ्दै गएको छ । यो समयमा बजारमा पैसाको प्रवाह बढ्ने भएकाले पनि ग्राहकहरु विभिन्न क्षेत्रका [&hellip;]</p>

काठमाडौं । नेपालमा चाडपर्वको समयमा विभिन्न क्षेत्रले विभिन्न किसिमका अफरहरु ल्याउने गर्छन् । दशैं, तिहार छठ लगायतका चाडपर्वको अवसरमा बैंक लगायत अधिकांश कर्पोरेट अफिसहरुले आफ्ना क्षेत्रअनुसारका अफर ल्याउने गर्छन् ।

ग्राहकलाई आकर्षित गर्नको लागि पनि कम्पनीहरुले विभिन्न अफरहरु ल्याउने अभ्यास बढ्दै गएको छ । यो समयमा बजारमा पैसाको प्रवाह बढ्ने भएकाले पनि ग्राहकहरु विभिन्न क्षेत्रका अफरहरुमा आकर्षित हुने गर्छन् ।

बैंक, अटो लगायत विभिन्न क्षेत्रले विभिन्न स्कीम ल्याइरहँदा बीमा क्षेत्रले भने हालसम्म चाडपर्वलाई लक्षित गरेर कुनै पनि प्रकारको स्कीम ल्याएको पाइँदैन ।

बीमाले कम्पनीहरुलाई बीमा समितिको नीतिले नै यस्ता स्कीमहरु ल्याउन रोकेको जीवन बीमक संघका उपाध्यक्ष पोषकराज पौडेल बताउँछन् । बीमा कम्पनीहरुले दीर्घकालिन समयमा काम गर्ने भएकाले चाडपर्वमा ल्याउने अल्पकालिन योजनाहरु बीमाले नल्याएको उनको भनाइ छ ।

‘ग्राहकले पनि चाडपर्व हेरेर बीमाको प्रडक्ट किन्ने पनि होइन, उनीहरुले त्यसमा भएका विशेषताहरु हेरेर किन्ने हो, बैंकले मासिक प्रडक्ट बनाउँछ, मासिक व्याजदरहरु निकाल्छ, त्यसैले मासिक प्रडक्टहरु पनि भिन्न हुन्छन्, तर बीमाको हकमा त्यस्तो हुँदैन, बीमाले एक पटक बनाएपछि २०औं वर्षसम्म बेच्ने हो, एकपटक बजारमा ल्याइसकेपछि लामो समयसम्म बिक्री गर्ने हो,’ सिटिजन लाइफका सीईओ समेत रहेका पौडेलले विकासन्युजसँग भने ।

बीमालाई यो समयमा यस्ता प्रडक्ट बेच्छु भन्ने सहजता नहुने भएकाले पनि बीमाले प्रकृतिअनुसारका प्रडक्ट ल्याउन नसक्ने उनको भनाइ छ ।

तर, बीमा कम्पनीहरुले चाडपर्वको अवसरमा अभिकर्ताहरुलाई कमिसन तथा इन्सेन्टिभको लोभ देखाएर पोलिसी बेच्ने गरेको पाइएको छ । राष्ट्रिय बीमा संस्थानका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि पाठक पनि बीमा कम्पनीहरुले चाडपर्वमा प्रडक्ट लक्षितभन्दा पनि एजेन्ट लक्षित स्कीमहरु ल्याउने गरेको बताउँछन् ।

‘बैंकहरुले जस्तो ग्राहकलाई यति छुट दिने भन्ने किसिमका योजना बीमाले ल्याउन पाउँदैनन्, बीमा समितिले नै सिलिङ् तोकिदिएको छ, त्योभन्दा बाहिर गएर बिजनेस गर्न पाइँदैन,’ उनले भने ।

बीमक संघका अध्यक्ष चंकी क्षेत्री पनि बैंकहरुले जस्तो बीमा कम्पनीहरुले चाडपर्व लक्षित स्कीम ल्याउनै नमिल्ने बताउँछन् ।

‘चाडपर्वको समयमा कम्पनीहरुले नयाँ प्रडक्ट निकाले मात्रै हो, बैंक तथा कर्पोरेट हाउसले जसरी छुट दिने भन्ने बीमामा हुँदैन र मिल्दा पनि मिल्दैन,’ सगरमाथा इन्स्योरेन्सका सीईओसमेत रहेको क्षेत्रीले विकासन्युजसँग भने ।

कुनै व्यक्तिले अभिकर्ता मार्फत् नगई सिधै कम्पनीमा गएर बीमा गर्यो भने उसले कमिसन छुट पाउँछ । तर, त्योभन्दा बढी छुट बीमा क्षेत्रमा नहुने क्षेत्री बताउँछन् । बीमा कम्पनीले कुनै व्यक्ति तथा सम्पत्तिको जोखिम बहन गर्ने भएकाले पनि कुनै प्रकारको स्कीम ल्याउन नमिल्ने पनि उनको भनाई छ ।

यता नेपाल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) ईश्वर पोखरेल आफूलाई बीमा गर्नुपर्छ भन्ने अनुभव नभई मान्छेले बीमाको प्रडक्ट नकिन्ने बताउँछन् ।

Share News